तिमी माटो हौ
यसैले दुख्छ!
तिम्रो मुटुभरि लेपिएको छ- माटो 
यसैले त पोल्छ,
तिमी दूर दराज बसे पनि 
पिरोल्छ ,
कोतर्छ 
अनि चिमोट्छ
किनकी,
तिमीभरि माटो पोखिएको छ 
 
हराउँदैन दुख्न तिमीलाई
सक्दैनौ बिर्सन,
ती यादहरुलाई 
यसैले तिमीलाई दुख्छ,
पोल्छ
किनकी माटो तिमी भित्र छ
तिमी माटो हौ  
यसैले त दुख्छ!
 
तिमीभित्र बग्ने रगतका कण-कणमा
माटो बगेको हुन्छ
शरीरभरि छरिएका प्रत्येक नशा-नशामा
माटो मौलाएको हुन्छ
ठडिएका ती हाडहरुलाई
माटोले मजबुत बनाएको हुन्छ
सुकोमल ती छालाहरुमा 
माटो लेपिएको हुन्छ
यसैले त दुख्छ!
किनकी 
तिमी माटो हौ
 
एक पल्ट बन्द आँखाले
माटो सम्झी हेर
निर्वासिनुको पीडा  पोखिनेछ
 एकपल्ट आफूलाई छामेर हेर
पक्कै आँसुका थोपा टप्किनेछ
 किनकी तिमी माटो हौ
 यसैले त दुख्छ!