'आकाशमा बादल हुनु नौलो होइन, परका इन्द्रेणीहरूले चिहाए झैँ गर्नु त्यो पनि अनौठो होइन र पनि किन लाग्दैछ यो जानु, नआउनु र बिर्सिदिनुको बिम्ब अनौठो हो?
हुन त अब तिमी नगएको भए अथवा तिमीले सम्झिराख है भने पनि म तिमीलाई बिर्सने नै थिएँ। अथवा सम्झेर पनि बिर्सिने कोसिस गर्ने थिएँ। मसँग स्नेह र प्रेमको मिलेको गणित कहिल्यै थिएन। आजकल लाग्छ म बेप्रवाह प्रेम र बेप्रवाह विछिप्तता दुवैलाई चरमतामा महसुस गर्दी रहेछु। लाग्छ तिमीलाई सम्झनुभन्दा बिर्सनुको विकल्प अब म रोज्न सक्छु। गुडबाई प्रिय मान्छे, अब तिमी मेरो स्मृतिमा पनि रहनेछैनौ। यो तिम्रो लागि मेरो अन्तिम सन्देश रहनेछ।
-इलियाना'
उसको इमेलले मलाई अनौठो चस्का दियो। चाहेको भए उसले मलाई नपठाउन पनि सक्थेँ, तर पठाएँ। कता-कता लाग्छ नपठाएको भए पनि हुने नि। तर ऊ जब्बर छे भन्ने कुरा मलाई पहिल्यै थाहा थियो, त्यही जब्बरतालाई महसुस गर्न म ऊसँग नजिक भएँ। तर ऊ जब्बर भएर पनि कता-कता नाजुक थिई। उसको जब्बरताको म प्रेमी थिएँ तर समग्रतामा म ऊप्रति के महसुस गर्छु म भन्न सक्दिनँ। उसले के महसुस गरी, म त्यसमा प्रष्ट छु।
उसको नाम इलियाना भएकै कारण ऊ मेरो नजरमा परेकी पक्कै थिइन। तर मैले नेपाली केटीको नाम इलियाना पनि हुन सक्छ भनेर कहिल्यै सोचेको थिइनँ। ऊ बारम्बार ब्रिटिश लाइब्रेरी धाउँथी तर किताब नपढी मान्छे हेरेर बस्थी। मैले उसलाई पहिलोपटक ब्रिटिश लाइबेरीमै देखेको हुँ।
मलाई अचम्म लाग्थ्यो किन ऊ किताब नहेरी मान्छे हेर्छे? केही समय पश्चात लाइबेरी बाहिर भेट्दा, 'आई एम संसार, तपाईंलाई सधैँ लाइब्रेरीमा देख्छु' भन्दै परिचय दिएको थिएँ। त्यो बेला उसले बिनासंकोच 'म इलियाना' भन्दै मलाई अंगालो हालेकी थिई। मसँग पहिलो भेटमै अंगालो हाल्ने ऊ किताब नपढी मान्छे पढ्थी।
बारम्बार लाइब्रेरीमै भेट्ने भएकाले ऊसँग मलाई कुराकानी सुरु गर्न गाह्रो भएन। एकदिन अचानक मैले सोधेको थिएँ, 'किन तिमी लाइब्रेरीमा आएर पनि किताब नपढी मान्छे पढ्छ्यौ?'
ऊ भन्थी, 'तिमीलाई लाग्छ किताब पढेर मान्छे बुझिन्छ, म त मान्छे पढेर पनि मान्छेलाई बुझ्न सकेको छैन।'
त्यसपछि मलाई ऊ अझ अचम्मकी लाग्न थाल्यो र अझ जब्बर पनि। अनि मान्छे नै बुझ्न चाहन्छेऊ भने तिमी किन लाइब्रेरी नै आउँछ्यौ, तिमी त भिडबाडमा जान सक्छ्यौ, अझ धेरै मान्छे भेट्छ्यौ।'
'मलाई थाहा थियो तिमीले यस्तै उत्तर फर्काउनेछौ भनेर, म यसको उत्तर अर्को कुनै दिन भन्छु ल, आज मलाई हतार छ।'
एकाएक ऊ फटाफट आफ्नो बाटो लागी, म उसलाई हेरिराखेँ एकटक जसरी ऊ किताबमा आँखा गाडेका मान्छेहरूलाई हेर्थी।
हामी दुवै ब्रिटिश लाइब्रेरी दिनहुँजस्तो आउँथ्यौँ। कलेज भ्याएपछि उसले भनेअनुसार ऊ सरस्वती कलेजमा होम साइन्स पढ्थी तर ऊ त्यहाँ मान्छे पढ्न आउँथी। म किताब पढ्थेँ, ऊ मजस्तै अनेकौँ मान्छेहरूलाई अवलोकन गर्थी। कहिलेकाहीँ मलाई ऊ देखेर झर्को लाग्थ्यो। तर ऊ झर्को नमानी मान्छेहरू हेर्थी।
'किन तिमी किताब कहिल्यै हेर्दिनौ?' म भन्छु।
ऊ भन्छे, 'किनकि मलाई किताबहरू पनि मान्छेजस्तै बहुरंगी लाग्छ। देखाउँछन् एउटा, हुन्छन् अर्को। त्यसैले म किताबको सट्टा मान्छेहरू हेर्छु। किताबहरू पनि मान्छेकै बहुरंगी अनुहारका उपजहरू हुन्। तिमीलाई लाग्ला यिनीहरूले तिमीलाई ज्ञानी बनाउँछन्। होइन, यिनीहरूले तिमीलाई म त ज्ञानी भएँ नि भनेर अरुलाई देखाउन सिकाउँछन्। त्यसैले म किताबको सट्टा डाइरेक्ट मान्छे पढ्छु।'
उसको कुरामा सहमत नभए पनि म असहमत भने हुन सकिनँ। फेरि म ऊसँग तर्क गर्ने मनस्थितिमा थिइन। तर उसका तर्कहरू र वैकल्पिक धारणाले भने मलाई अवश्य तान्थ्यो। र पनि म ऊसँग तर्क गर्दैन्थेँ किनकि म किताबलाई प्रेम गर्थें। मलाई लाग्थ्यो किताबको अस्तित्वमाथि ती मान्छेहरू प्रश्न गर्छन् जो किताबलाई घृणा गर्छन्। मलाई लाग्थ्यो ऊ पनि त्यस्तै कोही हो।
म त्यो समय रसियन उपन्यासहरू पढ्थेँ। मलाई लाग्थ्यो रसियन उपन्यासकारहरू संसारकै महान् लेखकहरू हुन्। एकदिन कुरैकुरामा मैले उसलाई भन्छु, 'तिमी अपढ र मूर्ख हौ, त्यसैले लेखकहरूलाई बहुरंगी र मूर्ख ठान्छेऊ।'
ऊ भन्छे, 'अनि तिमी कसरी ज्ञानी भयौ जसले किताबको एकांकीपनलाई मात्र संसार मान्छौ भने?'
म केही भन्दिनँ तर ऊसँग सहमत हुन सक्दिनँ।
यसरी उसका र मेरा तर्क र कुतर्कका श्रृङ्खलाहरू बढ्दै थिए। ऊ किताबको अस्तित्वलाई मान्छेहरूको अहमता र हैकमवादी चरित्रको उपज ठान्थी। त्यसैले पढ्छु भन्ने किताबको एकलवादी अस्तित्वमा विश्वास गर्ने लाइब्रेरीमा दिनहुँ धाउनेलाई बुभ्न चाहन्थी। उसलाई सबैभन्दा कुरुप विचारधारी तिनै आइब्रेरीमा बस्ने र पढ्नेहरू लाग्थ्यो।
ऊ भन्थी, 'मलाई पढ्न नजान्नेहरूसँग केही समस्या छैन, उनीहरूको अनुहारमा निश्चलता भेटिन्छ। तर म पढ्नेहरूलाई सजिलै विश्वास गर्न सक्दिनँ, उनीहरू सधैँ भ्रममा बाचेजस्तो लाग्छ र उनीहरू बारे अरुलाई पनि भ्रममा राखेजस्तो लाग्छ।'
उसका विचारहरूले मेरो किताबवादी अस्तित्वलाई एकैछिनमा ठालिदिन्थ्यो। उसका यी-यस्तै विचारहरूले गर्दा म उसलाई बुझ्न चाहन्थेँ। उसको जब्बरता र आफ्नो विचार प्रतिको अडानलाई देखेर मलाई ऊप्रति ईष्या पनि लाग्थ्यो। विस्तारै म ऊसँग बढी समय बिताउँदै थिएँ। कहिलेकाहीँ मलाई ऊ जिज्ञासु बालिकाजस्तो लाग्थ्यो त कहिलेकाहीँ एक सन्त बृद्धाजस्तो। र पनि ऊ आफ्नो विचारमा यति अडिक थिई कि ऊ प्रत्येक दिन लाइब्रेरी जान छोड्दैन थिई।
मैले उसलाई कहिल्यै अरु ठाउँमा मानिसहरूलाई अवलोकन गरेको भेटिनँ। ऊ त सधैँ लाइब्रेरी नै जान्थी। एकदिन उसले भनेकी थिई, 'मलाई किन-किन लाइब्रेरीमा बस्नेहरू आफ्नै अहमतामा अल्झिएका कुरुप मानव स्वरुपहरू लाग्छन्। मेरो पहिलो र अन्तिम प्रेमी जसले मलाई प्रेम गर्छु भन्यो ऊ पनि तिमीहरूजस्तै लाइब्रेरी म्यान थियो।
ऊ भन्थ्यो- 'तिमी मेरो दोस्रो प्रेमिका हौ, मेरो पहिलो प्रमिका पुस्तक नै हो।' प्रेमिका पनि कसरी दोस्रो हुन सक्छे! ऊ पहिले नै कसैको प्रेममा छ भने फेरि अर्कोको प्रेममा छु भन्नु कत्तिको जायज हो? विस्तारै मलाई लाग्दै गयो, उसले मलाई गर्ने प्रेम किताबी प्रेम रहेछ। अनि एकदिन मैले दुःखको साथ भन्नुपर्यो, 'कृपया अबदेखि मलाई प्रेमिका नभन, म कसैकी दोस्रो प्रेमको लागि जन्मेकी होइन। मलाई वैकल्पिक प्रेमिका बन्नु छैन।'
उसको कुरालाई नकार्दै मैले भनेँ, 'तिम्रो प्रेमीले तिमीलाई गर्ने प्रेम र पुस्तकलाई गर्ने प्रेम फरक पो हो कि।'
तर ऊ मेरो कुरा पत्याउन तयार भैन, 'त्यसो भए किन उसले दोस्रो प्रेमिका भन्यो त? के तिमी तिम्री आमालाई प्रेमीका भन्छौ?' बस उसले यति भनी अनि सरासर आफ्नो बाटो लागी।
उसको पहिलो प्रेमीसँग उसका हजारौँ गुनासाहरू थिए, त्यसैले ऊ लाइब्रेरी छिर्नेहरूलाई बुझ्न चाहन्थी। ऊ बम्किँदै भन्थी, 'उसले मलाई प्रेम गर्छु भन्यो तर किताबको एक अमूक पात्रलाई प्रेम गर्थ्यो। भन्ने गर्थ्यो- त्यो पात्र पनि मजस्तै छ। यदि पात्र नै मजस्तो भए किन ऊ मेरो उपस्थिति चाहन्थ्यो आफ्नो जीवनमा? मलाई उसको यही कुरा मन पर्दैन्थ्यो। तिमीहरू लाइब्रेरी धाउनेहरू सबै मलाई त्यस्तै लाग्छ। त्यसैले म तिमीहरूको ढोङ्गी मनस्थितिलाई बुझ्न चाहन्छु।'
ऊ यस्तै-यस्तै कुरा गर्थी जोसँग म सहमत हुन सक्दैन थिएँ तर उसको मेरो जीवनमा रहेको उपस्थितिलाई नर्कान सक्दैनथेँ। ऊ बोल्थी, म सुन्थेँ। म पढ्थेँ, ऊ अवलोकन मात्र गर्थी। समय यसरी नै बित्दै थियो।
थाहा छैन एकदिन अचानक उसलाई के लाग्यो भनी, 'के तिमी मबारे केही महसुस गर्छौ?'
मलाई थाहा थिएन उसको प्रश्नको आशय के थियो तर ऊ मबाट केही आशा गर्दैछे भन्ने प्रष्ट थियो। मैले अचानक भनिदिएँ, 'सायद म तिमीभित्रको जब्बरतालाई बुझ्न चाहन्छु, मैले पढ्दै गरेको पुस्तकमा पनि यस्तै एउटा पात्र छे।'
थाहा छैन त्यसपछि उसलाई के भयो, ऊ अचानक हराई। त्यो दिनपछि उसलाई मैले कहिल्यै लाइब्रेरीमा भेटिनँ। ऊ त मेरो मानसपटलबाट विस्तारै धुमिल बन्दै थिई। अचानक उसको इमेलले म नराम्ररी धमिलिएको छु, भित्र-भित्र कुँडिएको छु।