डाक्टरलाई अस्पतालमा थुनेर
आज एक हुल रोगहरू
कुर्सीमा बसेका छन्
यिनीहरू यस्ता रोग हुन्
जो जेमा बसेका छन्
कुटुकुटु त्यो मात्रै खाँदैनन्
बरू उनीहरूले खाँदै गरेको चिजले
जे जेलाई छोएको छ
ती पूरैलाई खान्छन्।
कुर्सीले पूरै देशलाई छोएको छ।
आजसम्म यसरी खाइरहे पनि
भाेलि यी रोगहरूलाई नै रोग लाग्नेछ
भोलि जब यी रोगी रोगहरू
आफ्नो उपचारका लागि अस्पताल पुग्नेछन्
तब मरिसकेका बेडहरूले
यिनीहरूलाई भन्नेछन्
'अब तपाईंहरू सबै आमरण अनसन बस्नुस्!
तर तपाईंको अनसन तोड्न चाहिँ
मृत्यु आफैं आउनेछ।'
(नवराज पराजुलीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)