छैनन् भनम् छन् छोरा छोरी
घर फर्कन्न बाउआमा नमरी
रेडियो बन्द गर्नुस् त। रेडियो भन्ने बानी परेको जिब्रो। रेडियो हो कि के हो रे त्यो।
ए….ल्यापटप। त्यो ल्यापटप बन्द गर्नुस् त। कस्तो पीर लाग्ने गीत बजाएको।
ल्यापटप होइन मोबाइल हो बुढी। मोबाइलमा गीत बजाको।
मोबाइल होस् कि टिभी एक, दुई, तीन त्यो गीत बन्द गर्नुस्।
म छोरीसगँ भिडियो कल गर्दैछु। देख्नु भएन। दिनभर एक जोर हातलाई एक मिनेट पनि फुर्सद छैन। साँझ परेपछि यसो छोराछोरीसँग कुरा गरम् भनेको कस्तो गीत बजाको। गीतै बजाउने भए रमाइलो गीत बजाउनु नि।
त्यसै त मुटुमा गाँठो पारेर आँसु लुकाईलुकाई बोल्न परेको छ। भिडिओ नखोलम् भने पनि नानीले मान्दिन। त्यहीमाथि वैरागी गीत।
बुढी..... यो गीत ठ्याक्कै हामीलाई मिल्दो रहेछ त्यसैले बजाको।
बुढा पनि......के हाम्रा छोराछोरी आफ्ना रहरले गएका हुन्? बाउआमा घरपरिवार अनि देशको माया नभएर गएका हुन्। एकछिन सोच्नुस् त। किन गए हाम्रा छोरा छोरी विदेश?
हलानो छोरो बिर्टिस लाहुरे भयो। फलानोको छोरी अष्ट्रेलिया हिँडी। एउटा युरोप अर्को अमेरिका, जापान, कोरिया, कतार, साउदी, दुबई, मलेसिया ....कति हो कति। हलानोले यति कमाउँछ। फलानोले उति पठाउँछ। नेपालको कमायलाई त के कमाइ भन्ने। हाम्रा छोराछोरी त सङ्घार नाघ्ने आँट नभाका। कुवाका भ्यागुता.....
कम्ति सुने हाम्रा छोराछोरीले नेपाल हुँदा साँझै बिहानै बाउको आरती।
मन नहुँदा नहुँदै जेठो छोरोले टोफेल जिआरी के के तयारी गर्यो। यता जागिर खाँदा बचाएको सबै पैसा खर्च गर्यो अष्ट्रलिया गयो।
दुई वर्ष साह्रै दु:ख गरेपछि भर्खर सेटल हुँदैछ। ऊ आफू कति न सुख काट्न गएर हामीलाई दु:ख दिन छोडेको त हैन नि।
आज बिहान हजुरले कुरा गरेको सुनेर पनि मलाई रिस उठेको थियो।
तिमीहरू टाढा छौ भनम् भने आँखा अगाडि देखिएर बोल्छौ। नजिक छौ भनम् भने रुघाखोकी लागेको छ बेसार पानी तताएर दिन सक्दैनौ अरे।
बुढीले सुनेकी छैन भन्नुभाथ्यो होला। हात पो काममा कान त छोराछोरीको कुरामा गैहाल्छ नि।
अब के हजुरलाई बेसार पानी दिन छोराले पढाइ जागिर छोडेर आउने...हैन भने उसको मन किन दुखाउने।
हजुर बिरामी हुँदा मैले र म बिरामी हुँदा हजुरले हेर्ने हो। दुवै नसक्ने भयौं भने हामीले केही भनिरहनै पर्दैन छोराछोरी आफैं बुझ्ने छन्।
टाउकोभरिको रौं फुल्दा पनि अझै मान्छे पाको भएको हैन।
दाइ त विदेश गए पनि म त जान्नँ। नेपालमै लोक सेवा दिएर सरकारी जागिर खान्छु भनेको थियो कान्छाले। त्यो प्रशासन त उहिले मैले पास गरेको हुम्। सरकारी जागिरनै खाने होस् भने परराष्ट्रको लोक सेवा दे भन्नुभयो। दिनरात मेहेनत गर्यो। पास भयो। राजदूतावासमा जागिर खान विदेश गयो। परराष्ट्रको जागिर खाएपछि विदेश पनि जान पर्न सक्छ भनेर उबेलामै सरकारी जागिर खाएर रिटाएर्ड हुँदासम्म पनि हजुरलाई थाहा थिएन र?
कान्छाले फोन गरे पिच्छे यतै आउनु होस्। हजुरहरू नेपालमा एक्लै हुनु भयो भनेर पिरलो गर्छ। पोहरसाल गएकै पनि हो। गएको दुई महिना भएको छैन कान्छा हामीलाई फर्काउने मेसो गर घुम्ने जति घुमिहालियो अब कति बस्नु कोठाभित्र कोचिएर। के भो र बरु दिनदनै म्यासेन्जरमा कुरा गरौंला भन्नुभयो।
गएको तीन महिना नपुग्दै नेपाल फिर्ता भयौं। के गर्नु हजुरलाई छोराछोरीको भन्दा चिया गफाडीको माया बढी लाग्दो रैछ।
साँझ बिहान चिया पसलमा गयो। चिया गफाडीका गफमा हो मा हो मिलायो।
के उनीहरूले भनेजस्तै नेपाली युवाहरू देशको माया नभएर विदेश गएका हुन् त? होलान् कोही पाँच दश प्रतिशत अपवाद नत्र कोही पनि विदेश गएका होइनन्। घच्चटिएका हुन् नेपालको बेरोजगारीले, अभावले, गरिबीले, समाजले, घरपरिवारले र तानिएका हुन्।
नेपालको तुलनामा धेरै कमाइले, गुणस्तरयुक्त शिक्षाले एवम् अन्य विभिन्न अवसरले।
हिजो कान्छो छोरासँग कुरा गर्दा के भनेको त्यस्तो.....तेरो जेठो बाको छोराको बिहेमा खुब रमाइलो भो तैंले छुटाउन नहुने छुटाइस्।
कान्छोको परीक्षाको कारण आउन मिलेन। बिहे छुट्यो। फोन गरेपिच्छे सोही कुरा दोहोर्याएर तेहराएर किन नुनचुक छरिरहनुहुन्छ। बोल्ने विषय केही नपाए चुप लागेर उसको कुरा सुनी बस्नु नि। किन उसको चित्त दुखाउनु। अरुको मन बुझ्न आउँदैन। ऊ बेला बाउआमाले पढाएनन् त्यसैले औपचारिक सर्टिफिकेट छैन र मात्र नत्र हजुर पढेको मान्छे भन्दा त मलाई नै अरूको मन बुझ्न आउँछ।
दाइहरू गए पनि म त हजुरहरूलाई छोडेर विदेश जान्नँ भनेकी थिई नानीले। तँलाई कसले लेबर काम गर्न विदेश जा भनेको छ त। फूलबराईट स्कलरसीप पाइयो भने जाँदा राम्रो हुन्छ भनेर आफैंले सम्झाउनु भयो।
मेहेनत गरी। सफल भई। अमेरिका गई।
नानी विदेश गएको महिना दिन भएको छैन। दाईहरूले त बरु एक दुई दिन बिराएर फोन गर्छन्।
नानीले त दिनको दुई पटक गर्छे। भर्खर भर्खर गाकी घरको नियास्रो लाग्दो हो। सन्चो बिसन्चो के छ? पढाइ लेखाइ कस्तो छ?नआत्तिनु भनेर सम्झाइबुझाई गर्नुको साटो उल्टै सुकेको फूलको बोटतिर मोबाइल तेर्साएर हेर त नानी तैंले सारेर गएको फूलको बोट त सुक्यो भनेर देखाउने!
कहाँ कहाँबाट खोजेर ल्याएर सारेकी थिई। कति चित्त दुखाई होला बरा। हैन मान्छेको दाँत सँगसँगै मान्छेको वुद्धि पनि फुकलिन्छ कि क्या हो? हजुरले छोरीलाई मोबाइलबाट फूलको बोट देखाएर के हुन्छ र? के अमेरिकाबाटै फूलको बोटमा पानी चहार्न मिल्छ? कि छोरीले छात्रवृत्ति रद्द गरेर नेपाल आउनु पर्यो फूलको बोटमा पानी चहार्न। सके आफूले मलजल गरेर फूल फुलाएर छोरीलाई देखाउनु पर्यो।
हेर नानी तैंले सारेका फूलहरू फूले भनेर। हैन भने मोबाइल किन फूलको बोटतिर तेर्साउन पर्यो। कति न मोबाइलबाट पानी झर्ने जस्तो।
हुनत हजुरलाई मात्र के भन्नु? यो गाउँभरिका मानिसको दिमाग उस्तै लाग्छ मलाई त। एउटै कुण्डको पानी खाएर हो कि मुण्ड पनि उस्तै भा को?
पोहोर साल जेठाजूको छोराले अमेरिका जानभन्दा दुई दिन अगाडि मलाई भेट्न आउँदा काकी मलाई विदेश जान त पटक्कै मन थिएन।
भाइका छोराछोरीले जस्तो आफ्नो क्षमताले जान नसके पनि कतै भाग्यले जान्छौ कि डिभी भर केटा हो भनेर बुवाले कर गर्नुभयो। धन्न मलाई मात्र परेछ भाइ त गाउँमै बस्न पाउने भयो भनेर भनेको थियो।
जेठो छोरो उडेको एक महिना भाको छैन फेरी जेठाजूले कान्छो छोरालाई कचकच गर्न थाल्नु भयो।
मानौं नेपालमा बस्नेले कमाइ नै गर्दैन। जेठानी दीदीले गाउँभरिबाट विदेश जाने मानिसहरूको कमाइको विवरण पेश गर्नुभयो।
दिनभर मेला जाँदा काम भन्दा बढी यस्तै कुरा हुन्छ होला सायद नत्र मान्छेका सब विवरण चित्रगुप्तलाई जस्तै कसरी थाहा हुन्छ?
सासूले पेश गरेको गाउँभरिका मानिसको कमाइको विवरणमा बुहारीले गहनाको विवरण थपिन्।
श्रीमतीको विचार पनि बा आमासँग मिलेपछि कान्छालाई बहुमतको कदर गर्न कर लाग्यो। विचरा कान्छोले पनि पोकापुन्तुरा कस्यो खाडी जानलाई दाजु विदेश गएको दुई महिना नहुँदै।
तिनै छोरा छोरीलाई प्रत्यक्ष अप्रत्क्ष रूपबाट विदेश जान बाध्य बनाउने...।
तिनैले कमाएको खाएर लाएर गाउँका चिया पसलहरू चौतारीहरूमा बेकामे भएर दिन काट्ने....।
अनि युवाहरू पलाएन भए देशको परिवारको माया गरेन न जिम्मेवारीबोध गरेनन् भनेर तिनिहरू खोइरो खन्थे ...।
हजुर त देश विदेश गएर घुमेर देखेर बुझेर आएको मान्छे। के चिया गफाडीहरूले भने जस्तै छोराछोरीहरूले विदेशमा मस्ती गरेर बाउआमालाई दु:ख दिएकै हुन् त नेपालको माया मारेकै हुन त।
हजुर बुझेर पनि किन उनीहरूको हो मा हो मिलाउनु हुन्छ।
पोहरसाल हामी आफैं कान्छा गाको देशमा गएर देखेर आएको होइन?
दैनिक आठदेखि बाह्र घन्टासम्म काममा घोटिएका छन्। चाउचाउको पोको झोलामा राखेर पाउरोटी टोक्दै काममा दौडिएका छन्।
नेपालबाट लगेको गुन्द्रुक मस्यौरा खाएर पाईपाई बचाएर नेपाल पठाएका छन् र त नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ। नेपालको माया नभए के खाँचो त्यति दु:ख गरेर कमाएको पैसा नेपाल पठाउन। उतै कमाउँथे उतै उडाउँथे।
विदेशका नेपालीहरू बेलाबेलामा भेटघाट गर्दछन्। कुराकानीको विषय नेपालको नै हुन्छ साथीभाइ गाउँघर, खेतबारी उकाली ओराली आटो पिठो सबै सम्झिन्छन्।
सम्झिनेमात्र होइन नेपालमा समस्या पर्दा सहयोग सामूहिक एवम् एकल रूपमा पनि सहयोग गरेका छन्।
भूकम्प आयो। बाढीपहिरो आयो। कोरोना आयो। कोही बेवारिसे भए। शिक्षा, विकास निर्माणमा पनि यथाशक्य सहयोग नगरेको कहिले छ! र बरू हामीले विदेश बसेका नेपालीलाई आर्थिक सहयोग गर्ने कुरा मैले त सुनेको पनि छैन। मानौं उनीहरूलाई कुनै समस्या नै पर्दैन।
नेपाली चाडवाड मनाउँछन्। उतै जन्मेका केटाकेटीलाई पनि नेपाली भाषा सिकाउँछन्। विदेश बस्नुमा कुनै घमण्ड छैन।
प्राय:जसो सबै मानिसको सोच
निश्चित समयपछि नेपाल फर्कने छ। यस्ता मानिसहरूलाई पनि नेपालको माया नभएको भन्न मिल्छ ...?
कुरो त गम्भीर गर्यौ त। गल्ती गरेछन् तिम्रा बा आमाले यस्ती होनाहार छोरीलाई नपढाएर। रातभरि बोली रह्यौ कि सुत्छ्यौ पनि।
धेरै बोल्न परेको छैन मलाई हजुरले आफ्नो सोचको दायरा फराकिलो बनाउनुस्।
चिया गफाडीहरूको हो मा हो नमिलाउनुस्। उनीहरूलाई यथार्थ सम्झाइ दिनुस्। बोल्दा व्यवहार गर्दा अरुको मन बुझेर गर्नुस् त्यति भए पुग्यो।
हुन्छ। भोलि चिया चौतारीतिर तिमी र मसँगै जाम्ला।
बा को आवाजसँगसँगै आमाको आवाज पनि मेरो फोनमा सुनिन छोड्यो। आउँछ कि कतै। पाँच मिनेट जति कुरिरहें।
अहँ आएन। बल्ल मैले फोन काटें। मोबाइलमा आमाका कुरा सुनिरहँदा मेरा आँखामा आएका हर्ष आँसु अब भने रोकिरहन आवश्यक ठानिनँ।
यहाँ अमेरिकामा उज्यालो हुनै लाग्दा नेपालमा आमालाई फोन गरेको थिए। नेपालमा साँझ पर्न लाग्यो। दिनभरिको कामबाट आमालाई आजलाई फुर्सद भयो होला भनेर। तर दुई मिनेटमा सन्चो बिसन्चो सोधेर फोन राख्न हतारिनु भयो सायद बाको मोबाइलमा बजेको छैन
न भनम् छन् छोरा छोरी
घर फर्कन्न न बाउ आमा नमरी
यो गीतले आमालाई मसँग कुरा गर्न गाह्रो भयो।
आमाले फोन त राख्नु भयो तर आफूबाट नजिकै। त्यही कतै आफू बसेको सोफा या बेडतिर नत्र त यति स्पष्ट नसुनिनु पर्ने हो।
खुसी लाग्यो आमा आज हजुरले फोन काट्न बिर्सिदा। झन् धेरै खुसी लाग्यो हजुरको विद्वता सुनेर।
म दंग परें आमा शैक्षिक प्रमाणपत्र बिना पनि मानिसको ज्ञान, शिक्षा, चेतना यति फराकिलो हुन सक्दो रहेछ।
यदि शैक्षिक प्रमाणपत्रधारीहरू मात्र शिक्षित व्यक्ति हुन् भने। मलाई गर्व छ अशिक्षित आमाकी छोरी हुनुमा।