सभाको झुन्ड मात्र भएर के भो
विद्वत्ता उसमा पनि फुर्दैन भने
अरिंगालको गोला जमेर मात्र के भो
यदि त्यो खोक्रो आश्वासन जस्तै हुन्छ भने।
कुसुमलाई माया दिएर मात्र के भो
यदि त्यो सुगन्धित बनिदिन्न भने
सगरमा बादल पर्दा बनेर के भो
धर्तीमा त्यसले घुम्टो उघार्दिन भने।
क्षितिजमा प्रतिबिम्ब भेटिएर के भो
भावनामा यदि त्यो जोडिन्न भने
स्वर्गको आश्वासन बाँडेर मात्र के भो
आखिर यही धर्तीमै जल्नु छ भने।
मुटुमा ढुकढुकी मात्र भएर के भो
स्पन्द कसैले सुन्दैनन् भने
कोइली विरह गाएर मात्र के भो
भाका उसको कसैले बुझ्दैनन् भने।
सुन खानीमा सुनाम्य भएर के भो
जब सुन नै आफ्नो हुँदैन भने
ध्रृष्टतामा क्षमा मागेर के भो
जब त्यो धोएर पनि जाँदैन भने।
ऐश्वर्यमा जमघट भएर मात्र के भो
विपत्तिमा यदि त्यो पराई बनिदिन्छ भने
पूर्णिमाको जून देखेर मात्र के भो
दिलमा नै औंसीको रात घुसिदिन्छ भने।
आँसु आफै भित्र बगेर के भो
त्यसले यदि प्यास मेटिँदैन भने
विरह व्यथा गुनगुनाएर मात्र के भो
आखिर त्यो तरंगित हुँदैन भने।
तारा आकाशमा चम्किएर के भो
अन्धकारमा त्यसले उज्यालो छर्दैन भने
दर्पणमा रश्मी ज्योतिर्मय भएर के भो
आखिर त्यो दिलमा परावर्तन हुँदैन भने।