‘बस्त्र लगाएर जन्म छोरी। नाङ्गै जन्मँदा उत्तेजित हुन्छन् कामवासनाका पुजारीहरू।’
बलत्कार गरी हत्या गरिएकी बाह्र वर्षीया बालिका सम्झना कामीको तस्बिरमा थियो सोनीको यो स्टाटस। फेसबुकमा भर्खरै आएको उनको फ्रेन्ड रिक्वेस्ट पेन्डिङ नै थियो। केही अपरिचित साथीलाई हटाएर उनलाई एसेप्ट गरें।
केहीछिनमै उनले मेरो वालमा भएको ‘फुर्की गाईको कथा’ सेयर गरिन्। मैले तुरून्तै धन्यवाद दिएँ।
तिहारको रमझम भर्खरै सुरू भएको थियो। क्वारेन्टिनको बसाइँ अफ्रिकाको छुट्टै अनुभूति हुँदै थियो।
फेसबुक नै थियो त्यो अनुभूति सेयर गर्ने माध्यम। चाडवाडको समय फेसबुकभरि तिहार केन्द्रित तस्बिरहरू भरिभराउ थिए।
पाँच वर्ष अघिको फुर्की गाईको कथामा कमेन्ट र सेयर हुँदै थियो। मलाई भने उनको त्यो स्टाटसले नमिठोसँग लज्जित बनायो।
उनको प्रोफाइल भिजिट जारी थियो। फेरि अर्को स्टाटसमा रोकिएँ म।
‘आज एउटा उपन्यास पढें। अनि नमज्जाले रिस उठ्यो त्यो लेखकसँग। आखिर कसरी राख्न सक्यो उसले मजस्तै अर्को पीडित पात्र।’
बस् उनलाई बुझ्न मलाई यति नै काफी थियो। अनि मैले नै संवाद सुरू गरें।
‘धन्यवाद मेरो कथा मन पराउनु भएकोमा। समय मिलेमा तपाईंको कथा पनि सुनौंला।'
‘मेरो कस्तो कथा ? घृणा छ मलाई लोग्ने मानिसहरू प्रति।’ उनको मेसेज आयो।
केहीछिन त अलमल्ल परें म। उनको स्टाटस हेरेर मैले गरेको अनुमान मेल खाँदै थियो। अनि हिम्मत गरेर फेरि मेसेज पठाएँ।
‘त्यही घृणाको कथा ।’
अनि मैले केही मेरा कथाहरूका लिंक उनलाई पठाइदिएँ। धेरैबेरपछि उनको सकारात्मक जवाफ आयो।
‘म तयार छु सर तपाईंलाई मैले भोगेको नर्कको कथा सुनाउन।’
उनले भोगेको नर्कको कथा मेसेन्जरबाट नै समुन्द्र पारी बसेर सुन्ने समय मिलाएँ।
‘लोग्ने मानिसहरूप्रति मलाई त्यतिबेला घृणा जाग्यो जब आमा र मैले बाबाकी अर्की श्रीमती र मभन्दा जेठी दिदी समेत भएको थाहा पायौं। आमाले बारम्बार पाउने भौतिक यातनासँग त म त्यसै परिचित थिएँ अब मानसिक यातना थपिएको थियो हामीलाई।
भर्खर सात कक्षामा पढ्ने म, भाइ अझै सानै थियो। त्यो मेरो कलिलो बाल मस्तिष्कमा आफ्नै बाबाप्रति नकारात्मक प्रभाव पर्यो।
केही वर्षमात्र भएको थियो हामी सिन्धुपाल्चोकबाट काठमाडौं आएको। प्रहरीमा जागिरे हुनुहुन्थ्यो बाबा।
जब आफ्नै बाबाको सक्कली अनुहार हामीलाई थाहा भयो त्यसपछि सुरू भयो हाम्रो दु:खको यात्रा।
बाबा त्यसै पनि हामीलाई भेट्न आउने क्रम पातलिसकेको थियो। आमासँग हुने झगडाले हामीलाई पठाउँदै आएको खर्च पनि अब पठाउन छाड्नु भएको थियो। आमाको सानोतिनो कमाइले हामीलाई पढाउन निकै गारो थियो। अनि आमाले हामीलाई सरकारी स्कुलमा भर्ना गरिदिनु भयो।
ती दिनमा घरभाडा तिर्न र खानेकुरा जुटाउन आमाले कति संघर्ष गर्नुभयो बयान गरी साध्य नै छैन।
बारम्बार त्यो समयमा हामीलाई बाबाको टर्चर आइरहन्थ्यो। आमालाई सम्बन्ध बिच्छेदको लागि कति धेरै दबाव आयो। मावलमा समेत अनेक थोक भनेर दबाव दिन छाड्नु भएन। तर आमाले मान्नु भएन। शायद एकदिन आफ्नो श्रीमानको मन फर्किएला भन्ने आशा आमालाई अझै थियो।
वर्षौ बित्यो तर फर्किएन उहाँको मन। बरु नागरिकता बनाउने बेला थप सास्ती भोग्नु पर्यो हामीले। मेरा छोराछोरी होइनन् भनेर भागी हिँड्नु भयो।
आमाकै अथक प्रयासले विभिन्न सरकारी कार्यालय धाएर अन्तत: नागरिकता लिएर छाड्यौं हामीले।
एसएलसी सकिएपछि मैले फाइनान्समा मार्केटिङको काम सुरू गरिसकेकी थिएँ। घरमा केही सहज भइसकेको थियो। तर बाबाले घरमा थप दबाव बढाउनु भयो।
कहिलेकाहीँ त घरमा आएर तोडफोड समेत गर्न थाल्नुभयो। जब आमाको चरित्र र ममाथि समेत आक्षेप लगाएपछि भने आमाले पुलिस केस गरिदिनु भयो। पुलिस केस गरेपछि बाबा जागिर छोडेर ठूलो ममी लिएर फरार हुनुभयो। पछि थाहा भयो भारत पसेको कुरा। त्यसपछि भने बल्ल शान्तिको सास फेर्यौं हामीले।
मैले बिबिएस भर्खर ज्वाइन गरेकी थिएँ। घरमा मामाहरूले मेरो विवाहको कुरा चलाउनु भयो। उन्नाइस वर्ष नि पूरा भएकी थिइनँ। आमा र मामाहरूको अगाडि मेरो केही लागेन।
मेरो लागि जीवनमा त्यति ठूलो कष्ट गर्ने आमाको मन दुखाउन सकिनँ। अन्तत: म मेरो खुसी होइन आमाको खुसीको लागि राजी भएँ।
राजी त भएँ तर केटा चिनेको थिइनँ। मामाले नै केटा राम्रो छ भनेर तयार भएँ म। २०७४ साल माघ २४ गते हाम्रो विवाह भयो। सबै माइतीहरू मख्ख थिए राम्रो केटा पाई भनेर।
आफूलाई भने आमा र भाइ छोडेर अन्जान केटासँग जानुको पीडा थियो तर आमाले भोगेको त्यो पीडा सम्झेर उहाँको मन दुखाइनँ।
उसको घर झापा भएकोले हामी बिहानै गाडी चढ्यौं। उसकी आमा र दिदी आउनु भएको थियो बेहुलोसँग। तर बिडम्बना उसको घर लगिएन बेहुली भित्राउन। इटहरीमै उसले काम गर्ने क्वार्टरमा मलाई भित्राइयो। मलाई त्यहीँ छाडेर आमा र दिदी मात्रै भोलिपल्ट जानुभयो झापा।
केही दिनको इटहरी बसाइमै म र मेरो श्रीमानबीच कति कुरामा मतभेद सुरू भैसकेको थियो।
एउटा अपरिचित मानिससँग सबै कुरा मिल्न सम्भव पनि भएन। मसँग उसलाई सोध्ने धेरै प्रश्न थिए तर उ उत्तर दिँदैनथ्यो। उ मलाई कोठामा सीमित गर्न चाहन्थ्यो। सामाजिक सञ्जालहरूबाट टाढा राख्न चाहन्थ्यो।
विवाहको केही दिनपछि मात्र एकदिन उसले मेरो मोबाइल भित्तामा हानेर फुटाइदियो।
अनि पहिलोपल्ट उसले ममाथि हात उठायो। मेरो गालामा बेस्सरी थप्पड हान्यो। मेरो लामो कपालको फाइदा उठाएर लुछ्यो त्यसले। उसका बलिष्ठ पाखुरीका अघि म निरिह थिएँ। डरले काँपिरहेकी थिएँ।
मेरो गालामा नीलो छाप बसेको थियो। कपाल भुत्ल्याएकाले टाउको दुखेको थियो। त्योभन्दा बढी मेरो मन दुखेको थियो। त्यतिबेला मलाई लाग्यो लोग्ने मानिसहरूमा दया र माया हुँदैन।
त्यस दिनबाट उसले ममाथि थप प्रतिबन्धहरू लगायो। उसलाई नसोधी माइतीलाई पनि फोन गर्न नहुने, कतै बाहिर निस्कन नहुने, उसले जे भन्यो त्यही मात्र मान्नुपर्ने भयो मैले।
विवाह भएको महिना दिन भएको थिएन उसले मलाई बिसौँ पटक भन्दा बढी हात हालिसकेको थियो। म एउटा नर्कमा परिसकेकी थिएँ। उसको इशारामा नाच्ने नर्तकी जस्तै। जे भन्यो त्यही गर्नु पर्थ्यो मैले। छिमेकीसँग बोल्यो भने पनि उसको यातना भोग्नु पर्थ्यो।
फोन गरेर आमालाई सुनाउन मन लाग्थ्यो फेरि आमाको मन दुख्ला भनेर सुनाउन सक्दैनथेँ। त्यही पीडा आमाले भोगेको सम्झन्थें।
उ सँगको शारीरिक सम्बन्ध एउटा यातना थियो मलाई। उ धम्की देखाएर मलाई बाध्य बनाउँथ्यो। उसलाई जतिबेला मन लाग्यो त्यतिबेला म तयार भैदिनु पर्थ्यो। मलाई पिरियडको समय त के बिरामी हुँदा पनि म बिरामी भन्न पाउँदैनथें। उ मलाई कुनै बलत्कारी भन्दा कम लाग्दैनथ्यो। आफ्ना बलिया पाखुरीको भरमा म माथि निरन्तर बलत्कार गरिरह्यो उ।
मलाई डिप्रेसन सुरू भैसकेको थियो। आत्महत्या गरौं गरौं जस्तो लाग्थ्यो। कतिपटक सोचें पनि। बाँच्न मन पनि थिएन फेरि मर्ने आँट पनि आएन।
यदि मरेँ भने आमालाई झन धेरै पीडा थपिने छ। अनि एकदिन आमालाई फोन गरेर सबै कुरा सुनाइदिएँ। मलाई त केही हलुका महशुस भयो तर त्यसले आमाको मन कति गह्रुङ्गो भयो सोच्नै सक्दिनँ।
आमाले केही दिनलाई माइत आइज सबै ठिक हुन्छ भन्नुभयो तर उ मलाई पठाउने वाला थिएन। उसलाई पनि फोन गरेर भन्नुभयो आमाले तर उसले आफ्नी श्रीमतीमाथि आफ्नै अधिकार भएको जवाफ फर्कायो।
अनि मैले उसको घर जाने जिद्धी सुरू गरेँ। मलाई जसरी भएनि त्यो नर्कबाट उम्कनु थियो। मेरो जिद्धीबाट आजित भएर अब ऊ तयार भयो मलाई उसको घर पठाउन। मलाई लिन ससुरा बा आउनुभयो इटहरी। म उहाँसँगै झापा घर गएँ।
घर पुगेको केही घण्टामात्र भएको थियो। एउटी छिमेकी आमैले को हौ नानी तिमी भनेर सोधिन्। म बोल्नु अघिनै सासुआमाले मेरी दिदीकी छोरी भन्दिनु भयो। म आश्चर्य चकित भएँ।
आफ्नो बुहारीलाई किन दिदीकी छोरी भनेको होला अनेक प्रश्न मनमा उब्जिए । अनि ती आमै गएपछि मैले आमालाई किन त्यसो भन्नु भएको भनेर सोधेँ ।
‘बुहारी भन्यो भने त सबै बिनुले थाहा पाइहाल्छे नि, अनि सबै बर्बाद हुन्छ ।’ आमाले भन्नुभयो ।
‘को बिनु ? के बर्बाद ? ’ मैले भनेँ ।
‘तिमी पनि नथपाए जस्तो नगर न ।’आमाले भन्नुभयो ।
मैले केही थाहा छैन भनेपछि आमाले जे बेलिबिस्तार लगाउनु भयो त्यो सुनेर म छाँगाबाट खसेजस्तै भएँ।
जुन पीडा मेरी आमाले भोग्नु भएको थियो त्यही पीडा म भोग्दै थिएँ। बिनु उसकी जेठी श्रीमती रहिछ। अदालतमा घरेलु हिंसाको केश चलिरहेको रहेछ। यदि दोस्रो विवाहको कुरा थाहा भएमा बहुविवाहको मुद्दा थप हुने डर रहेछ उनीहरूलाई ।
मेरो जिन्दगीमा ठूलो धोका भयो। मैले गर्न सक्ने केही थिएन अरु। आमालाई फोन गरेर निकै बेर रोएँ।
राम्रो केटो भनेर मलाई जानी जानी फसाउने मामासँग निकै गुनासो गरेँ। उसलाई फोन गरेर मुखमा आए जति गाली गरेँ। खै के सोचेर उ त्यसै रात घर आइपुग्यो।
सबै भएर मलाई अदालतको फैसला नआउन्जेल चुप लागि बस्न भनेर फकाए । त्यो घरमा मलाई बस्नै मन लागेन । भोलिपल्ट नै म उ सँगै इटहरी फर्किएँ। तर यसपटक केही समय भने उसले माया देखायो । मलाई कुनै दबाव दिन छाड्यो । सबै काम उ आफैं गर्थ्यो । खाना पनि आफैं बनाउन थाल्यो।
तर उसको बनावटी माया धेरै दिन टिकेन। अब उ रक्सीको नसामा घर आउन थाल्यो। फेरि सुरू भयो झगडा अनि कुटपिट। एकदिन खै कुन मुडमा उसैले माइत जा भन्यो । मेरो लागि त्यो भन्दा ठूलो खुसीको कुरा अरू थिएन। म तुरुन्तै निस्किएँ अनि काठमाडौंको गाडी समाएँ।
आमालाई भेटेर खुब रोएँ म। अब म घर जान्न तपाईंसँगै बस्छु भनेँ।
तर आमा मान्नु भएन । बिहे गरेकी छोरी समाजले कुरा काट्छन् भनेर आमा डराउनु भयो । अनि फकाउनु भयो मलाई । जति पीडा भए नी आमालाई थप पीडा दिन चाहँदैननथेँ म । जीवनमा आमाले धेरै पीडा भोगेको आफ्नै आँखाले देखिसकेको थिएँ ।
माइत आएको दुई दिन नबित्दै उसले आमालाई प्रेसर दिन सुरू गरिसकेको थियो । मलाई भने फर्कन मनै थिएन । मेरी साथी मायासँग भेटेर सबै शेयर गरेँ अनि धित मरुञ्जेल रोएँ । केही शान्ति मिल्यो । विचरा उसले पनि गर्न सक्ने केही थिइन ।
अन्तत: आमा मलाई फर्काउन बाध्य हुनुभयो । माइती घरलाई मन भरुन्जेल हेर्न नपाई म फेरि त्यहि नर्कमा फर्किएँ।
अनि फेरि सुरू भयो त्यही नर्कको शारीरिक र मानसिक यातनाको श्रृंखला। त्यसपछिका दिनहरू सम्झी साध्य छैन । यातनाका नयाँ नयाँ तरिकाहरु प्रयोग गरिरहन्थ्यो उ।
एकदिन उसले मलाई धर्म परिवर्तन गर्न दबाव दियो। उ अरवमा बस्दा मुस्लिम भएको रे । मलाई मुस्लिम बनाउन मानसिक र भौतिक यातनाको प्रयोग गर्न थाल्यो उ । उसको यातनाले गलिनँ म । मलाई कुनै हालतमा धर्म परिवर्तन स्वीकार्य थिएन । बरु म मर्न तयार भएँ त्यसपछि भने उ यो सवालमा पछि हट्न बाध्य भयो ।
अब त म अभ्यस्त भइसकेकी थिएँ उसको यातनासँग । विवाह भएको केही महिना बितिसकेको थियो । उ सँग झगडा नभएको कुनै दिन हुँदैनथ्यो । केही न केही उसले निउँ बनाइनै हाल्थ्यो। अति भएर कहिलेकाहीँ भित्तेको पुच्छर खुवाएर मारौं कि भनेर समाउन खोज्थें तर फेरि डर लाग्थ्यो ।
धर्म परिवर्तन गराउन असफल भएपछि उसले बच्चा जन्माउन दबाव दिन थाल्यो । म शारीरिक र मानसिक हिसाबले तयार नै थिइनँ । यो मुद्दाले भने विकराल रुप लियो। हरेक दिन उसले दिएका यातनाका निल हुन्थे शरीरमा ।
म डिप्रेसनको शिकार भइसकेकी थिएँ । सहारा लिने ठाँउ कहीँ थिएन । एकदिन अति पीडा भएर मैले एक पत्ता फ्लैक्जिन पेन किलर एकै पटक सबै खाईदिएँ सधैंलाई पीडाको अन्त्य हुने गरी। झण्डै एक हप्ता हस्पिटल बस्नु पर्यो । तर पीडाको अन्त्य भएन।
एकदिन फेरि उसले त्यही निउँमा टेबल फ्यानले मेरो ढाडमा हान्यो । असैह्य पीडा भयो मलाई । यसबखत भने म पनि चुप लागेर बसिनँ । जे भेट्यो त्यसैले प्रहार गरेँ । यो निकै ठूलो झगडा थियो । छिमेकीले पनि थाहा पाइसकेका थिए ।
उ खुकुरी लिएर काटेर त्यहीँ गाड्छु भन्दै निस्कियो । म काटिने डरले काँपेकी थिएँ । धन्न छिमेकी निस्केर उसलाई सम्झाउन थाले । त्यही मौकाको प्रयोग गरेर म आमाले दिएको तीन हजार पछ्यौरीको छेउमा बाँधेर त्यो नर्कबाट, त्यो अँधेरी रातमा एक्लै निस्किएँ ।
छोरी मान्छे ,त्यो अन्जान ठाँउमा, एक्लो रातमा त्यसबेला जाने ठाँउ कहीँ थिएन । मोबाइल पनि साथमा थिएन । फर्केर जाँउ काट्ला कि भन्ने डर अनि त्यो सुनसान सडकमा गन्तव्यहीन पाइलाहरू अगाडि बढाएँ।
धेरै टाढा पुगेपछि एउटा प्रतिक्षालय भेटियो। त्यो रात त्यहीँ काटेँ मैले । रातभर डर अनि लामखुट्टेको टोकाइले जागै रहेँ। कताकता एउटा बन्धन चुँडिएर स्वतन्त्र भएको आभाष भयो। बिहान झिसमिसै गाडीको आवाज सुनेर म अगाडी बढेँ धन्न हाइ वे मा निस्किएछु अनि मैले काठमाडौंको गाडी समाएँ ।
काठमाडौं त आएँ तर आमाले के भन्नुहुने हो, कतै त्यहि नर्कमा फर्काउनु हुने हो कि भन्ने डर थियो । घर पुग्ने बित्तिकै आमालाई अँगालेर रोएँ । रुँदा रुँदा आँखा सुन्निएका थिए ।
शायद आमाले मेरो पीडा बुझ्नु भयो र भन्नुभयो ‘पर्दैन नानी अब त्यो घरमा जानु, भयो छोड्दे ।’ आमाको मायाले झन ठूलो स्वरले रोएँ म ।
रुँदा रुँदै कतिबेला निदाएछु थाहै भएन । पछि ब्युझँदा आमाले मेरो ढाडमा नीलो नीलो सुम्ला देख्नु भएछ । अनि उसलाई फोन गरेर बेस्सरी गाली गर्नुभयो।
झण्डै एक महिना पछि उ फेरि मलाई लिन आएको थियो । मैले मानिनँ। आमाले कर लगाउनु भएन । सम्बन्ध बिच्छेदको लागि विवाह दर्ता थिएन । मैले भोगेको नर्क त्यहीँ अन्त्य भयो। त्यसयता म माइती घरमै छु । अब त तीन वर्ष पुग्न लागेछ । बिबिएस अन्तिम वर्ष पनि सकिन लाग्यो । थाहा छैन लोग्ने मानिसबाट मैले पाउने यातना सकियो वा भविष्यमा बाँकी नै छ ।
जुन पीडा लोग्ने मानिसबाट मेरी आमाले भोग्नु भयो त्यही पीडा मैले भोगेँ । भविष्यमा म जस्तै छोरीहरूले भोग्न नपरोस् ।’’
उनको कथा सकिने बेलासम्म धेरै पटक मेरा आँसु झरिसकेका थिए । अनि रुन्चे स्वरमा मैले भनें।
‘म लोग्ने मानिस हुँ । तिम्रो अघि नतमस्तक छु ।’ मैले आफैंले फोन कटाएँ ।
‘सर म तपाईंको भावनालाई बुझ्छु । सबै लोग्ने मानिसलाई म कहाँ घृणा गर्छु र ? आजभोलि मेरो ब्वाइफ्रेन्ड छ नि उसले मलाई कति धेरै माया गर्छ अनि म पनि उसलाई धेरै माया गर्छु । हामी बीचमा राम्रो अन्डरस्टान्डिङ्ग छ । उ सिपाही हो । मेरो स्कुल देखिकै साथी पनि ।’ उनले मेसेज गरिन्।
‘सिपाहीकी श्रीमती हुनु एउटा सौभाग्य हो । म कामना गर्छु उसले तिमीलाई बुझोस् । सबै लोग्ने मानिसहरु कामवासनाका पुजारी हुँदैनन् मायाका खानी पनि हुन्छन् भन्ने आभाष दिलाओस् ’ मैले भनेँ ।
‘धेरै धेरै धन्यवाद सर । तर के थाहा उ पनि लोग्ने मानिस हो बदलिने पो हो कि ?’ एउटा ब्यङ्ग्यात्मक इमोजी अट्याच गरिन् उनले ।
‘ ए अनि तिम्रो बाबा फर्कनु भएन नेपाल ?’ मैले सोधेँ
‘धेरै भएको छैन आउनु भएको । ठूली आमा बितिसक्नु भयो । उपचारमा सबै सम्पत्ति पनि सक्नुभएछ । हाम्रो ढोका ढक्ढकाउन आउनु भएको थियो । आमाले पनि जतिबेला आवश्यक थियो त्यो बेला नहेर्ने लोग्नेको जरुरत छैन, अब मलाई हेर्ने छोराछोरी छन् भनेर सधैंलाई ढोका बन्द गरिदिनुभयो ।’ उनि अफ लाइन देखिइन्।
उनले भोगेको नर्कको कथा सकिँदा रात निकै छिप्पिसकेको थियो । उनको स्थानमा आफूलाई उभ्याएर हेरेँ निकै बेरसम्म रुन मन लाग्यो मलाई । यो हाम्रो समाजको ऐना थियो । म भित्रको लोग्ने मानिस पानी पानी भयो । मध्यरातसम्म निदाउन सकिनँ । मनमा कुराहरु खेलिरहे ।
कैयौं किशोरीहरू आज पनि दास युगमा जस्तै नर्कको जीवन बिताइरहेका छन् ।
निर्मला र सम्झना जस्ता कैयौं बालिकाहरू बलात्कार गरेर मारिएका छन्। आफ्नै छोरीहरू बाउबाटै बलात्कृत भएका छन्। एक्काइसौं शताब्दीको हाम्रो जस्तो लोकतान्त्रिक देशमा हामी पुरूषहरूलाई यो लज्जाको विषय होइन र ?
कतै हाम्रा नियम कानुनहरू पो फितलो भए कि ? कति दिन लाजले शिर निहुँराउने हामीले ?