कान्छीको मन आज नरमाइलो थियो। माइतीको आँगनबाट बिदा भएर घर आएको मात्र दश दिन पुगेको थियो।
नयाँ ठाउँमा आउँदा माइतीको सम्झनाले सताइरहेको थियो। आमाबाबुको आँगनजस्तो घरको आँगन बनाउने जिम्मा अब उनले लिनुपर्ने थियो।
माइतमाजस्तो घरमा हुने कुरो पनि भएन। त्यसमाथि नौली। सकेसम्म आफ्नो माइती र घरको इज्जत राख्ने कोसिसमा उनी थिइन्।
सबै राम्रोसँग चलेकै थियो र यस्तै भइरहोस् भन्ने कामना गरिरहेकी थिइन् कान्छीले। आफ्नो मेहनतीपनले अरूलाई खुसी बनाउने खुबी उनमा थियो नै। घरमा पनि सुशील, सुन्दर र मेहनती बुहारी पाएकोमा सबै खुसी थिए।
'ए! प्यारी सुन त मेरो भिसा आएछ नि!',श्रीमानले उनको नजिक आउँदै भने।
'हो र?',उनको आवाजमा खुसी र गम दुबै मिसिएको थियो।
'अब त म पनि विदेश जाने भएँ है', हाँस्दै थपे श्रीमानले।
आमाबाबा पनि खुसी हुँदै आउनुभयो।
'हो र तेरो भिसा आयो है'उहाँहरूको पनि खुसीको सिमाना थिएन। आफ्नै सपनामा हराउन थाल्नुभयाे। अब त हाम्रो खरको छानोमा टिन लाग्ने भयो। बाँसको टेका लगाएको खाटमा सुत्नु नपर्ने भयो। कुच्चिएको कसौडी, कराई बदल्न सकिने भयो। एकछाक खान दुःख नहुने भयो। आफ्नो छोरो विदेशमा छ भनी रमाउने दिन आउने भए। चाडपर्वमा अरूको घरमा पैँचो माग्न जान नपर्ने भयो।' आमाबुबाका थिए, यी आशाहरू।
तर कान्छीको अनुहार भने खुम्चिएको थियो। मन अमिलो भयो। साँझको खाना खाएर सकियाे। चुलो, चौको सरसफाइ गरिन्। उनको मन थिर थिएन। भर्खर विवाह भएको छ। एकले अर्कालाई राम्ररी जान्ने बुझ्ने समय पनि सकिएको छैन।
'के भयो तिमीलाई?'श्रीमानको आवाजले उनको सोचाइ टुट्यो।
भाँडा माझेर सकिएको थियो। हात धुदै थिइन्। हात धोएर पुलुक्क हेर्दै भनिन्,'विदेश नजाँदा हुन्न र?'
'हुन त हुन्छ नि तर के गर्नु? जति गर्छु भने पनि यहाँ केही सफलता मिलेन। मिलोस् पनि कसरी वातावरण पनि हुनुपर्यो नि? यिनी कुरातिर नलागौं प्यारी अब तयारी गर्नुको अर्को विकल्प छैन।'
दुबै जना आफ्नो कोठामा गए। कोठा पनि के भन्नु? बीचमा प्लाई लगाएर पार्टेसन गरिएको थियो। उनको विवाह हुने भएपछि।
यस्तै भए पनि कान्छीको मनमा कुनै गुनासो थिएन। उनलाई जीवन साथी विदेश जाने कुराको टेन्सन थियो। रात गन्थनमै बित्यो। बिहान कान्छी र आमाबाबुसँग बिदा भएर उनी काठमाडौंतिर लागे।
कान्छी घरको काम समाल्दै छिन्। श्रीमान परदेशमा राम्रै पैसा कमाउँदै छन्। उनीहरूको दैनिक रूपमा कुराकानी हुने गर्दछ।
आमाबाबा पनि खुसी हुनुहुन्छ। फाटेका लुगा परिवर्तन भएका छन्। सुत्नलाई राम्रो बेड आएको छ। घरमा टिनको छानो छ।
छोराको कमाइबाट राम्रै प्रगति हुँदैछ। कान्छी सासू-ससुरालाई आफ्नै आमाबाबा सरह मान्छिन्। सेवा पनि राम्रो गरेकी छन्।
परदेशमा श्रीमान पनि भने जस्तो जीवनसाथी पाएकोमा खुसी छन्। देश परदेशमा खुसीको लहर छ।
श्रीमान विदेशिएका दुई वर्ष भएको थियो। यी दुई वर्षमा धेरै कुरा परिवर्तन भएको थियो।
'अब त श्रीमान छुट्टीमा आउँदै हुनुहुन्छ' भनेर कान्छीको मनमा खुसीयाली छाएको थियो।
बिछोड हुनुभन्दा पहिलाका ती श्रीमानसँग बिताएका दिन सम्झिन्थिन्। मनमा काउकुती लागेको जस्तो अनुभूति हुन्थ्यो।
मनमा यसपालि आमा बन्ने सौभाग्य मिल्ला भन्ने आशमा थिइन् उनी।पहिलाका ती दिन सम्झँदै नजिकैको सिसामा आफ्नो अनुहार हेर्थिन्। आफैं लजाउथिन्। फिस्स हाँस्थिन्। श्रीमानसँग भएको कल्पना गर्थिन्। अब कल्पना विपना हुन्छ भनेर आफैंलाई समाल्थिन्।
उता श्रीमान पनि खुसी थिए। घर जाने तयारी गर्दै थिए। घरको लागि सामान किनिसकेका थिए। कतिपय सामान त कान्छीलाई भिडिओ कलमा देखिएका पनि थिए।टिकट पनि पक्का भएको थियो। अब घर जाने दिनको मात्र प्रतीक्षा थियो।
कान्छी आज श्रीमानको फ्लाइट हो भनेर घरमा सासू-ससुरासँग दिनभरि खुसी बाँड्दै थिइन्। साँझ परिसकेको थियो।
'अब त फ्लाइट ल्यान्डिङ हुनुपर्ने हो, एयरपोर्टमा आउने बित्तिकै फोन त गर्नुपर्ने भन्दै भित्तामा रहेको घडी हेर्दै उनी बेचैन भइरहेकी थिइन्।
एकातिर साँझ छिप्पिँदै थियो, अर्कोतिर फोन आउने कुनै सुरसार नै थिएन। तर कान्छी व्यग्र प्रतीक्षामा थिइन्।
रातको समय मनमा झन डर त्रास सताइरहेको छ। उनले मोबाइलमा फेसबुक खोलिन् मन भुलाउन।
फेसबुकको न्युजले उनलाई तर्सायो। फ्लाइट दुर्घटनासम्बन्धी न्युज थियो। हत्तपत्त पूरा न्युज खोलिन्। आफ्नो मोबाइलमा श्रीमानले पठाएको टिकटको फोटो हेरिन्। फ्लाइट नम्बर मिल्यो। उनको शरीर थरथरी काप्न थाल्यो। चिच्याइन्। सासू-ससुरा के भयो भन्दै आउनु भयो। कसरी भन्ने छोरो आएको फ्लाइट दुर्घटना भएछ भनेर। समाचारले के के भयो भनेर पुष्टि पनि त गरेको थिएन। फेरि आफैंलाई सम्हालिन्। केही होइन, सपना देखें भनेर कुरा लुकाइन्। उनको अनुहार कालो निलो भएको थियो। दुर्घटनाको पूरा विवरण आउन बाँकी थियो। रातभर मोबाइलमा न्युज हेर्दै आफ्नो श्रीमानको लागि प्रार्थना गरिन्।
बिहान खबर फैलिएपछि गाउँलेहरू कान्छीको घरमा जम्मा भएका थिए।
दैवलाई कान्छीको सुख मन्जुर थिएन। मृत्यु विवरणमा श्रीमानको नाम पनि आयाे। आँगनभरि बसेका मानिसका आँखा रसाए। कान्छीको सपनाहरू सपना नै भए।कान्छी मुर्छित भइन्।
आमाबाबा आकाशतिर हेरिरहनु भयो। केही मानिस शव लिन एयरपोर्टतिर लागे। अनि चारैतिर अन्धकार छायो।