म एक लास
ढलिरहेछु सडक किनारमा
हिजोसम्म मभित्र प्राण थियो
म मान्छेको रूपमा परिचित थिएँ
तर आज मेरो हुलियाले भेष बदलेको छ
म मुर्दा बनेको छु !
पर्खिरहेछु म,
मेरो अस्तित्व विलीन हुने समय
जसरी भीरको सिनोको पर्खाइमा रहन्छन् गिद्धहरू ।
आओ ए चिल कौवाहरू, आओ
मेरो शरीरको धर्म परिवर्तन गर्न आओ
मलाई आफ्नो चारा बनाउन आओ
किनकि,
मसँग मेरो परिवार छैन
राज्यको नागरिक हुनुको अधिकार रहेन
हेर, म मान्छेबाट भर्खर मुर्दामा परिणत भएको छु
अब मेरो जात, धर्म केही बाँकी रहेन
मुर्दासँग जात, धर्म र राज्य नहुनुभन्दा ठूलो विषय
जीवित भनिने यस राज्यका नागरिकमा संवेदना छैन
शासकमा मानवता बाँकी रहेन
एक मुर्दाको चित्कार बुझ्ने भाषा तिमीबाहेक अब अरूसँग छैन ।
आऊ न ए कुकुर, बिराला र स्यालहरू आऊ
मेरो अस्थिपञ्जर तह लगाउन आऊ
मेरो रोदन सुनेर आऊ
एक मुर्दाको चिन्तन बुझेर आऊ
संसार छाडेको म तिम्रै शरणमा छु
मलाई मोक्ष दिलाउन आऊ ।
त्यसैले,
हे प्रकृति !
पठाउ आफ्ना सेना
यथाशीघ्र समाहित गर आफूमा मलाई
नत्र यसै सहरका भलादमीहरूको नाकसम्म दुर्गन्ध पुग्न सक्छ !
आफ्नै चरित्रको भयानक दुर्गन्ध सहन नसक्लान्
किनकि,
सडकछाप लासबाट म
क्षणभरमा सिनो बन्दैछु !
(शुक्रबार बौद्ध सडकपेटीमा ज्यान गुमाएका वेदबहादुर क्षेत्रीको सम्झनामा। वेदबहादुर कोरोना संक्रमित थिए। भरिया काम गर्दै आएका उनीसँग उपचार खर्च थिएन। अस्पताल र सरकारी निकाय दुवैको आँखामा नपरेपछि ओखलढुङ्गाका वेदबहादुरले सडकमै आफ्ना आँखा चिम्लिए।)