बितिसक्दा बल्ल चौथो दिन
उग्रियो केही आकाश
आँगनमा
गिट्टीका गेगरै गेगर
अनि बडेमानका बालुवाका थुप्रा,
मझेरीदेखि सागबारी
वस्तुभाउको गोठदेखि, पुरियो तुलसी मोठसम्मै
मक्किएर बाँसका भाटा
भरिएका छन् सबै बाटा
चुहिएर खरको छाना
टुसाउँदै छन् भिजेका दाना
बडो मुस्किलले ज्यान बचाएका लालाबाला
चिच्याउँदै, कराउँदै भोकले 
तर अहँ छैनन् 
न कोही जनप्रतिनिधि, न त कोही उद्धारकर्ता, 
न त राहतकर्ता 
केवल भिडभाड छ त युटुबे, ट्विटे, फेसबूके र टिकटकेको
पारिपट्टितिरबाट तेर्सिएका क्यामेरा। 
भंगाल थुनिएर
पाचौँ दिनसम्म पनि
अहँ! सम्भाव नै छैन, बाहिर निस्कने, 
केवल हो-हल्ला अनि चिच्याहट 
चारैतिर दुर्गन्ध मरेका चौपायको 
उँधो-उँभो गर्दैछन् 
घरका लालाबाला 
नपाएर शुद्ध पानी
रोग व्याध अनि सम्भावना माहामारीको
हिजो-अस्तीको मेलम्चीको विपत्तिमा 
अक्रान्त छ यो क्षतिग्रस्त बस्ती 
अहँ! त्यत्रो दिन बित्दा समेत
छैनन् कोही 
सान्त्वना अनि राहत दिने।
क्षितिजपारि सुगम ठाउँमा
राता टोपी, निला प्लेटका सुँडवाला गाडी
साइरन बजाउँदै देखिँदैछ राहत बाँडेका
बोरीका बोरी अनाज, गुन्टोभरि कपडा
कैयौँ भाँडा वर्तन, विदेशी त्रिपाल
अहँ! छैठौँ दिन बितिसक्दा पनि
झुल्किएनन् कोही सो घरमा
न त स्वदेशी, न त विदेशी नै
भोको पेट अनि राज्यविहीनता
सराप्दै छन् सरकार र दातालाई 
बैठकमै मात्र डाटा केलाइरहेकामा
अनि अघिल्लो चुनावमा भोट हालेकै आधारमा 
राहतमा विभेद भएकोमा 
मुर्मुरिन्छन् 
बाढीपीडतभन्दा धेरै 
राज्य पीडित भएकोमा। 
सातौँ दिनको मध्यान्ह
साइरन बजाउँदै 
सहरबाट एक चिल्लो कार
आयो सोझिएरै त्यही घरमा 
भोको पेट
ओशले ढाडिएका आशातीत शरीर 
बढो उत्साहका साथ 
उचालिएका छन् सबैका भृकुटी 
सरर आई रोकिन्छ ट्याक्क 
सकुमार-सुकुमारीहरु निस्किए फुत्त फुत्त
कालो चस्मा टडक्क ढल्काउँदै 
सानो कोण सभा-राहत औचित्यको भाषण
बज्छ परर्र... ताली। 
घरका सबैभन्दा वृद्ध र नाबालकलाई
अगाडि डाकी
महंगो ट्याबलेट अनि आइफोन ब्रान्डले
खिचे धेरै सेल्फी, ङिच्च हाँस्न लगाई 
टिकटकको टेक ‘ओके नहुन्जेल’ 
दोहोर्याइ तेहेर्याइ खिचे 
थमाएर एक पाकेट भुजा र चाउचाउ
जे-जे भन्छन्, जसरी हाँस भन्छन् 
गरे उनीहरूले पनि सोही नै
खिचेका सेल्फी पोस्टलाई
अङ्ग्रेजी क्याप्सन दिई
पठाइदिए भएभरका सामाजिक संजालभरि
अनि फर्किए सामूहिक फोटो सेसन गरी
चाउचाउको सङ्ख्या र पीडितको सङ्ख्या
गणना नगरे पनि 
लाइक र कमेन्ट 
छिनछिनमै गन्दै 
गर्व गर्दैछन् 
राहत बाँडेकामा 
गर्व गर्दैछन् 
सेल्फी राहत बाँडेकामा।