कसैले भन्दैन म लोभी छु
तर लोभको भकारी कसैको भरिएन
भन्छन् सबैले पाखन्ड देखाएर
गर्छन् तुलना
आफू त तिमीजस्तो
मख्खीचुस परिएन!
छाट्छन् गफ लगातार म कुबेर हुँ भनी
तर व्यस्त छन् थुक लगाउन औंला-औंलामा
दिनरात पिरोलिन्छन् कौडी-कौडी बटुल्न
भन्छन् अनि खान्छन् कसम
पैसाका लागि कहिल्यै मरिहत्ते गरिएन।
यो पैसा भन्ने चिज कस्तो
नहुँदा पनि पिर
हुँदा झनै तनाव थप्ने
लुट्छन् एकातिर, अर्कोतिर समाजसेवा
भन्छन् म त वरिष्ठ समाजसेवी
पैसाकै लागि चाहिँ कहिल्यै मरिएन
भन्दैनन् म लोभी छु तर
भकारी कहिल्यै कसैको भरिएन।
न त पुग्यो ज्याक मालाई
न त अघाए बिलगेट्स अनि हाम्रा
चौधरी र बतासहरू
ढोङ फुक्दै हिँड्छन् सबै
कहिल्यै दुखी गरिबलाई
दान पैसो छरिएन
भगवान् जानून कति भए पुग्ने हो कसलाई
चिन्ता लाग्छ
हामी लोभी पापीहरूको
भकारी कहिल्यै कसैको भरिएन
लोभको भाँडो कहिल्यै कसैको भरिएन!