बधाई छ बधाई
वंश धान्ने छोरा भयो
बधाई छ बधाई
सृष्टि धान्ने छोरी भयो ।
क्रमश वंश धान्ने छोरा
र सृष्टि धान्ने छोरी पाएर
एउटा बुबा आफूलाई संसारको सबैधन्दा धनी महसुस गर्नुहुन्छ ।
आफूलाई संसारको सबैभन्दा भाग्यमानी ठान्नुहुन्छ ।
खुशी र सपना सजाएर
पंख फिजाएर, प्रफुल्ला भई
बादलसँगै नाच्नुहुन्छ ।
सन्तान निर्बाध हलक्क बढ्दै जान्छ
उसलाई ताते ताते गराउने समय आउँछ
ताते ताते गराउँदै सन्तानले तोते बोलिमा बोलि पनि दिन्छ
बा, बा ,बा, बुबा ।
बुबा फेरि गर्वले छाति फुलाउनुहुन्छ ।
समय अडिन्छ बुबाको लागि ।
बुबा त्यही क्षणमा नै आफैंलाई भुलाइदिनुहुन्छ ।
आफूलाई त्यही नै रोकिदिनुहुन्छ ।
तर सन्तान बुबाको लागि त्यही रोकिन्न मान्दैन ।
ऊ बुबाको औँला समातेर अझ हिड्न चाहन्छ
बुबाको हत्केलामा आफ्नो पाउँ राखेर अझ अग्लो हुन चाहन्छ
बुबालाई अह्याउन थाल्छ
घोडा बनिदिनुस् न बुबा
हात्ति बनिदिनुस् न बुबा
मुसुमुसु हाँस्दै बुबा घोडा बनिदिनुहुन्छ
सन्तानलाई चुप्प खाँदै बुबा हात्ति पनि बनिदिनुहुन्छ
कहिलेँ घोडा, कहिले हात्ती बनेर
प्ठ्युँमा सन्तान राखेर
बुबा दौडिरहनुहुन्छ, घड्क, घड्क ।
बुबा लम्किरहनुहुन्छ, लमक्क, लमक्क ।
पिठ्यु धस्सिएर छाला खुइलिसकेको हुन्छ
सन्तानको सुखमा दुख्यो भन्नै विर्सनुहुन्छ
मलम लगाउँनु पर्दैन भन्नुहुन्छ बुबा ।
समय चलिरहन्छ
प्रिस्थिति बदलिरहन्छ
बसन्त ऋतु आउँछ
अनि विस्तारै शिशिरयाम पनि सुरु हुन्छ
रुखका पातहरु विस्तारै झर्दै जान्छ
झरेको पातलाई दुईतीर च्यातेर बुबा सन्तानको लागि फिरफिरे बनाइदिनुहुन्छ
फिरफिरे हावामा उडाउँदै दौडिरहेको सन्तानमा बुढेसकालको साहार देख्नुहुन्छ
फिरफिरेसँग दौडिदै दौडिदै सन्तान पढेलेखेर जागिर, विजनेस गर्न थाल्छ
सन्तानको मान, प्रतिष्ठा, नाम, ऐश्वर्य बढिरहेकोमा बुबा खुशीले दंग पर्नुहुन्छ
सानोमा सन्तानलाई औँला दिदाँ दिदाँ चक्रहरु मेटिरहेको बुबालाई यादै हुँदैन
हत्केलामा उभ्याएर संसार देखाउँदा देखाउँदै भाग्य रेखाहरु मेटिएका बुबालाई ध्यानै हुँदैन
हरेक वर्ष सन्तानको जन्मदिनमा चिरन्जीवी हुनु भनेर आर्शिर्वाद दिँदादिँदै
आफूतिर दिनदिनै मृत्यु सरिरहेको बुबाले देखिरहनुभएको हुँदैन ।
हरेक सेकेण्ड, हरेक मिनेट, हरेक घण्टा, हरेक दिन, हरेक तिथि, हरेक महिना, हरेक वर्ष
छोरालाई सम्पत्ती
बुहारीलाई खुशी
छोरीलाई माया
ज्वाइँलाई मान
कमी नहोस् भनि बुबा सुत्नुअघि सधैँ सोचिरहनु मात्रै हुन्छ ।
चिन्तै चिन्ता र सोचैसोचले बुबा समयसँगै लौरी टेक्दै हिड्न थाल्नुहुन्छ
जति बुढो हुनुहुन्छ बुबालाई सन्तान त्यति प्यारो लाग्दै जान्छ
अनि एकदिन बुबा सिकिस्त विरामी पर्नुहुन्छ
निर्निमेष दृष्टि फैलाएर सन्तानको बाटो कुरेर बस्नुहुन्छ
हतार गर्दै, आत्तिदै वंश धान्ने छोरा आउँछ
हसिनफसिन, रुदैँ सृष्टि धान्ने छोरी आउँछ
उनीहरुले साथमा अर्को मान्छे पनि लिएर आएको हुन्छ
बुबालाई केही सन्देह हुँदैन ।
कालोलाई सेतो देख्नुहुन्छ
मुसुक्क हाँस्नुहुन्छ
आँखा चिम्लनुहुन्छ ।
तर विडम्बना
सन्तानले सेतो कोट लगाउने डाक्टर होइन
कालो कोट लगाउने वकिल साथमा ल्याएको हुन्छ।