माल्दाइ बुढा भए 
माल्दाइको पुरानो फोटो पनि बुढो भयो। 
तर,
फोटोका माल्दाइ 
सधैँ जवान रहे। 
कहिलेकाहीँ बुढा माल्दाइ 
बाकसबाट फोटो झिकेर हेर्छन्। 
फोटोका जवान माल्दाइले 
बुढा माल्दाइलाई हेरेर 
एकोहोरो मुस्काइदिन्छन्।
खोइ के भनेका हुन् 
फोटोका माल्दाइका आँखाले
'बुढो भइस् हौ माइला' 
भन्दै हाँसेका हुन् कि?
'अहिले पनि तँ उही
जवान माइला नै होस् है' 
भनेर सम्झाएका पो हुन् कि!
बुझ्न नसकी फ्यास्स हाँसिदिन्छन्
बुढा माल्दाइ 
र जतन गरी फेरि थन्क्याउँछन् 
त्यो बुढो फोटो र फोटोका जवान माल्दाइलाई 
त्यही बाकसमा।
तर त्यो फोटोका माल्दाइ पनि 
सधैँ जवान कहाँ रहनेछन् र?
एक न एक दिन 
उनको पनि छाला खुइली जानेछ।
एक न एक दिन 
उनको पनि हड्डी मक्किनेछ। 
अनि फेरि एक न एक दिन त 
उनी बस्ने बाकस पनि 
पुरिनेछ, गल्नेछ र सड्नेछ
वा बल्नेछ, जल्नेछ र उड्नेछ।
अनि फेरि एक न एक दिन 
एक न एक तरिकाले 
त्यो बाकस गलाउने माटोको पनि त 
आयु सक्किएला नि!
के चिज पो 
अनन्तकालसम्म रहला र?
के थाहा- 
अरुलाई बुढो बनाउने 
स्वयम समयको पनि 
कुनै दिन 
आयु सिद्धिने हो कि? 
आऽ जे सुकै होस् है!
अहिलेलाई यति भनौँ-
माल्दाइ बुढा भए 
माल्दाइको पुरानो फोटो पनि बुढो भयो 
तर जे होस्- 
फोटोका माल्दाइ 
अझैसम्म जवानै छन्। 
यही हेर्दै कहिलेकाहीँ
फ्यास्स हाँसिदिन्छन 
बुढा माल्दाइ।