मलाई डेरा खोजेर सर्नु पर्ने छ। दाइ-भाउजूको डेरामा आश्रय लिएको पनि ९ दिन बितिसकेछ। पुरानो घरबेटीले साह्रै किचकिच गरेर त्यहाँबाट छोडेरै हिँड्ने बनायो।
त्यसैले अब अर्को डेरा नपाउन्जेल यही गाँउको दाइको डेरामा बस्छु भनेर आएको थिएँ। आफैलाई अप्ठ्यारो भएको छ। दाइले म खोजिदिन्छु भने पनि आफ्नै अफिसको कामले भ्याइनभ्याई छ। भाउजूको व्यवहार त्यती राम्रो छैन।
स-साना कुरामा पनि साह्रै किचकिच गरी रहने। पानीको धारा खुल्लै भएछ हिजो, त्यती कुरामा आजको बिहान नै बित्यो। अब उनीहरुकै डेरा, म त आफूलाई डेरा नपाउन्जेल आश्रय लिएको थिएँ, के बढी बोल्नु? यो कुरा भाउजूलाई मन परेको थिएन।
काठमाडौँ मेरा लागि नौलो त थिएन तर पनि यहाँ डेरा पाउनु भनेको साह्रै कठिन विषय थियो। सितिमीति सानो मेहनतले पाइँदै पाइँदैन थियो। पाइहाले पनि चित्तै नबुझ्ने महँगा कोठा। जे-जस्तो भएपनि एउटा डेरा खोज्नै पर्ने थियो मलाई।
कलेजका साथीहरुसँग पनि कुरा गरिरहेको थिएँ। विद्यार्थीको पीडा विद्यार्थीलाई मात्रै थाहा हुन्छ। घरमा पैसा चाहियो भनेर सधैँ भनिरहँदा आफैलाई कस्तो कस्तो लाग्ने, नमागी आफ्नो उपाय नहुने। त्यही माथि डेरा नपाएर यो बिजोग भएको थियो।
नयाँ डेरा खोज्न थालेको आज पन्ध्र दिन भैसक्यो, अझै पाउन सकेको थिइनँ। साँच्चै नै यो काठमाडौँमा डेरा पाउनु भनेको एउटा भएानक युद्ध नै जित्नु बराबर थियो। डेरा पाउनै गाह्रो। अझै म जस्तो यहाँ कोही नभएकोलाई त झनै गाह्रो।
के गर्ने, कहाँ जाने, कस्लाई भनेर हुने हो केही मेसो नहुने। म मिलाइदिन्छु भन्दै पैसा खाने दलालहरुको पनि साह्रै हालिमुहाली हुन्छ यहाँ। हिजो पनि कलेज छुट्टी भएपछि दाइ-भाउजूको डेरामै नगई उतैबाट बिजुली बजारका घरहरुमा 'कोठा खाली छ होला' भनेर सोध्दै हिँडेँ, केही उपलब्धी भएन।
अझै एउटा घरबेटी अन्टीले त झपारेरै पठाइन्। 'तिमीहरु जस्तो कमाइ नभएका विद्यार्थीहरुलाई कोठा भाडामा लगाएर कसरी हुन्छ? मैले सबै भोगिसकेकी छु' भनेर नराम्रोसँग भनिन्। नदिने भए छैन भने भैहाल्थ्यो, किन त्यसरी हपार्नू? मनमा साह्रै नराम्रो लाग्यो। कस्तो स्वार्थीहरुको सहर रहेछ!।
मेरो एउटा झापाको साथी पनि तीन महिना पहिले डेरा खोज्ने चक्करमा धेरै डुलेको थियो। रुखो व्यवहार भएका धेरै घरबेटीहरुको गाली खानु परेको तितो अनुभव सुनाएको थियो। अब मेरो पनि त्यै हालत हुने भो भनेर मनमनै दिक्क लागेको थियो।
आज पनि अनामनगर वरिपरि दिनैभरि डुलेँ, आखिर केही उपलब्धी भएन। त्यही पनि हेरौँ न भनेर डुलिरहेको थिएँ। डुल्दाडुल्दै शंकरदेव कलेज नजिक आइपुगेछु। अलिअलि भोक लागेको अनुभूति भै रहेको थियो।
के खाने भनेर सोच्दै थिएँ अलि परबाट सरिता जस्तै लाग्ने अनुहार यतै आउँदै गरेको मैले देखेँ। सरिता नै रहिछे। ऊ पनि हाम्रै क्लासमा पढ्छे। घर चितवन हो रे। यहाँ काका-काकीसँग बस्छे।
उसको र मेरो सम्बन्ध अलि नजिक भएको थियो। क्लासका साथीहरु पनि कानेखुसी गर्दै बेलाबेलामा उसको र मेरो नाम जोडेर जिस्काउँथे। मैले ऊप्रति चासो दिन थालेको थिएँ। ऊ पनि मेरो ख्याल गर्न थालेकी थिई।
नजानिँदो पारामा हामी एकअर्कालाई मन पराउन थालेका थियौँ। ऊ पनि म जस्तै विद्यार्थी थिई। विद्यार्थीलाई एउटै पिर हुन्छ, खल्तीमा पैसै नहुने। ऊ पनि विद्यार्थी नै भएकोले बुझ्थी मेरो कुरा। घरबाट पठाएको पैसा जहाँ पायो उही खर्च गर्न पनि नहुनी। कतै घुम्न जाउँ न भन्न पनि गाह्रो।
फेरि जहाँ गए पनि तिमीले नै पैसा तिर पनि कसरी भन्नू, केटीहरु पनि यस्तै हुन्छन् आफै बुझेर कैलै तिर्दैनन्। फसाद हामी केटालाई मात्रै। गत महिनाको कुरा हो यता घरबेटीलाई भाडा नतिरेको दुई महिना भएको थियो। भाडाको लागि भनेर अलिकति पैसा जोगाएर राखेको थिएँ।
क्लासका साथीहरु मिलेर पोखरा सराङकोट पिकनिक जाने सल्लाह भयो। जान्ने भएर सरिताको सराङकोट जानी पैसा पनि मैले नै हालिदिएको थिएँ। अब उसले फिर्ता गर्लि भन्ने त के आश? मनको फरासिलो हुनु पनि साह्रै गाह्रो रहेछ।
डेरामा घरबेटीले अलिअलि किचकिच गरे पनि त्यति साह्रै गरेको थिएन, त्यो महिना पनि भाडा तिर्न सकिनँ। त्यति भएपछि त के चाहियो र? डेरा नै नछोडी नहुने भो। त्यही भएर चिनेको दाइ भाउजूकोमा शरण लिन पुगेको थिएँ।
भाडा बेलैमा बुझाउन पनि त्यस्तै हुने, घरबाट अड्कलेर पठाइदियको पैसो के-केमा मात्र खर्च गर्नू, यसो उसो गर्यो त्यतिकै सकिने। त्यही माथि काठमाडौँको महंगी, के कुरा गरी साध्य छ र!
म त्यस्तो नराम्रो संगतमा नलागेको, नशापानी केही नगर्ने मान्छेलाई त यस्तो गाह्रो छ, अझ गाँजा चुरोट खानेहरुको हबिगत कस्तो होला? म टोलाएको देखेर सरिताले 'ओई के भो' भनेर झस्काई। मैले केही हैन भनेर टारेँ।
सरिताबाट पो केही हल मिल्छ कि भनेर डेरा नपाएर आफूले पाएको दु:ख बारे सुनाएँ। उसले बुझेर खबर गर्ने आश्वासन दिई। तिमीसँगैको डेरा मिल्छ कि बुझन भन्न मन लागेको भए पनि उस्को उत्तरमा मुन्टो मात्र हल्लाएँ।
भोक लागेकोले केही खाजा खाउँ भनी दुवै जना शंकरदेव कलेज भित्रको एउटा रेष्टुरेन्टमा छिरेर खिर खायौँ। 'साह्रै मिठो बनाउँछ है यहाँको खिर?' उसले भनी। मुन्टो हल्लाउँदै मैले भनेँ ‘तिमीले कहिले बनाएर खुवाउने हो मलाई?’
ऊ हाँसी मात्रै। खिरको पैसा मैले नै तिरेँ। भोलि कलेजमै भेटौँला भनेर हामी छुटियौँ। सरितासँगको प्रेमिल ठट्टाले मनमा थोरै खुसी छाए पनि आफ्नो वास्तविक समस्या जिउँका तिउँ थियो। त्यसै मन विरक्त थियो। दाइ-भाउजूको डेरा पनि जानै मन लाग्दैनथ्यो।
एकदिन त्यसै डुलेर भृकुटीमण्डपको बाटो फर्किँदै थिएँ। रातिको साढे दश भएको हुँदो हो, एकछिन बस्न मन लाग्यो। त्यहीको कुर्सीमा गएर अडेस लगाएर बसेँ। दिनभर डुल्दा डुल्दै गलेर होला त्यसै थकाइ लागेको थियो। त्यतिकैमा भुसुक्कै निदाएछु।
पछि ब्युझेर घडी हेर्न खोजेँ, हातमा घडी थिएन। आज लगाउन बिर्सेछु, कस्तो बिर्सिने भएको म आजभोलि जस्तो लाग्यो। निद्राले आँखा पोलिरहेको थियो। भृकुटीमण्डपबाट निस्किएर अनामनगरको बाटो लागेँ।
राजुले खै कुन एउटा ग्रुप छ, यस्तै डेरा खोज्न सहयोग गर्ने भन्थ्यो। त्यही सोध्नु पर्यो भनेर मोबाइल झिक्न पकेटमा हात हाले, म झसंग भएँ। मोबाइल नै थिएन। फेरि अर्को पकेट हेरेँ, मेरो पर्स पनि थिएन।
बल्ल थाहा भो मलाई, मैले घडी लगाउन पनि बिर्सेको थिइनँ, मेरो त घडी पनि हराएछ। म बिर्सने भएको हैन, ज्यादै सम्झने कुन चाहिले मेरो घडी, पर्स, मोबाइल सबै चोरेर लगेछ। के गर्नु अब, कस्लाई भन्नु? घरबाट पठाइदिएको अलि अलि पैसा पनि त्यही पर्स मा नै थियो।
अब मोबाइल पनि छैन के गर्नू! अब डेरा खोजौँ कि हराएको पर्स, साह्रै पीडाको महशुस गरेँ मैले। चोरिएको पर्स त भेटिने सम्भावना नै थिएन, त्यही पर्सको एउटा सानो पकेटमा सरिताको एउटा फोटो पनि लुकाएर राखेको थिएँ। अब त्यो फोटो पनि चोरियो। बल्ल बल्ल गरेर उसँग मागेर राखेको थिएँ, अब फेरि अर्को फोटो देऊ पनि कसरी भन्नू? त्यो रात त्यसै छटपटीमै बित्यो।
भोलिपल्ट राजुसँग सबै कुरा भनेँ, उसले आफ्नो पुरानो मोबाइल मलाई दियो र त्यो डेरा खोजिदिने ग्रुपको बारेमा पनि जानकारी दियो। राजुको पुरानो मोबाइलबाट फेसबुक लग इन गरेँ। लग इन गर्न नपाउदै सरिताको म्यासेज आयो- कता हराएको? डेरा पायौ त? किन केही म्यासेज नगरेको, के भो?
हिजोदेखि मैले उसलाई सम्पर्क गर्न सकेको थिइनँ, उसको जिज्ञासा स्वभाविक नै थियो। मोबाइल पर्स हराएको कुरा भनौँ कि जस्तो लाग्यो, तर भनिनँ। जान्ने भएर रातिको बेला त्यो भृकुटिमण्डप किन गएको भन्न पनि सक्ली भनेर भन्न मन लागेन।
‘मोबाइल बिग्रिएर बनाउन दिएको छु, अनि हेर न डेरा पनि पाएको छैन कुरा गर्दै छु’ भनेर रिप्लाइ गरेर एउटा लभको इमोजि पनि पठाएँ। उसले पनि केही रिप्लाई गरेकी थिई तर त्यो नहेरी पहिले राजुले बताएको ग्रुपमा जोडिएँ। डेराको लागि बुझ्दै गएँ तर त्यहाँ त डेरा खोजिदिने भन्दा पनि हामी जस्तो केही थाहा नभएकोहरुसँग बाट डेरा खोजिदिने नाममा पैसा असुल्नेको ठूलो जमात भएको पाएँ।
कति धेरै आश गरेको थिएँ, आखिर केही भएन। काठमाडौँ सहर साँच्चै नै लुटाहाहरुको सहर हो जस्तो लाग्यो, मन नभएका मान्छेहरुको थलो जस्तो लाग्यो। कसैले पनि सहयोग नगर्ने, सकेसम्म फटाई गरेर नै अरुलाई लुट्ने मान्छेहरुको भिड भएको सहर जस्तो लाग्यो।
त्यसै दिग्दार लागेर आयो। सरिताको अघिको म्यासेज हेरेँ। उसले पनि लभको इमोजी पठाएकी रहिछे। फेरि मैले दुईवटा लभको इमोजीसँगै एउटा ओठ भएको इमोजी पनि पठाइदिएँ।
त्यसो त डेराकै बारेमा साह्रै दु:ख भो भनेर घरमा पनि कुरा गरेको थिएँ। बाबाका एकजना साथी अहिले सांसद भएका रहेछन्। म ऊसँग कुरा गर्छु भन्नु भएको थियो बाबाले। जाबो डेरा खोज्ने कुरामा पनि सांसदलाई नै गुहार्नु पर्ने यो कस्तो बिडम्बना!
ठुल्ठुला देशका परियोजना बनाउने, नीति-नियम बनाउने, देशका समस्या समाधानको हल खोज्ने त्यत्रा ठूला सांसदले म जस्तो मामुली विद्यार्थीको लागि डेरा खोजिदिन्छन् भन्ने त मलाई लागेकै थिएन। हुन पनि त्यही नै भएो। हुन्छ म हेरौँला भनेको थिए रे फोनमा, त्यसपछि अत्तोपत्तो भएन। सांसद जस्तो मान्छेलाइ पटक पटक फोन गरेर झिझाउनी कुरा पनि भएन।
पर्सिपल्ट बाबाले अलिकति पैसा पठाइदिनु भयो। मेरो यहाँको पीडाले घरमा पनि पीडा हुनु स्वभाविक नै थियो।
यस्तैमा राजुले म्यासेज पठाएर भन्यो- ‘डेरा खोजिदिने एजेन्सीमा बुझन, त्यहाँबाट पो मिल्छ कि।’
१ बजेको हुँदो हो, टन्टलापुरे घाममा सडक किनार किनार हिँडेर अनामनगर पुगेँ। त्यहाँ रहेको एउटा एजेन्सीलाई मेरो दुर्दशा सुनाएँ। उस्ले काम त हुने तर एडभान्स स्वरुप १,५०० रुपैयाँको माग गर्यो। काम हुने होकि होइन, जाबो कोठा खोज्न पनि एडभान्स? के गर्नु अब हुन्छ भन्नु को विकल्प नै के थियो र?
त्यसको पर्सिपल्ट फोन आयो, कोठा हेर्न आउनु भनेर। म कोठा हेर्नको लागि खुसी हुँदै गएँ। तर जति खसी कोठा हेर्न जाँदा थिएँ, फर्किँदा त्यति खुसी लागेन। साँघुरो कोठा, निकै अँध्यारो, झ्याल पनि सानो त्यही पनि कुनामा। हप्तामा एकदिन पानी आउने रे। सामान्य एउटा खाट भने थियो। महिनाको ६,००० तिर्नु पर्ने रे। घरभाडा १ गते नै दिनु पर्ने। कस्तो कडा नियम।
डेरा देखेर सारै दु:ख लाग्यो। वरिपरिका मान्छेहरुको गाइँगुइँ सुनिरहेको थिएँ- भुइँतलाको कोठा हिउँदको दिनमा त ठिकै हो, बर्खामा त पानी को भेल सबै भित्रै पस्छ। मान्छेहरुको कुरा सुनेर बल्ल बल्ल पाएको यो डेरा पनि छोडौँ कि लिउँ जस्तो भएो।
पैसा बुझाइसकेँ, त्यही पनि एक पटक अनुनय गर्न मन लाग्यो र भनेँ ‘अर्को मिलाउनु पर्यो सर, यो त सारै साँघुरो र निकै अँध्यारो भो।’ तर उसले ‘फेरि पैसा लाग्छ, हामीले धेरै जनालाई डेरा खोजदिनु पर्छ, हुन्छ भने यही हो होइन भने अरु पनि आउछन् यहाँ’ भनेर रुखो जवाफ फर्कायो।
हुँदै नहुनुभन्दा यतिको छ भनेर चित्त बुझाउनु कि फेरि अर्को कोठा खोज्देऊ भन्नु। अब तिरिसकेको पैसा फिर्ता हुँदैन, फेरि डेरा खोजदिनलाई मात्र अर्को १५०० मसँग थिएन। अन्तत त्यही साँघुरो मन नपरेको डेरालाई नै मैले आफ्नो बनाउने निर्णय गरेँ।
दाइ-भाउजूलाई आश्रयको लागि धन्यवाद दिँदै त्यसको पर्सिपल्ट म त्यहाँबाट औपचारिक रुपमा निस्किएँ। अब भने मलाई सरितासँगको साथले मेरो अँध्यारो कोठा उज्यालो बनाउनु थियो।