गाउँका ठिटाठिटी मिलेर पाङसिङको मेला हेर्न जाने दिन भनेपछि खै किन हो कार्सिलीको पेट भतभती पोल्छ।
सानैदेखि यस्तो आफूलाई मात्र हो कि अरुलाई पनि हुन्छ सोधेकी छैन।
सोङ्मा, सोक्पा, सोङ्सीर, कारमाया, लोङ्सिलीसँग मिलेर मेलामा रक्सी बेचेको बिगत सम्झँदा उसलाई सहिनसक्नु रमाइलो लाग्छ।
गएपछि तीन दिन उतै भुलिन्छ। नआउञ्जेलका लागि पुग्ने घाँस काट्नु छ। साथीहरुले हिजै भारी पुर्याइसके। तर उसको बाँकी छ।
गमपुलमाथिको भीरमा हतारको हतासमा साल्मे काट्दैछे। सँधै रिसाएर मात्र बग्ने गण्डकी तल गडगडाइरहेको छ।
न्याकभीरमा आफ्नै धुनमा घाँस काटिरहेकी कार्सिलीलाई देखेपछि मेला भर्न हिडेका आफ्नै गाउँका लर्सिङ, कर्सिङ, धन्धराम, कार्शी, गर्बु र धन्सु टक्क रोकिन्छन्। जिस्क्याउने योजना बन्छ। अगाडि, पछाडिका साथीहरुलाई चोर औँलाले चुप लाग्न इशारा गर्दै धन्सु अगाडि बढ्छ।
‘कार्सिली, हामीलाई बोला’भए तआइहाल्थ्यौँ नि। दुईजना भएर काट्न पा’भए चाँडै हुन्थ्यो। साथीहरुले त चाहिने जति थुपारिसके।’
मेलामा बिगतमा भएका र अहिले हुनसक्ने कल्पनासित बातमार्दै घाँस काटिरहेकी कार्सिली झस्याङ्ग भई, लय बिग्रियो।
‘किन बोलाउने त तँलाई ?’
‘नरिसा न कार, नरिसा। हामीसित बोल्नै नहुने? हामीसित बोल्दा रिसाउने को छ र तेरो ?’
धन्सु बाटोबाट ओर्लिएर घाँसभित्र उभिएकी कार्सिलीको नजिकै पुग्छ। उसको कम्मरसम्म घाँसले ढाकेको हुन्छ।
‘ह्या, नआइज यहाँ। हेर है भन्देको छु, नजिक नआइज। हान्दिन्छु म त’, हँसिया ताक्दै कार्सिली आत्तिए झैँ कराउँछे।
‘के हुन्छ र हामीले छुन हुन्न ? कि मैलो लाग्छ ? रिसाउने कोही छ भने भन्। म नजिकै पर्दिन। नत्र के हुन्छ त?’ धन्सु पाखुरामा समात्न पुग्छ।
‘ए, दिउँसै बाटैमा यो जोडीले के रमिता गरेको यस्तो?’ लर्सिङ, कर्सिङ, धन्धराम, कार्शी र गर्बु आइपुग्छन्।
‘ओ माई !’ कार्सिली ओछ्यानबाट अत्यासिँदै उठ्छे। अनुहार पसिनै पसिनाले भिजेको हुन्छ। मुटुको ढुकढुकी बढिरहेको हुन्छ। सास पनि बढिरहेको हुन्छ। निद्रा कति कोश टाढा भाग्यो नापो छैन।
धन्सुसित रामरमिता गर्ने कल्पना पनि गरेकी छैन तर सपनामा कसरी आयो त्यो ध्वाँसे?
आरी घोप्ट्याए झैँ घनघोर पानी परेको मध्यरातमा आफ्नो गोठमा असाध्यै डर लागेको बहाना गरी उसको गोठमा जाँदा जब थली र धन्सु एउटै बख्खुभित्र सुतेको देखी, त्यसपछि उसले धन्सुसित हुनसक्ने कुनै सम्बन्धको पनि कल्पना गरिन। किनभने थली उसकी मिल्ने साथी हो।
धन्सुसित मात्र होइन, त्यसपछि उसले अरु कसैलाई पनि मनमा राखिन।
धेरै घटनाहरु विश्लेषण गरी सबैले धन्सु र थलीको बिहे पक्का हुने अनुमान गरेका थिए। बेलैमा केटा पाउनुमा थलीको भाग्य दह्रो रहेको बुझाइ सबैको थियो। तर अन्त्यमा त्यसो भएन । उसले पाङसिङ मेला हेर्न जाँदा आँगाको केटी भगाएर ल्यायो।
थली अहिले ३३ बर्षकी भई। गाउँका अरु कुनै केटाले उनीसंग बिहेको प्रस्ताब गरेनन्। आखिर थली अविवाहितै भई।
थलीका लागि धन्सु माया मारेकी कार्सिली पनि अविवाहितै छ। उसले त्यसपछि अरु कोहीलाई पनि मन पराइन। मन पराएर, माया लाएर बिहे गर्नु गाउँमा अल्लि उत्ताउलो मानिन्छ। बुबाआमाले मागेर मात्र बिहे गर्ने चलन छ।
थलीकी भदैनी हो, सोङ्मा। भोटो, लुङ्गी लगाएर पटुका कसेपछि उसका सम्पूर्ण शरीर पुष्ट देखिन थालेका छन्। परिपुष्ट ज्यान देखेर कोही नलोभियून भनेर खे (घलेक)ले छोप्छे। बाँकी ज्यान पनि कसैलाई देखाउन चाहन्न र के हिउँद, के बर्खा, टाटनको पछ्यौरा ओढ्छे।
मनिपोङ्गा(पहिरन) स्वभावमा भर पर्छ, हावापानी र मौसमले केही फरक पार्दैन।
१८ बर्षकी भई। आजसम्म लाजै लाजमा दिन बितेको छ।
सखरखण्ड खन्ने मेलामा एकदिन आनी(फुपू) थलीले सोधेकी थिई, ‘तँसित कुन केटा बोल्न खोज्छ?’
‘कोही पनि खोज्दैन।’
‘तलाई कुन केटा मन पर्छ?’
‘कोही पनि पर्दैन।’
‘तँ बिहे गर्दिनस् ?’
‘अहँ गर्दिन।’
कुनै केटा माग्न आयो भने?
‘गर्दिन।’
‘कसैले तान्न आयो भने?’
(सोङ्मा मसक्क मस्किई मात्र।)
‘तिमीलाई किन माग्न नआएका त?’
‘खै कुन्नि?’
‘तिमीलाई किन तान्न नआएका त?’
‘खै कुन्नि?’
‘तिमीलाई माग्न आएको भए, तान्न आएको भए जान्थ्यौ?’
‘खै कुन्नि?’
‘कार्सिली, सोक्पा, सोङ्सीर, कारमाया, लोङ्सिलीहरु कसैले पनि किन बिहे नगरेका आनी?’
‘सबैको आफ्नो आफ्नो भाग्य हो ...।’
धोर्जुङ डाँडामाथि बादल बसेपछि गाउँमा ओझेल परेजस्तै थली अँध्यारो भई।
सखरखण्ड खनेर मेला सकियुञ्जेल आनीका कुरा सुनेपछि लोङ्सिली पनि धोर्जुङ डाँडाकै ओझेल परेजस्तो भई।
लोङ्सिलीका बा धन्धराम गोठाला थिए। सानैदेखि गोठमा बसेका उनी गाउँ आउन रुचि राख्दैनथे। गोठ स्थायी थिएन। कहिले उहियाको लेक, कहिले बारपाकको लेक, कहिले दूधपोखरी, नारदपोखरीको लेक, दुई, तीन, चार दिनसम्म लाग्ने खर्कमा हुन्थ्यो गोठ।
गोठ नजिक आउँदा पिठो पुर्याउन पनि हुन्छ, बुढा भेट्न पनि हुन्छ भनेर आमा गोठमा जाने क्रममा लोङ्सिली जन्मिएकी थिई
घर व्यवहार, इष्टमित्र, चाडपर्व सबै आमाले धानेकी थिइन्।
लोङ्सिली जन्मिँदा पनि बा घरमा आएनन्। नानी बोकेर गोठमा जान सक्ने भएपछि आमाले लोङ्सिलीको मुख गोठमै देखाएकी थिइन्।
हिमाली हावापानी खाएकी, गोरो वर्ण, मोटो ज्यूडाल, नाक, मुख, आँखा, कान, कालो कपाल यस्तो मिलेका थिए, गाउँमै सबैभन्दा राम्री थिई । छोरी देखेपछि आफ्नोपनले मोहित भएका धन्धरामले गोठमै राखेको नाम थियो लोङ्सिली(काली)।
उ हुर्किदै गई। मेलापात, घाँसदाउरा, घट्टा, मेलाबजार जहाँ जाँदा पनि उ भन्दा राम्रा कोही देखिन्थेनन्। त्यसैले उसका दौतरी ठिटाहरु उसलाई हेरेर मन बहलाउँथे। साना पुस्ताकाले पनि आफ्ना दवँली पनि यत्तिको सुन्दर भइदिए पो भन्ने सोच्थे। माथिल्ला उमेरकाहरुले पनि लोङ्सिलीलाई शीरदेखि पाउसम्म हेरेर पाप रच्थे।
फिलिमको मेलाभर्न जाँदा होस् वा पाङ्सिङ मेला, ड्याङमा सरसामान किन्न जाँदा होस् वा घट्ट जाँदा उसलाई छुटाउँदैनथे। किनभने उसलाई न्याक गाउँको गहना सम्झन्थे। हुलचालका बीचमा देखिने उसको सौन्दर्यले गाउँको गौरव बढाउँथ्यो।
उहिया, जगत, घट्टेखोला, सिर्दिबास, सल्लेरीदेखि गप, नाम्रुङसम्मका बिबाहित, अविवाहित ठिटाहरुले उसमाथि आँखा गाडेका थिए। तर उसको एउटै जवाफ हुन्थ्यो, ‘अहँ, म बिहे गर्दै गर्दिन।’
गमपुलबाट आकाशतिर हेर्दा चिल घुमिरहने एउटा पहाडको टुप्पा देखिन्छ। तीनघण्टा लगातार एउटै डाँडालाई फेरो मार्दै टुप्पामा पुगेपछि स्वागत गर्न एउटा कानी देखापर्छ। त्यसलाई दाहिने पारेर परिक्रमा गरेपछि ४०, ४२ घरधुरी रहेको एउटा सुन्दर गाउँ देखापर्छ।
गाउँको पारि भित्तामा श्रृङ्गी हिमाल, पूर्वतर्फ गणेश हिमाल, शीरमा वुद्ध हिमाल। जताततै हिमालले घेरिएको रमाइलो न्याक गाउँमा जन्मिएकी लोङ्सिली, हिमाल जस्तै आँखै नझिम्क्याई हेरिरहुँ लाग्दी। स्कूलै नदेखेकाले उसमा पढाइ लेखाइबाहेक सब कुरा छ। मोटर देख्न तीन दिन हिड्नु पर्ने र मोबाइल, टिभी, रेडियो नचल्ने ठाउँमा हुर्किएकाले उसमा छाडा संस्कारबाहेक के छैन?
तर उसलाई कुनै पुरुष हेरिरहुँ लागेन। जीवन काट्न उसले कुनै पुरुष रोजिन। जीवन पूर्ण हुन पुरुष नचाहिने रहेछ भन्ने धेरै उदाहरण उसले गाउँभरि बग्रेल्ती देखेकी छे। २०, २५, ३०, ४०, ५०, ६० उमेरसमूहका अविवाहित महिला गाउँमा जत्ति नि देखेकी छ। त्यसैले उसमा बिहे गर्न, घरजम गर्न कत्ति पनि मन छैन।
गाउँका चेली गाउँभन्दा बाहिर बिहे गरेर जाँदैनन् भन्ने उसले सानैदेखि सिकेकी छ। तर गाउँका केटाहरुले गाउँभन्दा बाहिरबाट बिहे गरेर ल्याइदिँदा गाउँका महिला अविवाहित बनेको उसले सानै छँदा थाहा पाएकी हो।
भारी बोक्न जानेले पनि गाउँबाहिरकी केटी ल्याइदिने, विदेश गएका केटाहरुले पनि तलै बिहे गरेर बजारमा श्रीमती राखिदिने, पढ्न भन्दै सहर झरेकाहरुले पनि उतै बिहे गरिदिने, तर गाउँका चेली बिहे गरेर अरु गाउँमा नजाने चलनले गाउँ अविवाहित महिलाले भरिएको उसका साथी सबैलाई थाहा छ। त्यसैले उसलाई गाउँका कुनै पनि केटा मन पर्दैन। यस्ता केटाहरुसित बिहे गर्नैपर्छ भन्ने पनि उसले चाख राखिन।
आमाले सोध्दा पनि ‘बिहे गर्ने मन छैन’ भन्थी।
बिहे नगर्नुको चित्तबुझ्दो कारण केही थिएन। उभन्दा माथिकी दिदीको पनि बिहे भएको थिएन। फुपू यसै अविवाहित थिइन्। सानीआमा पनि अविवाहित। नजिकका आफन्त जता हेरे पनि अविवाहित देखेपछि उसलाई पनि बिहेतिर टिठै लागेन।
कान्छी फुपूको छोरा गोर्बु उसको घरमा आइरहनेमध्यको थियो। उमेर पनि दौतर मिल्दो। सोझो थियो। आमासित खुब मिल्थ्यो। मनमनले धेरै कुरा खेलाएर होला, लोङ्सिलीसित अल्लि लजाउथ्यो। उमेर मिल्ने मामाको छोरी र फुपूको छोरा देखेर कसैले कुरा काट्लान् कि भन्ने दकस उसको मनभित्र थियो। आफ्नो मनको चाहना र गतिविधि बुझेर बिभिन्न आँकलन गर्लान् भन्ने सोचेर अल्लि सजग पनि हुन्थ्यो।
मामा कहिल्यै घरमा भेट हुन्थेनन्। माइजुले सानो उमेरदेखि बेलाबेला लोङ्सिलीसित घाँस काट्न पठाउँथिन्। सबैले मन पराएका लोङ्सिलीलाई उ पनि असाध्यै मन पराउँथ्यो। आफ्नु भारी पुर्याएर उसका लागि पनि काटिदिन्थ्यो। दुईजना घाँसको भारी बोकेर फर्किँदा सानो छँदासम्म त गाउँलेले लख काट्थे। तर २० बर्ष कटेपछि पनि यही क्रम चलिरह्यो, गाउँलेले कुरा काट्न छोडे।
घाँस मात्र होइन, उनीहरु दुईजना दाउरा खोज्न पनि संगसंगै जंगल जान्थे। कहिले दुवैजना दाउराको भारी बिसाउन फुपूको घरमा जान्थे, कहिले माइजूको आँगनमा।
‘आज लोङ्सिली माग्न जा । के भन्दा रहेछन्’ गर्बुलाई आमाले भनिन्।
‘हँ, साँच्चै ?’ गर्बुले चनाखो भएर सोध्यो।
‘आना पोम रक्सी पनि लगेर फुपूलाई दे।’
आज अचानक गर्बु एक्लै दाउरा खोज्न जङ्गल गयो। खुकुरीले दाउरा चिर्दै सोच्यो, ‘यति राम्रो दाउरा काट्छु कि, फपूलाई यो फिर्ता गर्नै मन नलागोस्। यति ठूलो भारी बाँध्छु कि, लोङ्सिलीले त्यो बोकेर फेरि हाम्रो घरमा फिर्ता ल्याउनै नसकोस्। त्यति राम्री लोङ्सिली, कति माया लाग्दी लोङ्सिलीसित बिहे गर्न पाएँ भने कतिले मेरो डाह गर्दा हुन्। उसलाई पाउन पाए, मेरो जिन्दगी सुखी बन्छ ...’ इत्यादि।
अजङ्गको दाउराको भारी बोक्यो। थाप्लो भत्भति पोलिरहेको थियो। कपालबाट पसिना झरिरहेको थियो। चप्पल नलगाएको पैतालाको पसिनाले जहाँ टेकेपनि माटो भिज्थ्यो र चिप्लन्थ्यो।
तर उसलाई यो याद थिएन। बाटोभरि सोच्थ्यो, ‘यो लोङ्सिलीले चुपचाप स्वीकार गरिदिए, कस्तो रमाइलो हुनेथियो। तर सितिमिति स्वीकार गर्दिन। फुपूले ललाइफकाई मान्न लगाए पनि हुने, हप्काई दप्काई गरेर स्वीकार गर्न लगाए पनि हुने ... । तर एउटै सन्तान, गाली पनि गर्दैनन्, करकाप पनि गर्दैनन्।’
अचानक गोर्बुले अजङ्गको दाउराको भारी आँगनमा बिसायो।
अह्राउँदै नअह्राइकन, थाहै नदिइकन एकाएक बडेमानको दाउराको भारी ल्याएको देखेर लोङ्सिली र आमा हेराहेर भए। आमाको आँखीभौँले लोङ्सिलीलाई प्रश्न ग¥यो । उ मुस्कुराई मात्र। गर्बु पिँडीमा आयो र गातोभित्रबाट रक्सीको पोम झिकेर हात बढायो। आमाले फेरि छोरीतिर हेरी। लोङ्सिलीको अनुहार चर्को काममा कोदोबारी खन्दाको बेला जस्तो रातो न रातो भयो। उसले आमातर्फ ‘हुदैन’ संकेतको मुण्टो हल्लाई।
केहीबेरसम्म गर्बुले पोमसहितको हात दिइरह्यो। तर छोरीको अनुमति नपाएकाले माइजुले पोम लिन सकिन।
‘नरिसाउ गोर्बु।’
गोर्बु बोलेन। उसको मन मात्र बोल्छ, मुख धेरै बोल्दैन भनेर लोङिसली जानकार छ।
‘तिमीसित मात्र होइन, गोर्बु, म कसैसँग पनि बिहे नै गर्दिन।’
गोर्बु बोलेन। उ रिसायो भनेर बुझ्न उसलाई कुनै मिहिनेत गर्नु परेन।
दाउराको भारी भन्दा पनि गह्रुङ्गो मन, गह्रुङ्गो ज्यान लिएर निस्कियो। घर पुगेर खोपीको टाँडमा लगाइएको ओछ्यानमा घोप्टो पल्टियो। परिणाम अनुमान गर्न आमालाई पनि कुनै बेर लागेन । तैपनि छोरालाई सम्झाउनु प¥यो भनेर खोपीमा गइन्। शरीर पुरै रिसको डल्लो जस्तो बनेको थियो। आमाको कुनै प्रश्नमा उ बोल्दै बोलेन।
साँझ अबेरसम्म पनि दाउराको भारी फिर्ता आएन। उसको मन फेरि भाँचिएको धुपीको ठुटोमा आँकुरा पल्हाएजस्तो भयो। आनापोम स्वीकार नगरेपनि के भो त दाउरा त स्वीकार गरिहाल्छे कि? यसबेलासम्म त फिर्ता ल्याइन। फेरि उ लोङ्सिलीको रुप र गुणको मनमनै प्रशंसा गर्न थाल्यो।
यत्तिका बेलासम्म दाउराको भारी फिर्ता नल्याएकाले आशावादी हुन आमाले फकाइन्। गर्बु बल्ल उठ्यो। दिनभर भोक र थकाइले लखतरान थियो। आफ्नो भाग ढिडो खायो। फेरि खोपीमा पल्टियो। सानैदेखि मिल्ने लोङ्सिलीसित एकाकार हुने कल्पनामा डुब्यो। भोलि बिहानसम्म दाउराको भारी फिर्ता नआइदियोस् भन्ने कामना गर्दै निदायो।
राती पहिलो प्रहरको निद्रा टर्यो। सफा आकासमा टहटह जून लागिरहेको थियो।
रोशनी सेतो हिमालमा ठोक्किएर गाउँतिर झर्दा गाउँ दिनजस्तै झलमल्ल थियो पिसाब लागिरहेको थियो। गर्बु बाहिर निस्कियो। कतै लोङ्सिलीले दाउराको भारी ल्याएर आँगनमा राखिदिई कि? डराइडराई आँगनको सबैतिर नजर डुलायो।
तर कतैपनि थिएन। अब ढुक्क भयो, ‘लोङ्सिलीले स्वीकार गरी’। अब छिट्टै साइत हेरेर आमालाई लिएर उसको हात माग्न जान्छु। कल्पिँदा कल्पिँदै उ भुसुक्कै निदायो।
बिहान फिरिरि उज्यालो भएको थियो। कलिलो रविकिरण हिमालबाट ओर्लिदै गाउँतिर आइरहेको थियो। थकाइ मरेको, लोङिसलीले दाउराको भारी पनि स्वीकार गरेको कल्पनाले चङ्ग भएको मन लिएर उठ्यो। हिजो जहाँजहाँ राखेको थियो, त्यहीँबाट झिकेर जाकेट र पाइण्ट उन्यो। बाहिर ढोकैनेर हिजो आफूले काटेको अजंगको दाउराको भारी देखेर उ खङ्ग्रङग भयो।
मन्थलका बा एकदिन मन्थललाई लिएर दिदीको घरमा गयो उसले दिदी र भेनाको हातमा ठेकी पोम थमायो र कैमा आफ्नो छोरालाई दिन भन्यो। कैमा त्यतिबेला ११ बर्षमा हिड्दै थिई । मन्थल भर्खर १० बर्ष लागेको थियो। बेलैमा छोरीको बन्दोबस्त गर्न सकेकोमा त्यतिबेला कैमाका बा आमालाई आफन्तजन, छरछिमेक सबैले धाप लगाएका थिए।
ठेकीपोम राखेपनि कैमा माइतीघर छोडेर घर जाने वातावरण थिएन। आमा र बा दुवै रोगी थिए। उनीहरुको स्याहार सम्भार गर्नुपथ्यो। दाइ पर्यटकको भारी बोक्न कहिले खुम्बु, कहिले छुम्रुङ हिड्दैमा फुर्सद थिएन। घरमुनिको बाटो लार्के र चुमभ्याली जाँदा पनि घरमा पस्दैनथ्यो। घरबारी, बाउआमाको रेखदेख गर्दैनथ्यो। तलतिरकै भाउजू बिहे गरेर बजारमै डेरा लिएर राखेको छ भन्ने सुनेकी थिई, देखेकी थिइन।
त्यसैले सानो उमेरमै कैमाले घरको काम सम्हालेकी थिई। बेलाबेला सघाउन मन्थल आउँथ्यो। ढुंगेधाराबाट पानी ओसाथ्यो।
लेकबाट घाँस काटेर ल्याउँथ्यो। बारीको डाले घाँस झार्न पनि जान्थ्यो। कहिले दाउरा खोज्न जान्थ्यो। कैमासित मिलेर भाँडा माझ्थ्यो। संगसंगै गोठालो जान्थ्यो। एउटै ओछ्यानमा सुत्न थालेका थिए।
उमेर बढ्दै जाँदा कोदोको नल काट्ने, कोदो कुट्ने, मकै भाँच्ने, ढोँड पन्छ्याउने, घसौटा पोल्ने, बारी खन्ने, जोत्ने, कोदो, मकै गोडमेल गर्ने सबै काममा सघाउँथ्यो। गाउँलेले उनीहरुलाई पति पत्नीसरह हिसाब गर्थे तर भन्न सक्दैनथे किनभने विधिवत बिहे पनि कहाँ भएको थियो र।
माछाखोलाका साहुले एकदिन खच्चड धपाउने कामका लागि खबर पठायो। दुईचार पैसा आउने लोभले मन्थलले घर सल्लाह गर्यो। कैमासित पनि सल्लाह गर्यो।
अठारसय खोलामा खच्चड डाइभर प्रतिष्ठित काम हो। कहिले बजार, कहिले गाउँ हिडिरहने, बजार पछिल्लो चरणमा चलेको भाषा, फेसन, संस्कार, सभ्यता पनि जानेको, गाउँको पनि जानेको हुँदा खच्चड डाइभरको भाउ धेरै नै हुन्थ्यो। आफूहरु अहिलेसम्म नपुगेको ठाउँमा हप्तैपिच्छे पुग्ने खच्चड डाइभरसँग गाउँका ठिटीहरु प्रभावित हुन्थे।
खच्चड धपाउँदै कहिले छेकम्पार, कहिले सामागाउँ, कहिले नाम्रुङ, कहिले चुम्लिङ पुग्नु पर्ने। बजारबाट खल्ती तथा सानातिना झोलामा अट्ने सामान मगाउनका लागि पनि सबैजना खच्चड डाइभरसित मिल्थे।
जागिर खान जाने दिन मन्थल कैमाकै घरमा बास बस्न गएको थियो। बिहे गरेपछि फिलिमतिर, जगततिर, माछाखोलातिर वा सोतीतिर डेरा खोज्ने, उतै बच्चा पढाउने भनेर रातभर गुनगुन गरे।
यत्तिको काम पाउँदा जतिसुकै छेकथुन गरे पनि गइछाड्छ भन्ने बुझेर कैमाले झिस्मिसेमै रोइरोई बिदा गरी।
गाउँ आउन छाडेको धेरैपछि सुनी, मन्थलको सोतीमा डेरा छ। बच्चा पनि पढ्छ।
उसलाई बिहेसँग घृणा जाग्यो। त्यसैले ठुलीआमा झैँ जीवनभर भदै, भदैनीको आश्रयमा बस्ने निधो गरी।
शिव उप्रेतीका थप कथा हेर्न यहाँ क्लिक गर्नुस्:
gorkhasamachar@gmail.com