बोल्नेको मुख थुन
सेन्सर लगाऊ
न्याय दिनेलाई दबाब देऊ
सर्पलाई दूध खुवाऊ
देश टुक्राउनेहरुलाई काखी च्याप
प्रतिगमनलाई मल जल गर,
कलम चलाउनेको कलम भाँच
खबरदार!
जनताले कोरोना बिर्सेर
सडकबाटै तिमीलाई
घोक्रेठ्याक लाउने दिन
छोटे राजाहरुबाट
देशले मुक्ती पाउने दिन
अब धेरै टाढा छैन
फगत कोरा कागत भरेको हैन
देश बनाउछु भन्ने लेन्डुपे
ठेकदारहरु हो!
यो एउटा स्फूर्त
कलमको खबरदारी हो यो!
अविचलित निर्भिक
एउटा
कलमजीवीको खबरदारी!
अक्सिजन र खोप खोज्नेलाई
आश्वासन देऊ
भोका पेटलाई
बजेट भाषण सुनाइदेऊ
निराश कार्यकर्तालाई
पार्टीको मुखपत्र पढ्न देऊ
प्रभुहरुलाई खुसी बनाउन
भावी पिढीँलाई संकटमा जाकेर
चुरे देऊ, गिटी र बालुवा देऊ
नपुगे महाभारत पर्वत देऊ
एमसिसीको वचन देऊ
असन्तुष्टलाई पालै पालो
मन्त्री देऊ
देऊ, अरु दिन मिल्ने
के-के छन् सबै-सबै देऊ
तिम्रो इमान देऊ,
गुम्दै गएको साख र इज्जत देऊ
खबरदार!
यो देशको अखन्डता नदेऊ
सार्वभौमिकता र मौलिकता नदेऊ
पदका लागि आफ्नो बचेखुचेको
स्वाभिमान बेच्ने आडम्बरी
गुडिया राष्ट्रवादीहरु हो!
वाक्क छ्याक्क बनेका
सम्पूर्ण सचेत नागरिकको
चुनौतीपूर्ण खबरदार!
ठिकै छ तिमीलाई हामी
बिजगणितको एक्स र वाई झै
राजनेता नै मानौंला
बिन्ती!
भो अब आराम गर
अक्सिजन अभावमा
अत्तालिएको देशलाई
जंगल थेरापी गरेर
शान्तिको श्वास फेर्न देऊ
यो देशको साँचो
अब युवाहरुलाई सुम्पिदेऊ!
तिमीले त्यतिबेला जित्नेछौ
धेरै जनताको मन
प्रतिगमनले टाउको नउठाउँदै
परीक्षामा खरो उतार्न
अबको बागडोर
हाँसी हाँसी
आउने पिढीँलाई बुझाइदेऊ
प्रकृतिको बरदान यो
सुन्दर शान्त देशको भाग्यरेखा
कोर्नलाई!