विकास कसैको पेवा हुन सक्दैन
युगलाई कसैले धिकार्न सक्दैन
अब त गफै धेरै भो सान्दाजु
सेतो रङ पोतेर
काग बकुल्ला हुन सक्दैन।
जेल बसेर जनता भेटिँदैन
सामन्त लखेटेर
सामन्ती मेटिँदैन
टुक्काले कति अर्थ्याउने हो सान्दाजु!
कालो रङ पोतेर
मनको छेकवार रोकिँदैन।
नक्सा कोरेर
भूगोल भेट्न सकिँदैन
पुस्तक छापेर
अक्षर पढ्न सकिँदैन
केको प्यास हो, सान्दाजु!
कोक पिएर तिर्खा मेट्न सकिँदैन।
पुष्प वृष्टि गरेर
भोका पेट भरिँदैन
कृषिप्रधान देश हुँदैमा
बिना फसल बिउ उम्रिँदैन
रोडम्याप महत्वाकांक्षी भो सान्ददाजु
भूगोलको सचित्र नकोरे,
समृद्धि त्यसमा भेटिँदैन।
धरहरा उचालदिँमा
गरिबी मेटिँदैन
अस्पतालमा अक्सिजन खोज्यो
कतै भेटिँदैन
सत्ताको रापले
महामारी देखिँदैन
इमान्दारीताको कदर खै केले हो हुन दिँदैन
साला, सम्धीलाई रोक्न मनले सकिँदैन
आश्वासन त अति भो सान्दाजु
दाउरा नठोसी आगो बल्दैन।