प्यारी छोरी
सप्रेम शुभाशिष्।
हिजो आजका यी दिन वर्ष जस्ता लामा भएका छन्। बाहिरतिर निस्कनु भने हावा पनि राम्रो छैन। अहिले त झन् कोरोनाको कहर दिन दिनै बढेको छ। निषेधाज्ञा छ। समयले कता पुर्याउने हो, कसैलाई थाहा छैन।
हुन त समयभन्दा बलवान को पो होला र? हिजो आज घुँडा र गोडाको दुखाइ अलिक बढेको छ। नियमित जाँच गराउन अस्पताल गएकी छैन। घर बाहिर निस्कन त डर भइसक्यो, अस्पताल कसरी जानु?
कालिका मन्दिरको नियमित भजन पनि अघिल्लो एक महिना मात्र चल्लो। अब त परिवेश सामान्य होला जस्तो लागेको थियो। तर सोचे जस्तो कहाँ हुन्छ र? जीवन भनेको सुख दु:खको साझा चौतारी त रै’छ छोरी, कहिले सुख कहिले दु:ख।
जीवनका यिनै दर्शन बाच्ने आधार हुन्। सुखमा नमात्तिनु दु:खमा नआत्तिनु। दु:ख त अझै नबोलाई आउने पाहुना पो हो रे त छोरी!
आजभोलि कसैसँग भेट हुन निकै गाह्रो छ। म बुढीलाई रोग सारिन्छ कि भन्ने डरले पनि होला सायद। घरमा एक्लै छु। तल कोठामा बस्ने पनि आफ्नो घर गएका फिरेका छैनन्। नियास्रो लाग्छ। तर के गर्नु! तिमीहरुले गरी खाने काम यहाँ पाइएन।
परदेशको दु:ख पनि देखेर आएकी छु। तिमीहरुको मेसिनबत जिन्दगी सुख कहाँ छ र? अघिपछि जे-जस्तो भएपनि संकटमा आफ्ना साथ भए हुन्थ्यो जस्तो लाग्छ। साथ हुन परिस्थितिले दिएन।
दूरदर्शी नेता र योजनाले यही बाच्ने आधार पाएको भए कहाँ परदेशी हुन्थे र ४० लाख युवाहरु? यो मेरो एकल कथा कहाँ हो र? देशका धेरै आमाहरुको कथा हो नानी। अझै कती बा-आमा त आफ्ना सपनालाई रातो बाकसमा फर्केको देख्न विवश छन्, अभिशप्त छन्।
हुने खानेलाई त गाह्रो छ, हुँदा खानेको त के कुरा भो र? न त सरकार न त सुरक्षा। नियतिको भर बाँचेकाहरुको न त देश हुँदो रैछ न त भूगोल। न त आफ्नो कोही न त आफन्त कोही?
छोरी त्यता पनि सजिलो छैन। आफ्नो ख्याल गर्नू। अनिकालमा बिउ जोगाउनु संकटमा जीउ जोगाउनु भन्छन्। यो संकटको अन्त्य त होला नि एक दिन। कालो बादल फारेर घाम त झुल्किएला नि एक दिन। अब त्यही दिन पर्खेर बसेकी छ छोरी।
यसपालिको आमा औँसीमा जसरी नि आउँला आमा भनेकी थियौ। के गर्ने समयले साथ नदिएपछि! आफूले चाहेर मात्र भएन। ठिकै छ, मोबाइलमा बोलेर धित मरेन। त्यही भएर चिठी लेखेकी। ल त, छोरी आजलाई बिदा।
तिम्री आमा।