एक श्रीमतीको बकपत्र, त्यो पनि जेठी श्रीमतीको।
सुन्दा, पढ्दा झर्को लाग्ला तर यथार्थता तीतो हुन्छ नै।आफ्नो कहानी कहाँबाट सुरू गरौं, कहाँ लगेर बिट मारौं, कसरी पीडा ओकलौं ?
भोगाइले सिकाएको यो विरक्त लाग्दो जिन्दगीको सुरूआती क्षण निकै यादगर छ।
अरूको सामुन्ने तपाईं भनेर सम्बोधन गरे पनि मलाई भने किन किन लोकाचारजस्तै लाग्थ्यो। हजुर, उहाँ भन्न पटक्कै मन लागेन मेरो लागि जे जे भए नि ऊ नै हो ...त्यो नै हो।
हुन त ऊ कुनै अपरिचितपात्र थिएन नातामा भिनाजु पर्थ्यो। आफ्नो साख्खै नभए पनि नजिकैकी दिदीको आफ्नै कान्छो देवर।
ऊ दिदीसँगै कहिलेकाहीँ ससुरालीमा आउँथ्यो, दिदीका आफ्नै बहिनी थिएनन्, त्यसैले नजिककी बैनी मै थेँ। सुरूसुरूमा दिदीको देवर आउँदा, बस्दा नि खासै बोलचाल गरिएन, परैबाट नमस्कार गरियो, बस् तर्कियो मात्र।
ऊ बडो भलाद्मी देखिन्थ्यो, छिमेकीले छेँड हान्थे ‘साली त आधि घरवाली हो भन्छन, बाबु किन परपर हुनुन्छ’ ?
‘दाइको ससुराली गाऊँ भन्ने गीत सुन्नु भा छैन र बाबु ’?
‘सालीसँग हाँसीमजाक नगर्ने नि भिनाजु हुन्छ र’ ?
यस्तै बिल्ला गर्थे, उडाउँथे तर पनि ऊ मौन बस्थ्यो।
‘गीतमा भने जस्तै व्यहारमा कहाँ त्यस्तो हुन्छ र ? आफ्नो भाउजुको बहिनी हो नि’ , ऊ निकै इज्जतले बोल्थ्यो, आफूलाई संस्कारी देखाउँथ्यो।
आफू पनि उमेरमा सानै थेँ। खासै जिस्किने काम गरिएन, भिनाजुको आदर, सत्कारचाहिँ गरिन्थ्यो।
ऊ मौका मिल्नासाथ दिदी आउँदा ससुरालीमा आउथ्यो, अन्तिम पटक ऊ आइ. ए. को जाँच सकाएर हाम्रो गाउँमा आएको थ्यो। मनले नभने पनि झट्ट हेर्दा ऊ निकै राम्रो देखिएको थियो। सहरबाट गाउँमा आएको, निकै भलाद्मी ज्वाइँको रूपमा ससुरालीमा भित्रेको थियो। छिमेकीहरू जिस्काउँथे,
‘बाबु अब ब्या गर्ने होइन ? सधैंभरि पढेर मात्र बस्ने हो कि घरजमको बारेमा नि सोच्ने हो ? फेरि ब्या गर्नै बिर्सेला नि .... जे काम नि बेलामा गर्नपर्च..।’
मुसुक्क हाँसेर जवाफ फर्काउँथ्यो, ‘भर्खर आइ ए पढ्दै छु,पहिले पढाइ सक्ने, जागिर खाने अनिमात्र ब्या गर्ने’ ।
आज जस्तो होइन बीस बाइस अघिको बेलामा आइ ए पढ्ने कुरा सानोतिनो थिएन।
दिदीले पनि बेलामौकामा निकै तारिफ गर्थी देवर जीको।
हुन पनि ऊ तारिफ गर्न लायककै थियो। पढाइमा पनि निकै तेज थियो। बाउआमाले सहरमा उच्च शिक्षा पढ्न पठाएका थिए।
कुराकानीकै मेसोमा दिदीले देवरलाई भनी, ‘बाबु यहाँ बसुन्जेल मेरी बहिनी गणितमा कमजोर छे, उसको परीक्षा आउँदै छ। यसो उसलाई सिकाइदिनुस् न। यो फेल भई भने त काकाले अर्को साल ब्या गर्दिन्छन्’।
मन त्यसै त्यसै कस्तो कस्तो भयो। अघिसम्म मनमनै राम्रो लागेको भिनाजुसँग गणित पढ्न पाइने भइयो। वाह हुर्रे.....मन बिनापत्तामा कहाँ कहाँ उड्यो होस हवास ठाउँमा थिएन। भाउजुलाई आँखा तन्काएर देवर जीले हस् भने।
‘मलाई आउने कुरा सिकाइहाल्छु नि.... म दस कक्षामा पढ्दा त आफ्नै कक्षाका साथीहरूलाई पढाउँथें, साली त आठ कक्षाकी।’
यति कुरा सुनेपछि झन् मन कहाँकहाँ उड्यो कुनै भेऊ पाउन सकेकी थिइनँ।
गणितको किताब र कापी अनि एउटा कलम लिएर भिनाजुसँग पढ्न थालेँ।
स्कुलमा सरले भन्दा नि राम्रोसँग बुझाएर गणितका समस्या हल गर्न सिकाए।
‘तिमीलाई यस्तो प्रश्न परीक्षामा आयो भने हल गर्न आउँछ’ ?
प्रश्न सुनेर मेरो अनुहार रातोपिरो हुन्थ्यो। एकैछिन गम खाएर अँ ... भन्थें।
भिनाजुले पुलुक्क मेरो मुखमा हेर्थे, ‘अलिकति त मुख हेरेर पनि लख काट्न सकिन्छ तिमीलाई यो हल गर्न आउन्न भनेर,सत्य कुरा भन, तिमी किल्यर छौ कि छैनौ ?
लाज नमान, जीवनमा लाज मान्ने मान्छेले केही प्रगति गर्न सक्दैन। म फेरि सिकाउँछु। ’
रातो पिरो हुँदै फेरि अलिअलि मात्रै आउँछ भन्थें, भिनाजुले फेरि सिकाउथे। दिदी तीन दिन माइती बसी। भिनाजुले एक एक घण्टा भए पनि राम्रोसँग बुझाएर पढाए। चौथो दिनमा दिदी र सानो भिनाजु आफ्नो घर फर्किए। जाने बेलामा सानो भिनाजुले म एक सातापछि यता आउने काम हुन सक्छ, आएँ भने पस्छु, त्यतिन्जेल आफूलाई नआएका कुराहरू टिपेर राख्नू म सिकाइदिन्छु भने। मैले पनि हस् भने। भिनाजुको अगाडि नजान्ने हुन नि भएन, सबै कुरा ध्यान दिएर पढेँ, अब भिनाजुले जे सोधे नि भन्न सक्ने हुन्छु भनेर दोहोराइ तेहराइ पढेँ। तर सबै पाठको पढिसकाउन पाइनँ घरको कामले।
नभन्दै एक सातामा भिनाजु खै के काम छ भन्दै फेरि हाम्रो गाउँमा आए। त्यो बेलामा दिदी आएकी थिइन। भिनाजुले अर्को साता सहर जाने कुरा बताएका थे। हाम्रो घरमा कोही थिएनन् , भिनाजुलाई खाजा खुवाएँ, उनले ‘के के समस्या छ टिप्यौ त भने’ ,
मैले खेतबारीको कामको चटारोले सबै टिप्न नभ्याएको बताएँ।
उनैले सहजीकरण गर्दिने बाचा गरे।
‘खै किताब ल्याऊ म हल गर्दिन्छु , फेरि मलाई फर्किन पर्नि छ।’
मैले आज्ञाकारी छात्रा भएर मानें, किताब र कापी ल्याएँ। बाहिर दलानमा बसेर पढ्ने निर्णय मैले गरें नि भिनाजु भित्रै बसेर पढ्ने अड्डी कस्न थाले।
भिनाजु: किन पर बसेकी अलि नजिक बस न।
म: ठिकै छ भिनाजु
भिनाजु:धत् लाटी म आफ्नै भिनाजु होइन त ? किन लजाएकी ? म झन सिकाउन लाइराछु, ऊ भने टाढाटाढा भाग्छे।’
यो कुराले भने कताकता अनौठो अनुभूति गरायो।
एकाएक मन पोल्न थाल्यो, ‘होइन भिनाजु अहिले आमा बुवा घाँस ल्याएर आउनुहुन्छ, फेरि मलाई के भन्नुहुन्छ ? छिमेकीले देखे भने के भन्लान् ? भित्र होइन बाहिर दलानमै बसेर सिकाइदिनुस् न।’
भिनाजु बहाना बनाउन थाले।
‘बाहिर बस्दा दिमाग एकचित्त हुँदैन, ध्यानमग्न भइएन भने कसरी पढिन्छ ? भित्र बसियो भने एकमनले पढ्न, सिक्न पाइन्छ , आऊ अलि वर आऊ।’
जर्वजस्ती आफ्नो सामुन्नेमा तानेर बसाए।
ढोकाको आग्लो बलियोसँग बन्द गरे, यसपटक अस्ति आएका भन्दा फरक भएका रहेछन् भिनाजु। उनले गणितका समस्या हल गर्ने होइन, मेरो शरीरका अगंअगंसँग खेल्न थाले, प्रतिकार गर्न खोजेँ तर केही सीप लागेन। उनले मेरो इज्जतमाथि खेले, आफ्नो स्वार्थ भरपुर उपयोग गरे। म केही गर्न सकिनँ।
महिनावारी हुन थालेको भर्खर पाँच महिनाजति भएको थियो, ममाथि भिनाजुले गरेको हर्कत सम्झँदा भक्कानो फुट्न थाल्यो, मनले के सोच्यो के ? दिमागले काम नगरेजस्तै भयो। असह्य पीडाले रन्थनिएर बेहोसजस्तै भएँ ।
एकोहोरो रूँन थालें। एक तमासले बसेका भिनाजुले अँगालोमा बेरे।
‘केही फरक पर्दैन, बढीमा तिम्रो पेटमा बच्चा बस्ला रे,के फरक पर्छ ? यति राम्री छौ। म तिमीलाई बिहे गर्छु , बिहेपछि गर्ने काम अहिले नै गर्यौ के भो त ? पढाइ सकाएर जागिर खाएर ब्या गर्छु भन्ने भिनाजुले मेरो अस्मितामाथि किन यसरी खेले ? मेरो भावनालाई किन गिजोले ? मेरो अस्मितालाई किन लुटिदिए ? अरूको सामु निकै भलाद्मी देखिने भिनाजुले मेरो यौवनलाई किन खेलौना बनाए ?
ममाथि यति गरिसक्दा नि भिनाजुमा केही लाज शरम देखिन।
यो त आजकाल सामान्य हो उल्टै स्पष्टीकरण दिए। तिमीलाई कस्तो अनुभूति भयो ? खुसी छौ नि ? एकपछि अर्को प्रश्न तेर्साएको तेर्साइ छन्, आफूलाई भने उसको अनुहार नि हेर्न मन छैन।
सहरमा पढ्न भनेर जाने जति सबै यस्तै हुन्छ कि क्या हो ? मनले अनेकतिर सोच्न थाल्यो।
अर्कातिर मुटुको धड्कन बढेको बढ्यै छ, अब केही भइहाल्यो भने कसरी बाँच्ने ? कसरी मुख देखाएर हिँड्ने ? ऊ त छोरो मान्छे हो उसको के जान्छ र ? सबथोक जाने त मेरै हो ।
एकैछिनमा बाहिरबाट ढोका ढकढकको आवाज आयो, भिनाजु निकै होसियार भएर, आज्ञाकारी शिक्षकजस्तै बनेर मलाई पढाएको नाटक गर्न थाले।
‘ल लिला यो बुझ्यौ त ? अब त यतिको समस्या आयो भने हल गर्न सक्छौ नि’ ?
ए कान्छी ढोका खोल न सुनिनस्? आमाको बोली सुनियो। मनमा जे भए पनि हँसिलो मुहार बनाउँदै ढोका उघारेँ।
घरभित्र कोठामा मैले पढेको देख्दा आमा दंग पर्नुभयो।
सानो भिनाजुलाई देखेर अचम्म मान्दै सोध्नुभयो,‘ओहो बाबु , कतिखेर आउनु भो ? हामी दुवैजना घाँस लिन गा’का थ्यौँ, नानीले चियासिया बनाएर खान दि कि देकी छैन खै’ ?
‘ए कान्छी भिनाजुलाई चिया खुवाइस् त ? कि पढ्न मात्रै सिकेकी छस् ? अब त घरमा आएका पाहुनालाई चियापानी सोध्ने , बनाएर दिने भएकी छेस त , यति कुरा नि दोहोराउनु पर्छ तँलाई’ ?
तिम्री छोरीको मनमा के भएको छ ? तिम्री छोरीमाथि के बितेको छ ? तिमलाई के था छ र आमा ? तिम्रो राम्रो ज्वाइँले छोरीको सर्वस्व लुटिसक्यो आमा , म कसरी भनुँ?
फेरि उही जान्ने टोपल्यो, ‘पर्दैन पर्दैन आमा म चियासिया खाँदिनँ,लिलाले अघि नै सोधकी थिइन्, मैले नै नाइँ भनेको हुँ । फेरि मलाई आजै फर्कनु छ। आफ्नै ससुराली हो खाइहालिन्छ नि। म त यसो साली नानीलाई यता आएको बेलामा आफूले जानेको कुरा सिकाइदि हालौँ भनेर मात्रै एकैछिन छिरेको। म अब जान्छु है।’
ऊ घर फर्कने तयारी गर्न थाल्यो।
उसलाई के छ र ? भोलि सहरमा गइहाल्छ, उसले जे गरे नि समाजले उसैलाई महान ठान्छ। भोलि केही नराम्रो भयो भने बेइज्जत मेरो हुन्छ, बदनाम मेरो परिवारको हुन्छ। मनले निकै कुरा सोाचिरह्यो।
बाइबाइ लिला। परसम्म पुग्दा पनि हात हल्याइरह्यो। म फेरि आउँछु है .... ऊ भन्दै थियो तर मलाई भने ऐंठन हुन थाल्यो।
दिदीलाई तेरो देवरले यस्तो व्यवहार गर्यो भनौं उल्टै मलाइ कराउँछे, घरमा आमालाई भनौं मैलाई नराम्रो भन्छन्। अर्को सातादेखि आठ कक्षाको परीक्षा छ। जीउ दुखेर असह्य भएको छ । परीक्षाको भन्दा आफ्नो इज्जतको चिन्ता बढी हुन थाल्यो।
मन धुक्चुक धुक्चुक् बनाइ बनाइ परीक्षा दिएँ।
अघिल्लो महिनामा सत्र गते महिनावारी भएको थ्यो, यस पटक सत्ताइस गते भइसक्यो महिनावारी भएन। आमाले सोध्नु भयो,
‘तँ छुइ भएको महिना दिन पुगेन र हँ ? तँ सँगै भएकी रीता त अस्ति भइसकिछ, कतै विगार त परेन ? बिगार पर्यो भने त धामी पो लाउनु पर्छ’।
आमाको कुराले झन् मन डराउन थाल्यो।
हे भगवान ममाथि के आपत आइलाग्यो, के गर्दा महिनावारी हुन्छ त ? अस्पतालमा जाऊँ , सबै चिनेका आफन्त मात्रै छन्, के भनेर सोधौं ? सहरमा जाने अवस्था छैन। आमाको डरले त्यतिकै महिनावारी भएको भनेर चार दिने बारेँ, अर्को महिना पनि त्यसै गरेँ।
तल्लो घरकी भाउजु गर्भवती थिइन्। जे पनि गनाउछ भन्थिन्, सधैं उल्टी गर्ने केही खान मन नलाग्ने, घरीघरी मलाई पनि वाकवाकी लाग्थ्यो तर उल्टी भइहालेको चाहिँ थेन। भाउजुलाई जे जस्तो हुन्थ्यो घरीघरी मलाई नि त्यस्तै हुन्थ्यो।
चार महिना भइसक्यो महिनावारी भएन। तर पनि आमाको डरले भयो भन्दै चार दिन अलग्यै बसेर बारें।
पाँच महिनापछि सानिमा आएकी थिइन् हाम्रो घरमा। उनले लख काटिछन् क्यार, फ्याट्टै मुख फोरिन्, ‘ए दिदी यो कान्छी त कस्तो मोटाएकी हँ ? बच्चा पाउने आइमाइजस्तो पछाडिको भाग उछुटिएको छ त यस्को त’ ?
सानिमाको कुरा सुनेर आमाले गाली गर्नुभयो, ‘के भन्छेस् तँ पनि ? खाएको ज्यान लाग्छ नि, शोक त सुर्ता, भोक र भकारी भन्छन्, यतिको उमेरमा हामी एक मुरीका बोरा जुरूक्कै उठाउथ्यौं, एकमानो चामलको भात एक्लै खान्थ्यौँ, यतिको उमेरमा नि ज्यान नलागेर हुन्छ र ? हाम्रा पालामा भा छोराछोरीका माऊ बन्ने बेला भइसक्यो, बाउआमालाई दंगाएका छन् खाका छन् ज्यान लागिहाल्छ नि ’ आमाको कुरामा सानिमा केही बोलिनन्।
पाँच महिना पुग्यो, पेटमा कताकता के सलबलाएजस्तो हुन थाल्यो, जेनतेन आठ कक्षा पास भएँ, नौ कक्षामा भर्ना पनि भएँ। स्कुल जाँदा पनि आफैंलाई अप्ठ्यारो लाग्न थाल्यो।
स्कुलको ड्रेस सर्ट र फरक (स्कट) थियो। सर्ट पनि सानो हुन थाल्यो, फरक पनि टाइट हुन थाल्यो। सात महिना भएपछि चाहिँ निकै गाह्रो हुन थाल्यो, दिदी माइतमा आएकी थि, जे होला होला उसैलाई सबै कुरा भनें, ए दिदी कि मलाई पार लाइ दे होइन भने बाउआमाको बदनाम हुनुभन्दा म झुन्डेर मर्छु, तेरो देवरले मलाई बर्बाद बनायो।’
मेरो कुराले दिदी एकैछिन त गम खाई, ‘हँ यस्तो पनि ? हरे शिव के सुन्नुपर् यो? देवरले आफ्नै बहिनीलाई पेट बोकाए ? आफ्नै सासू ससुरालाई उनको छोराको कर्तुत कसरी भनौं ? साँच्चिकै हो कान्छी ? भन न साँच्चिकै हो ? आफन्तले के भन्छन’ ?
केही सोच्नै सकिन दिदी। एकोहोरो बर्बराइमात्र।
आमालाइ एकान्तमा बोलाएर सबै कुरा बताई दिदीले। दिदीको कुराले आमा एकाएक बेहोस भइन्।
‘सानिमाले त भेऊ पाएकी रहिछे नि अस्ति नै, मैले नै छोरीलाई जोगाएँ, आजसम्म किन भनिनस् ? यस्तो किन गरिस ? हाम्रो नाक काटिस् तैंले, कुन मुख लिएर यो समाजमा हिँड्नु मैले ? यस्ता सन्तान हुनुभन्दा नभएको भएनि हुन्थ्यो।’
आमाले बेहोसीमै मलाई सराप्न थालिन्। भाग्यलाई धिकार्न थालिन्। म जिउँदो मुर्दा बनेर उभिइरहेँ, केही वाक्य फुटेन। कुरो के हो छिनोफानो गर्नैपर्छ, भोलिपल्ट गाउँमा कचहरी बस्यो, गाउँमा गन्नेमान्ने सबै भेला भए।
सबैको बीचमा मलाई राखे,‘ल भन् यो पेटको बच्चा त्यही शिवको हो भन्ने प्रमाण छ ’?
शिव सहर गएको छ, उसलाई फोन लगाएर सबै कुरा बुझ्न परो, एक जनाले ल्यान्डलाइन फोनबाट त्यही भिनाजुको नम्बरमा फोन गरे।
‘ए शिव सुन्दैछस् ? म तेरो काका बोल्दैछु।
उताबाट आवाज आयो, ‘हजुर सुन्दैछु .... सन्चै छ काका सबै जनालाई ’?
काका चिराँठिए, ‘सन्चो बिसन्चोको कुरा छोड् एउटा जरूरी काम छ। तैँले हो कि होइन तुरून्त भन्नुपर्यो, तेरो माइली भाउजुकी काकाकी छोरी छ नि लिला, उसको पेटमा तेरो बच्चा छ रे, सात आठ महिना हुन थालिसकेछ, तँलाई पोलेकी छ उसले। हामी समाज भेला भएका छौँ, तँ भन यो तेरो बच्चा हो कि होइन ?
शिव सुन्दैछस यो तेरो बच्चा हो ?’
एकैछिन रोकिएर शिवले जवाफ फर्कायो, ‘हो हो काका त्यो मेरै बच्चा हो, म दसैंमा घर आउँछु अहिले आउन सक्ने अवस्था छैन।लिलालाई घरमा भित्राउनु, राम्रो व्यवहार गर्नु., नराम्रो केही नगर्नू काका..’...टुट्टुट्... फोन काटियो।
मनमा केही राहत महसुस भयो, कम्तीमा स्वीकार त गर्यो। यदि त्यो भिनाजुले मेरो बच्चा होइन भनेको भए म कहाँ जान्थे होला? के गर्थें ? समाजमा भद्रभलाद्मीको सामु मुन्टो निहुराएरै बसेँ, मेरा बाउआमाको मुहार अँध्यारो देखिन्थ्यो। राम्रोसँग ब्या गर्दिम्ला भनेको अर्काको भुँडी बोकेर बेइज्जत गरेर मरी। आफन्तले आमालाई उचाल्दै थे ‘मेरा छोरीले यस्तो गरेको था पाऊँ न मात्रै सिधै मारेर जेल जान्छु बरू, छिमेकी आमैले आमालाई छेड हानिन्।
भोलिपल्टदेखि स्कुल जान छोडें। दिदीकै घरमा बुहारीको रूपमा भित्रेँ।
सासू ससुराले केही नराम्रो गरेनन्, जे हुनु भइहाल्यो, आफ्नै छोराले गलत गरेपछि अर्काकी छोरीलाई मात्र सरापेर के हुन्छ र भन्थे, निकै माया गर्थे।
भिनाजु जो अब श्रीमान भएको थ्यो उसले फोन गर्दैन्थ्यो, घरभन्दा पर छिमेकीको घरमा ल्यान्डलाइन फोन थ्यो, फोन गरे नगरेको त्यही घरमा खबर गरेसी थाहा हुन्थ्यो । अर्को महिना घरमै बेथा लाग्यो, छोरा जन्म्यो।
‘ओहो ठ्याक्कै बाउ गोता भएछ’ , सासुले नाति उचाल्दै भनेको कुरा मनमा गुन्जिरहन्छ। छोरालाई फोन गरेर नाति जन्मेको कुरा सुनाएँ। ऊ पनि खुसी भयो रे, अब धेरैदिन छैन दशैँमा आउछु भनेछ मसँग त कुराकानी भएन। सुत्केरी स्याहार पनि राम्रैसँग गरिन् सासूले।
छिमेकीले छेँड हानेछन,‘तिमी त कति भाग्यमानी हौँ घिमिरे नि कान्छी, बुहारी भित्राको एक महिनामा घोर्ले नाति खेलाउन पायौ’ भनेर तर जसले जे भने पनि आफ्नो भाग्यमा जे लेखेको छ त्यही त भोग्नपर्ने रहेछ भन्दै चित बुझाउन थालें।
छोरो तीन महिना पुग्यो, यसो मुखमा हेरेर हाँस्ने भएको थ्यो, दसैंमा शिव पनि घर आयो।
दसैंमा आउँदा बच्चालाई मलाई नयाँ लुगा ल्याइदेको थ्यो। साँच्चिकै मन खुसी भयो। यसले माया गर्ने रहेछ भन्ने लाग्यो।
बच्चालाई काखमा ल्यायो, खेलायो, मलाइ नि माया गर्यो।
मन त्यसै कताकता हरायो, पहिलेका सबै पीडा बिर्सेँ।
दसैंपछि ऊ फेरि सहर गयो। सहर गएर दुई वर्षसम्म गाउँमा आएन। कहिलेकाहीँ फोनमा कुरा हुन्थ्यो। सन्चो बिसन्चो था हुन्थ्यो। म माइती, मावली कहीँ गइनँ। आफ्नै कारणले कसैसँग भेट्न, कहीँ जान मन लागेन।
छोरो तीन वर्षको भयो। साथीहरू एघार कक्षामा भर्ना हुन थाले आफू भने नौ कक्षाको पढाइ पनि सकाउन पाइनँ।
शिव बिएको परीक्षा सकाएर मात्रै आउने भनेर दसैं तिहारमा पनि घर नआइकन पढ्यो। उसले बिए पास गर्यो भन्ने खबर आयो।
बिए पास गरेर एक पटक घरमा आयो।
‘धेरै दिन बिदा छैन, म अब सरकारी जागिरको तयारी गर्छु, जागिर खाएर मात्रै घरमा आउँछु, तिमी र छोरालाई सहरमै लैजान्छु भन्थ्यो’
फेरि मलाई गर्भ बोकाएर ऊ सहर गयो।
एक वर्षपछि उसले अधिकृतमा नाम निकालेछ, यता घरमा छोरी जन्मिइसकेकी थिई। नाम निकालेपछि ऊ नजिकैको सहरबाट काठमाडौं गएछ।
छोराले बाबा खोज्ने भइसकेको थ्यो, छोरी हुर्कंदै थिई, ऊ गाउँमा आउनै छाड्यो, आउँदै नआउने, आए पनि काम छ भन्ने आज आएको छ भने भोलि बिहान फर्की हाल्ने तरिकाले आक्कल झुक्कल मात्रै आउन थाल्यो।
वर्षौ बिते। ऊ घरमा विरलै मात्र आउन थाल्यो, छोरा दश वर्ष पुग्यो, छोरी पनि हुर्कन थाली बाउको अतोपतो हुन छाड्यो। जे भए पनि सासू ससुरा देवताजस्ता थिए, कहिल्यै नराम्रो व्यवहार गरेनन्, दिदीले नि बेलाबेलामा सम्झाउँथी।
एकदिन कसैले ससुरालाई शिवले सहरमा अर्की केटी बिहे गरेर राखेको कुरा सुनाएछ।
ससुरा एकाएक भाउन्निएर घरमा आएछन् र सासूलाई सबै कुरा सुनाएछन्। सासू भुत्भुतिँदै म भएको ठाउँमा आइन्।
‘हेर लिला छोरीको जिन्दगी कसैले देखेको छ ? तँलाई भर्खर आठ कक्षामा पढ्दा पढ्दै भुँडी बोकायो र दुनियाँलाई तमासा देखायो। धन्न हामीजस्तो परिवार थियौं र सहजै स्वीकार गर्यौं।अरूजस्ता भएको भए तेरो बिल्लीबाठ हुन्थ्यो। दुइटा छोरा छोरी भइसकेको तेरो लोग्नेले सहरमा अर्की बिहे गरेको हल्ला छ गाउँमा’
सासूको यो कुराले एकाएक ऐंठन गरायो। बालबच्चासहित सहरमा लोग्नेसँग बस्ने रहर, सहरमा बच्चा पढाउने रहर एक निमेषमै माटोमा बिलायो।
‘हे भगवान मेरो भाग्य कति नराम्रो रहेछ ? अब यी छोराछोरीको भविष्य के हुन्छ आमा ? एकातिर मेरो जिन्दगी वर्वाद भयो, अर्कातिर यी लालाबालाको के हालत हुन्छ ? मनले के के भन्यो के के।
सासूले सम्झाइन्, चिन्ता नगर हामी बाँचुन्जेल तँलाई मर्का पर्न दिन्नौं।
उसले ल्याएकी उतै राख्छ, तँ हामीसँगै बस् , भोलि यिनै छोराछोरीले हेर्छन् अन्त मन नडुला।’
ससुराले सहरमा मान्छे बुझ्न पठाएछन्। साँच्चिकै शिवले बिहे गरेको हो रहेछ। आफू अधिकृत भएपछि बिए पास गरेकी लोक सेवा पढ्दै गरेकी केटीलाई श्रीमती बनाएको रहेछ कुमार केटा हुँ भनेर। उसको कर्तुत त्यो केटीले कहिले था पाउली ? हुन त पदको अगाडि यो थाहा पाएर नि के हुन्छ र ? कोही आफन्तले शिवलाई एकान्तमा बोलाएर सबै कुरा बुझ्न खोजेछन्।
उसले स्पष्ट भनेछ,‘हो मैले दोस्रो बिहे गरेको हुँ, लिलासँग छोडपत्रको कागज गराउन घर गएको नि हुँ , तर बाउआमाले कुनै पनि कागजपत्रमा सही गर्न दिएनन्। म यो लेवलमा छु, आठ कक्षा पढेकी गाउँले केटीलाई साथीभाइको सामु श्रीमती भनेर कसरी चिनाउन सक्छु ? लेबल मेन्टेन गर्नको लागि पनि यो मेरो बाध्यता थियो।
आफ्नो हैसियत मिलाउनको लागि कान्छी भित्राएको हुँ, छोराछोरीलाई हेर्छु, ती मेरा नि सन्तान हुन् तर लिला’ यसभन्दा अघि ऊ केही बोलेन रे।
दु:खमा काम लागेकी बुहारी होस् तँलाई दु:ख पर्न दिन्नौँ भनेका छन्। तर जे जे भए पनि जे जे आश्वासन दिए पनि आफ्नो मनको बह सुन्ने व्यक्ति अर्काको साथमा छ। मेरा बच्चाले बाउको माया पाउन सकेनन्।
कहिलेकाहीँ छोराले सोध्छ, आमा मबाबा जस्तो बन्दिनँ। बाबाभन्दा धेरै राम्रो बन्छु। छोरी बेलाबेलामा रून्छे। आमा किन लोग्ने मान्छेले महिलालाई जे गर्दा पनि समाजले उसैलाई राम्रो भन्छ ? बाबाको ठाउँमा तपाईंले यस्तो काम गरेको भए के हुन्थ्यो ?
छोरीको प्रश्नको जवाफ छैन मसँग। बस् एक पटक त्यो हैसियतवाली कान्छीलाई भेट्न मन छ। ऊसँग एउटै प्रश्न छ, के तिमीलाई शिवको विगत सुन्ने धैयर्ता छ ? के शिवको विगत सुनिसकेपछि पनि तिमी उसकै हैसियतवाली बनेर बस्न सक्छौ ? आखिर एउटी महिलाको कारण अर्की महिलाको जिन्दगी बर्बाद भयो।
त्यही लोग्ने मान्छे जसलाई बालखैमा मलाइ बर्बाद बनायो, त्यही लोग्ने मान्छे जसले झूटा आश्वासन दिएर अर्की महिलालाई हाइहाइ बनाएर भित्रायो।
आखिर हैसियतवाली खोज्दा पीडित म बनेँ। म रूपमा नराम्री भएर पक्कै होइन, स्कुलको हरेक अतिरिक्त क्रियाकलापमा मेरै खोजी हुन्थ्यो, कक्षामा सबैभन्दा राम्री छे भनेर साथीहरूले फुरूक्क पार्थे। तर भाग्यमा लेखेको कुरा कसरी मेटिन्छ र ?
सबै चिज एकैछिनमा बिलिन हुन पुग्यो। सँगैका साथीहरू क्याम्पस पढ्दा आफू दुई बच्चाको आमा बनें। उनीहरूले जागिरको सुरसार गर्दा आफू परिपक्व आमा बनेँ। साथीहरूको बिहेको तयारी हुँदा आफू बुढी आइमाइ जस्ती भइसकेँ।
जे भए नि जिन्दगी कटाउँछु भनेर चित्त बुझाएको, आफूभन्दा पढेलेखेकी सहरिया शिक्षित महिलालाई श्रीमतीको रूपमा भित्राएर मेरो अस्मिता लुट्ने स्वार्थी कथित भिनाजु उर्फ श्रीमानले ठूलो घनचक्करमा फसायो।
अझ घरका आफन्त छोराकै पक्षमा लागेको भए ....। या त म आजसम्म मरिसकेकी हुन्थें या त सडकमा भिख मागेर बच्चा पालिरहेकी हुन्थें। धन्न भगवान जस्ता सासू ससुरा छन् र छोराछोरी पढाएका छन्। मलाई ढाडस दिएका छन्।
अन्तमा भन्न लाग्यो सोँचे झै जिन्दगी रैनछ, हैसियतवाली नि महिला नै हो उसको जिन्दगी सुखद भैरछ। सबै कान्छी बन्नेहरू हैसियत मिलाउनकै लागि सौता बन्न गएका होलान् त ? मेरो जिन्दगीजस्तो भए नि कान्छीको जिन्दगी रसिलो होस्, खुसी होस्।
बहुविवाहको मुद्दा हाल भनेर मलाई उचाल्नेहरू नि नभएका होइनन् तर ...। मेरो उजाडिएको बालापन, एकोहोरो बितेको जवानी, पढाइलेखाइ गर्ने उमेर, आफन्तको नजरमा गिरेको साख कहाँबाट फिर्ता ल्याउने ?
यो सब गरेर मलाई मेरा बितेका कुरा फिर्ता हुन्छन् त ? सबै कुरा त गुमिसक्यो अब केका लागि म मुद्दा मामला गरौं ? म खुसी हुन नसके नि कान्छी त खुसी होस्। उनीहरूको जोडी अमर होस्। एक श्रीमती, एक आमा, एक बुहारीले भोगेको भोगाइ यहाँभन्दा कति तीतो हुन सक्ला र ?