नसम्झुँ भने पनि
स्मृतिका पाना पल्टिँदो रहेछ
विछोडमा नै
सम्झना बेजोड हुँदो रहेछ
इतिहास सम्झिँदा
विगत आज लाग्दो रहेछ।
हेरेको छु तिमीलाई
आँखी झ्यालबाट,
छैन विपना त्यो आज
सम्झन्छु तै पनि,
त्यसैले चियाएर मात्र हरेको छु
ढुकढुकी तिमीमा,
अझै छ कि भनी।
मनको भेलसँगै
माझी बनेर आउँछौ कि भनी
पर्खिरहेछु,
गन्तव्य टाढा हुँदा पनि।
तिमी हिमाल भएको देखेकै छु
तुषारोको पर्दा भित्र छेकिए पनि
त्यसैले चियाइरहेको छु,
मन अझै सङ्लिन्छ कि भनी।
शिशिरका पात झरेर उजाडिए पनि,
वसन्तमा चोली फेरूँला भनी जिएको छु
हावा सुशेली झैं विरह गाए पनि,
भाका ढुकढुकीकै हो भनी लिएको छु।
झिलिमिली परेका बत्तीहरूमा पनि,
तिम्रै ह्रदयको ज्योति खोजेको छु
हजारौं अभावमा पनि तिम्रो मुस्कान,
मेरो जिउने प्राण हो भन्ने सोंचेको छु।
आकाश नियाली रहेको छु
तारा तिम्रै निसानी हौ कि भनी
इरादा अझै बाँकी नै छन्
यात्रा निरन्तर चलिरहोस् भनी।