सहरी भीडमा छु। एउटाले पेल्दै जान्छ। कुममा कुम ठोक्काउँदै जान्छ। थाहा छैन मलाई, ऊ कहाँ हिँडेको हो यसरी। 'के साह्रो पेल्न’भा, देख्नुहुन्न?' म रिस्सिन्छु तर मनमनै। ऊ त पर पुगिसकेको हुन्छ। अर्को आउँछ, चिनेचिने जस्तो लाग्छ। खिसिक्क हाँस्छु। तर होइन रहेछ। ऊ त अचिनारु (अपरिचित) नै रहेछ, आँखा तर्काएर जान्छ।
फेरि पुलुक्क हेर्छु, ऊ नहेरी अगाडि बढ्छ। म आफ्नै ठानेर पछ्याउँछु। 'छ्या! कस्तो पागल।' म हिँडेपछि पछाडिबाट एक किशोरी रिस्सिन्छे। म रोकिन्छु र सोच्छु, ‘आँखिर एक चोटि तिमीले पेल्यौ, एक चोटि मैले। के भयो त अनि!’
धत्! ऊ त पर पुगिसकेछ। के म अब भेट्न सक्छु र उसलाई? अब मलाई लाग्दैन म उसलाई भेट्न सक्छु। ‘बरु यही अल्झाउनेसँग लाडिदा कसो होला?’ म आफैलाई प्रश्न गर्छु।
'ए छोड् छोड्।' पछाडिबाट जमात आउँछ। म तर्सिन्छु। म सर्लक्क दायाँतिर सर्छु। तर यो कहाँ पुग्ने हुल होला? मलाई थाहा छैन। ए..., ब्यानर, पम्प्लेट हातमा रहेछन्। पक्कै जुलुसका लागि हिँडेका हुनुपर्छ। यहाँबाट सोझै दक्षिणतिर लागे।
त्यो थट् अगाडि बढेपछि म अर्कोसँग ठोक्किन पुगेँ। त्यो किशोरी पनि अर्कैसँग पुगी। ऊ परैबाट हेरिरहन्छे मलाई। तर एउटा मानिस बीचमा आएर ढ्याप्पै पर्दा लाग्छ। फेरी जोड्ले मस्तक (टाउको) ठोकिन्छ मेरो, कोहीसँग। 'माफ गर्नुहोला' ऊ डराउँदै र हात जोर्दै भन्छ।
म भन्छु, 'घन्चमन्च साह्रै बढेको छ। मानिसहरु हतारमा छन्। एउटाले अर्कोलाई पेल्दै र ठेल्दै हिँडिरहेछन् तरपनि कसैलाई वास्ता छैन। तर तपाई त अजीवको लाग्यो। माफ त म माग्छु, माफ गर्नुहोला। मैले गर्दा नै हामी ठोक्किन पुगेका हौँ!' सायद मेरो आवाज सुनेनछ उसले, ऊ मुसुक्क मात्र मुस्कायो।
म चाहन्छु, केही दिलचस्पी लागेर बोलिदियोस् मेरो कुरामा। तर नबोली अगाडि बढ्यो। आखिर ऊ कहाँ हिँडेको होला? कुन उदेश्यले हिँडेको होला? किन केही बोलेन? मलाई पनि थाहा छैन, जिन्दगीको यात्रामा उसलाई मैले कुन कुनामा भेटेको थिएँ र भेट्नेछु।
विश्वविद्यालयमा होकी? चमेना गृहमा होकी? रेगिस्थानमा होकी? कि आफ्नै उपन्यासको पात्र हो ऊ? अहँ, मेरो स्मरणबाटिकामा यही फुलेको फूल हो भनेर भन्न सक्ने कुनै आधार छैन। तर म चाहन्छु, जिन्दगीको यात्रमा उसँग ठोक्किरहन पाऊँ।
'तपाई हो?' एउटा बत्तिदै सोध्न आइपुग्छ। म वाल्ल पर्छु। 'हो कि होइन? ऊ चोरी औँलो उठाएर फेरि सोध्छ। ‘कुन पागल रैछ!’ म अर्कोपट्टि फर्किन्छु। ऊ म फर्केकैतिर कल्सेदो अनुहार लगाएर उभिन्छ।
म रिस्सिदै भन्छु, ‘कस्लाई खोज्नु’भा हजुरले?’ तब मात्र ऊ बाटो तताउँछ। चर्को नबोली त हुँदै हुँदैन यहाँ। गल्लीको कुकुरले पनि भुक्छ। ‘ऐया! ऐया!’ मलाई थाहा छ कुनै युवती बलात्कृत भएकी छे, उ.. पर। होइन रे! यदि त्यो होइन भने लोग्नेले स्वास्नीलाई पिट्या हो।
यदि त्यो पनि होइन भने बूभुक्षा (भोक) को साम्राज्यमा परेर थिचिएकी हो त्यो युवती। ओहो! यतातिर पनि भीड रहेछ। म कता जाऊँ? के म पनि भागूँ यहाँबाट? होइन, मैले पनि आज सामना गर्नैपर्छ।
‘समाजमा अपराध बढिरहेको छ। अपराध किन बढ्यो? महिलाहरु किन पीडित भए? किन पुरुषहरुबाट महिलाहरु बलात्कृत भइरहेछन्?’ पश्चिमपट्टिबाट ज्वलन्त मुद्दामा गरमागरम बहस चलिरहेछ। ओहो! त्याँ त सबै महिलाहरु मात्र छन्। आवाजलाई उचो बनाएका। बहस होइन रहेछ। जुलुस पो रहेछ। म भएतिर आउँदै गरेको...
-‘बलात्कारीलाई फाँसी दे!’
'फाँसी दे, फाँसी दे।'
'महिला हिंसा बन्द गर्!'
-'बन्द गर, बन्द गर्।'
सामाजिक न्याय कायम गर!
-'कायम गर्, कायम गर्।'
'पाँच रुपैयाँ दिनु न, केही खाएको छैन' मेरो कम्मरमुन्तिर एउटा बालक बबुरो कोट्याउँदै भन्छ। म उसलाई पर्स निकालेर देखाउँछु। ऊ केही नभनी जान्छ। ऊ अगाडिको मानिससामु हात पसार्न मन गर्दैन। किनकी त्यस मानिसले उसलाई महत्व दिदैन भन्ने उसलाई पूर्वज्ञान छ।
यसको पनि कारण होला। किनकी कारण र प्रभावको सिद्धान्त मानवीय जीवनमा लागु छ।
‘ओहो! लेखक ज्यु, तपाईँ पो? किन अलमलमा देखिनुहुन्छ त?’
म चिन्दिनँ उसलाई। उसले मलाई कसरी चिन्यो? मलाई हेक्का छैन। त्यो बबुरो फेरि आउँछ र हात पसार्छ। मलाई अप्ठ्यारो भइरहन्छ किनकी त्यो मानिस पनि मैसँग छ। किन अप्ठ्योरो हुन्छ मलाई? उसलाई त हुँदैन त। उसलाई अपठ्यारो भएकै छैन।
भन्छु, 'कृपया छ भने बीस रुपैयाँ निकाल्ने कष्ट गर्नुहोस् त।' ऊ छक्क पर्छ। म सोध्छु, ‘किन विलखवन्दमा पर्नु’भा?’ ऊ यसो भन्दै बाटो तताउँछ, 'मैले खोजेको मानिस तपाई हैन क्या।'
'ठिकै छ त। म पनि यसरी धरै चोटि झुक्किएको छु।'
तर के उसले बाटो तताउनुको कारण यही होला त? अहँ, मलाई लाग्दैनँ। मलाई पछुतो हुन्छ, जेबमा पाँच/दश रुपैयाँ नहालेकोमा।
यत्तिकैमा एउटा विद्यार्थी आइपुग्छ र भन्छ, ‘क्याम्पसमा राजनीतिले गर्दा विद्यार्थी मारमा छन्। म सोध्छु किनकी म पनि विद्यार्थी हुँ। 'कस्तो राजनीति?'
'झोले राजनीति' ऊ भन्छ।
'कस्तो झोले राजनीति?' म पछि सर्दिनँ।
'शिक्षकले समयसम्म पढाउनु हुन्न। विद्यार्थीहरुसँग सोध्ने आँट छैन।'
घाउ एउटैजस्तो लाग्छ। म लज्जित महशुस गर्छु किनकी म आफूलाई स्नाकोत्तरको विद्यार्थी भन्नुमा कुनै गर्व गर्दिनँ। यद्यपि म हाँस्दै भन्छु, 'त्यो झोले राजनीति होइन नि, त्यो त पदको दुरुपयोग हो। बरु कारणहरुको खोजी गर' म भन्दै थिए। ऊ गएँ भन्दै बाटो लाग्यो। सायद फेरि भोलि भेट होला ऊसँग मेरो।
'लु... चिया पिउन जाऔँ' एउटा साथी आउँछ र भन्छ। मलाई यो गर्मीमा चिया पिउन मन छैन। 'भुतल तातेको छ। जीउ उण्णताले खलखल छ। हृदय/मन धीरमा छैन। मलाई यही बसेर मानिसहरुको चहलपहल नियाल्न मन छ। किनकी मैले उपन्यासको खराब पात्रहरु यहीबाट चुन्नु छ।
अन्याय, अत्याचार, थिचोमिचो आदि मुद्दाहरुमा मैले गहिरिएर नियाल्नु छ। विश्वविद्यालयदेखि झप्पर(झुपडी) सम्म पयर चालेर विषयलाई उठान गर्नु छ। अहँ होइन, आजकाल समाजमा महिला हिंसा बढिरहेको छ। मेरा स्त्री सहपाठीहरुले यस विषयमा सामाजिक सञ्जालमा आवाजलाई उचो बनाइहेका छन्। उनीहरु कराइरहेका छन्। उनीहरु...।
'दाइ जाऔँ, यसो हावा खान।' म राय व्यक्त गर्छु, 'ह्याक् नगर यार। मलाई एक्लै छाड्देऊ।'
आँ...च! दाइ पनि बुद्ध हुन खोज्या?' म त्यहाँबाट नहिँडी भएन। हिँडे। क्षितिजमा घाम डुब्यो। जगत उज्यालोविहीन भयो। तर पनि बचेकुचेको उज्यालोले एकछिन साँस फेरिरह्यो। मानिस पातलिए। अब मानिससँग मानिस ठोक्किने अवस्था रहेन, अँध्यारोको साम्राज्य बढ्यो।
मन्दाकिनीहरु जाँगे। सेठहरु घरबाट बल्ल बाहिर निस्के, मगमग बास्ना नाकले चाल पायो। पट् पट् फुटेको आवाज मोटरबाट जोडजोडले निस्किएर यसो उँघो लाग्यो। म कोठा आइपुगेँ र श्रीमतीलाई गहिरो उच्छवास लिएर भनेँ, 'सहरी जीवन अजीवको छ।'