मेरो मृत्युपश्चात्
मेरी आमालाई सम्झाइ दिनु
एउटा योद्धाले
बरु वीरगति प्राप्त गर्न सक्छ
तर ऊ कहिल्यै मर्ने छैन।
मलाई एकैछिन नदेख्दा छट्पटाउने उनी
अब भन्नु
मलाई हेर्न चाडबाड कुर्नु पर्दैन
म सधैँ आकाशमा
कहिल्यै नअस्ताउनेगरी उदाएको हुनेछु
मेरो आवाजहरु सुन्न मन लागे
तड्पिनु पर्दैन
म ती वीरहरुसँग तोप र बारुदमा बुलन्द आवाज भएर
गर्जिरहेको हुनेछु
मेरो मृत्युपश्चात्
मेरी आमालाई सम्झाइदिनु
एउटा योद्धाले
बरु हजार योद्धा जन्माउन सक्छ
तर ऊ कहिल्यै बिलिन हुनेछैन।
बा बलियै छन्
किनभने उन्लाई कर लाग्छ
दिदीभाइलाई पनि विस्तारै
सत्यको भर लाग्छ
तर आमा फेरि
दोबाटो झर्दै गरेको
कोही सिपाही देख्दा
झस्केर दौडी निस्केलिन्
र मझेरीमा मेरो तस्बिर हेरी आँसु झार्लिन्
तर यस्तो कहिल्यै नगर्नू भन्दिनु
मेरो मृत्युपश्चात
मेरी आमालाई सम्झाइदिनु
आँसुहरुले केवल बाटो रोक्दछ
सिपाहीलाई कसैले बाटो रोकेको मन पर्दैन।
हुन त मलाई हिम्मत सिकाउने मेरी आमा नै हुन्
तर मलाई थाहा छ
मलाई अघि बढ्न सिकाएर
घर पछाडि लुक्दै आँसु पुछ्ने
त्यो आकार उनकै हो
म कुनै दिन जान्छु भन्ने थाहा हुँदा हुँदै पनि
सधैँ बसिदियोस् सम्झिने ती आमा नै हुन्।
हराउनु भनेको
कतै भेटिनु पनि हो
कतै हार्नु भनेको
कतै जित्नु पनि हो
एउटा योद्धाले
मरे जसरी बाँच्नुभन्दा
सदैव बाच्नको लागि मृत्यु रोज्दछ।
मेरो मृत्युपछि सम्झाइदिनु
मेरी आमालाई
एउटा योद्धाको आमाले
यी दुवैमा बाँच्न सिक्नु पर्छ
यी दुवैमा हाँस्न सक्नुपर्छ।