यश, ऐश्वर्यता कुर्दा कुर्दा 
बनेछु म विवश मुर्दा 
इच्छा उद्देश्य थाँती राखी 
हराइसकेछु म मेदिनी माथि
लुक्दा लुक्दै बनेँ मृतलाश 
बोल्दा बोल्दै श्री विहीन 
हेर्दा हेर्दै बनेँ यमदास 
छुँदा भएँ चाल विहीन 
श्वेत कात्रोको काँचुली फेरी 
पुष्प, तुलसीको अर्पण लिएँ
काँध बाहनको रथ चढेर 
यात्रा नवलोकको गर्न हिँडेँ 
शंख सङ्गीतको धुन सुनाइ
छिट्यौ शीतल जल गंगा
पूरो छर्दै गर्यौ बिदाइ 
बहाई सागर अश्रु गंगा 
सजिएको छु कात्रो पहिरी 
आसन मेरो सौम्य चिता 
पोलिँदै छु अग्नि जलाई
सुन्दै अट्टहास यम खित्का 
बिराजित म काष्ठ महलमा 
बनाइ चिता श्री चन्दनको 
पहिरेको छु बिजयी माला 
बनी वीर यात्री नवचोलाको 
महसुस गर्छु तृषित तरंग
सुन्दै घण्टी मृदुल ध्वनी 
सुँघ्छु बासना धुप पुष्पको 
देख्छु सबै भाव विह्वल 
जलायौ जलेँ, मेट्यौ मेटिगएँ 
बनी खरानी यो लोकको
बगायौ बगेँ गतिमा नदीको 
छोडी याद क्षणिक शोकको 
आएँ एक्लै गएँ संगीविहीन
साथ पाएँ दिएँ पूर्वलोकको
भुल मलाई क्रम क्रमसँग 
सम्झी नश्वर चोला दैवको 
मेटियो शरीर बनी खरानीको 
आत्मा जीवित छ अझै 
गर्छु विचरण लोक लोकहरुको 
शाश्वत सत्य हो कठै
पुष्प सुन्दर छ उद्यानको 
माटो मिठो छ धर्तीको 
बादल प्रियः छ गगनको
ठिही प्यारो छ सर्दीको 
कुण्ठा कुण्ठित छ जीवनको 
मिलन मधुर भँवर पुष्पको 
सत्य मधु अडिग प्रकृतिको 
मृत्यु मिठो छ मृतको
देख्नेछु तिमीलाई गगन नयनले 
तिमी रोए म रोइदिन्छु
हाँस सदा प्रसन्न मनले
तिमी हाँसे म मुस्काइदिन्छु
साँच यादहरु भुल समीपता 
यो शाश्वत सत्य गमी 
नश्वरता झुठो रहन्न कहिले 
शुभ्र शिखर झैं बनी
घुम्छ चक्र यहाँ फनफनी 
यी दिनरात घुमेको सरी
पुग्छ त्यो यात्री घरीघरी
लक्षित लक्ष्य भेदन गरी 
मर्छु जन्मिन्छु घुमी भुवनमा 
घाम जून घुमेको सरी 
जन्मिनेछु म अब पुनः 
नेपाल आमाको नै काखमा।