कहाँ तपाईं यो देशको एक निरीह जनता
कहाँ म यो देशको शासक, प्रशासक
सेवा लिने नाममा दश बज्दा नबज्दै
लखर-लखर त आउनु भो
तर साढे दस, एघार बजेतिर आए नि हुने नि
दशै बजे अफिस हाजिर हुने तपाईं
ओ महासय! खै कागज हेरम् त
ल कागज पूरा छैनन् त
सुन्नु भो! तपाईंको काम आज हुन्न।
कहाँ तपाईं एउटा सामान्य सेवाग्राही
कहाँ म यो देशको राष्ट्र सेवक, विज्ञ पारखी
भ्रष्टाचारको पर्यावाची बन्न थालेको
निलो कोटको सारथी
आजै काम हुन्छ भनेर
ठाँट-बाँटका साथ आउनु भएछ
तर कागजै पुगेन
तपाईंको अपुग कागज म छुँदै छुन्न
सुन्नु भो ओ महासय! भोलि आउनुहोस्
तपाईंको काम आज हुन्न।
तपाईंले देखिहाल्नु भो
अफिसका साथी कोही काजमा छन्
कोही बिदामा छन्
जहाँ छन् मस्त छन्, मग्न छन्
हामी थोरै मात्रै खटिँदै छौँ
मानेलिऊँ हामी गोरखा दक्षिणबाहु पाउँदैछौँ
ठिक्क-ठिक्क आश गरे नि हुने हो हामीबाट
धेरै आश गरेर पाल्नु भो
सुरुबाटै टाठो-टाठो बोल्न थाल्नु भो
स-साना कुरामा म हाँस्दिनँ र रुँदै रुन्न
काम नगरिदिए जस्तो हुने भो
भोलि तिर आउनुहोस् ल
तपाईंको काम आज हुन्न!
सिरियस हुनु भो त
कि कागज मिलाएर आउनुहोस्
बाहिर हाम्रो एकजना भाइ छन्
कि कोही छन् चिनेका?
फोन हान्नुहोस् वा हान्न लाउनुहोस्
बुझ्नु भएकै छ व्यथा साह्रो छ
कागज नमिली-नमिली काम गर्दा
हामीलाई नि बाँच्न गाह्रो छ
हेर्दा त समझदार देखिनुहुन्छ त
धेरै नपरोस् बोल्नु अनि नपरोस् नराम्रो सुन्न
ओ महासय! सुन्नु भएन?
साइड लाग्नुहोस् त अरु पनि छन् लाइनमा
भोलि हैन अब पर्सि आउनुहोस्
तपाईंको काम आज हुन्न!