हे निरीह जनता हो!
के तिमीहरुलाई थाहा छैन र?
म नै राज्य हुँ, म नै सत्ता हुँ
लुई चौधौँलाई चिन्छौ, मलाई चिन्दैनौ?
म नेपालको फुइँ चौधौँ
गफ हान्ने, फुइँ हान्ने मेरो काम
यो पावर, यो शक्ति. यो रस, यो जस
यी नै हुन् मलाई शक्तिशाली बनाउने
अरु सबै राज्यका शत्रुहरु
कम्तीमा मबाट केही त सिक
मैले टेकेको धर्ती पवित्र
अरु सबैलाई हान्छु किक
म जहाँ उभिन्छु, त्यही ठिक।
तिमीहरु मात्रै जैरेहरु हौ
बुझिराख म नै राज्य हुँ
म नै ठिक हुँ
अरु सबै विरोधी मात्रै न हुन्
तिमीहरु त मात्रै दर्शक न हौ
सभाहरुका दर्शक
टिभी अगाडि मलाई हेर्ने दर्शक
अक्सिजनका लाइनमा बस्ने
सुधा मुक दर्शक!
यो देशका, संसारकै ज्ञानी दर्शक!!
मात्रै चुनावतिरका भोटर हौ तिमी
आइसियू र भेन्टिलेटरलाई सोर्स लाउने भोटर
त्यसैले त तिमीलाई चिनी घोलेझैँ
सर्बत पस्केर मख्ख पार्छु म
कार्यक्रमका नाममा, बजेटका नाममा
अरु माथि चड्लान
सत्ताको चास्नी भेट्लान
सबैलाई पाखा लागाऊ, तलै रोक
म जहाँ उभिन्छु, त्यही ठिक हो
त्यसैले
म जे बोल्छु त्यसैमा ताली ठोक।
म एकदमै ठिक छु
त्यसैले
तिमीहरुको हालखबर नि ठिकै हुनुपर्छ
हस्पिटल बन्दै गर्लान्
अक्सिजन आउँदै गर्लान्
हामी निरन्तर वार्तामा छौं,
भ्याक्सिन आउँदै गर्लान्
मान्छे त ठूला देशमा पनि त मेरेकै छन् नि
हाम्रो लक्ष्य त समृद्धि नेपाल बनाउनु हो
तसर्थ
सुरुङ बनाउँछु, भ्यू टावर बनाउछु
बजेट सबै असारमा बाटोमै खनाउछु
हे टुहुरा नेपाली हो! धैर्य गर है
दुई चार लाख मरेर जालान्
देश बनाएरै छाड्छौँ हामी
ज्वरो आउँला, सिटामल खाऊ
बेसार खाऊ, बेलौती खाऊ
अँध्यारो कोठामा चुक्कुल लाएर बस
छिमेकीले नसुन्ने गरेर खोक
म यो देशको फुइँ चौधौँ
म जहाँ उभिन्छु, त्यही ठिक हो
अझै एक पटक सत्ता हत्ताउन पनि
कोरोना बिर्सिएर
चुनाव गराउनुछ
तसर्थ
सास रहुन्जेल मस्तसँग खोक
म जे बोल्छु त्यसैमा ताली ठोक।
त्यसैमा ताली ठोक।