भिन्नै छ उसको कथा
अरुहरुको जस्तो निधारमा रातो टीका
र गलामा माला पहिरिएर
बिना आशीर्वाद
खर्कबाटै छोडेको हो घर
र समाउन थालेको हो बन्दुक।
अनि घोकेन कहिल्यै बादशाहरुको स्तुति
पढेन कुलीनतन्त्रका बायोग्राफी।
हिँड्दे जाँदा
हातमा ठेला फुटाएर
देश अनुवाद गर्नेहरुबाट
थाल्यो ग्वेभेरा पढ्न ऊ
र थाल्यो घोक्न लु सुनका वाणी
कहिले पूर्वमा पुगेर
स्केच गर्यो सामाजिक विभेदको चित्र
कहिले कर्णाली पुगेर
भर्यो रङ देशको चित्रमा।
हिमालमा बास बसेर
बाँड्यो समानताको प्रसाद
राप्तीका किनारमा
डुंगा खियाउनेसँग बसेर
सम्झ्यो साहूको खेत जोत्दै गरेका
बाबुको धमिलो तस्बिर।
रोल्पामा पुगेर
कुर्कुच्चा फुटेकी घाँसको भारी बोक्ने
बज्यैलाई देखेर सम्झ्यो
घरको सिकुवामा अनिकाल पिँध्दै गरेकी
आमाको घुर्मैलो याद।
अनि सम्झ्यो तिन्जुरे डाँडामा पुगेर
तिहार नआई ओइली झरेका
चेलीहरुको पर्खाई।
तमोरको किनारामा बसेर
लेख्यो गीत
लाल झुपडीका बस्तीहरु
गायो राजधानीमा गएर
महासमरका यात्रीहरु...
अनिकालले चाउरी परेका गाउँमा गएर
बनायो कृषि क्रान्तिको योजना
भर्न लायो खोक्रा सारंगीमा
जनताका विद्रोही स्वरका धुन।
खुकुरीका धारमा पाइला चालेर
पुगेको हो योद्धा नारायणहिटीको गेटसम्म
हत्केलामा जीउज्यान राखेर
बाँचे देश र मरे सहिदको आशा बोकी
कोरेकै हो काँडेतारका भित्तामा
राता अक्षरमा जनताका आवाज
अनि बाँडेकै हो
लोकतन्त्र जिन्दावादका पर्चा
र तर्सिएथ्यो एकतन्त्रीय श्रीपेच
कच्चा थेनन् गोली र बमभन्दा
उसका नाराका आवाज
कायर थेनन् उसका
हिम्मत साहस।
हटाउन हिँडेको थियो दासताको मैलो
बनाउँछु भन्थ्यो समताको बस्ती
लेखाउने भन्थ्यो योगमायाहरुको इतिहास
कोही कोही सुन्नेले भन्छन्
लाउँदै हिन्थ्यो रे सहरमा जबजको मन्त्र
खोजेको थिएन उसले लुट्न देशको सम्पत्ति
बरु देश बनाउने सन्दर्भमा
पठाउन खोजेको थियो
हिमालमा एक टुक्रा न्यानो
बाँड्न खोजेको थियो
पहाडमा सिटामोलका टुक्रा
र दिन खोजेको थियो
तराईमा राहतका पोका।
उल्लेखित आशाका सट्टामा
गायब छ योद्धाको खोजखबर
गायब छ उसको इतिहास
म यत्ति भन्छु
बाटो भुलेको छ योद्धा।
कतै बाँचेको भए पनि
गुमाइदिए कि मानसिक सन्तुलन
राज्यको सुरक्षा गर्नेहरुले।
भन्नेले त बाहृ वर्षमा
खोला पनि फर्कन्छ भन्थे
खै!
फेरिए भित्ते पात्रोका गते, महिना र बार
फेरिएनन् झुपडीका बस्ती
भेटिएनन् बालुवा चाल्नेहरुका ठेला
उहिले
डाँडा चौतारामा धराप पड्काएदेखिन्
बोकी ल्याउँदैनन् मालचरीले सन्देश
सायद
योद्धा अझै पनि
देशकै चिन्तामा कैदी भएर
सोची बसेको होला
धमिलो आमाको याद र बाबुको सम्झना
अनि घर आउने बाटो।