कतिपय शब्दका ठ्याक्क अर्थ अर्को भाषामा हुन्न। जस्तो कि हामी जेलाई 'जुठो' भन्छौं त्यसलाई अङ्ग्रेजीमा के भन्ने? छ र कुनै शब्द?
यस्तै एउटा फ्रेन्च शब्द छ, फ्लानर, जसको ठ्याक्क अर्थ नेपालीमा भेटिन्न। घुमुवा? अहँ। फ्लानर बेफ्वाँक घुम्ने मात्र त गर्दैन। एक्स्प्लोरर? खोजकर्ता? घुमाइ खोजकर्ताको कर्ममा पर्ला तर मात्र उद्देश्य भने नहोला। मेरो विचारमा फ्लानर भनेको वान्डरर विथ अ पर्पस हो। अ मिनिङफुल वान्डरर! सोद्देश्य घुमन्ते। अझ भनुँ, अर्थपूर्ण घुमाइका पात्र।
अँ, म भन्दै थिएँ कि केही समय भो म फाट्टफुट्ट फ्लानर बन्न थालेको छु। नट बाई इन्टेन्सन - बट बाई चान्स! अनायास बन्न पुग्छु।
उद्देश्यविहीन हिँडाइमा स्वत: अर्थ जोड्न आइपुग्छ भने मेरो के दोष? पर्पसफुल बन्न पुग्छ भने मेरो के कसूर? बरु उल्टै सुनमा सुगन्ध! यस्तै एक ल्याङफ्याङ हिँडाइका दौरान त्यो दिन फेरि एक पटक म फ्लानरमा रूपान्तरित भएँ।
मैले सहर्ष स्वीकारेँ।
* * *
घरबाट सुनाकोठीको बाटो हुँदै धापाखेल छिचोल्न मलाई डेढ घण्टा लाग्यो।
आठ किलोमिटरको दूरी खासै धेरै नभए पनि बाटोका दृश्य रहरलाग्दा नहुँदा यात्रा पट्यारलाग्दो र लामो लाग्यो। यस स्थानको आकर्षण भने नागदह हो। चाल्नाखेलनिरको टौदह भन्दा यो दह सानो भए पनि चित्ताकर्षक छ।
तालको किनारैमा रहेको विश्राम वाटिका रेस्टुरेन्टमा पटक पटक पुगेको छु। यसपटक पनि स्वत: पाइला त्यतै चालिए। किनारमै सटेका टेबलका लहरमध्ये एउटै मात्र खाली थियो।
त्यसैमा बसेँ र अर्का टेबलहरूमा सरसरी आँखा दौडाएँ। एउटामा एक युगल जोडी दायाँबायाँ कुनै पर्बाह नगरी एकार्काका बाहुपासमा बाँधिएका थिए - आफ्नै मस्त दुनियाँमा।
त्यसका सँगै तीन जनाको परिवार बसेको थियो। तिनका तीन-चार वर्षकी नानी ढुनमुनिँदै छिनछिनमा ती मदमस्त जोडीका छेउ पुगेर ठिङ्ङ उभिन पुग्थी।
आमा चैं अप्ठ्यारो मान्दै छोरीलाई फर्काउन घरीघरी उता पुग्थी - मुसुमुसु हाँस्दै। सायद आफ्ना बिहे अघिका दिन याद गर्दी हुन्।
मेरा बायाँतिर भने चार पाँचजना केटाहरू आफ्नै सुरमा गफिँदै थिए। जोडीविहीनहरू, जो ईर्ष्यालु आँखाले युगल जोडीका रोमान्टिक भावभङ्गी नियाल्थे र एकापसमा आँखा सन्काउँथे।
म भने खाजा अर्डर गरिवरि दहको अवलोकन गर्न थालेँ। साना खैरा छिर्केमिर्के हेरन (बकुल्ला) हरु तैरिएका कमलका पातपातमा हिँड्दै थिए, मानौं ती पातहरू नभै कुनै घाँसेमैदान हुन्।
कुनै भने छिनमा भुरुरु उडेर तालको अर्को छेउ पुग्थे। तालको पानीमा एक लहर तरङ छचल्किन्थ्यो। उत्तरी किनारमा नागराजको मन्दिर छ, जुन हालसालै बनेको हो क्यारे।
त्यसका छेउछाउतिर दुईचार जना आईमाई लुगा धुँदै थिए। दृश्य कताकता अमिल्दो!
रेस्टुरेन्टको इन्टरनेट पासवर्ड मागेर नेट सर्फिङ गर्न सुरू के गरेथेँ, खाजा ल्याइपुर्यायो।
दिउँसोको तीन बजिसकेको थियो। झरुवारासी हुँदै बज्रवाराहीको बाटो घरसम्म पुग्नु थियो। हिउँदका दिन छोटा हुन्छन्, त्यसैले खाजा छिट्टै भ्याएर त्यताबाट रवाना भै पनि हालेँ।
* * *
यो बाटो पहिलो पटक हिँड्दैछु, यस्तो महशुस हुँदै थियो मलाई। किन हो कुन्नि, बाटो नौलो लाग्यो। पर बायाँतिर डाँडाको थुम्कोमा सन्तानेश्वर महादेव मन्दिर ठिङ्ङ उभिएको थियो।
आँखीदह पुग्नै लाग्दा कुनै चीजले मलाई पछ्याउँदै गरेको जस्तो भान पर्यो। फर्की हेर्दा केही देखिनँ। दुई चार पाइला चाल्छु। फेरि त्यही महशुस! किन हो खै, मानिस एक जना पनि हिँडेको छैन। बाटो पूरा सुनसान! मनमा नजानिँदो अत्यासले चसक्क गर्यो।
यसपटक भने झ्वाट्ट फर्केर हेरेँ। एउटा कालो बँदेल पछि लाग्या रैछ। स्वाट्ट झ्याङ्गमा छिर्यो। म झसङ्ग भएँ। तर बँदेल? बँगुर होला। हेर्दा उस्तै पो हुन्छन् त। कहाँ ह्याँ बँदेल आउनु र, हैन? जङ्गलमा पो पाइने हुन् त!
त्यो जन्तु भने अब झ्याङ्गबाट निक्लेर खुल्लमखुल्ला मेरो पछि लाग्न थाल्यो। उछिट्टिएका दाह्रा देख्दा बँदेल नै हो भन्ने पक्का भो। अनौठो त यो थियो कि मलाई पटक्कै अनौठो लागेन।
'हेलो!' जब बँदेलले मलाई अभिवादन गर्यो, तब पनि मलाई पटक्कै अनौठो लागेन। एज इफ दिस वाज क्वायट अ नेचरल फेनोमेनन! एकदम सामान्य। अघिसम्मको अत्यास पनि बाँकी रहेन।
'हाई!' मैले अभिवादनको मुद्रामा हल्का हात उठाएँ।
'टाढै?' बँदेलको थुतुनो हल्लियो। एनिमेसन फिल्ममा जनावरहरूले बोल्दा बेला झैं।
'अँ। घुम्न आको!'
'खुब हिँड्छौ कि कसो?'
'कहिलेकाहीँ। अनि तिमी नि?' तपाईं भनेर सम्बोधन पो गर्नु पर्ने हो कि?
'मेरो घर यतै नजिकै छ। म यता आइबस्छु। मेरो काम पर्छ।'
'के काम नि?'
'अँ। एकजना गँजेडी बाबालाई भगाउने काम।'
'मतलब??'
'भोलेनाथलाई चिन्छौ?'
'को? भोलेनाथ चालिसे? कि भोलेनाथ पाण्डे? म उहाँहरू दुईबाहेक अर्को भोलेनाथलाई चिन्दिनँ त।'
'ह्या... हैन क्या। मेरो मतलब महादेव।'
'यु मीन महादेव भगवान? हु लिभ्स अन कैलाश?'
'या या। उही। अहिले भर्खर तिमी जहाँबाट आयौ नि, नागदह। गाँजा तानेर त्यही दहको छेउछाउमा लम्पसार सुत्न आइपुग्छ। भोलेनाथ यतातिर सेलिब्रेटी जस्ता छन्।
वरिपरिका भक्तजनहरू उनैलाई पूजाआजा गर्न मरिहत्ते गर्छन्। मलाई वास्तै गर्न छाड्छन्। कम्ता औडाहा हुन्न? त्यही भएर उसलाई त्यहाँबाट भगाउन म यो रूप लिएर आउँछु। पोखरी वरिपरि फोहोर गर्दै कराउँछु।
फोहोर देखेर भोलेनाथ दिक्क मानी उ पर गोसाइँकुण्डमा लम्पसार पर्न जान्छन्। तर ट्याम ट्याममा फर्किन्छन्। अनि ट्याममा ट्याममा मलाई भगाउनुपर्छ।' यति भन्दै ऊ घँ घँ घँ गर्दै हाँस्यो। उनका दुवैतिरका दाह्रा छ्याङ्गै देखियो।
'तर मैले सुनेको त समुन्द्र मन्थनबाट निस्केको कालकुट विष पिउँदाको पीडा सहन नसकेर पो गोसाइँकुण्ड गाका हुन् रेन्त। हैन र?'
'त्यो अगाडिको कुरा। यो त्यसपछिको कुरा। गोसाइँथान त यिनी आउजाउ गरिबस्छन्। अँ, भन्नेहरूले यताबाट भागेर भारदेउको गुफामा गुप्तेश्वर महादेव बनेर लुक्न गए पनि भन्छन्। जता गए'नि के फरक पर्यो र। हैन? जबसम्म यता फर्केर नआऊन्।' फेरि घँ घँ घँ। किन किन मलाई त्यो हँसाई पटक्कै मन परेन। आङ नै सिरिङ्ङ हुने।
'अनि भक्तजनले तिमीलाई वास्ता गर्न छाड्छ भन्यौ नि। ह्वाट डु यु मीन बाई ड्याट?' मैले उसको हँसाई रोकिनु अघि हतपत सोधेँ।
'एउटा सिक्रेट बताउँ?' उसले साउती गर्दै भन्यो। 'म बाराही हुँ नि। बज्रबाराही - टु बी प्रिसाइस।'
'ए हो र?' मैले भनें। भनिहालें नि, अनौठो लाग्न त अघिनै छोडिसकेको थियो। दर्शन गरूँ कि नमस्ते गरूँ भनी अल्मलिँदै गर्दा ऊ फेरि बोल्न थाल्यो।
'उ त्यो सन्तानेश्वरको थुम्को सुद्द तीन'टा थुम्को देख्दै छौ नि! लहरै! यी तीन थुम्कोलाई एकै लाइनमा पारेर त्यसको सिधा दक्षिण पश्चिममा देखिने झ्याम्म पर्या जङ्गल देख्यौ? हो... म त्यहीँ बस्छु।'
'थाहा छ। बज्रबाराही जङ्गल! किन थाहा नहुनु। म त्यतै त जाँदैछु।'
'हो र? ल मज्जै भो। गफ गर्दै जानलाई साथी भो।' उसले खुसी व्यक्त गर्दै टाउको हल्लायो।
आधा जिउ सँगसँगै हल्लियो। हल्लिँदै गरेको उसको कालो भद्दा पशु शरीर विस्तारै सलक्क परेको मानव-स्त्री शरीरमा परिणत हुन थाल्यो। हेर्दा हेर्दै इजिप्सन गड एनुबिस जस्तो पो देखिन थाल्यो। फरक यत्ति कि एनुबिसको टाउको स्यालको, उसको बँदेलको।
अब भने हामी सँगसँगै हिँड्न थाल्यौं। अघिसम्म ऊ मेरो खुट्टा खुट्टामा ढेपिँदै हिँड्दा म एकदुईपटक अल्झेरै पनि लडेँ। अब भने सजिलो भो।
'थाहा छ? म त्यही जङ्गल भित्रको तालमा उत्पत्ति भएको हुँ नि। ताल भने अहिले छैन।' दस मिनेटसम्मको शून्यताको हिँडाइपछि उसले मलाई हेर्दै भनिन्।
'यो ठाउँमा उहिले कैयौं तालहरू थिए। कुनै पुरिए। कुनै पुरे। कुनै मासिए। कुनै मासे। आखिर यो उपत्यका पूरै एउटा विशाल ताल थियो। पछि सुकाइयो र पो!'
'थाहा छ। स्कुल छँदा सानैमा पढेको।'
'ल आऊ। तिमीलाई एक थोक देखाउँछु।समय त छ नि?'
मैले घडी हेरेँ। ठ्याक्क चार बजेछ। डेढ घण्टामा त घर पुगिहालिन्छ। 'अँ, हुन्छ।' मैले समर्थन जनाएँ।
'ल मेरो हात समाऊ। जस्तै परे पनि हात चैं नछोड है। अनि मेरो आँखामा हेर।'
उसको नरम हातको स्पर्शले म रोमाञ्चित भएँ। दाह्रा निस्केको थुतुनो माथिका आँखाहरू भने बिछ्ट्टै सुन्दर थिए। मृगनयनी! आँखाको नानी नीलो न नीलो। कुनै गहिरो सागर सरी। नीलो कन्ट्याक्ट लेन्स लगाएको हो कि भनेर सोध्न मात्र के लागेको थिएँ, हावामा कावा पो खान थालेँ।
पिङ खेलेजस्तो मच्चिँदै मच्चिँदै माथि उड्न थालेँ। पोहोर साल यति बेला बालीमा थिएँ। त्यहाँको समुद्रमाथि सललल प्यारासेलिङ गरेको पो याद आयो। कस्तो रोमान्चक!
तल हेर्छु त जताततै पानी नै पानी। वरिपरि पहाडले घेरिएर बनेको कचौरा आकारको उपत्यकामा पानी लबालब भरिसकेछ। सूर्यको प्रकाश पर्दा पानी टिलिक टिलिक टल्केर तरल सुनझैं देखिन्थ्यो।
विशाल तलाउको उत्तरी पाटोमा हिमालको काखबाट बग्दै आएका नदीहरू झरना बनेर झरझर झर्दै थिए। पानीको माथिमाथि र पानीमाथि अनेक प्रकारका चराचुरुङ्गीहरू उड्दै पौडिँदै थिए।
अनेक प्रजातिका नागहरू तलाउको सतहमा सुलुकसुलुक गर्दै विचरण गर्दै थिए। आखिर यो विशाल तलाउलाई नागदह जो भनिन्थ्यो।
'त्यो देख्यौ? उता पर?' उसले नागार्जुन डाँडाको टुप्पोतिर इशारा गर्दै भनिन्। त्यहाँ कुनै दिव्य शरीर भएका व्यक्ति ध्यानमुद्रामा बसेका थिए। 'ती विपश्विन बुद्ध हुन्। सप्तबुद्ध मध्येका पहिलो बुद्ध।'
उसले के पो गर्यो कुन्नि, केही गेडा बीजहरू हावामा उत्पन्न भयो। अचम्म त यो थियो कि म यति टाढाबाट पनि सबै दृष्य प्रष्ट देख्न सकिरहेको थिएँ। दुरबिनबाट हेरेजस्तै प्रष्ट।
त्यसपछि विपश्विन बुद्धले उपत्यका वरिपरिको पर्वत श्रेणीको रिजै रिज तीन फन्को लगायो, र ती बीजहरू पानीमा फुत्त फाल्यो। दृश्य यति छिटोछिटो बदलियो, मानौं पूरै फास्ट फर्वार्ड मोडमा। सनै सनै बीज टुसाउन थाल्यो। जराका मसिना त्यान्द्राहरु गुह्येश्वरीको गर्भमा कतै जेलिन पुग्यो (दिव्यदृष्टिले देखेछु क्यारे)।
डाँठ भने बढ्दै बढ्दै पानीको सतह माथि फुत्त निक्लियो र टुप्पोबाट दस हजार पुष्पपत्र भएको एक सुन्दर कमलको फूल प्रस्फुटन भयो। त्यसमाथि आगोको ज्वाला दन्किएको थियो। म त्यो ज्योति:पुञ्जको प्रकाशले तिरमिराएँ।
'स्वयम्भू!'
एक हातले बाराहीदेवीको हात पकडेको हुनाले मैले एकै हातले नमन गरेँ।
'ल अब उता पूर्वतिर हेर। रत्नागिरितिर।'
नगरकोट डाँडाको आधाउधी माथिको गुफाबाट एक अर्का दिव्यस्वरूप प्रकट भयो। उनका देब्रे हातमा एउटा पुस्तक थियो (बुक अफ विज्दम, देवीले खुसुक्क कानमा भनिन्)।अर्को हातले भने चन्द्रहास खड्ग बोकेको थियो, जुन सूर्यको प्रकाश परेर झिलिक झिलिक गर्दै थियो।
'यिनी बोद्धिसत्त्व महामञ्जुश्री हुन्। हिमालपारिको देशबाट आएका। चीनबाट।'
विशाल तलाउको तीन पटक प्रदक्षिणा गरेपश्चात् महामञ्जुश्रीले आफ्ना लामा लामा पाइलाले पहिलो स्टेप नागार्जुन डाँडाको टुप्पोमा राखे, दोश्रो फुलचोकी डाँडाको टुप्पोमा र त्यसपछि सर्लक्क सिंगु (स्वयम्भू थुम्को) को टुप्पोमा ओर्लेर स्वयम्भू ज्योति:पुञ्जको दर्शन गरे। यी सब तिलस्मी नजारा हेरेर दङ्ग पर्दै गरेको मेरो अनुहार देखेर देवीज्यू मुसुक्क हाँस्दी भइन्।
'क्लाइम्याक्स त अब आउँदैछ। ध्यान दिएर हेर है।'
नभन्दै महामञ्जुश्रीले आफ्नो झिल्के खड्ग फनफनी पाँच पटक घुमाएर तलाउको दक्षिणी पुछारमा रहेको कोटवाल पहाडको माझैमा जोडदार दनक दियो। पहाड गर्ल्यामगुर्लुम ढल्यो।
यो सँगै कानै खाने गड्गडाहट सहित तलाउको पानी ह्वार्ह्वार्ती बाहिर निक्लिन थाल्यो। तर पानी निख्रन भने सकेन।
त्यही भएर क्रमैसित चोभार, गोकर्ण र पशुपतिका चट्टानहरूमा खड्गप्रहार गर्दै पानी निक्लिने गल्छी बनायो। तब बल्ल तलाउको पानी सिनित्त पारेर खाली हुन थाल्यो।
म भने सिनेमा हेरे झैं एकटक यी सब परिदृश्य हेर्दै थिएँ। तब देखेँ कि तलाउका पिँधमा घरजम गर्दै बसेका स्याउँस्याउँ नागहरू पनि भटाभट बग्दै जान थाले।
हुँदाहुँदा जब नागराज कर्कोटक र उनका धर्मपत्नी पनि पानीका साथ बग्दै बग्दै निष्कासित हुन लागे, तब हत्त न पत्त महामञ्जुश्रीले चम्पादेवी डाँडाको फेदमा एउटा सानो तलाउ निर्माण गरेर नागराज दम्पत्तीको लागि बस्ने व्यवस्था गरिदिए। तलाउ खन्दा निस्केको माटोले आडैमा सानो थुम्को बन्यो। यसरी टौदह र बोसन डाँडा निर्माण भएको आफ्नै आँखाले देख्न पाउँदा मन कम्ता हर्षित भएन मेरो?
'कस्तो लाग्यो? सिनेमा हेर्या जस्तै लाग्यो कि क्या हो?' मुसुमुसु हाँस्दै देवीले सोध्दा मैले कृतज्ञ आँखाले उनलाई हेरेँ।
तल उपत्यकामा भने महामञ्जुश्रीले रित्तिसकेको उपत्यकामा बस्ती बसालिसकेका थिए र साथमा ल्याएका धर्माकरलाई राजपाटको जिम्मा पनि दिइसकेका थिए। बस्तीको नाम राखेछन् मञ्जुपतन, जसलाई हामी आजकल काठमाडौं भनेर चिन्छौं।
मन्द मन्द हावा चल्दै थियो। सूर्य पश्चिमतिर घर्किंदो थियो। मैले घडी हेरेँ। अरे - अहिले पनि घडीले चारै देखाउँछ त। घडी बन्द भएछ कि क्या हो?
'हतार नमान। समयमै घर पुग्छौ।' देवीले यति भन्दा म ढुक्क भएँ।
'तिमीले जुन भर्खर यो उपत्यकाको उत्पत्ति गाथा देख्यौ नि...' सिरसिरे बतासले उनको बोलीलाई छिनछिनमा मधुरो पार्दै थियो '… ती सबै स्वयम्भू पुराणमा उल्लेख छन्।'
मैले प्रश्नवाचक मुद्रामा उनलाई हेरेँ।
'तिम्रो मनको अन्योल म बुझ्छु। विष्णुका बराह अवतारका स्त्री-स्वरुपिणी म, तिमीलाई बौद्धग्रन्थका कथा किन देखाउँदै छु भन्ने लाग्दो हो! यही हैन त?'
मैले सहमतिमा मुन्टो हल्लाएँ।
'हेर, यी सबै आस्थाका कुरा हुन्। जस्तै, एकै देवीलाई कोही भद्रकालीका नामले पुज्छन् भने कोही लुमडी अजिमाका नामले। इन्द्रायणीलाई लुती अजिमा भनेर पुज्दा आस्थामा फरक आउँछ र? नाम फरक हुनासाथ देवी अर्कै बन्छ र? हामी सबै एकै हौं। किन बुझ्दैनन्?'
बुझेको त मैले मात्र कहाँ थिएँ र? तब न मैले बुझेको भाव देखाइनँ।
मेरो शून्य भाव देखेर उसले भनिन्, 'यसरी बुझाउँछु, सुन। एउटा कुनै बत्तीलाई चार दिशामा चार भिन्नाभिन्नै रङका पारदर्शी कागजले मोडिएको चारपाटे खोलले छोप, अलराइट? रातो, नीलो, हरियो, पहेंलो। अब एकातिरकाले बत्तीको रङ रातो देख्छ। अभियसली! राइट? अर्को पट्टीकाले नीलो। तेस्रोले हरियो र चौथोले पहेँलो। अब भन त को ठिक अनि को बेठिक?'
'सबै आ-आफ्ना तरिकाले ठिक। तर वास्तवमा सबै बेठिक।'
'हो। आखिर बत्ती त एउटै हो नि। रङ सेतो। शाश्वत सत्य त त्यही हो। तर देख्दा कसैलाई रातो लाग्नुको अर्थ तिनले बत्तीलाई रातो पट्टीको भागबाट हेर्दैछ। अब के तिनले हरियो पट्टीको भागबाट हेरेर बत्ती हरियो भन्नेसँग तँ गलत छस् भन्दै पाखुरा सुर्किने? गलत त दुवै हैनन् नि। हुन् र?'
मैले केही बुझे झैं गरेर टाउको हल्लाएँ।
'सबका आफ्ना आफ्ना हेर्ने दृष्टिकोण हुन्छन्। कसैले त्यो बत्तीलाई शिव मान्ला, कसैले बुद्ध, कसैले यशु त कसैले अल्लाह। प्रकृतिपूजकले ढुङ्गा देख्ला वा आकाश गङ्गा। तर हुन् त सबै एकै।'
'त्यसैले एकार्काका आस्थालाई कदर गर। मैमात्र ठिक भनेर अहंकार नगर। अरूको आस्थालाई सम्मान गरे पो अरूले पनि तिम्रो आस्थाको सम्मान गर्छन्। यति मात्र गर्न सके संसारमा कहीँ कतै धर्मका नाममा वैमनस्यता रहने छैन। यो कुरा सधैं मनन गर्नू।'
सगरबाट सललल ओर्लिंदै गर्दा मैले अघि देखेको बँदेलको शिर भएका देवीमा बुद्धको छवि देखेँ। सर्लक्क परेका ठूला ठूला आँखा, स्वयम्भूका जस्ता आँखा। फेरि हेर्दै जाँदा यशु पनि देखेँ र अल्लाह पनि।
छुट्टिने बेलामा अघि देखि थामेका हातलाई नयन बन्द गरेर धेरै बेर चुमेँ। मभित्र उज्यालो बत्ती बलेको थियो। जसको वरिपरि कुनै पनि रङको कागजले मोडिएको थिएन।
आँखा खोल्दा ती सानी नानी मेरो अघि ठिङ्ङ उभिएकी थिई। म भने उसको पो हात चुम्दै रहेछु।
उनकी आमा मुसुमुसु हाँस्दै आफ्नो टेबलबाट उठेर आई।
'साह्रै छुकछुके छिन् भन्या। चुप लागेर बस्नै नसक्ने। कहिले यता कुद्छे, कहिले उता। माफ गर्नुस् है।'
अनि छोरीलाई हात समाएर डोर्याउँदै लगिन्।
ती नानीले मलाई फर्केर हेरी। उसका आँखा बिछट्टै राम्रा थिए। मृगनयनी! आँखाको नानी नीलो न नीलो। कुनै गहिरो सागर सरी। उसको ओठमा मन्द मुस्कान खेलिरहेको थियो।