खुसी खोज्न ! मन्दिर जान्छौं
फूलमाला चढाउँछौं।
ढुंगा भए पनि ,
देउता नै सम्झन्छौं।
ढोगेर दुःख नमानी
मनले चाहे जति,
भेटी चढाउँछौं
बोका चढाउँछौं
कुखुरा चढाउँछौं
रागो चढाउँछौं
भेंडा चढाउँछौं
यो हाम्रो धर्म भनेर
टोल गाउँमा फूर्ति लगाउँछौं।
मन्दिरबाट बाहिर निस्किएपछि
धर्म किन ?
पापमा बदल्छौं !
मूर्ति बनाउने
मूर्तिकार सँग
छुवाछूतको भाषा जुर्मुराउँछ!
फूल बेच्ने माली सँग
हातपाई पनि हुन सक्छ?
टोलमा आउँदा राँगो
किन काटिस् भनेर
आफैंमा काटकाट हुन सक्छ!
खानै नपाएको भिखारीले
हात फैलायो भने
झटारो र ढुंगा नै शिरमा
पर्न सक्छ!
न त मन्दिरको
देउता हामीलाई
लड्ने सन्देश दिन्छ
न त कुरान, बाइबल
न त गीता, न त देउता
आपसमा लडाउने कुरा गर्छ।
हाम्रै कुविचार र कुदृष्टीले
हामी माथि नै धर्मको ठूलो भ्रम
फैलाउने गर्दछ।