पर्वतको कुश्मा नजिक खानीगाँउमा रहेको एउटा मध्यम वर्गीय परिवारमा हुर्किएको गोपाल भर्खरै विद्यार्थीको फलामे ढोका मानिने एसएलसी उत्तीर्ण गरेको छ। सामान्य खेतीपातिबाटै आफ्नो जीविका चलाउँदै आएको परिवारको गोपाल, सदरमुकामबाट नजिकै रहेको फलेवास उच्च माविमा भोलिदेखि जाँदै छ।
आफ्नो भोलिको लागि तयारी गरेर बेलैमा सुत्छ। बाटैमा ३० मिनेट लाग्ने भएकोले सबेरै उठेर सबै तयारी पूरा गरी नयाँ कलेजतर्फ लागिरहेको गोपालको मनैभरि अनेक कुरहरु खेलिरहेका छन्...
पहिले पहिले पनि यो बाटो नहिँडेकोको हैन, त्यही पनि किन केही भिन्न लागिरहेछ! ग्रामीण भेगको साघुँरो र ओरालो बाटो, बाटोका भित्ताहरुमा साना साना पानीअमलाका पातहरु निहुँरिएर बाटोको शोभा बढाइरहेका थिए।
बाटोभन्दा केही तल एउटा ठूलो लप्सीको बोट यथावत मुद्रामा उभिरहेको थियो। म पहिले बाख्रा चराउन आएको बेलामा झरेका लप्सीका दानाहरु टोक्दै खेलेको अझै स्मृतिमा ताजा नै छ।
नयाँ कलेज, नयाँ साथीहरु, ठाँउ नयाँ सबै कुराहरु नयाँ। अनेक कुराहरु मनभित्र गुन्दागुन्दै ओरालो झरेर फेदीको घुम्ती कुन बेला मोडे थाहै भएन। ठ्याक्कै कलेजको बाटो हिड्दै गर्दा मेरो जस्तै पोशाक लगाएको एउटा लुरेलुरे केटो मेरै अगाडि हिँडिरहेको थियो।
कमल रहेछ उसको नाम, हाम्रो त क्लास पनि एउटै रहेछ। ऊसँगको परिचयले मलाई अलि सजिलो भयो। केही औपचारिक कुराकानी सँगै त्यो दिन हामीले खाजा पनि सँगै खायौँ।
कमल र म एउटा असल घनिष्ट मित्रमा परिणत भइसकेका थियौँ। क्लासमा पनि सँगै बस्थेउँ, ऊसँगको सहकार्यले मलाई राम्रै फाइदा हुँदै थियो। पढाइमा पनि, बाहिर तिरको वातावरण चिन्न, घुम्न पनि। कलेजका दिनहरु १/२ गर्दै वर्षैमा परिणत भएछन्।
हिजोसम्म म कक्षा ११ को लागि जान्थेँ, अब १२ को लागि फलेवास मावि जाने भएँ। कमल पनि मेरो १२ को साथी भयो। सदा जस्तै उही पारामा निस्किएँ कलेजका लागि। उही बाटो उही चाल। हाम्रो क्लास मात्रै नयाँ थियो। सबै शिक्षकहरु, कलेजको प्रांगण, घण्टी बजाउने पालेदाइ सबै हामीले देखिरहेकै अनुहार थियो।
कमल र म खाजा खाइसकेर क्यान्टिनबाट क्लास रुमतर्फ फर्किरहेका थियौँ। पछाडिबाट कसैले नारी आवाजमा 'दाइ' भनेको मेरो कानमा पर्यो। दुवै जना पछाडि फर्कियौँ। एउटी केटी कलेज पोशाकमा हामी तिरै हेरिरहेकी थिई। ऊ मैले चिनेको अनुहार थिइन।
कमलको घर नजिकै कि बहिनी रहेछ। एकछिन है भनेर ऊ नजिकै गएर केही कुरा गर्यो। म परैबाट हेरी रहेँ। बोल्दा पनि हाँसिरहने, टाढैबाट पनि सुन्दर लाग्ने आँखाहरु, अनुहारले केही बजारको झल्को दिए पनि उसको कपाल कोराइ, हेराइ सबै आफ्नै गाउँको जस्तो लाग्ने।
फर्केर आएपछि कमललाई सोधेँ उनको बारेमा। कमलले आफ्नो गाउँको बहिनी रहेको र आजबाट क्लास ११ मा यही कलेजमा आएकी भनेर भन्यो। मनभित्र एक किसिमको खुसी छायो। तर यो खुसी के कारणले लागेको हो भन्नेमा बेखबर थिएँ।
कलेजका दिनहरु सामान्य रुपमा बित्दै गए। कमल र म पनि अब अति घनिष्ट मित्र भएका थियौँ। एकआपसको सम्बोधनमा पनि अब हामी ले 'तँ' भन्न थालेका थियौँ। बेलाबेलामा घुमाउरो पारामा उसकी त्यो राम्री बहिनीको बारेमा सोधिरहन्थें।
उसको नाम केहो? उसको घर र तेरो घर कति टाढा? यस्तै यस्तै। उसको नाम राधा रहेछ, विस्तारै पत्ता लगाएँ। राधा लेखेर फेसबुकमा सर्च गरेँ। धेरै राधाहरु मध्ये उसको फोटो देखेँ, खोलेर हेरेँ उसको प्रोफाइल।
त्यती धेरै सकृय त रैनछ फेसबुकमा, तर कहिले काहीं लोभ लाग्दा तस्बिरहरु पोष्ट गर्दी रहिछ। फेरि स्क्रीन ब्याक गरेर अरु राधाहरुलाई हेरेँ, कोही पनि राम्रा लागेन। फेरि उही राधालाई हेरेँ, सच्चै राम्री थिई। मनमनै उसको नाम दोहोराएँ, राधा!
समय बित्दै जाँदा एकदिन कमलले आफ्नो घर नजिकै पूजा रहेको, सबैजना आउने र रमाइलो कृतन पनि हुने हुँदा आफूसँगै आफ्नो घर जाउँ भनेर प्रस्ताव राख्यो। राधाको घर पनि कमलको सँगै एकैतिरै भएकोले एकै श्वासमै हुन्छ भनेँ। कलेज सकिएसँगै त्यो दिन म पनि कमलको पछि पछि लागेँ उसैको घर।
कमलको घरमा खाजा खाइसकेर हामी पूजा घर तर्फ गयौं। मेरो मनमा भने राधा कति बेला आउली, कस्तो लुगा लगायार आउली, घरको ड्रेसमा कस्ती देखिएली, यस्तै यस्तै कुरा खेलिरहेका थिए। जति नै घनिष्ट मित्र भएपनि राधालाई मन पराएको कुरा कमललाई पनि भन्न सकेको थिइनँ।
अलि अलि गर्दै गाँउका धेरै जना जम्मा भइसकेका थिए। मेरा आँखाहरु भने राधालाई नै कुरिरहेका थिय। एकै ठाउँमा पूजा हुँदा पनि किन आइन राधा, कि आएर पनि मैले देखिनँ, मनमा निराशाको बादलले ढाक्न थल्यो।
५०-५५ बर्षका एकजना प्रौढ हारमोनियमको सहायताले स्वरमा स्वर मिलाइरहेका थिए। राधा कृष्ण राधा राम…। उनीहरु को कृतनको हेरेक राधा शब्दमा मैले मेरो मनैकी राधालाई सम्झी रहेँ। सबै खुसी थिए। तर मेरो मन राधाको अनुपस्थतिले आक्रन्त भएको थियो। धेरै कृतन सकिए, रात पनि सकियो तर राधा आइन। मेरो मन त्यसै निराश भयो।
कमलकी आमाले बनाएको मिठो चिया पिएर हामी भोलिपल्ट कलेज हिन्यौँ। कलेजको गेट नजिकै पुग्दै गर्दा अलि परैबाट निधारमा गोलोगरी टीका लगाएर यतै आउँदै गरेकी राधालाई देखेँ। हातमा केही पेपर र कलम लिएर आइरहेकी उसलाई देखेर थाहा पाएँ उसको परीक्षा रहेछ।
सायद त्यसैले आइन हिजो। मनमनै भनेँ, यो परीक्षा अरु दिन भएको भए पनि त हुने। भित्रभित्रै रिस उठ्यो। फेरि आफै शान्त भएँ। हाम्रो पनि परीक्षा आउन केही समय बाँकी थियो। क्लासका सबै जना पढाइप्रति अलि बढी चासो दिन थालेका थिए। हामीले क्लास सकेपछिको केही समय कम्बाइन स्टडी गर्ने प्लान बनाएका थियौँ।
त्यो सकिँदा साँझ पर्न लागेको थियो। बजारका घरहरु बिजुली बत्तीले झिलिमिली हुन लागेको देखिन्थियो। 'साँझ परिसकेकोले तलाई घर जना गाह्रो हुन्छ, हिँड आज पनि यतै बसौँ' कमलले भन्यो।
साँच्चिकै साँझ परेकोले हवस् भन्नुको विकल्प थिएन। तर हिजोको हवस् र आजको हवसमा धेरै अन्तर थियो। कमलको घर गइसकेर एकछिन फ्रेस हुन गाउँतिर जाने निर्णय गर्यौं, फेरि झल्यास्स सम्झेँ 'राधा'।
घुमाउरो पारामा कमललाई उसकै तिर जाउँ भनेँ, उसले पनि सहमती जनायो। गयौँ राधाको घरमा। कमलका लागि त सामान्य नै थियो तर मेरा लागि खास थियो राधाको घर।
राधाकी आमासँगको सानो परिचय सँगै, चिया बनाउँछु भनेर भित्र छिरिन्। राधाको परीक्षा चलिरहेकोले घरमै पढेर बसिरहेकी रहेछिन्। आफूले अन्य काम पनि गर्नुपर्ने हुनाले हामीलाई चिया दिन राधालाई भन्नुभयो।
हातमा चियाको ट्रे बोकेर उही मन्द मुस्कान सहित राधा चिया लिएर आइन्। धेरै कुरा भन्न मन लगेको थियो तर सकिनँ, आँखा आँखाले नै कुरा गरेझैँ गरी उनी भित्र छिरिन्।
विस्तारै समय चल्दै थियो। मेरो कक्षा १२ को परीक्षा पनि आयो। आफ्नै हिसाबले तयारी गर्दै परीक्षा दिएँ। त्यसपछिको समय निकै दिग्दार लाग्दो हुन थाल्यो। कमलसँग पनि फोनमा कुरा भैरहन्थ्यो।
एकदिन म ओच्छ्यानमा पल्टेर भविष्यको कल्पनामा डुब्न थालेँ। जति मरीमरी पढेपनि पास मात्रै हुने हाम्रो पढाइले पछि के नै गर्न सकिएला र, बरु अहिले नै एउटा गतिलो ठाँउमा जान सके पछि भविष्य राम्रो त होला। घरमा सल्लाह गरेँ।
आमा सानो मन गर्दै हुनुहुन्थ्यो, जसोतसो मनाएँ। सामान्य किसानी जीवनयापन गर्दै आएका मेरा बा, छोराले गरेको निर्णय राम्रै होला भनेर नै होला असहमती जनाउनु भएन।
गाँउका केही युवाहरुलाई विदेश पठाएर स-सानो दलाल कहलिएका जयश दाइलाई भेटेँ। उनको जवाफ सकरात्मक नै पाएँ। 'जान्छस् भने एउटा गतिलो कोटा त छ, तर खर्च अलि बढी लाग्छ है' मैले हुन्छ भनेर सहमती जनाएँ।
खर्च धेरै लाग्ने जयश दाइको कुराले मेरो मनमा अलिअली द्विविधा त बढेको नै थियो। आफूसँग अलिअलि रकम भएपनि जयश दाइले भने जति पूराउन गाह्रो नै थियो।
नजिकका इष्टमित्रहरुसँग बाले कुरा गर्नु भएछ, खासै सहयोग मिलेनछ। जति नै आत्मिय रुपमा बाहिर देखिए पनि सबै बलेको आगो ताप्ने नै त रहेछन्। अन्त्यमा बाले पल्ला गाउँका वडाप्रमुख हेमकाजीसँग बिन्ती बिसाउन जानु भयो।
कमलो मनका हेमकाजीले मेरो बाको कुरा काट्न सकेनछन्। र, यसरी पैसाको जोरजाम भयो। सबै कागजी प्रकृया पूरा गरेँ। भिसा पनि आयो र आउने शुक्रबारलाई टिकट निश्चित भयो। यही बीचको अवधिमा आफन्तहरुलाई भेटेँ, मामाघर पनि गएँ। राधालाई भेट्न मनमा इच्छा हुँदा हुँदै पनि केही भन्न सकिनँ।
सबैभन्दा कठिन पलहरु मध्येको एउटा पल यही रहेछ। मनभरी भन्नका लागि असीमित कुराहरु हुँदाहुँदै पनि केही भन्न नसक्नु। बस् यति मात्र लेखेँ म्यासेजमा, 'राधा, म अब विदेश जाँदैछु।'
उसले आँसु झारेको इमोजी पठाई। त्यसमा उसको माया थियो अथवा मेरो म्यासेजको रिप्लाइ मात्र? मैले बुझ्न सकिनँ।
शुक्रबारको बिहान साढे ४ बजे घरबाट निस्कने तर्खर गर्दै थिएँ। लगेज र झोला हिजै मिलाएर राखेको थिएँ। आमा पिलपिल गर्दै हुनुहुन्थ्यो। आमाको अनुहारले मेरा पनि आँखा रसाए।
'लौ त जान्छु है आमा' भनेर हिनेँ। बा पनि झोला बोकेर मलाई पुर्याउन खानीगाँउको फलेबास झर्ने चोकसम्म आउनु भयो र म यसरी गाउँबाट प्रदेश लागेँ।
एयरपोर्ट पुगेपछि सबै त्यहाँको प्रकृया पूरा गरेर प्लेन बोर्डिङ पास लिने ठाउँमा पुगेँ। धेरै मन्छेहरु आ-आफ्नै गन्तब्यमा जानका लागि विमान कुरिरहेका थिए। थाइ एयरको विमानमार्फत मुग्लान पुगेँ।
त्यहाँ मेरा लागि एकजना प्रतिनिधि र २ जना नेपाली साथीहरु प्रतिक्षामा रहेछन्। मेरो नाम लेखिएको पम्प्लेट उचालेर बसिरहेका थिए। म त्यहीँ पुगेँ। सामान्य परिचय सँगै हामी बाटो लागेउँ। बाटैभरि उनीहरु कामको बारेमा, त्यहाँको नियमको बारेमा बताउँदै गए, म उनीहरुका कुराहरु सुन्दै गए।
एउटा कुरियर कम्पनीमा थियो मेरो काम। पर्सिपल्टबाट काम हुने भयो। घरमा फोन लगाएँ र आफू आइपुगेको र पर्सीबाट काम हुने कुरा भनेँ। कमललाई पनि 'मिस यू'को सन्देश पठाएँ। राधालाई पनि सन्देश लेख्न मन लागिरहेको थियो- 'म तिमीलाई मिस गरीरहेछु राधा' भन्न मन थियो, तर केही म्यासेज गरिनँ। ऊ मेरा लागि पो खास थिई, तर उसका लागि म…
पर्सिपल्टबाट काम सुरु भयो। नजानेको कुरा सोध्दै काम गर्दै गएँ। धेरै नेपालीहरु नै भएकोले त्यती धेरै गाह्रो भएन। उता नेपाल र यताको समय नमिल्ने हुनाले चाहे जति साथीभाइलाई सम्पर्क गर्न सकिरहेको थिइनँ।
दिनहरु सामान्य रुपमा बित्न थाले। एकदिन साँझको खाना खाइसकेर बिस्तारामा जाने तर्खर गर्दै गर्दा मोबाइलले म्यासेज आएको जानकारी दियो। मोबाइल हेरेँ राधाको म्यासेज रहेछ। एकछिन त मन पनि प्रफुल्लित भयो, के लेखिछ भनेर कौतुहलता पनि।
उसको म्यासेजमा लेखिएको थियो 'बाबाले मेरो बिहे तय गरिदिनु भयो, म अब बिहे गर्दैछु।' राधाले एकै हरफमा भएभरका सबै कुरा पोखी, यता मेरो मन भने भएभरका सबै कुरा सोहोरिएर एकै ठाउँमा आयो। मनभित्र कतै कुनै गह्रुंगो बस्तुले थिचेको जस्तो भान भयो।
मनमा अनेक कुरहरु खेल्न थाले, आखिर यो म्यासेज उसले किन गरेकी होली? यो भित्रको रहस्य के छ? के उसले पनि मैले जस्तै मेरो लागि आफ्नो मनभित्र ठाँउ दिएकी थिई? यदी त्यसो नहुँदो हो त म जस्तो परदेशीको मामुली केटालाई भन्नुको के अर्थ?
मैले सहजै अडकल लगाएँ। मनभरि पछुतोको बादल मडारी रह्यो। आखिर किन चुकेँ म, त्यतीबेला किन भन्न सकिनँ मनको कुरा? तिमी पनि किन फुकाईनौ मनको गाँठो? म्यासेजको कुनै प्रतिउत्तर दिन सकिनँ। मनमनमा कुराहरुले कानेखुसी गर्न थाले। तिम्रो सिउँदोमा अब अर्कैको सिन्दुर पर्ने भयो राधा। के हाम्रो मनभित्र पलाएको माया त्यसै हराएर जन्छ त?
अझै पनि हेर्छु तिम्रो प्रोफाइल, तस्बिरहरु। उही मुस्कान देख्छु, उही नजर देख्छु, बस् फरक यति सिउँदोको- पहिले खाली, अहिले भरी।