कहिलेकाहीँ लाग्छ, म कति अपूर्ण छु। हुन त सबै अपूर्ण नै होलान्, तर मलाई किन लाग्छ म मात्रै छु।
संकेतको म्यासेज आएको छ म्यासेन्जरमा तर मलाई किन-किन ऊसँग बोल्ने मन छैन। उसलाई लाग्न सक्छ म रिसाएँ, तर होइन, म त आफैँसँग बेखुस छु ऊसँग होइन।
धेरै वर्ष पहिले जब म विद्युतसँग बोल्थेँ यसरी नै म्यासेन्जरमा। मलाई लाग्दैनथ्यो ऊसँग नबोलूँ। उसका प्रत्येक म्यासेजहरुले मलाई पूर्ण बनाउँथ्यो। हुन त ऊ मेरो हुनेवाला लोग्ने थियो। म ऊसँग हरेक कारणले निकटताको कल्पना गर्न सक्थेँ। ऊ मेरो कल्पनाको नायक थियो। पर दूर कुनै देशबाट 'हेल्लो, हाई, खाना खायौ?' उसका यी यस्तै प्रश्नहरुले पनि मलाई प्रफूल्लित बनाउँथ्यो।
विद्युतसँग मेरो परिचय हुनेवाला लोग्ने-स्वास्नीको रुपमा भएको थियो। उसका र मेरा दुवैका बा-आमा चाहन्थे, हामीले एकछिन स्काइपमा देखेकै भरमा मनपराऊँ। त्यसैगरी हामीले पनि मनपरायौँ। बा-आमा खुसी भएँ, हामी पनि खुसी नै भयौँ।
ऊ अमेरीकाको कुनै विश्वविध्यालयबाट विद्यावारिधी गर्दै थियो। त्यो मेरो लागि पनि गर्वको विषय थियो। 'अँ, उहाँ पिएचडी गर्दै हुनुहुन्छ, अब बिदामा आएपछि बिहे गर्ने' म साथीहरुसँग बस्दा भन्ने गर्थे। यस्तो लाग्थ्यो म आफै पिएचडी गर्दैछु।
ऊ साँच्चीकै कस्तो थियो अहिले म भन्न सक्दिनँ। मैले ऊसँग बिताएको त करिब एक महिना त हो। बाँकी त्यही च्याट, भिडिओ च्याट। र पनि ऊ मेरो लागि विशेष थियो किनभने ऊ मेरो हुनेवाला लोग्ने थियो।
बिहे अगाडि र ऊ अमेरिका गैसकेपछि पनि बोल्ने समय मिलाउन सजिलो थिएन। उसको रात मेरो दिन हुन्थ्यो, मेरो दिन उसको रात। ऊसँगै बोल्न भनेर कयौँ रात म अनिदो बसेकी छु। ऊ भन्ने गर्थ्यो, 'स्मृति सुत अब, दियर इज होल लाइफ टु टल्क' र पनि म ऊसँग कुरा गर्न चाहन्थेँ, उसलाई बुझ्न चाहन्थेँ। ऊसँग च्याटमै वा फोनमै बिदा लिनु पनि मेरो लागि सजिलो थिएन।
जुन दिन ऊ बिहेकै लागि भनेर नेपाल आउँदैछु भन्यो त्यो मेरो लागि सबैभन्दा सुन्दर दिन थियो। 'स्मृति, आइ गट टिकट' भनेको दिन सायद ऊभन्दा बढी म खुसी भएकी थिएँ। त्यो दिन, मेरा खुसीका सिमानाहरुले बोडर पास गरेका थिए।
ऊ नेपाल आएपछि मेरो जीवनमा नौला बहारहरु आए। बिहे अगाडि हामीले बेकरी क्याफेहरुमा बिताएको समय, मेरो लागि आलौकिक समय थियो। मलाई लाग्थ्यो म कसैको प्रेममा छु जसले मलाई पनि प्रेम गर्छ। उसले नजानिँदो तरिकाले हात समातेको क्षण मलाई अझै महसुस हुन्छ।
पहिलो पटक उसले मलाई प्रेम गर्छु भनेको दिन मलाई लाग्यो म संसारकै भाग्यमानी युवती हुँ। थाहा छैन त्यो दिन डिडिसीको क्याफेबाट कसरी म घर पुगेँ। बिहे भएको दिनभन्दा म त्यो दिन खुसी थिएँ।
विस्तारै बिहे भयो म उसकी श्रीमती भएँ। उसले दिएको सिन्दुर, उसको सामिप्यता सबैले मलाई पूर्ण बनायो। बिहेपछि ऊसँग बिताएको एक महिना मात्र त्यस्तो समय हो जहाँ म आफूलाई पूर्ण महसुस गर्थेँ।
कुनै पनि स्त्री र पुरुषको सम्बन्ध भनेको परजैविक सम्बन्ध रहेछ। भावनात्मक र भौगोलिक निकटता दुवैले मात्र सम्बन्धलाई पूर्ण बनाउँदो रहेछ। एदाकदा विद्युत भन्ने गर्थ्यो, 'जब तिमी अमेरिका आउनेछेऊ तब हामी दुवैको लागि अर्को युग हुनेछ। सम्बन्ध पारिवारिकभन्दा माथि उठ्नेछ, हामी स्त्री-पुरुषको सम्बन्धमा मात्र पनि रहनेछौँ।' त्यो बेला मैले उसले भन्न खोजेको कुरामा प्रष्ट थिइनँ तर आज महसुस हुन्छ उसले जे भनेको थियो, ठिकै भनेको थियो।
बिहे पछिका कयौँ दिनहरु रोमाञ्चक थिए, मलाई थाहा थिएन स्त्री-पुरुषको सम्बन्ध त्यही रोमाञ्चकताको भरमा अडिएको रहेछ। सरल देखिने म, सरल नै देखिने ऊ तर हाम्रो सम्बन्धको मूल बाटो भने त्यही रोमाञ्चकताभित्र अडिएको स्नेह रहेछ। बुझ्दैनथेँ तर आजकल बढी बुझ्छु किनकि न ऊ अहिले मसँग छ, न त्यो रोमाञ्चकता न त्यो भित्र अडिएको स्नेह नै।
बिहे भएको एक महिनापछि लगत्तै ऊ अमेरिका गयो, जानु उसको बाध्यता थियो। मलाई लाग्थ्यो म पनि छिट्टै जानेछु, सायद उसलाई पनि त्यही लाग्थ्यो। जानेबेला उसले भनेको थियो, 'डन्ट वरी केटी, हामी छिट्टै भेट्नेछौँ, तिमी आइहाल्छेऊ नि।'
तर सोचेझैँ सबैकुरा नहुँदो रहेछ। अमेरिकाले कयौँ पटक मलाई भिषा दिएन। भिडिओ कलमा एकअर्कासँग बोल्ने बाहेक हामीसँग अर्को विकल्प थिएन। म रुन्थेँ, किन-किन म रोएपछि ऊ पनि रुन्थ्यो। म भन्थेँ, 'तिमी पनि मजस्तै रुन्चे रहेछौ।'
दिनहरु बित्दै गए। टाढा भए पनि हामी ठिकै थियौ। विद्युतको आमा-बुवासँग मेरो कुनै गुनासो थिएन। म घरमा सँगै बसिदिएकोमै उहाँहरु खुसी हुनुहुन्थ्यो। आमाले सधैँ भन्नुहुन्थ्यो, 'तँ मैले नजन्माएकी छोरी होस्।' मलाई पनि लाग्थ्यो म छोरी नै हुँ।
सदा झैँ एकदिन करिब नौ बजे म विद्युतको भिडिओ कलको प्रतिक्षामा थिएँ। अमेरिकामा सुत्ने बेला र यता बिहान, दुवैलाई फुर्सद हुने भएकाले त्यो हाम्रो बोल्ने समय थियो। तर त्यो दिन उसको फोन, म्यासेज, भिडिओ कल केही आएन र मैले सम्पर्क गर्न खोज्दा पनि सम्पर्क भएन। मलाई केही कामले ऊ बिजी भएर पो हो कि भन्ने लाग्यो। तर अर्को बिहानसम्म पनि सम्पर्क नभएपछि हामी धेरै अत्तालियौँ।
पछि खबर आयो, ऊ कार दुर्घटनामा परेर हस्पिटलमा रहेछ। न म उता जान सक्थेँ न ऊसँग कुनै तरिकाले सम्पर्क गर्न। त्यो एकदिन मेरो लागि एक हजार दिन बराबर थियो। अर्को दिन जे नहुनु थियो त्यही भयो, ऊ रहेन। ऊ नहुनु मेरा लागि एउटा सपनाको अन्त्य हुनु थियो, ऊसँगै जीवन जिउने सपना, सहयात्राको सपना, त्यो सबै अन्त्य भयो।
त्यसपछिका ऊ बिनाका पाँच वर्षहरु कसरी बिते मलाई थाहा छैन। अरुलाई देख्दा बिहे भएको एक वर्षमै लोग्ने गुमाएकी म एक विधवा हुँ, एक दुखी बिम्ब। जति म दुखी देखिन्छु त्योभन्दा बढी अपूर्ण महसुस गर्न थालेकी छु। दुखी त म आज पनि म छु तर उसको सम्झनामा भन्दा पनि ऊ बिनाको अपूर्णतामा।
जसको नाताले म उसको घरमा भित्रिएकी थिएँ त्यही नाताले जुन घरमा बस्दै छु, साथमा ऊ नै छैन। मलाई आफ्नै जीवन देख्दा अनौठो लाग्छ। मलाई लाग्छ म भित्रैभित्र खाली छु। कहिलेकाहीँ लाग्छ म ऊ बिनाको खालीपन, उसको सामिप्यता बिनाको खालीपन सबै सबैले भरिएको छु।
दुःखको कुरा, ऊसँग बिताएको एक महिना मेरा लागि जीवन भरको अपूर्णता मेट्न मेटाउ बन्न सकेन। म अब उसका सम्झनाहरुले मात्र जीवन काट्न सक्दिनँ। विस्तारै स्मृतिहरु धुमिल हुँदैछन्। तर मसँग अनौठो खालीपन छ।
एक्कासी विद्युत जसरी नै संकेत आएको छ मेरो जीवनमा। मलाई कहिल्यै लागेन म फेरि अर्को लोग्नेमान्छेसँग निकट बन्न सकूँला। तर म विस्तारै बन्दैछु। र पनि हृदयमा रहने लोग्नेरुपी खालीपन खाली नै छ।
आजकल संकेतसँग विद्युतसँग जस्तै च्याटमा कुरा हुन्छ। ऊ कस्तो छ म जान्दिनँ तर उसले जे भन्छ त्यो मलाई थाहा छ। ऊ पनि विद्युतजस्तै अमेरिकामा छ रे र ऊजस्तै कुनै नाम चलेको विश्वविद्यालयबाट विद्यावारिधी गर्दै छ रे। ऊ यही भन्छ। उसका म्यासेजहरुले मेरो च्याट बक्स भरिएको छ। तर किन-किन उसका म्यासेजहरुले मलाई पूर्ण बनाएको महसुस हुँदैन।
ऊ मेरो साथी भएको छ तर मन बहकाउने साथी। उसलाई थाहा छ म विधवा हुँ, कसैकी श्रीमती थिएँ तर पनि ऊ बोल्छ मसँग। स्नेह देखाउँछ शब्दहरुमा। 'खाना खायौ, खाएनौ, सञ्चो छ छैन, दिन कस्तो भयो?' उसले सोध्ने यही हो, जसरी विद्युतले सोध्थ्यो। र पनि विद्युत मेरो लोग्ने थियो। ऊसँग म निकटताको कल्पना गर्न सक्थेँ जुन संकेतसँग सक्दिनँ।
जीवनको यो अनौठो जन्जालमा जेलिएकी छु। संकेतले एदाकदा प्रेमीले झैँ व्यवहार देखाउँछ। भन्छ, 'आज तिमीले रिप्लाई नगरेर म दिनभर चिन्तामा थिएँ।' जसरी विद्युतको दिनभर फोन नउठ्दा म चिन्तामा रहन्थेँ। र पनि किन-किन म उसको प्रेमलाई खुलेआम स्वीकार्न सक्दिनँ। यो भूगोल हामी बीचका दूरीहरु देखेर मलाई डर लाग्छ। यही भूगोल र दूरी थियो जसले विद्युत र मलाई छुट्टाएको थियो।
ऊ मेरो साथी त हो तर म भित्रको अपूर्णताका खाडलहरु के उसले पुर्न सक्ला? यदाकदा म आफैले आफूलाई प्रश्न गर्छु। हिजो नै हो उसले मलाई प्रेम गर्छु भन्यो तर म यो कुराले उत्साहित छैन। मलाई लाग्छ संकेत र मबीच सयौँ माइलको दूरी छ जसलाई पुर्न असम्भव छ। तर किन-किन उसलाई लाग्छ त्यो सम्भव छ। विद्युत र म टाढा भए पनि हामीबीच नाताको दूरी थिएन, इतिहासको दूरी थिएन, सम्बन्धको दूरी थिएन। तर संकेतसँग म यी सबैकुरा कल्पना गर्न पनि सक्दिनँ।
म मेरी आमालाई र विद्युतकी आमा जो मेरी पनि हुन् उनीहरुलाई यी कुरा भन्न सक्दिनँ। द्वन्द र अप्राप्ति त मभित्र छ। विद्युतलाई चाहेर पनि ऊ मेरो चाहना नबन्दै मभन्दा पर पुग्यो। म बादल बन्न सकिनँ र पछ्याउन सकिनँ उसका पदचापहरु। ऊ मेरो सिन्दुर बन्यो र पुछियो। अहिले त मसँग खुसी हुनको लागि उसले लगाइदिएको सिन्दुरको डोब पनि छैन। हृदयमा बसेको डोब मात्र छ।
अब त म उसलाई बिर्सिदिन पनि सक्छु तर ऊ बिनाका अप्राप्तिलाई नर्कान सक्दिनँ। म छोरीमान्छे हुँ, मसँग हरेक प्रकारका संवेदनाहरु छन् तर मैले जे जिएँ ऊबिना त्यसले मलाई पूर्ण छोरीमान्छे हुन दिएन। म यो कुरा आफैलाई भन्छु, लगातार, बारम्बार र खाली-खाली पाउँछु आफूलाई... रित्तो।
अपूर्णताको बीचमा संकेत आएको छ। ऊ पनि मौन र शान्त छ, म पनि मौन र शान्त छु। तर हामीबीच अप्राप्तिको कोलाहाल छ। थाहा छैन यो केको संकेत हो। प्रेमको, अप्राप्तिको वा भयको। विद्युतले झैँ ऊ पनि मलाई प्रेम गर्छु भन्छ तर कस्तो प्रेम भनेर म महसुस गर्न सक्दिनँ।
थाहा छैन मबाट संकेत के चाहन्छ, प्रेम वा प्रेमको कुनै लजिकल कन्क्लुजन। तर मलाई राम्रोसँग थाहा छ, मलाई प्रेमले मात्र पुग्दैन। म चाहन्छु प्रेमले प्राप्तिको बाटो पछ्याओस् अपूर्णताको होइन। म अप्राप्तिदेखि तर्सिएकी छु। थाहा छैन अब के हुनेछ तर म अब अप्राप्तिको बाटो हिँड्न चाहन्नँ। यी दूरीहरु, अप्राप्ति र अपूर्णता सबैले मलाई भतभती पिरोल्दैछन्।