आऊ राष्ट्रसेवक 
निमुखालाई न्याय 
विपन्नलाई आय दिन 
पवित्र मातृभूमिको आभाष दिन 
योजना बनाई उठ्नुछ।
राष्ट्रसेवक तिमी
अन्याय अत्याचार रोक्न 
सेवाग्राहीको आश, सास बन्न 
विश्वासको धरहरा बन्नु छ।
मानवता हराउँदा 
फूलले पनि पानीको सहारा लिन थालेपछि 
बर्दीको अघि बेली र चमेली बलात्कृत हुँदा 
न्यायमूर्ति बनी अन्यायका पर्खाल भत्काउनु छ।
अनुशासन र मर्यादाले बाँधिएका 
सुशासन र समृद्धिका निम्ति 
मैनबत्ती बनी बलिरहेका 
राष्ट्रसेवक आऊ राष्ट्रनिर्माणमा दियो थप्नुछ।
दिलमा न्यायको तराजु राखी 
नातावाद र कृपावादले मरुभूमि पुगेका 
हर्के र बिर्खेलाई 
योग्यता पारदर्शिता र निष्पक्षताले बोलाउनु छ।
लिपुलेकमा रोएकी बहिनीको सतित्व रक्षा गर्दै
शस्यश्यामला वनजंगल
विश्वको उत्कृष्ट कर्मचारीतन्त्रमा 
सगरमाथाको उचाइसँगै सुशासन र अनुशासन बढाउनु छ।