रातको अँध्यारोमा दिनको सुरुआत गर्नुछ मलाई
अनि गर्नुछ नित्यकर्म खुला आकाशमुनि
र जोहो गर्नुछ आजको गाँस, बाँस, कपासको।
दिनको उज्यालो मेरो लागि शिथिल हुन्छ
किनकि दिनमा मानिसका आँखाहरुले लखेट्छन्
खेदाउँछन् र रुवाउछन् पनि
घर, बाटो, पसल छेउ, सिँढीमाथि, पुलमुनि, बजार अगाडि
कतै पनि म रोकिन पाउँदिनँ
हो, दिनमा सुकिला मानिसहरु पैसा साटसाट गरिरहेका देखिन्छन्।
जब अँध्यारो हुन्छ, मानिसहरु विस्तारै हराउँछन् सडकबाट
अनि एक हुल भुस्याहा कुकुर कराउँछन् एकसाथ
सायद ऊ पनि मजस्तै रातमा स्वतन्त्र भएको खुसियाली मनाउँदैछ
र त बाटोमा थुपारिएको एक डङ्गुर फोहोरभित्र
हामी सँगै भोक मेटाउँछौँ निर्धक्क।
चिसो सिँढीमाथि कटकटिएको एकसरो कपडाले
पुस महिनालाई पनि चुनौती दिँदै
रातैभरि मुस्कुराउँछन् मेरा सपनाहरु
बिहानीपख त डरलाग्दो भएर उदाउँछ
जहाँ खल्ती विहीन मानिसहरुलाई
विवेक विहीन मानिसहरुले गिज्याइरहेका हुन्छन्।
त्यसैले त हरेक रात पुकार्छु
यही रात मेरो अन्तिम रात बनोस्
दिनको समय मलाई मञ्जुर छैन
हो मलाई मञ्जुर छैन उज्यालो समय
र मञ्जुर छैन दिनका मानिसहरु।