पवित्रशील कर्मठ पाइला
चढे सगरमाथा
तिम्रो अठोट सार्थक पार्न
आए गोरखनाथ।
भिन्न जात, धर्म, वर्ण
एक सुत्रमा आयो
तिम्रो धरती पदार्पणमा
कोइली गीत गायो।
मनकामना दाहिने पारी
हिंड्यौ मेला भर्न
सफल भयौ धन्य तिमी
एउटै आत्मा भर्न।
पूर्व मेची, पश्चिम काली
हाम्रो साझा भूमि
नाच्छ डाँफे हिमालमा
तिम्रो गाथा सुनी।
धन्य, धन्य पृथ्वी
तिम्रो पदार्पणलाई
बिर्सन्नौं है तिम्रो त्याग
अनि पिरतीलाई।