माघको महिना मौसम बेस्सरी कठ्याङ्ग्रिएको थियो।
आज विवेकको पाँचौं वार्षिक श्राद्ध! मन सिमलको भुवाजस्तै उडेको थियो, दाम्पत्य यात्राका अनगिन्ती सम्झनाहरू छताछुल्ल भएका थिए। घरीघरी उसैका मायालु अनुहार आँखामा आउँथ्यो र आँसुले दृष्टि धमिलो बनाउँथ्यो।
हरेक वर्ष श्राद्धको दिन उनको मनमा यस्तै उदासी छाउँथ्यो। आफूले जीवन नै अर्पण गरेको लोग्नेको लागि आफ्नै हातले दिएको पिण्ड नचढ्ने कुराले गहिरो पीडा दिन्थे।
मनको आस्थालाई पनि यसरी नारी र पुरूष गरी कित्ताकाट गर्ने सामाजिक विभेदप्रति मनमा आक्रोशको राँको बल्थ्यो तर उनको त्यो मानसिक अन्तर द्वन्द्व कतै पनि प्रकट हुन सक्दैनथ्यो।
श्राद्धको अर्थ समेत नबुझेको नाबालक छोराको कलिला हातहरूले आज बाबुलाई पिण्ड दान गरे। मर्माहत हुँदै उनले त्यो कारूणिक दृष्य हेरी रहिन्।
श्राद्ध सकिएपछि पूजाको थाली लिएर कोठामा गइन् र पतिको फोटोमा पहेंलो टीका लगाइदिइन्।
फोटो हेर्दाहर्दै पीडाले निमोठ्दै लग्यो र मर्माहत हुँदै बड्बडाइन्।
‘पाँच वर्ष पुग्यो विवेक! दैवले तिमीलाई खोसेर लगेको पनि। खोई तिमी कहाँ छौ होला! जहाँ भए पनि तिम्रो आत्मालाई सदा शान्ति मिलोस्। कहिल्यै जन्मन र मर्न नपरोस्!’
मनमा पीडाको राँको दन्कियो, चिटचट पसिना छुट्यो र उनी भुइँमा थ्याच्चै बसिन्। त्यसपछि विगतका पदचापहरूले खिच्दै लगे र त्यसैमा उनी टुक्राटुक्रा भएर छरिइन्।
विवेकको प्राइभेट बैंकको जागिर थियो। उनी गैरसरकारी संस्थामा काम गर्थिन्।
परिवारमा सासू, उनीहरू दुई जना र एउटा पाँच वर्षको छोरा थियो। बैंकबाट ऋण लिएर एउटा सानो घर किन्ने योजना थियो।
अरू सपना पनि आकासै छुने खालका थिएनन्। आत्मीयताको रंगमा उनीहरूको संसार ढकमक्क फुलेको थियो। समय बित्दै जाँदा विवेकको अचानक दुबै मिर्गौला फेल भयो।
हरेक पन्ध्र दिनको एकपटक महँगो डायलासिस गर्नुपर्ने भयो। लगातार तीन वर्षको उसको महंगो उपचारले उनीहरूलाई झण्डै झण्डै सडकमा पुर्यायो। यो चरम संकटको घडीमा हिम्मत दिलाउने कोही भएनन्।
आफन्तहरू पनि बिस्तारै पराई हुँदै गए। हेर्दाहेर्दै सबै सपनाहरू पानीका फोकाजस्तै गरी फुट्दै गए। जिन्दगी जित्नै नसकिने युद्ध जतिकै भयो।
मिर्गौला नै फेर्ने कुराको त कल्पना गर्न पनि सकिँदैनथ्यो। डायलासिस गर्न समेत ज्यादै नै कठिन थियो। सरकारी डायलासिसको महिनौंसम्म पनि पालै आउँदैनथ्यो, निजी अस्पतालले पहिला बिल नकाटी बिरामी हेर्दैनथे।
लाचारीले उनीहरूलाई यसरी अठ्याउँदै लग्यो कि हरेक दिन उनीहरूका सामु मृत्युले अट्टहास गर्न थाल्यो र उनीहरू चुपचाप बुझ पचाएर बाँच्न थाले। सम्झँदै कहाली लाग्ने ती दिनका नमीठा तर्कनाहरूमा त्यो रात छर्लङ्ग भयो।
भोलिपल्ट उनले छोरालाई स्कुल पठाइन्। सासूलाई औषधि खुवाएपछि अफिस गइन्।
अनिँदो रात र रातको अँध्यारोसँगै फलामे काँडा बनेर आएका यादहरूले मन छिया-छिया परेको थियो, त्यसैले दिनभरि अफिसको कुनै काममा पनि जाँगरै चलेन।
कुर्सीबाट उठेर बाहिरतिर हेरिन्। सडकको दुबै किनारामा हुर्किनै नपाई निमोठिएका काइयोका रूखहरूमा आँखा परे। मनमनै सोचिन्, ‘किन रोपिएका होलान् कलिलैमा निमोठ्ने भए ती निर्दोष बिरूवाहरू!’
दिनभरि नै मन व्यथित भयो, साँझ उदास भएर कार्यालयबाट निस्किन्। बानेश्वर चोकमा उनलाई कसैले बोलाएजस्तो लाग्यो।
पछाडि फर्केर हेरिन् आफ्नै बाल सखी सपनालाई आउँदै गरेको देखिन्। लामो समय अन्तराल पछिको त्यो अप्रत्यासित भेटले उनीहरू ज्यादै खुसी भए।
दुबै जना नजिकैको क्याफेमा गएर कफी पिउँदै गफिन थाले। निकैबेरसम्म जीवनका उतारचढावमा नोष्टालजिक भए।
कुरै कुरामा मनिषाका आँखा रसाउँदै आए र उनले बिस्तारै भनिन्, ‘म त भाग्यको नराम्रो चक्रब्यूँहमा फसें नि सपना !’
सपनाले पनि भावुक हुँदै भनिन्, ‘मैले पनि त केटाकेटीमै प्रेम गरें। दुई तीन वर्ष लिभिङ टुगेदरमा पनि बस्यौं। पछि ऊ चुपचाप अमेरिकातिर लाग्यो र मैले पनि उसको खोज गरिनँ।’
उनी अझै भन्दै गइन्, ‘आत्मीयता रित्तिएपछि त सम्बन्धले पनि धेरै पीडा दिँदो रहेछ मनिषा। ठिकै भयो, ऊ चुपचाप बाटो लाग्यो, अब मैले पनि जीवनलाई नयाँ ढंगले हेर्न पाएँ’ उनको अनुहारमा कुनै प्रकारको संवेग देखिएन।
उनले बिस्तारै फेरि मनिषालाई सोधिन्, ‘बरू तिमीले चाहिँ के सोचेकी छौ भविष्यको बारेमा?’
मनिषाले त्यो प्रश्नमा कुनै प्रतिक्रिया जनाइनन्। बरू छुट्टिएपछि सपनाले उनलाई सोधेको त्यो प्रश्नबाट आफैंलाई सोधिन्, ‘के सोचेकी छु मैले आफ्नो भविष्यको बारेमा ?’ मानसपटलमा अमूर्त रेखाहरू सलबलाए तर कुनै आकृति बनेनन्।
घर आएपछि उनेल किचेनको काम सकिन्। थकान ज्यादा महसुस भएकाले सासू र छोराको छिट्टै खानपानको मिलाएर आफ्नै कोठामा गइन्। त्यो शून्यतामा फेरि अतितका स्मृतिहरू मनमा उर्लिएर आए र उनी त्यसैमा हराउँदै गइन्।
एकदिन साँझ विवेकसँग भएको कुराको सम्झनाले पोल्यो।
उनले निधार के मुसारेकी थिइन्, रगत मासु सुकेर शरीर अस्थिपंजर भइसकेको शिथिल शरीर भित्तामा अडेस लगाएर उसले भनेको थियो ‘मुख सुकेर च्यापच्याप्ति भइसक्यो, कता ग’को तिमी ?’
उसलाई पानी पिलाउँदै मनिषाले भनेकी थिइन्, ‘वडा कार्यालय ग’को थिएँ, बीस हजारको चेक दिएको छ, भोलि बैंकबाट पैसा झिकेर ल्याउँछु, पर्सि डायलासिस गर्न जानुपर्छ अब’।
हरेक पटक डायलासिस गर्ने खर्च जुटेपछि ऊ औधि खुसी हुन्थ्यो। तर अर्कोपटकको खर्चको लागि छटपटिन थालेको आभाष भएपछि ऊ फेरि मरेतुल्य हुन्थ्यो। उसको त्यो हालत देखेर पीडाले सहिनसक्नु हुन्थ्यो र कहिलेकाहीँ त आत्महत्या गरौं कि जस्तो पनि लाग्थ्यो तर फेरि उनकै भरोसामा बाँचेका ती कारूणिक अनुहारहरू आँखा अगाडि आउथे र मनबाट त्यो विचार हराउथ्यो।
त्यसदिन वडा अध्यक्षले पनि चेक दिँदै उनलाई भनेको थियो ‘कति दिन गर्न सक्नुहुन्छ बहिनी यति महँगो डायलासिस ! यो अन्तिम पटक हो है , अब फेरि यहाँ पैसा माग्न नआउनुहोला। कालको बाटो पनि छेकेर छकिन्छ र ?’
उसका ती निर्मम शब्दहरू सम्झेर मुटुमा भक्कानो पर्यो र मुखमा सल कोचेर उनी खुब रोइन्।
त्यो बोझिलो सन्नाटापछि विवेकले भनेको थियो ‘कति दुःख गर्छौ मनिषा? जति गरे पनि आखिर म मरी हाल्छु! सारा सम्पत्ति सकेर भोलि तिमीहरू कसरी बाँच्छौ ?’ बोल्दा-बोल्दै उसको आवाज अवरूद्ध भयो।
उनले सान्त्वना दिँदै भनेकी थिइन्, ‘त्यस्तो पनि बोल्नु! अब दुई चार पटक डायलासिस त हो। किड्नीले काम गर्न थालेपछि त फेरि कमाउला नि।’ उसको जीर्ण अनुहारमा एउटा लाचार हाँसो देखियो र त्यसले उनलाई मर्माहत बनायो। अक्सर उनका रातहरू यस्तै नमीठा सम्झनाहरू रूमल्लिएर बित्थे।
भोलिपल्ट बिहान उनी घरधन्दा सकेर अफिस गइन्। फागुनको महिना थियो। बोट बिरूवाहरूमा भर्खरै पालुवा चढ्न थालेका थिए। ठाउँ ठाउँमा बाजागाजा सहितका विवाहका जन्तीहरू भेटिन्थे, व्याण्ड बाजाको तालमा नाच्दै हिँडेको जन्तीलाई देखेर भावुक उनीआफ्नै बिहेको सुखद स्मृतिमा पुगिन्।
कति मनमोहक थिए जीवनका सपनाहरू ! विवेकले उनलाई हिराजडित स्वयंबरको औंठी लगाइदिएको थियो र उनले पनि हरियो दुबो र जरीको माला लगाई दिएकी थिइन्।
ठूलै युद्ध जितेजस्तै खुसी भएका थिए उनीहरू।
‘के ती स्वप्निल दिनहरू अब फेरि फर्केर आउलान् र जिन्दगीमा ?’ सोचेर मन निकैबेरसम्म कुडियो, आँसु पुछ्दै उनी अफिस पुगिन्।
अफिसबाट घर फर्किंदा साँझ पर्न लागिसकेको थियो। घरमा छोराले निकैबेर स्कुल र साथी भाइका कुरा गर्यो।
उसको बालसुलभ आवाजको माधुर्यमा केहीबेर उनले आफ्ना सारा दुःख बिर्सिइन्।
खाना खुवाएपछि ऊ सुत्न गयो। उनी तातो पानी लिएर सासूको कोठामा गइन् र नजिकैको कुर्सीमा बसिन्।
सासूले गहभरी आँसु पार्दै भन्न थालिन्, ‘मेरो फुटेको कर्म ! आफू मर्नुपर्ने बेलामा लक्का जवान छोरा मर्यो। तिम्रो यो कलिलो उमेर र खाली सिउँदो देखेर औडाहा हुन्छ नानी ! म मरेपछि के गरेर बाँचौली तिमी ?’
बोल्दाबोल्दै सासूको आवाज अवरूद्ध भयो र उनलाई पनि मनको घाउ फेरि कसैले कोट्याई दिएजस्तै भयो।
पीडा लुकाएर उनले भनिन् ‘आ..आमा नचाहिने चिन्ता गर्नुहुन्छ, उसै त बिरामी हुनुहुन्छ, ल सुत्नु खुरूक्क’ सासूलाई सुताएर हिँडिन्।
कोठामा पुगेर लामो सुस्केरा लिँदै दराज खोलिन्।
विवाहको तेस्रो वार्षिकीमा विवेकले ल्याइदिएको रातो काश्मिरी टपलेसमा आँखा पुगे। त्यसलाई ओल्टाई पल्टाई हेरिन्। सास बढ्न थाल्यो र मुटुको ढुकढुकी पनि तेज भयो।
बिस्तारै उनको मानसपटलबाट उनको वर्तमान मेटियो।
त्यो टपलेस लगाएर उनी ऐना अगाडि उभिइन्। निख्खर रातो त्यो कपडामा आफ्नो रूप मुसुक्क हाँसेजस्तो लाग्यो।
त्यही पहिरनमा उनी बाहिर छतमा गइन्। जुनेली रात, चन्द्रमा प्रफुल्ल भएर मुस्कुराएको थियो, त्यो अलौकिक मुस्कानका साथ चन्द्रमा होइन विवेकले नै आफूलाई हेरेझैं लाग्यो।
उसले विस्तारै भन्यो, ‘कति सुन्दर देखिएकी मानिषा तिमी !’ मख्ख पर्दै उनले भनिन्, ‘तिमीले नै ल्याइदिएको टपलेस होइन र यो?’
चन्द्रमा अझै मुस्कुरायो, उनी त्यही संसारमा पुगिन्। निकैबेर आफ्नो प्यारो विवेकसँग मनका कुरा पोखिन्।
केही समयपछि एउटा ठूलो बादलको टुक्राले आकाशलाई ढाक्यो। फेरि रातले आफ्नो साम्राज्य फैलायो। उनी निरिह हुँदै कोठा आएर टपलेस फुकालेर खुब रोइन्।
भोलिपल्ट अफिसमा सहकर्मी पवनसँग जम्काभेट भयो। पवन उनको बाल्यकालको साथी पनि थियो। केहीबेरपछि पवन उनकै कार्यकक्षमा आयो र केही औपचारिक कुराकानी भयो। त्यसपछि उसले बिस्तारै सोध्यो।
‘आखिर जे नहुनु पर्ने थियो, त्यो त भइहाल्यो। अब के सोचीकि छ्यौ मनिषा भविष्यको बारेमा ?’
उनले लामो सास फेरेर भनिन्, ‘के सोच्नु र पवन ? यस्तो असहिष्णु छ समाजमा! सास लिँदा पनि धेरै विचार गर्नुपर्छ हाम्रो उमेरकी एकल महिलाले यहाँ! बोलीचाली, संगत र पहिरन हरेक कुरालाई मर्यादा, धर्म र चरित्रसँग जोडेर हेरिन्छ। के सोच्न पाउँछे उसले आफ्नो बारेमा ?’
उनको कुरा पवनले कुनै प्रतिक्रिया जनाएन।
केहीबेर त्यहाँ सन्नाटा छायो। त्यो मौनतापछि उनले पवनलाई सोधिन्, ‘तिमीले पनि त आफ्नो बारेमा भनेका छैनौ नि पवन’
आफ्नो तिखा नजरले अनन्ततिर हेर्दै उसले भन्यो, ‘भन्न लायक के छ र मानिषा ?
जीवनमा भर्खर दाम्पत्यका सपनाहरू अंकुराउन थालेका मात्रै थिए, हावाको एउटा ठूलो झोका आयो र सबै लथालिङ्ग भए।’ पवनले लामो सास फेर्यो र फेरि भन्यो- ‘उनका खुसीहरू त अन्तै रहेछन्। बिस्तारै भ्रमको पर्दा उघ्रियो र त्यसपछि साथै हिँड्न सकिएन। अहिले सम्बन्ध बिच्छेदको मुद्दा चल्दै छ’ कुरा सुनेर मनिषा स्तब्ध भइन्।
पवनले लामो सास लियो र मन तातो कफी रित्याएर गयो। उनी मानवीय सम्बन्धका ती सकसहरूको देखेर सोचमग्न भइन्।
आज पनि राति पटक्कै निन्द्रा लागेन। झ्यालबाट बाहिरतिर हेरिन्। जुनको मधुरो प्रकाशमा रात पिलपिलाई रहेको थियो। त्यो धमिलो रातसँगै पुरानै यादहरू उर्लिएर आए र उनलाई भावुक बनाए।
कति निर्मम थिए ती दिनहरू! विवेकको बाँच्ने उत्कट अभिलाषा र उनको चरम आर्थिक संकट! सम्झेर मन फेरि कुडियो।
उनले चुपचाप आँसु पुछिन् र मनमनै सोचिन्, ‘कति कठोर परीक्षा लियो जिन्दगीले!’
विवेकको अन्तिम घडीको सम्झना आयो। अस्पतालमा सरकारी डायलासिसको पालो पर्खिंदा पर्खिंदै अचेत भयो। उनले आत्तिँदै डाक्टरलाई बोलाइन्।
डाक्टरहरूले अथक प्रयास गरे, उसको छाती पनि निकैबेरसम्म दबाए। तर अपसोच उसको चेतना फेरि फर्किन सकेनन्। ऊ चीरनिद्रामा लीन भयो। उनले लामो सुस्केरा हालिन् र फेरि विवेक प्रेमिल चेहारा आँखा अगाडि आयो र असह्य पीडाले छटपटिँदै त्यो रात बित्यो।
भोलिपल्ट अफिसबाट घर आइपुगेकी मात्र थिइन्।
घर पुग्नासाथ छोराले आत्तिदै आएर भन्यो,‘मामु! हजुर-आमालाई के भयो ? के भयो ? हेर्नुस न , छटपटीमात्रै गर्नुहुन्छ , त्यति बोल्नु पनि हुन्न , ऐंया ऐंया भन्नु हुन्छ।’
उनी दौडेर हेर्न पुगिन्। सासूको हालत नाजुक भैसकेको रहेछ। हतास भएर उनले एम्बुलेन्स बोलाइन्। टेलिफोनबाट कार्यालय प्रमुखसँग केही दिन बिदा पनि मागिन् र सासूलाई अस्पताल लगिन्।
अस्पतालमा पुगेपछि तुरून्तै अक्सिजन दिइयो।
उनले सासूका कपाल मुसार्न थालिन्। सासूका चेतना पातलिँदै गयो, उनका बोली पनि लरबाराउन थाले। डाक्टरहरूले मनिषालाई बाहिर पठाएर र सासूलाई आइसियुमा लगे। उनी सानो छोरासँगै आइसियुको बाहिर छटपटिँदै बसिन्।
बिहानीपख दुई तीन बजेतिर सासूलाई हेर्न गइन्।
मानिषालाई देखेर सासूका आँखाबाट बरर्र आँसु झरे। उनले बिस्तारै लरबराएकै आवाजमा भनिन् ‘नानु...अब मलाई त तिम्रो ससुरा र मेरो छोरोले स्वर्गमा बोलाएजस्तो छ !’
उनी बोल्दै गइन् ‘के गर्नु नानु ..... तिमी फुल्नै नपाई निमोठियौ! कति रहरहरू थिए होलान् तिम्रा पनि। मैले विधवा भएर यतिका वर्ष बाँचें, मेरो त उमेर गइसकेको थियो। जवानीमै विधवा भएकाहरूको त हाँसेको पनि देखी सहँदैन यो समाज। ...तर बुहारी! तिमीले आफ्नो बारेमा पनि सोच! नातिको राम्रो व्यवस्था मिलाइदेऊ र तिमी फेरि नयाँ जीवन सुरू ग...र ..’
बोल्दाबोल्दै उनको आवाज बन्द भयो। शरीर तन्किएझैं लाग्यो र आँखा झम्किन छोडे।
उनको होस हवास उड्यो, दौडिएर नर्सलाई बोलाइन्। एकैछिनमा एक हुल सेताकोटधारीहरू जम्मा भए र उनलाई बाहिर पठाए।
उनी छोरा च्यापेर बाहिर आइन्, चेतना शिथिल भयो। घरीघरी सासूका शब्दहरू वचनहरू कानमा बजेजस्तो भयो।
लामो निस्वास लिइन्, आफूले हिँडेका कठिन बाटाहरूका तम्तमिला अनुभूतिहरू कक्क्रक पारे। सँगसँगै डायलासिसको सहाराको जीर्ण लोग्ने र समाजका अनिगिन्ती स्वार्थी अनुहारहरू मानसपटलमा सलबलाई रहे।
करिब आधा घण्टापछि नर्स बाहिर आएर उनलाई भनिन्, ‘अब उहाँ रहनु भएन, मान्छे बोलाएर उहाँलाई लैजानुस्’ नर्सको कुरा सुनेर छोरा कोक्किँदै रून थाल्यो। उनी किंकर्तव्यमुढ भइन् र पछाडि फर्केर हेरिन्। आँखाभरी आँसु लिएर पवन पछाडि उभिइरहेको थियो।
उसले विस्तारै भन्यो, ‘अफिसबाट थाहा पाएर आएको म !’
कुरा सुनेर उनको संयमको बाँध भत्कियो र उनी डाँको छोडेर रून थालिन्।