प्रिय छोरी रश्मी,
आज संसारभर महिलाको आवाज गुन्जिरहेछ, महिलाहरुले सबै काम गर्न सक्छन् भनेर नारा गुन्जिरहेको छ। तर, मैले घरकी नारीहरुप्रति अपमान गरेको बोध भइरहेछ। मैले तिमी र तिम्रो आमालाई अपमान गरेँ, धार्मिक रुढीवादी विचार धाराबाट प्रेरित भएर 'छोरीले अंश र वशको रक्षा गर्न सक्दैनन्' भनेर पुरातनवादीले भनेका कुरामा म अलमलिएँ। तर म विवश थिएँ।
मेरो १८ वर्षको छोरो, तिम्रो भाइ रमेश मोटरसाइकल दुर्घटनामा परेपछि म अति दुःखी भएँ। तिम्री आमाको पनि मानसिक सन्तुलन गुम्नेजस्तै अवस्था भइसकेको थियो। ७० वर्षीय मेरी आमा त 'मेरो कुल नै नष्ट भयो, म त म मरेपछि नर्कमा पर्छु, नाति नभएपछि मेरा बाजे र बाबुलाई कसले तर्पण गर्ला' भन्दै धेरै रोइन्।
छोराको १३ दिनको क्रिया बसिरहेको बेला उनले मलाई सुटुक्क भनेकी थिइन् 'मलाई त जसरी भए पनि नाति चाहिन्छ, आजकल त अस्पतालमा कुन्नि के-के गरेर, पनि बच्चा जन्माउँछन् रे, त्यसैगरी भए पनि मलाई एउटा नाति पाऊ।' त्यो बेलामा मलाई आमाको कुराले उनी बौलाइन् कि जस्तै लाग्यो। तर १३ औँ दिन सिद्धिएपछि पनि आमाले त्यही भनिन्।
तिमीलाई त थाहा छ नि मेरी छोरी कि तराईमा त छोरा नभए वंश नै नष्ट हुन्छ भन्ने चलन छ। तिमी पनि ५ वर्षकी थियौ जब तिम्रो भाइ जन्मेको थियो। आमाले त्यो भाइपछि फेरि अर्को छोरा चाहियो भन्थिन्। आमा यसै बरबराउँछिन् भन्ने ठानेर म वास्तै गर्दिन थिएँ। म स्कुलमा पढाउने शिक्षक त्यसमाथि पनि प्रधानाध्यापक र सबैलाई 'छोरोछोरी बराबरी' भनेर पढाउने। मैले कसरी छोरीको वास्ता नगरेर यो उमेरमा छोरीलाई हेपेर छोरा पाउने र भन्ने विचार आउँथ्यो! तिमी सानै थियौ, तिम्री आमाको शरीरमा रगतको कमी थियो। हामी मध्यम वर्गीय परिवारको भएकाले घरको सबै काम गरेर राति घरधन्दा भ्याइएपछि मेरी आमाको खुट्टामा तेल लगाइदिनु पर्थ्यो।
गर्भावस्थामा उनलाई गाह्रो हुन्थ्यो। तर मेरी आमाले बाहिरको काम सघाउने मान्छे राख्न दिनुभएन। 'बुहारीले घरधन्दा गर्नैपर्छ, हामीले पनि ६ वटा बच्चा पाउँदा पनि काम गर्यौँ, तेरी स्वास्नी दुई चोटि गर्भवती हुदैँमा केको कमजोरी हुन्थी र काम गर्न मान्छे राख्नु पर्ने!' भन्थिन्। सुदूरपश्चिमबाट आएकी आमा सबैलाई आफूजस्तै बलियो ठान्थिन्। विचरी, तिम्री आमा उदास अनुहारले मलाई हेर्थिन् तर म लाज मानेर उनीबाट आँखा लुकाउँथेँ।
मेरी विधुवा आमालाई के भनेर सम्झाउने र? म घरबाट निस्केर दोकानमा चिया खाएर बस्थेँ। तिम्रो भाइ २ वर्षको भएपछि मैले परिवार नियोजन गर्ने निधो गरेँ। तर कसरी मेरी आमाले थाहा पाएपछि एउटा डोरी ल्याएर भनिन्, 'तैँले आफूलाई खसी पारेको दिन म यहीँ डोरीले झुन्डिएर मर्छु।'
एक वर्षपछि तिम्री आमा फेरि गर्भवती भएपछि 'भारतमा लगेर जाँच गरेर यदि छोरी छ भने उतै फालिदिनू, छोरा छ भने मात्र बुहारीलाई गर्भ भएपछि घरमा ल्याउनू' आमाको आदेश थियो। हस्पिटलमा लगेर ५ महिनाको गर्भ जाँच गर्दा छोरी भन्ने थाहा पाएपछि त्यही तीन हजार रुपैयाँ तिरेर गर्भपतन गरायौं। घर ल्याउँदा त तिम्री आमा पहेँली भएकी थिइन्। उनी रोइरहन्थिन्।
गर्भमा रहेको छोरी फालेर आएको थाहा पाएपछि मेरी आमा खुसी थिइन्। मेरा अरु ६ दिदीबहिनी भएकोले मेरी आमालाई जसरी पनि मबाट दुइटा छोरो चाहिएको थियो। तर एकदिन तिम्री आमालाई बिरामी भई अस्पतालमा लग्दा स्त्री रोग विशेषले 'यिनी साह्रै कमजोर छिन्। अब कमसेकम ५ वर्ष बच्चा नपाउनू' भनिन्।
मेरी आमालाई यो कुरा सुनाएपछि उनी साह्रै दुःखी भइन्, रोइन् पनि, तर दोस्रो नाति पाउने इच्छामा उनको केही समय लगाम लागेको थियो। छोरी, तिमी १७ वर्ष नपुग्दै आमाले तिम्रो विवाह गराउन विवश गराइन्। भारतमा एक ब्राह्मण ईन्जिनियरसँग तिम्रो विवाह हुने भनेपछि उनी साह्रै खुसी भइन्। विवाहपछि लगत्तै नै तिम्रो छोरी भयो। तिम्रो बज्यै फेरि दुःखी भइन्। समयसँगै मेरी आमाको करकर पनि केही कम भएको थिएन।
तर दुई वर्षअघि बाटोमा हिँडिरहेको तिम्रो भाइको दुर्घटनामा टिप्परको ठक्करले मृत्यृ भएपछि त तिम्री हजुरआमा त दिनरात 'कुल नै नष्ट भयो' भयो भनेर रुँदा तिम्री आमा पनि रुन्थिन् चुपचाप। तिम्रो भाइको मृत्युपछि गाँउका केही महिला आएर मेरी आमालाई मेरो दोस्रो विवाह गर्ने सल्लाह दिए।
तिम्री आमालाई भनेको त उनले भनिन् 'तिमीले विवाह गर्यौं भने म त विष खाएर मर्छु।' त्यो सुनेपछि म हच्किएँ। तर तिम्री हजुरआमा र पण्डितले त जसरी भए पनि एउटा छोरा चाहिन्छ नै भनेपछि मैले एक उपाय निकालेँ। म बरु सरोगेट आमाबाट बच्चा जन्माउँछु।
यो सुनेर मेरी आमा प्रसन्न भइन्। त्यो दिन उनले केही गाँस भात बढी खाइन्। भारतमा गएर स्त्री रोग विशेषज्ञहरुसँग सम्बन्ध राखेपछि उनीहरुले भाडाको आमा मिलाइदिए। ७-८ महिना म र तिम्री आमा 'मेरो कामको' लागि भनेर भारतमा बस्यौँ र उधारो पाठेघरबाट बच्चा जन्माएर ल्यायौं। मेरी आमा खुसी थिइन्।
मैले आमालाई 'मेरै बच्चा' भनेको थिएँ। 'मेरो नाति नै फर्केर आयो, अब स्वर्ग गइन्छ' भन्थिन् मेरी आमा। तर यो बच्चा मेरो थिएन। एक अविवाहित महिलाले एक सरकारी प्रसूति गृहमा जन्माएको बच्चा थियो र हामीले उनलाई आफ्नो नाम दिएका थियौँ। छोरी, तिमीले पनि यसलाई मेरो छोरो भन्ठानेकी थियौ कि?
तिमीसँग झुटो बोल्दा मलाई साह्रै गाह्रो त भएको थियो तर समाजको अघि 'छोरोको बाउ' भनेर नाक बचाउन र मरेपछि छोराले दागबत्ती देओस् भन्ने लोभले मैले सत्य खोल्न सकिनँ। छोराको नाम पनि रमेश नै राखियो। त्यसको केही वर्षपछि मेरी आमा पनि खसिन्।
अहिले रमेश हामीसँग छ। पढ्छ, खेल्छ तर छोरी, समाजको दबाबमा आएर मैले तिम्री आमाको मन नबुझेर अरुको सन्तानलाई आफ्नो छोरो बनाएँ। दुवैको अपमान गरे झैँ लागिरहेछ। तिम्री आमाले रमेशप्रति सबै राम्रो व्यवहार गर्छिन् तर उनले कहिले पनि रमेशलाई माया गर्न सकिनन्। 'यदि छोरा भएन भने तिम्रो लोग्नेको दोस्रो विवाह गरिदिन्छु' भन्ने मेरो आमाको धम्कीले उनी डराइन्। उनले विद्रोह गर्न सकिनन्। उनले मनमा दुःख भए पनि छोरा स्वीकार गरेकी छिन्।
उनले केही दिन अघि भनिन्, 'छोरीलाई बोलाएर यो सम्पत्ति छोरी र रमेशको नाममा गरिदेऊ र मेरी छोरीलाई सबै कुरा सत्य भनिदेऊ।'
अब मेरी आमा नभएपछि त सत्य बोल्छु भनेर यो पत्र लेग्दैछु। प्रिय छोरी रश्मी, भेट हुँदा सायद यो सबै कुरा भन्न सक्दिनँ होला। त्यसैले यो चिठी लेखिरहेछु। पत्र पाउने बित्तिकै तुरुन्त आऊ र मेरो मनलाई शान्त गराऊ। हाम्रो जग्गा-जमिन रमेश र तिमीलाई दिनेछौँ। पछि विस्तारै रमेशलाई पनि यसको बारेमा जानकारी दिनै पर्ला। केही समयपछि सायद तीर्थ यात्रा गर्न जान्छौँ।
तिम्रो बुबा,
रोशन गजुरेल।