स्कुलको ४ कक्षा। चौथो घण्टीको गणितको कक्षा करिब सकिन लागेको छ। तर पहर दोश्रो करिब दिउँसोको १ बज्न लागेको थियो।
गणितका गुरु श्री जंगबहादुर पनि हामीलाई ४ लाई ४४४ सँग गुणा गर्न सिकाउँदै थिए। चौथो घण्टीको अन्तिम समयमा। चौथो घण्टीपछि टिफिन हुन्थ्यो, ३० मिनटको ब्रेक।
हामीलाई त्यही भएर हतारो थियो कक्षा कहिले सकिएला भनेर। त्यसमा पनि गणितको कक्षा। सायद त्यो प्रश्नको उत्तर फ्याट्ट भन्न पाए कक्षा सकिन्थ्यो होला। कक्षाका ४४ जनाले नै उत्तर दिन सकेनन्।
'हैट, यो गणित पनि के साह्रो गाह्रो भाको,' मेरी साथीले फ्यास्स मेरो कानमा भनी हालिन्। 'नभए हामी बाहिर जान पाइन्थ्यो है?' उनको जिज्ञासा थियो।
उनलाई ढाडस दिन मैले नि जोडिदिएँ एउटा वाक्य, 'गणितले त सबको भेजा फ्राइ गरिदिन्छ। यो विषय नभए पनि हुन्थ्यो।'
फेरि उनले भनिन्, 'हाम्रो मायाको गणित भाको भए त्यसको उत्तर म फ्याट्टै भन्दिन्थेँ। तर पर्यो किताबको गणित।'
'के हो त उत्तर?,' मैले सोधेँ सुटुक्क।
उनले भनिन, '९।'
अकमक्क पर्दै मैले सोधेँ, 'कसरी?'
उनले भनिन्, 'मेरो मुटुले भनेको रे।'
मैले बुझिहालेँ। खासमा उनले भोलि ९ बजे नै स्कुल आउन भनेकी रहिछन्। धेरै कुरा गर्न थियो, मनका, मायाका, सामिप्यताका...।
गुरुले सोधको त्यो प्रश्नको उत्तर नपाएपछि हाम्रा गुरु अलि खिन्न भए। नाम जंगबहादुर भए पनि पढ्ने र मेहनतीका लागि राह्रै नरम व्यक्ति उनी। नपढ्नेका लागि उनले छाताको हकी स्टिकजस्तै छडी राखेका थिए।
मैले त्यो छडी देखेको पहिलो दिन नै गुरुलाई सोधेको थिएँ, 'यो डण्डी कहाँबाट ल्याउनुभयो सर?'
गुरुले भने- भारत।
भारतमा बन्ने 'जय नेपाल' छाताको डण्डी थियो त्यो। गत वर्ष गुरुको छाता बिग्रेको थियो रे। अनि त्यसपछि उनले त्यसलाई सदुपयोग गर्न कक्षा कोठातिर ल्याएछन्। पूरै छाता हैन, मात्र डण्डी। आफै बुझ्नुस् किन ल्याएका होलान्।
मैले सोधेँ, 'गुरु छेउमै जंगल छ त, अनि किन भारतको डण्डी?'
गुरुले भने, 'जंगलबाटै मगाएको थिएँ, घँघराको लठ्ठी। ल्याइदिएन कसैले।'
'हैट, बरु भारतकै भए पनि यही छडी ठीक छ,' मेरो मनले भन्यो। घँघराको काँडे धार भएको लठ्ठीलाई त मेरो नितम्बले धान्न सक्दैन। घँघराको लठ्ठीले बनाएको प्वाल टालेर लाएको लगाएको पाइन्ट आज पनि लगाइ रहेकै छु।
'धेरै राम्रो गुरु,' मैले मनमनै भनेँ। भारतकै छडी ठीक छ। तर डर पनि छ, कतै भारत हामीमाथि हावी हुने त हैन?
बेला बेलामा हामीले गलत उत्तर दिँदा त्यो छडीको भरपुर प्रयोग गर्थे गुरुले। हाम्रो काम भनेकै गलत उत्तर पछि आफ्नो नितम्ब गुरुको छडीतिर फर्काउने थियो। अरु विकल्पै थिएन। भारतमा बनेको छाताको डण्डी भएकाले भारतविरोधी नारा लगाउन मज्जा आँउथ्यो। जहिलेजहिले मेरो नितम्ब सेकिन्थो, 'ब्याक अफ इण्डिया' भन्थेँ। तर मनमनै। गुरुनेर ठूलो आवाजमा त भन्नु पनि कसरी?
गुरुबा पनि उतै पढेर आएका थिए। त्यो छडीको अर्को काम पनि थियो- पिटाइ खाएर भाग्न खोजे हकी स्टिक जस्तो छेउबाट छेस्की लाउने। भाग्न पनि नपाइने। गज्जबको छडी थियो त्यो।
कक्षामा अरु साथी पनि थिए। उनीहरूका बुबाहरू पनि भारतकै बनारसमा पढेर आएका थिए। त्यसैले भारतसँग उनीहरूको धेरै लगाव थियो। नहोस् पनि किन, त्यही पढाइका बलमा अहिले समाजमा स्थापित भएका छन् उनीहरू।
त्यसैले छाताको डण्डीभन्दा पनि छाताको नामप्रति मेरा साथीको चासो थियो। भारतमा बनेको छाताको नाम 'जय नेपाल' रे।
म पनि एक ढिक्का भए सोच्छु- भारत र नेपालको सम्बन्ध प्रगाढ छ क्यार, त्यसैले त छाताले 'जय नेपाल' नाम पायो।
अब भने ताली पिट्न मन लाग्यो तिनै साथीहरूसँग। पिटियो पनि। तर डर भने मनमा छँदै थियो, कतै 'जय नेपाल' छाताको बहानामा भारतीय खुफियाहरू नेपाल त छिर्ने हैनन्? मुखमा रामराम बगलीमा छुरी?
तर फेरि सोच्छु- के भारतले सधैं जय नेपाल भन्ला र? न भनेको दिन किन ताली पिट्नू? बरु 'ब्याक अफ इण्डिया' नै भनिन्छ। आफ्नो त सिद्धान्त नै छ 'गलतलाई गलत नै भन्नुपर्छ, राम्रोलाई राम्रो।'
राम्रोलाई पनि गलत भन्दिने अनि गलतलाई पनि काखी च्याप्नेप्रति मेरो कुनै सम्मान छैन। चाहे त्यो नेपाल सरकार नै किन नहोस्। व्यक्तिका त कुरा छोडौं।
मनका यी कुरा मैले मेरी साथीलाई पनि भनेँ। उनले पनि होस्टेमा हैंसे गरिन्।
यसै बीचमा गुरुले अब ४ लाई मात्र ४४ सँग गुणा गर्न भने। हाम्रो स्तर सुटुक्क तल झारिदिए। तीन अंकको ४४४ बाट दुई अंकको ४४ गुणन रे अब।
फेरि कसैले उत्तर जानेनन्।
अब गुरुको त्यो छडीको स्वाद सबैको नितम्बले पायो।
फेरि गुरुले स्तर झारेरै सोधे, '४ लाई मात्र एक अंकको ४ सँग गुणा गर।'
यो पल्ट सबैले उत्तर भन्छन्, '१६।'
गुरुबाले फर्काए, 'ठीक।'
धन्यवाद पनि भन्दिन्छन्। पिटे पनि शिष्यप्रतिको माया उनमा प्रगाढ छ। ठीक र धन्यवाद भन्ने शब्दले हाम्रो हौसला बुलन्द हुन्छ भन्ने उनलाई राम्ररी थाहा छ।
गणित गुरुको यी दुई वाक्य सुन्न हामीलाई हप्ता दिन पनि लाग्न सक्थ्यो। त्यही भएर गणितदेखि हामी सधैं टाढा हुन खोज्थ्यौं। बरु धेरै साथीहरू चार कक्षामै अंग्रेजी राम्ररी जान्दथे, धन्यवाद पनि पाउँथे, अंग्रेजी गुरुबाट। खै, अंग्रेजीमा यति किन चासो?
'नेपालको हविगतदेखि चिरपरिचित भएर होला नि,' मनमनै सोच्थेँ। किन नसोच्नु? देशबाट पलायन हुनेको कमी छैन। देशको नक्साभन्दा पनि विदेशको नक्साले सबैको मानसपटलमा विम्ब बनाएको होला भनेर आफैंलाई ढाडस दिन्थेँ।
गुरुले बल्ल हामीलाई छाडे। ब्रेकमा म र मेरी साथीले भलाकुसारी गर्ने मौका पायौं, पढाइको मात्र हैन मायाप्रेमका पनि। गणितबाट टाढा भएर त हामी कसरी अगाडि बढ्ने भनेर, छलफल पनि गरियो। हरेक ठाँउमा गणितबिना सम्भव छैन भन्ने लाग्यो। अनि हामी गणितलाई पनि मिहेनत गरेर आफ्नो चासोको विषय बनाउन सक्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौं, अंग्रजी जस्तै।
टिफिन पछिको पाँचौ घण्टीमा सामाजिक शिक्षाको कक्षा थियो, नेपालको नक्सा सम्बन्धी। हामीले कक्षा सुरू हुनुभन्दा पहिला त्यो पाठ पनि पढ्यौं, नक्सा पनि हेर्यौं।
नक्सा अलि खल्लो लाग्यो, कताकता के नभए– नभएजस्तो। मैले साथीलाई भनेँ, 'देब्रेपट्टी चुच्चो भएको नक्सा भइदिएको भए तिम्रो नाक जस्तै राम्रो देखिन्थ्यो है।'
उनले फर्काइन्, 'हो खुब। तिमले यही चुच्चो नाक पनि मनपराइ हाल्यौ क्यार अनि खुबै जिस्कनु पर्ने?'
मैले भनेँ, 'तिम्रो चुच्चो नाक र नेपालको नक्सा दुवै मनपर्छ मलाई। अनि किन ठुस्केको त?'
सानातिना झगडाले धेरै माया बढाउँछ जस्तो लाग्थ्यो, हो रहेछ। ठूस्के पनि माया अब झनझन् मेरी माया बन्दै गइन्।
उनले कुरा बुझ्छिन्। उनी र नेपालप्रतिको मायाको झल्को पाउनासाथ फुरुक्क हुन्छिन्।
मैले भनेँ, 'मेरी आमा, नेपाल आमा र तिमीलाई कहिल्यै कमी नहुने माया साँचेको छु मैले।'
उनले फर्काइन, 'हो र? आमा त आमा नै हुन्। अनि म चैं किन नि?'
मैले भने, 'मलाई माया गर्न सिकाउने तिमी भएर नि।'
कक्षा सकिन्छ। घर फर्कन्छौं। हामी गणितको ज्ञान राम्रो पार्नुपर्छ भनेर मिहनत गर्छौं। मेरी साथीको गणित अझै त्यस्तै छ। करिब एक दशकको पढाइपछि उनले बिबिएस सकिछन्' मैले एमबिबिएस। तर दुवैलाई गणितले कहिल्यै छाडेन।
व्यवस्थापन सम्बन्धी गणितले उनको पसिना निकाल्थ्यो। मैले राम्रो गर्न भनी ढाडस मात्र दिन्थेँ। मैले एमबिबिएस पढ्दा, बिरामी हेर्दा ओखतीको गुणन अझै गर्दैछु। मिहेनत गरेर गणित पढेकाले अहिले सजिलो भएको छ मलाई। तर मेरी साथीजस्तै धेरैले गणितलाई पन्छाउन खोज्छन् क्यार।
त्यसैले कालापानी, लिम्पियाधुरा अनि लिपुलेक थपिएको नेपालको भूभागको क्षेत्रफल निकाल्न पनि एक वर्ष बढी नै लाउने भए। किताबमा लेखिएको क्षेत्रफल पनि ठीक हो कि हैन?
पाठ्यक्रमबाट गणित नै झिकिदिएपछि अब झन् कति वर्ष लाग्ने हो?
अनि त अभिताभ बच्चनले प्रश्न सोध्ने भारतको केबिसी कार्यक्रम प्रश्न बन्छ यसबारे। यति मात्र हो र, केहीदिन अघि मात्र भारतीय खुफिया एजेन्सी 'रअ' प्रमुख पनि नेपाल आएर फर्किसकेछन्, प्रधानमन्त्रीलाई भेटेर। प्रधानमन्त्रीले पनि भेटिदिएछन् सहजै। अनि नेपालको चुच्चे नक्सा पनि सम्म भएको देखियो।
एक दशकपछि आज फेरि 'ब्याक अफ इण्डिया' मात्र हैन 'देशद्रोहीहरू कुर्सी छोड्नुस्' भन्न मन लाग्या छ। हाम्रो भूभाग हाम्रै नक्सामा समेट्दा पनि गलत प्रश्न बनाइदिनेलाई मात्र किन दोष दिने? असली पात्रहरू त यतै छन क्यार। पहिचान गर्न मात्र बाँकी छ। सहीलाई सही र गलतलाई गलत भन्ने सिद्धान्त अझै बिर्सेको छुइनँ मैले। त्यो नयाँ चुच्चे नक्सा पनि हाम्रो हो, कालापानी लिपुलेक अनि लिम्पियाधुरा पनि हाम्रै हुन्।
समय बित्दै जाँदा म र मेरी साथीबीच आत्मीयता बढ्दै छ, सामिप्यता झनझन् नजिकिँदै छ। अब मेरी साथीबाट उनी मेरी सानु, हनी भइसकेकी छिन्।
तर समयले मोड लियो। यता नक्साबाट गल्तीले हो कि साँच्चै, चुच्चो भाग हटेछ। अनि मेरी सानु आजै गणित र विज्ञानको सहर जापान जाँदैछिन्। नेपालको पाठ्यक्रमबाट गणित हटाएर हो कि जस्तो लाग्ने गरी। आफ्नो नाक जस्तै चुच्चे भाग नेपालको नक्साबाट हटाएर पनि होला, उनलाई मानसपटलमा नेपालको नक्सा राख्न मन परेन। अब जापानकै नक्सा आफ्नो दिमागमा स्थापित गरिन्।
तर मलाई मेरो देशको त्यो चुच्चे भू–भाग लिपुलेक, लिम्पियाधुरा अनि कालापानी नै जान मन छ। जिन्दगीको टिफिनमा मेरी सानुसँग केही दिन त्यतै बसेर नेपालकै बारेमा भलाकुसारी गर्न मन छ। विकसित सम्पन्न, सुन्दर र शान्त नेपाल बनाउन मन छ।
तर जिन्दगीको टिफिनको त्यो दिन कहिले आउला भनेर मेरी सानुको अनि मेरो शासकको प्रतीक्षा म सधैं गरिरहनेछु।