भन्नेहरुले भन्ने गर्थे
रात निजी हो, नितान्त आफ्नो हो
दिनभरिको काम पछिको विश्राम हो
सपना अनि कल्पनाको एउटा सुन्दर संसार हो
यतिबेला रुन सकिन्छ, हाँस्न सकिन्छ
मन लागेको पाराले निर्धक निदाउन सकिन्छ।
तर अफसोच! मैले रातलाई पनि आफ्नो बनाउन सकिनँ
न त आफ्नो हार्दिकताले समर्पण नै हुन सकेँ
न त अरुको खुसीमा हाँसो मिलाउननै सकेँ
म एउटा खेलौनाजस्तै बिक्री हुन्छु हरेक रात
पैसा नलाग्ने सित्तैको खेलौना
एक चिम्टी सिन्दुरको साइनोमा मोलतोल मिलेको खेलौना
जसमा खेलौना स्वयम खेलाडी हुन्छ
नाम मात्रको खेलाडी,
हारमात्र व्यहोर्ने एउटा विवश र कमजोर दबाबयुक्त खेलाडी
खेल एकोहोरो हुन्छ, निरस हुन्छ, नियमहरु दर्दनाक र दमनयुक्त हुन्छन्।
उत्साह विहीन खेल, लक्ष्यविहीन खेल, आत्मियताविहीन खेल
अहो! कस्तो ज्याजतीपूर्ण रात, अत्यासलाग्दो रात
पट्यार लाग्दो रात डर लाग्दो अनि थकित रात।