यसो गरौं या उसो
विकराल अवस्थामा
मान्छेहरू आत्तिएका बेला
पटक-पटक भाग्यले नै
लकडाउन गरिएकाहरूको
गाँस, बास र कपासको व्यवस्था
हुँदै गर्ला
तिम्रा दिक्दार लाग्दा भाषण र
तिम्रा आश्वासनले
गरिब दीनदुखीको मन छुँदै गर्ला
को कति छन् खोपको अनुहार नदेखेका
त्यो कहिले पाउलान्? पत्तो छैन
रेकर्ड लिँदै गर ल
चुनाव नजिकै आउँदैछ
डराउँछौ पक्कै
हुन्छ कि भनी हार
फेरि जनता जो झुक्याउनु छ
एक तमास बुस्टर डोज चाहिँ
दिँदै गर ल सरकार!
अघाएर बसेका प्रतिपक्षहरू
संसद अवरोध गरेर
मस्त निद्रामा छन्
जनता सिटामोल खोज्न दौडिरहेछन्
मन्त्रीहरू भाइरल हुने होडमा छन्
कुर्ची नपाएका
कति भाइरल हुनै रोडमा छन्
सरकार आफैं आइसोलेसनमा छ
विकास निर्माणको ठेक्का पाएकाहरू
खाम बुझाएर
कोभिडको बाहनामा गुर्जो खाएर
मस्त असार कुर्दै होलान्
गरिबका पिठ्युँ र नाम्लाका पाताहरू
सडक छेउ क्वारेन्टाइनमा छन्
तिनका परिवार
एक छाक जलुके साग खाएर
पाँच किलो चामल किन्न
बाटो हेर्दै गाउँमै लाइनमै छन्
मिल्छ भने
विदेशीसँगै सहयोग मागेरै पनि
जिन्दगीदेखि हार खाएका
सारा गरिबहरूलाई
दयामाथि माया गरेर
कहिल्यै उठ्नै नपर्ने गरी
बुस्टर डोज लगाइदिए हुन्न र सरकार!
राजनीति गर्न भिजन नभए नि हुने
पढाइ नभए नि पुग्ने
जेल बसेको भए भाग्यले कुर्सी छुने
के गर्यौ, कति गर्यौ अहिलेसम्म
ए! बिना कौशलका माझी हो
कति भ्रम छर्छौ दुनियाँलाई
पुस्तौंदेखि काम नगरी खान
कसरी पुग्छ हो पाजी हो?
हुनेखाने र हुँदा खानेको
खाडल बढाउने
भ्रष्ट बनी आफू चढ्ने अरु लडाउने
को आफ्नो, को अर्को समूहको
लामो निद्रामा जाने गरी
ए जनता!
कहिले हो यी सबलाई एकमुस्ट
बुस्टर डोज चढाउने?