आमा आज किन हो
आफ्नै घडेरी अनौठो लागेको!
दूध पिउँदा पिउँदै रक्सीमा नशा बसेको
दाजुभाइ, भाषा कृष्टि संस्कृति खुम्चिएर
पोलिथिनको धोक्रोमा पसेको
आमा आज किन हो
आफ्नै घडेरी अनौठो लागेको?
सभाको भाषणमा मकैको फूल बर्साउने
शब्दको शोलाले मुटु पोल्ने मितज्यू
बुझ्जै जाँदा उहाँको त
हृदय नै प्लाष्टिक भइसकेको।
आधाकोटी सहोदरको साहित्य मझेरीमा
एक डोको पुस्तक लगे थें
आमा, त्यो त दृष्टिविहीनको देशमा ऐना भयो
विभाषी छिमेकी सामु
झण्डै मेरो जातै गयो, अनुहार उड्यो
आमा आज किन हो
आफ्नै घडेरी अनौठो लागेको?
अरूले बसि बियालोमा पुस्तक घोक्छन्
सेवा र सिर्जनाको दाइँ हाल्छन्
इतिहास चाल्छन्,
नयाँ वौद्धिक बाली फलाउँछन्
हाम्रो त जातैको मपाई
छाती पिट्दै वीरत्वको शान र मान
तासको पत्ति हान्छन्, रमाइलो गर्छन्
गिल्लाको तोरी छर्छन्
आमा आज किन हो
आफ्नै घडेरी अनौठो लागेको?
हिजोआज समाज बलियो भएको छ
साँच्चो बोल्ने
पञ्चायती निसाफमा डाँडिन्छ,
निर्धो निमुखो सिन्केनिहुँमा काढिन्छ
बेलायती सिको सिके सरको पगरी पाँउछ
छासमिसे भाषा बोले शिक्षित भनिन्छ
आमा आज किन हो
आफ्नैं घडेरी अनौठो लागेको!
आमा जिराफ जस्तो उच्च शिर
नुहेको नेपाली भाषी वीर गोर्खाको
आँखा कता खुम्छे हुन्न पूर्खाका चस्माले
जिराफ हैन कछुवा जस्तो देखेको
चिमोट्ने छ निर्दयी समयले
इतिहास बनेर आफ्नो गाडिएको खुकुरी
यस माटोको शत्रु शिविरमा
पाइटो छोडिएको कोदालोको बिँड जंगल कन्दरामा
थर्किएको स्वर स्वदेशी नारामा
खोई खोई आमा ती दिनहरु
किन रात भए, हरियाली आशा
समय नपुग्दै पँहेलपुर भए।
आज पनि तिम्रै छोराहरू नयाँ धिप्री
बालेर मनको मझेरीमा दियालो सल्काइ
समयको पुनरावृत्ति कामनाको
सलेदो सल्काइ बसेका छन्,
यस्तै यस्ता प्रश्न हरेक
आमा आज किन हो
आफ्नैं घडेरी अनौठो लागेको?