म बिहान करिब आठ बजेतिर ब्यूउझिएँ। घरमा हल्लाखल्ला भइरहेको सुनेँ। दुई तले घरको माथिल्लो तलामा सुतेको थिएँ। ५-६ जना गाउलेका अगाडि आमा केही फलाकिरहनु भएको थियो।
हल्ला खल्ला बढ्दै गएपछि म बिहानीको उठ्ने बितिक्कैको पिसाबसमेत नगरी तल उत्रिएँ।
गोदार माइलो झोक्राएर बसिरहेको देखेँ। ऊ हाम्रो घरमा खेति गर्नका लागि बसेको थियो। खेतको काम सकेर ऊ आफ्नै घरमा बसिरहेको थियो। आज अचानक किन आयो जानिनँ।
‘तैँले नै मेरो गरमकोट चोरिस,’ भनेर आमाले भनेको सुनेँ। मेरो सातोपुत्लो गयो। करिब दशदिन अघि आमाले मलाई पिकनिक जाने दस रूपैयाँ माग्दा दिनुभएन। ‘यत्रो पैसा यी फुच्छाहरूको पिकनिकमा के को लागि चाहियो भन्दै लौराले डाम बस्ने गरी दनक दिनु भएको थियो।
पिकनिक टोलीको लिडर मै थिएँ। एउटा सानो पाठो किनेर साथीहरूसँग छेउको जङ्गलमा गएको पिकनिक खाने हाम्रो योजना थियो। आमाले पैसा नदिए पछि मैले आमाको रिसले भर्खरै उहाँले किनेको गरम कोट सिलिङमाथि फ्याँकीदिएँ।
त्यसपछि मात्रै मेरो रिस मर्यो। त्यसपछि धेरै भएको थियो मैले त्यो कुरा बिर्सिएँको थिएँ।
आजको यो दृश्य देखेर म तलमाथि गर्न थालेँ। पिसाब आए पनि कता हरायो, कता। ‘मैले धामीलाई जोखना हेराएको थिएँ, तेरै घर दिशा देखायो,’ आमा थप जंगिनुभयो।
‘मैले किन लानु र आमा? फेरि मेरो घरमा कोही पनि महिला नै छैनन् किन लाँन्थे र?,’ उसले भनिरहेको थियो। ‘तैँले लगेर बेचेर खाईस्,’ आमाले भन्नुभयो।
त्यहाँ उपस्थित अरू व्यक्तिहरू पनि ‘साँचो भन बाबु, हामी केहि गर्दैनौं’, भन्दै थिए।
मलाई एकपटक त त्यो सिलिङमाथि फ्याँकेको आमाको कोट निकालेर कुँदेर भाग्न मन लाग्यो। गोदार माइला हाम्रो घरमा बस्दा गुलेलीले ढुकुर मारेर ल्याउने गर्थ्यो। हामी पोलेर खान्थ्यौं। ऊ सँग मेरो सारै राम्रो मित्रता थियो। मलाई एउटा गुलेली पनि ब्याड रूग्न भनेर बनाईदिएको थियो।
उसले नगरेको गल्तीमा गाली खाँदा मेरो त्यो सानो हृदय जलिरहेको थियो। फेरि तल माथि गरिरहेँ। मलाई उखुम भईरहेको थियो। गोदार माइलाको मुख हेर्न आँटै आएको थिएन। अरू व्यक्तिमध्ये मित बुबाले ‘यसलाई लाठो लाए मात्रै बोल्छ’ भनेर लाठो लिन जानुभयो। अब मेरो प्राण जान मात्रै बाँकी थियो।
उसलाई सबैले र्याखर्याख्ती पारिरहेका थिए। ऊ भुइँतिर हेरेर रोईरहेको थियो।
अचानक बुबा कसैको रात्रीको बिहे सकेर साइकलमा घर आई पुग्नुभयो। सबैले बुबालाई नमस्कार गरे। गोदार माइलाले बुबाको गोडामा साष्ट्टड्ग प्रणाम गरेर ‘गुरूजी, मैले गुरूआमाको कोट चोरेकै होइन’ भन्यो।
मित बा ले ‘भयो ढोगेर नखडा नगर’ भन्नु भयो। गोदार माइलो अरू बेला पनि बुबाको गोडा ढोग्ने गर्थ्यो।
बुबाले आमालाई ‘तैँले यसले कोट लगेको देखिस्?’ भन्नुभयो।
आमा चुप लाग्नुभयो। अरूले पनि केहि बोलेनन्।
बुबाले आमालाई ‘अब तैँले गोदार माइलासँग माफ माग’ भन्नुभयो। आमा मान्नुभएन। मेरो मन र चेहरामा उज्यालोपन आईसकेको थियो। अन्त्यमा बुबाले ‘हेर माइला मेरी श्रीमती यस्तै छे, तँ दुःख नमान, मैले माफी मागेँ’ भनेर सभा भंग गरि दिनुभयो।
आमा फत्फताउँदै माथिल्लो घरमा जानुभयो। सबै आ-आफ्नो घरतिर लागे। म पनि पिसाब गरेर गोठको गोबर सोर्न गएँ।