साँझ छिप्पिँदै गइरहेको छ, प्रकृतिको हँसिलो मुहार विस्तारै अँध्यारोले छोप्दै लगेको छ। त्यही अँध्यारोमा सेतो रंग लगाएको मेरो घरको आकृति पनि चिन्नै नसकिने भएको छ।
आज धेरै विक्षिप्त भएको छु ! नविनासँगको अन्तरंगी सम्बन्ध एकै पलमा समाप्त भएको छ। एउटा कठिन सम्बन्ध ! जसलाई जोगाउन मैले धेरै कुरा गुमाएँ , आज त्यही सम्बन्धको एउटा मिठो भ्रम टुटेको छ। नविनाले मलाई गरेको प्रेमको भ्रम ! कति सजिलै टुट्दा रहेछन् स्वार्थले गासिएका सम्बन्धहरू ! हाम्रो सम्बन्ध पनि सजिलै टुटेको छ तर अपसोच यतिबेला मेरो जीवन संगिनीसँगको आत्मीयता पनि समाप्त भएको छ।
आज म अनुभूतिको यस्तै विचित्र अवस्थामा छु। ग्लानि, पश्चताप र पीडाका अनुभूतिहरू त धेरै नै छन् तर ती ढिलो भइसकेपछि मात्रै पलाएका छन्।
घर जाँदा मलाई बाटोभरि मानुषीले भन्ने गरेका शब्दहरू सम्झेर निकै ग्लानि भयो, उनी अक्सर मलाई भन्ने गर्थिन, 'तपाईं किन सधैं आधा रातमा आउनुहुन्छ ? को सँगको नाजायज सम्बन्धमा हुनुहुन्छ ? किन यसरी मलाई हरेक दिन मर्नु न बाँच्नु बनाउनु हुन्छ ? मेरो बिन्ति छ समय छँदै सुध्रिनुस्।'
मानुषीका यी कारुणिक याचना सधैं मलाई वाहियात लागिरहे र म सधैं अनगिन्ती ऐंयासीपूर्ण रातहरूमा भुलिरहें।
घर पुगेर ढोका खोलें, मेरो सानो कुकुर पुच्छर हल्लाउँदै आयो र खुट्टाले मेरो कम्मर समाउँदै मेरो हात चाट्न थाल्यो। ऊ केवल मेरो एउटा स्पर्शमा, फुरुङ्ग पर्दै दौडेर परसम्म जान्छ र त्यसैगरी फर्केर आउँछ।
हरेक दिन मलाई भेटेपछि ऊ यसैगरी खुसी हुन्छ, उसको त्यो निश्चल माया देखेर म धेरै भावुक हुन्छु र सोच्छु मान्छे पनि यस्तै नि:स्वार्थ हुने भए कति राम्रो हुन्थ्यो !
घरभित्र पुगेपछि, आमासँगै उभिएको मेरो ९ वर्षे छोरोले मलाई प्रश्न गर्यो,'बाबा केक खोई त ?' म झसंग भएँ।
एघार वर्षमा मैले पहिलो पटक मानुषीको जन्मदिन बिर्सेको थिएँ। मेरो संवेगहरू डगमगाए तर पनि सम्हालिँदै भनें, 'ह्याप्पी वर्थ डे मानुषी' गहिरो प्रेमपछिको विवाह बन्धनमा बाँधिएकाले उनले मेरो भावहीन अभिव्यक्ति नबुझ्ने कुरै थिएन ! उनको अनुहारमा कुनै परिवर्तन देखिएन, उनी केवल एउटा फिक्का हाँसो हाँसिन्।
केहीबेरपछि मानुषी मेरो नजिकै आएर सोफामा बसिन् र मलाई सोधिन्, 'किन आज चाँडै आउनु भयो नि ?' मैले सहजतापूर्वक उत्तर दिएँ, 'आज अलि चाँडै हिँडेको' उनी भन्दै गइन्- आज बाटो छेकेनन् कसैले ? ड्रिंक पनि नगरी आउनु भएछ त?'
दिउँसोमात्र नविनाले दिएको असह्य पीडा सम्हाल्न सकिरहेको थिइनँ, यता मानुषीका प्रश्नहरूले त्यसमा झन् नुनचुक थपिरहे। असह्य भयो र मैले कुरा अन्तै मोड्दै सोधें 'आज तिम्रो जन्मदिन कसरी मनाउने ?'
उनले मलाई नै प्रतिप्रश्न गरिन्,'मेरो जन्मदिन पनि कुनै उत्सव जस्तो लाग्छ र हजुरलाई ?'
उनको त्यो प्रश्नले म स्तब्ध भएँ।
मानुषी उठेर गइन् र मेरो आँखा भित्ताको ठूलो तस्बिरमा पर्यो, बिहे भएकै साल मनकामना मन्दिरको केबलकारमा खिचेको त्यो सुन्दर तस्बिर। त्यही तस्बिर देखाएर मैले उनलाई भनेको थिएँ, 'हेर तिम्रो यो मुस्कानमा त एउटा खण्डकाव्य नै लेख्न सकिन्छ!'
उनी कम्ती मख्ख परेकी थिइनन् त्यसबेला, अहिले त्यो तस्बिर पनि रंग उडेर धमिलो भइसकेछ।
तस्बिर हेरेर बहकिँदै थिएँ कसैले ढोकाको घण्टी बजाउँछ। तल गएर गेट खोल्छु एक जना प्रहरीले बाहिरबाटै भन्छ, 'हामी तपाईंलाई लिन आएका हौं। तपाईंको विरूद्ध उजुरी परेको छ', मैले अचम्म मानेर सोधें, 'कसले के उजुरी गरेको छ ?'
उनले भने, 'नविना थापाको उजुरी, कुरा अलि गम्भीर छ, थानामा गएपछि सबै थाहा हुन्छ।'
प्रहरीको कुरा सुन्नासाथ मानुषीले सोधिन्, 'के हो मेरो श्रीमानविरूद्धको त्यो गम्भीर कुरा ?'
प्रहरीले जवाफ दिए, 'गम्भीर छ म्याडम, जबरजस्ती करणी कुरा हो .....' प्रहरीको कुरा सुनेपछि मानुषीले आश्चर्य भावले मलाई हेरिन्। म भने जबरजस्ती करणीको उजुरी भन्ने सुनेर स्तबध भएँ। हामीले एक अर्कालाई विस्मित नजरले हेर्यौं, न मैले आफ्नो सफाइमा केही भन्न सकें, न उनले मलाई केही सोध्न सकिन्, म चुपचाप प्रहरी सँगै गएँ। हिँड्ने बेलामा फर्केर हेरें, मैले मानुषीका आँखाहरू पनि निथ्रुक्क रुझेको थिए।
मेरो नियति नै होला, म थाहै नपाई हिरासतमा पुगें। यहाँ पुगेपछि थाहा भयो, यहाँभित्र पनि धेरै कथाहरू व्यथाहरू हुँदा रहेछन्। केही पश्चतापका कथा , केही परिवन्दका, केही पीडाका र केही घृणाका कथा ! म पनि यहाँ एउटा यस्तै कथा लिएर भित्रिएको छु। घरिघरि त्यही कथाका पात्र, परिवेश र संयोगहरूमा रुमल्लिने गर्छु। पटक-पटक विस्मित, खण्डित र आक्रोशित हुन्छु र मनको कठघरामा उभिएर आफ्नै अन्तरमनलाई सोध्छु कि मैले यत्रो जघन्य अपराध गरे कै हो त !
कहिलेकाहीँ म अनुभूति शून्य हुन्छु। आँखा अगाडि रंग उडेका भित्ताहरू मात्र देखिन्छन् र ती भित्ता मभन्दा पनि धेरै शून्य छन्! एउटा कुनामा माकुराको ठूलो जालो छ। त्यसलाई असंख्य पुतलीहरूले ढाकेका छन्।
म नजिकै पुगिसक्दा पनि ती कुनै पुतलीहरू उड्दैनन्, गहिरिएर हेर्छु र बल्ल थाहा पाउँछु, ती सबै पुतलीहरू त मरिसकेका छन्। निकै बेरसम्म म त्यो ठूलो माकुराको जालो र तिनमा फसेका निष्प्राण पुतलीहरूलाई हेर्दै टोलाउँछु !
म यो बन्द कोठामा हिजोका दिग्भ्रमित यात्राका पुराना पदचापहरूमा फिजारिन्छु। अनगिन्ती नमिठा सम्झनाहरूले मलाई ठुङ्गी रहन्छन्। नविना र मेरो सामाजिक सञ्जालबाट भएको चिनजान, लामो समयसम्मको च्याट , भिडिओ कल र त्यसपछि बढेका आशक्ति सम्झेर अचम्मित हुन्छु र त्यसैगरी विभिन्न स्थानका डेटिङ र अमर्यादित सम्बन्धहरूको सम्झनाले मनमा गहिरो पश्चताप बोध हुन्छ।
मैले सम्झें। उनको र मेरो पहिलो भेट कुनै रिसोर्टमा भएको थियो। उनको सौन्दर्यमा यति धेरै मोहित भएको थिएँ कि निकैबेरसम्म मैले उनीबाट नजर हटाउन सकेको थिइनँ।
मेरो एकटकको हेराइमा उनले थोरै असजिलो मान्दै भनेको थिइन्, 'ओई ! के भयो' त्यसपछि मात्र म झसंग भएको थिएँ।
अहिले पनि सम्झना ताजै छ। त्यो दिन कस्तो मुसुक्क हाँसेको गुलाफ फूलजस्तो थियो नविनाको सौन्दर्य।
हामी रिसोर्टमा वाइनको चुस्की लिँदै एकार्काको सामिप्यमा मख्ख थियौं। मैले उनको प्रशंसा गर्दै भनेको थिएँ,'कति राम्री तिमी !' उनले पनि मस्किँदै जवाफ दिएकी थिइन्, 'हजुर जति त कहाँ छु र!' समय बित्दै गयो र एकपछि अर्को गरी गिलास पनि रित्तिँदै गए। त्यसपछि हामीले सबै कुरा भुल्यौं र एकअर्कामा समाहित भयौं।
निकै दिनसम्म हामीले तिनै सुखद् अनुभूतिहरू सामाजिक सञ्जालबाट साटिरह्यौं।
भेटघाटको क्रम बढ्दै गयो। एक दिन क्याफेमा कफी पिउँदा उनले भनिन्, 'कस्तो नियास्रो लाग्न थाल्यो हजुरको' मैले जवाफ दिएँ, 'मलाई पनि तिमीले मोहनी लगायौ जस्तो छ!'
'हो र?' भन्दै उनी मस्किइन्, त्यसपछि धेरै अन्तरंगी कुरा गर्दै सँगै बसेर कफी पियौं। हिँड्ने बेलामा उनले मसँग सपिङ जाने प्रस्ताव गरिन् र हामी नजिकैको सपिङ मलमा गयौं। उनले जुत्ता र कपडाहरू किनिन्। मैले करिब ५० हजारको बिल तिरें। त्यसपछि फेरि कुनै रेष्टुरेन्ट गएर मजाले बियर पियौं।
भोलिपल्ट शनिबार कतै घुम्न जाने सल्लाह गरेर छुट्टियौं।
साँझ म घर फर्किएँ। हात मुख धोएर बैठक कोठामा गएँ। केहीबेरपछि मानुषी आएर नजिकै सोफामा बसिन् र मुस्कुराउँदै सोधिन्,'मलाई यो नयाँ टप्समा कस्तो देखिएको छ ?'
मैले केही बोल्नै नपाउँदै टेलिफोनको घण्टी बज्यो र टेलिफोनमै व्यस्त भए। शायद उनले मेरो उपेक्षा सहन सकिनन् र उठेर गइन्।
केहिबेरपछि फेरि आइन् र चिया दिँदै भनिन्, 'भोलि शनिबार बाहिरै खाना खाने गरेर घुम्न जाऊँ न' मैले उनलाई फेरि अर्को पटक निराश पार्दै भनें, 'हेर न भोलि त म बिहानै अफिस जानुपर्छ' मानुषीको अनुहार मलिनो भयो।
भोलिपल्ट बिहानै नविना र म कुलेखानी पुग्यौं। इन्द्रसरोवरको निलो पानीमा डुंगाबाट सयर गर्दै प्रकृतिको उन्मुक्त हाँसो हेर्यौं। शितल हावाको मन्द-मन्द स्पर्शमा अपूर्व आनन्दको अनुभूति लियौं।
साथमा नविनाको नशालु रूप र यौवनले मलाई उसैगरी लठ्ट पार्यो। बोटिङ पछि निकैबेरसम्म रिसोर्टमा बियरको नशामा लट्ठ भयौं। फर्कंदा बाटोमा नविनाले मलाई आफ्नो शेयर कारोबारको बारेमा बताइन् र मसँग दुई लाख रूपैयाँ मागिन्। तत्काल त्यत्रो नगद साथमा नभएकोले मैले उनलाई मेरो एटिएम कार्ड दिएँ। राति उनलाई फ्ल्याटमा छोडेर घर पुग्दा रातको दश बजिसकेको थियो।
घरमा आएर त्यो साँधुरो पार्किङमा मुश्किलले गाडी पार्क गरें। नशाको तालमा ड्राइभ गरेर आएको बाटो सम्झेर चकित हुँदै घन्टी बजाएँ। मानुषीले ढोका खोलिन् र म लडखडाउँदै बेडरूममा पुगें।
'म खाना खान्नँ' भनेर र बेडमा पल्टिएँ। मानुषी रूँदै बडबडाइन् तर मैले सुनेको नसुने गरी सुतें।
भोलिपल्ट बिहान बेस्सरी टाउको दुखिरहेको थियो। मानुषीले गहभरी आँसु पार्दै सोधिन्, 'हिजो हजुर कहाँ जानु भएको थियो ?' मैले सहज उत्तर दिएँ, 'अफिस गएको थिएँ, किन र ?'
'हजुरको अफिसको ढोका खोल्ने मान्छेलाई मैले सपिङ मलमा भेटेको थिएँ त' उनको भनाइले म झसंग भएँ। उनी रूँदै भन्न थालिन्, 'कति झूट बोल्न सकेको होला! तपाईं कोसँग कहाँ जानुभएको थियो ? सहनुको पनि कुनै सीमा त हुन्छ होला नी !' उनी रोएको देखेर छोरा पनि सँगै रून थाल्यो।
म हतार-हतार कपडा लगाएर निस्कें।
बिहानको त्यो कुराले ज्यादै नरमाइलो लाग्यो। अफिसको झ्यालबाट पत्र पत्र हुँदै चोइटिँदै गएको मसलाको रुखलाई हेरें र
निकैबेर त्यसको नियति सम्झेर भावुक भएँ। यतिकैमा नविनाको फोन आयो।
उनले मायालु अन्दाजमा भनिन्, 'हाउ आर यु माई बेबी ?' मैले जवाफ दिएँ, 'म त हिजोकै ह्याङमा छु यार'
उनले भनिन्, 'त्यसो भए आजकै त्यो साँझ ह्याङ उतारौं न त' उनी अझै भन्दै गइन्, 'तर हेर न बेबी, तिम्रो एटिएममा त जम्मा दुई लाख मात्र पो रहेछ, शेयरको लागि मैले ५ लाख डिपोजिट गर्नुपर्ने। ३ लाख डिपोजिट गरिदेऊ न प्लिज।'
मैले अर्को एटिएमबाट उनले भने जति पैसा झिकें र रेष्टुरेन्टमा गएर उनलाई दिएँ। त्यो साँझ पनि हामी दुबै जना उत्तिकै रमाइलोसँग नशामा डुब्यौं।
हिरासतको सानो कोठामा हामी धेरै जना छौं, एकातिर लामखुट्टे र उडुसले सताउँछन्, अर्कोतिर गर्मी पनि उत्तिकै छ। त्यसमाथि पनि मानसिक अन्तरद्वन्द्वहरूले निद्रा पटक्कै लागेन। भित्ताको घडी हेरें। रातको १२ बजेको रहेछ। फेरि बाध्य भएर तिनै पुराना सम्झनामा झुण्डिएर रात काट्दै छु।
मैले नविना र मेरो अन्तिम भेट सम्झें। त्यसदिन उनले मलाई 'जरुरी काम छ' भनेर होटलमा बोलाएकी थिइन्।
अलि अस्थिर र बेचैन हुँदै उनले मसँग पच्चिस लाख रूपैयाँ मागेकी थिइन्।
मैले झसंग भएर त्यति ठूलो रकम नभएको कुरा बताएको थिएँ। निकैबेरसम्म अनेक कुराहरू देखाएर उनले मलाई फकाइरहिन तर मैले चाहेर पनि सहयोग गर्नै नसक्ने अवस्थामा रहेको कुरा बताएको थिएँ। त्यसपछि एकाएक उनले रौद्ररूप देखाएकी थिइन्।
उनले भनेकी थिइन् 'हेर कुमार, मलाई यो माया, प्रेम र विवाह कुनै कुरामा पनि विश्वास छैन। म जिन्दगी खुसीले बाँच्न चाहन्छु। मलाई सम्पन्न हुनु छ र समृद्ध हुनु छ र प्रभावशाली पनि हुनु छ। तिमी र म त आवश्यकताले जोडिएका हौं, जुन दिन आवश्यक लाग्दैन, कोही कसैको लागि रोएर बसिरहनु पर्छ जस्तो लाग्दैन मलाई। भावुकताले मान्छेलाई कमजोर बनाउँछ र म कमजोर हुन चाहन्नँ। तर तिम्रा लागि मैले केही गरेपछि तिमीले पनि मलाई केही गर्दैनौ भने त्यसलाई म बेइमानी ठान्छु।'
उनमा एकाएक आएको परिवर्तन देखेर म खंग्रङ भएँ र विस्तारै उनलाई सम्झाउन खोजें। तर उनले मलाई बोल्नै दिइनन्। उनी झन् झन् आक्रोसित हुँदै भन्न थालिन् ' तिमी यति सम्पन्न मान्छे भएर पनि मलाई जाबो २५ लाख दिन तयार हुँदैनौ भने तिमी मप्रति बेइमानी गर्दैछौ र म तिमीलाई यो बेइमानीको सजाय दिलाउने छु कुमार! तिमीले याद गर्नू, म तिमीविरूद्ध उजुरी गर्ने छु'
यति भनेर उनी जुरुक्क उठेर हिँडेकी थिइन्। उनका कुरा सुनेर म शिथिल भएँ, दिमाग शून्य भयो र धेरै बेरपछि विक्षप्त हुँदै बसें र एकछिनपछि बाटो लागें। कति नमिठा छन् ती सम्झना !
भोलिपल्ट बिहान हिरासतको भेटघाट कक्षमा मानुषीसँग भेट भयो। उनि थकित, उदास र हतास चेहरा लिएर बसिरहेकी थिइन्, नजर झुकाएर म उनी नजिकको कुर्सीमा बस्छु।
केहीबेरको मौनतापछि उनले मलाई सोधिन्, 'खाना खानु भयो ?' मैले मुन्टो हल्लाएर खाएको संकेत गरें। उनले लामो सुस्केरा लिँदै भनिन्, 'कुमार ! म तिमीलाई धेरै माया गर्छु। तिमी बिनाको जिन्दगी कल्पना पनि गर्न पनि गाह्रो छ मलाई।'
उनका गला अवरूद्ध हुन्छन्।
'तर कुमार ! भाग्यले मसँग नराम्रो खेलबाड गर्यो। एउटा बाटो बिराएको लोग्ने कुनै न कुनै दिन फर्केर आउला भनेर मैले धेरै पर्खें तर अपसोच ऊ कहिले फर्केर आएन।'
उनले आँसु पुछ्दै भनिन्, 'कुमार ! मदिरामा डुबेका तिम्रा कयौं निर्लज्ज रातहरू र तिम्रा तिरस्कारहरू त मैले कति सहे कति, तिम्रा अवैध सम्बन्धको बारेमा थाहा पाएर पनि म चुपचाप नै बसे, किनभने कुमार ! मैले शिरमा राखेको मान्छे तिमी ! तिमीलाई
कहिल्यै अपराधबोध र हिनताभाष नहोस् भन्ने चाहें। बरू आफू हरेक पल मरें तर तिमीलाई बेखुसी कहिले बनाइनँ, कहिलेकाहीँ त आत्महत्याको पनि सोच आयो, छोराको मायालु अनुहारले रोकिएँ।'
उनी भन्दै थिइन् र म आहत हुँदै थिएँ।
उनी अझै भन्दै गइन्, 'तर कुमार ! तिमी बरालिएको लोग्ने होइन, एउटा जघन्य अपराधको अभियुक्त निस्क्यौ। मैले कसरी सुने हुँला ! मेरो लोग्नेले कुनै महिलालाई जबरजस्ती करणी गर्यो भनेर,' लामो सुस्केरा हालेर उनले भनिन्,'मैले आज कठोर निर्णय गरें कुमार! तिम्रो घरको साँचो मैले तिम्रो मामालाई बुझाएको छु, गरगहना पनि सबै त्यही छोडेको छु र नगद एक लाख रहेछ, यो तिमी राख्नू। मैले एउटा महिलामाथि जघन्य अपराध गर्ने कुनै अपराधीलाई संरक्षण गर्न सकिनँ र उसैसँग जोडिएर बस्न मलाई मेरो अन्तरआत्माले दिएन कुमार' मलाई बोल्नै नदिइकन भन्दै गइन्।
'त्यसैले आजदेखि मैले तिम्रो घर छोडेर हिँडेँ। विश्वास त पहिल्यै टुटिसकेका थिए, अब त आशा पनि केही बाँकी रहेनन्। सपना सबै उजाडिएका छन् र मुटु चिरा-चिरा परेको छ तर म पनि बाँच्नुपर्छ कुमार ! तिम्रो छोरालाई तिमीभन्दा असल बनाउनु पर्छ। यो चुनौती लिएर म तिम्रो जिन्दगीबाट आजदेखि बिदा भएँ।'
यति भनेर उनी उठिन् र फेरि भनिन्, 'अँ तिमीले मलाई जति नै घात गरे पनि मेरो मानवीयताले मानेन र तिम्रो लागि एउटा वकिल पनि राखिदिएको छु ...'।
उनका शब्दहरूले म भावशून्य भएँ। संवेदनाहीन भएँ। पर्खालले नछेकुन्जेलसम्म उनलाई हेरिरहें। उनी दुबै हातले आँसु पुछ्दै कतै नहेरी लम्किँदै गइन्।
त्यसपछि जिन्दगीलाई पछाडि फर्केर हेरें। सामाजिक सञ्जाल र मदिराको कुलत हुँदै जीवन साथीको आँखा छलेर राखेको अमर्यादित सम्बन्धले कसरी मेरो सुन्दर संसारमा आगो लाग्यो भन्ने सोचेर मर्माहत भएँ।
मानुषीसँगका प्रेमिल दिनहरू, सुखद वैवाहिक दिनहरू सम्झें। सानो छोराले बाबुको अभिवाकत्व गुमाएर बाँच्नुपर्ने दिनहरू र उसको मायालु अनुहार सम्झें। सहमतिमा हुने गरेका शारीरिक सम्बन्धलाई जबरजस्ती करणी बनाएर उजुरी गर्ने छदमी प्रेमिकालाई पनि सम्झें।
मेरो अन्तस्करणले सबै कुराको जिम्मेवार आफैंलाई देख्यो र अपराधबोध र ग्लानिको आँसुले निथ्रुक्क भएँ।
त्यसपछि आफैंलाई जिन्दगी नै घात, पश्चताप र पीडाबाहेक अरू केही होइन रहेछ जस्तो लाग्यो।
हिरासतको डन्डीको कापबाट बाहिरतिर हेरें। साँझ छिप्पिँदै गएको छ। मुसुक्क हाँसेको प्रकृतिलाई अँध्यारोले छोप्दै लगेको छ र म पनि त्यही अँध्यारो मै कतै हराएको छु!