सम्झन्छ आफ्नो कर्तव्य र
उठ्न खोज्दछ जुरुक्क 
तर पछारिन्छ भुइँमा
बाबुआमालाई
खोज्दछ बालेर देखाउन 
दियो आश्वासनको
कोरिँदैन सलाई
मिलेर बसेका छन् काँटीहरु 
ओकल्दैनन् तर आगोहरु 
दाजुभाइ र दिदी-बहिनीलाई 
खोज्दछ सुमसुम्याउन स्नेहले 
पुग्दैनन् हातहरु 
खोज्दछ खुसीको रंगहरु पोत्न 
भित्ताहरुमा घरका 
खस्दछ भुइँमा
समाउँदैन हातले 
उसका बुरुस र कुचीहरु 
छरछिमेक र आफन्तलाई मुस्काउँदै
हात मात्र हल्लाउन खोज्दछ 
खुल्दैनन् ओठहरु 
चल्दैनन् हातहरु 
बोलाउँदा साथीहरुले
पुगेर टाकुरामा 
लाग्छ गिजाउँदैछन्
उसैलाई 
अभाव गरिबी र दरिद्रताका बन्धनले
छ बाँधिएको
हरपल हरक्षण भासिँदै र
डुब्दै गएको छ निरन्तर 
तर छ झिनो 
आशा अझै मनमा उसको 
अर्को गजेन्द्र मोक्ष हुने र 
भुइँबाट उठ्ने
सलाई कोर्ने
दाजुभाइ र दिदी-बहिनीलाई 
मायालु हातले छुने र
घरका भित्तामा
खुसीका रंगहरु पोत्ने।