कपिल सर कक्षाका सबैको गृहकार्य हेर्दै आउनु भयो। सिद्धार्थ कि त गृहकार्य गर्न नभ्याएको बहाना बनाउँथ्यो कि त अर्काको एक–दुई वटा उत्तर साथीबाट सारेर देखाउँथ्यो।
'खोइ, गृहकार्य हेरौँ त!' कपिल सरले सिद्धार्थसँग गृहकार्य माग्नु भयो।
सिद्धार्थ घोसे मुन्टो लाएर चुपचाप बस्यो। आज त उसले एक अक्षर पनि लेखेकै छैन।
'हैन यो सिद्धार्थ कति लद्दु भा’को हँ। तँ कहिले सुध्रिन्छस्, खै! तँ त पशुभन्दा पनि तल्लो स्तरको हुस्सु छस्, हुस्सु।' कपिल सरको क्रोध मिश्रित आवाज कानमा ठोक्किएपछि उसको मस्तिष्कसम्म त पुग्थ्यो तर ऊ मूर्ति जस्तो देखिन्थ्यो! शिक्षकका अघि डराएको जस्तो नाटक गरिदिन्थ्यो। आजको एउटा घण्टीका लागि अब उ चिन्तारहित भयो।
मानौँ उसले दैनिक पार गर्नुपर्ने दूरीमध्ये आजको एउटा दूरी पार गरेको छ। ऊ हरेक दिनका लागि अभ्यस्त छ। हरेक घण्टी शिक्षकलाई बुझाउनुपर्ने गृहकार्यका लागि अभ्यस्त छ। हरेक शिक्षकले प्रश्न सोधेको अवस्थामा टार्नु छ। आफूलाई जोगाउने अनेक बहानासँगै उसको दिनचर्या सकिन्थ्यो।
बाहिर खेल मैदानमा विद्यार्थीहरूले होहल्ला गरेको आवाज कोठासम्म आएर थुरिन्थ्यो। सुवास भने आज पनि सधैँझैँ अलि अगाडि नै विद्यालयमा आएर कक्षाकोठामा गणितको अभ्यास गरिरहेको थियो। एकैछिनपछि सिद्धार्थ पनि कक्षामा किताब राख्न भनेर पस्यो। ऊ सधैँ झ्यालतिरको अन्तिम बेन्चको कुनापट्टि बस्थ्यो। डेक्समा आफ्नो किताबको झोला फ्यात्त फ्याँक्यो।
'हेर हेर, पढन्दास्। ओए सुवासे, तेरो त्यो गणितको कापी दे त' सिद्धार्थले भन्यो।
'ह्या, बरु सिकाइदिउँला नि। के आएन, भन् न? कापी सारेको त सरले थाहा पाउनुहुन्छ क्या।'
'हल्ला नगरिकन ले न।' सिद्धार्थको जिद्धीपनका अघि सुवासको केही लागेन।
सुवासले लेख्दै गरेको कापी खोसेर सिद्धार्थले गृहकार्य सारिसक्यो। बिहानीको प्रार्थना भेलाको घण्टी बज्यो। विद्यालयको मैदानमा सबै जना साविककै जसरी आ-आफ्ना कक्षाको लाइनमा लागे। राष्ट्रिय गानको संकेत भएपछि सबैले सतर्क (अटेन्सन) अवस्थामा उभिएर आँखा बन्द गरे। आ-आफ्नो दायाँ हातको पञ्जालाई छातीमा राख्ने र बायाँलाई सतर्क अवस्थाकै अनुसार तलतिर सिधा राख्न सिकाइएको थियो।
सिद्धार्थ भने एउटा आँखा चिम्लेर एउटाले चिम्रो पारेर यताउती हेर्थ्यो। राष्ट्रिय गीतलाई सकेसम्म शब्द र लय बिगारी–बिगारी भन्थ्यो। कि त अरुभन्दा छिटोछिटो गाउने कि त ठूलो स्वरमा गाउने गर्थ्यो। आवाज पनि कहिले सुरिलो, कहिले धोद्रे, कहिले ठूलो बनाएर छेउछाउका साथीहरूलाई हँसाउने उसको आदतै थियो।
अरुको ध्यान भंग गराउने उट्पट्याङ गरे पनि ऊ आफू हाँस्दैनथ्यो। मानौँ त्यो समूहमा दोषी अरू कोही हो। कुनै शिक्षक लाइनलाई हेर्दै छेउमा आउनुभयो भने खुब अनुशासित भएको नाटक गर्न पनि खप्पिस थियो। ऊ सधैँ लाइनको अन्तिममा मात्र बस्थ्यो। शिक्षकहरू पनि लाइनको पछाडिसम्म कमै मात्र पुग्नुहुन्थ्यो।
सबै विद्यार्थीहरू आ–आफ्ना कक्षामा पसे। कपिल सर कक्षामा पस्नासाथ- ‘सर आज... त गृहकार्य हेर्ने भन्नु भएको थियो। हजुरले बिर्सनु त भा’छैन?’
सुवासको सातो गयो। सिद्धार्थले आफ्नो गृहकार्य सारेर देखाएको हो भनौँ भने उसँग डर लाग्छ। सत्य कुरा नभनौँ भने सार्न दिएको भनेर सरको गाली खाने डर। सिद्धार्थको कापी हेर्दै सरले भन्नुभयो-
'तैँले आफैँले त किन गर्थिस्। कसैको सारिस् त होला नि!'
'ल सर पनि... म त सुध्रिसकेँ नि सर। आफैँले त गरेको हो नि सर।'
'ल न त ल, बोर्डमा गएर यो दुई नम्बरको हिसाब गर् त।'
'सर, अलिक सोच्नुपर्छ। मलाई बोर्डमा त डर लाग्छ। अगाडि गएपछि त बिर्सिहाल्छु।'
सरलाई विश्वास नहुनु र उसको बहाना दुवै कुरा स्वभाविकै थियो। उसलाई कक्षामा सरको गाली खानु, अफिसमा गएर रामधुलाइ खानु, कहिलेकाहिँ नैतिक भाषण सुन्ने कुरादेखि प्रायः शारीरिक, मानसिक यातनाको शिकार हुनु सामान्य नै लाग्थ्यो।
कक्षामा सरले पढाइरहँदा प्रायः कापीमा गज्याङगुजुङ कोरिरहनु उसको आफ्नै विशेषता हो। मानौँ, ऊ केही आविष्कार गर्दै छ। कि त डेक्समा कोरिरहने, कि त कम्पासको टुप्पोले डेक्स खोपिरहने उसको आदत अरूको भन्दा थेग्न सक्ने नै छैन। प्रायः भित्तामा अढेस लागेर बस्थ्यो। कक्षामा निदाउनु अर्को उसको छुट्टै विशेषता हो।
डेक्समा दुई हातले टाउको अड्याएर इमान्दारको नाटक गर्न होस् वा शिक्षकले पढाएको कुरालाई ध्यानपूर्वक हेरेको जस्तो गर्न खुबै माहिर। डेक्समुनिबाट खुट्टाले छेउका साथीसँग चलिरहेको हुन्थ्यो। साथीहरू पनि उसको मुङ्ग्रे बुद्धिका डरले शिक्षकलाई सुनाउने आँट गर्दैनथे। बरु खपिरहन्थे।
घरमा अग्रज वा आफन्त समेतको गाली सुन्ने कुरामा पनि अब ऊ अभ्यस्त भइसकेको छ। मानौँ, उसले सबैका अघि उभिँदा आफ्नो पढाइको कमजोरी सुन्नका लागि तयार हुनुपर्छ। ऊ यस कुरामा ढुक्कै छ।
उसलाई न त पढाइको मूल्य थाहा छ न पढ्नुको तात्पर्य। जीवनको गन्तव्यका बारेमा त उसको दिमागले सोच्नै चाहेको छैन। ढिलो पढेकाले ऊ कक्षाका अरू साथीका तुलनामा ठूलो पनि देखिन्छ। अहिले कक्षा सातमा पुगिसक्दा पनि उसलाई नेपाली विषयको सानै कक्षादेखि पढ्दै आइएको काल, पक्ष, आदर आदिको कुराको चुरो थाहै छैन।
गणितमा दुनीअङ्क ‘६’ देखि उँभो आउँदैन। शिक्षकहरूबाट उसलाई विद्यालयको ‘भाइरस’ को उपाधि मिलेको छ। ऊ पनि साथीका अनेकथरि नाम राख्न माहिर छ। प्रत्येक शिक्षकको नाम त उसले पहिल्यै निर्धारण गरिदिन्छ।
कक्षाकोठाका भित्तामा केही चित्र र केही सूत्रको साजसज्जा छ। अलि पढाइमा टाठा विद्यार्थी प्रायः खेल्नमा कमजोर जस्ता लाग्थे। खेल्नमा बढी दिलचस्पी राख्नेहरू पढाइमा कमजोर थिए। कोही खेलेर पढाइ बिगार्ने थिए भने कोही पढाइ बिग्रेला कि भन्ने भयले चाहेर पनि नखेल्ने थिए। खेल्ने र पढ्ने दुवै कुरामा सक्षम विद्यार्थीहरूमा मोहन, सोमिता र अर्बिन्द बाहेक अरू थिएनन्।
कक्षामा धेरैजसो विद्यार्थी अनुशासित नै देखिन्थे। सिद्धार्थलाई साथ दिनेमा प्रायः कमजोर विद्यार्थीहरू नै बढी देखिन्थे। रवि सर कक्षामा प्रवेश गर्नासाथ सबै विद्यार्थी जर्याकजुरुक उठेर सदाझैँ ‘शुभ–बिहानी’ को एक स्वर गुञ्जाए। सिद्धार्थ आङ तान्दै, ढाड बङ्ग्याउँदै उठ्ने गर्थ्यो। अगाडिका साथीहरूले उठेर छेकिदिएपछि उसको इच्छा पूरा भयो।
ऊ सरको उपस्थितिमा उठ्न चाहँदैनथ्यो। आज उ आफ्नो लक्ष्यमा फेरि सफल भयो। विद्यालयमा परीक्षा पनि नजिँकिँदै थियो। कर्मचारी कक्षमा शिक्षक–शिक्षिकाहरू प्रश्न निर्माणको चटारोमा व्यस्त देखिन्थे। मेधावी र बहिर्मुखी केही विद्यार्थीहरू आफ्ना विषय शिक्षकको निकटमा रहने जमर्को गर्थे। आफूले नजानेका जिज्ञासालाई खुलेर राख्ने आँट एकाध बालबालिकामा मात्रै देखिन्थ्यो। सर्मिलाले गोपी सरसँग शब्दवर्ग सिकाइ मागेर मात्र के आएकी थिइः
'यो हेर न पढन्दास्, सरसँग सोधेर आ’की रे! अब यो हामीसँग बोल्दिन होला है। अबको जाँचमा यो पहिलो हुन खोज्दै छे जस्तो छ। अब अर्को कुन सरसँग सोध्न जान्छेस्?’- रमिलाले उडाउनसम्म उडाइ।
'नजानेको कुरा सरसँग सोध्दा के भो त! विचरा उसले सोधी भनेर तँ त्यसरी नउढा न। बरु तँ पनि सोध् न।' सचिताले सर्मिलालाई समर्थन गरी। साथमा अरू पनि थपिए। निकै जनाको दिल्लगीलाई सर्मिलाले चुपचाप सहनुको विकल्प पनि त थिएन। हाँसोमा उडाउनेले सकेसम्म मजा लिए तर सरसँग सोध्दा गिज्याउनु राम्रो होइन भन्ने निष्कर्षमा कुरा टुङ्गियो। सर्मिलालाई केही शान्ति मिल्यो।
एक–दुई जना बाल-मनोविज्ञान बुझेका शिक्षकहरूले विद्यार्थीले प्रश्न सोध्दा डटेर सिकाउनु हुन्थ्यो। केही शिक्षकहरू त आफ्नो कामभन्दा दामको सौदा गर्न माहिर। कोही शिक्षक भने बाघ जसरी हेर्ने र विद्यार्थीलाई छेउ पर्न नदिने खालका हुनाले चाहेर पनि विद्यार्थीले प्रश्न गर्दैनथे। कक्षामा राम्रो पढाइयो भने अतिरिक्त कक्षा (ट्युसन) मा पैसा असुल्न नपाइएला भन्ने स्वार्थले शिक्षकलाई नराम्ररी बाँधेको थियो।
अतिरिक्त कक्षामा भने तिनै शिक्षकहरूले राम्रोसँग सिकाउनु हुन्थ्यो। धनीमानी जतिले निजी विद्यालय (बोर्डिङ स्कुल) मा पढाउने र गरिबका छोराछोरी सामुदायिकमा पढ्ने संस्कारको होडबाजी पनि राम्रैसँग चलेको छ। गरिबी र जनचेतनाको अभावका कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थीको नियमित उपस्थिति पटक्कै थिएन।
अभिभावक पनि आफूले पैसा तिर्नु नपर्दा मख्खै छन्। उल्टै सरकारबाट विद्यार्थीलाई खाजा पनि दिइएकाले छोराछोरीको पढाइका बारेमा तिनीहरू लगाव राख्दैनथे। शिक्षकले झारो टार्थे। गरिबीमा पिल्सिएका अभिभावकमा शैक्षिक लगाव र भावी योजनाको ज्ञान थिएन। लगभग अनभिज्ञ जस्ता थिए। त्यहाँ अभिभावक भेला, प्रतिस्पर्धात्मक प्रकृतिका अतिरिक्त कार्यकलाप गर्ने चासो कसैसँग थिएन। विद्यार्थी त विद्यार्थी नै हो- खेल्न पाए खुसी हुने।
देशमा केही परिवर्तनको आभास भयो। गाउँ–गाउँमा मोटर बाटो पुगेकाले तरकारी खेतीबाट पैसाको मुख देख्न थालिएको छ। अब त फुर्के तामाङ, सुजन गिरी जस्ता गरिब व्यक्तिलाई पनि निजी विद्यालयमा अङ्ग्रेजी सिकाउनु पर्छ भन्ने मानसिकताले गाँज्न थालिसकेको छ। धेरैको ध्यानलाई ‘ब्राइट फ्युचर बोर्डिङ’ ले नै तान्न थालिसकेको छ।
'कराँसाको नवजीवन माध्यमिक विद्यालयको हालत देख्दै दिक्क लाग्छ। स्कुलको बोर्ड १० वर्ष अघि राम सरको पालादेखिको फेरेकै छैन। खियाले खाइसक्या छ। महिनौँ दिनसम्म चर्पी पनि सफा हुँदैन। पानीको धारो पनि भाँचेर ठूटो मात्र छ। पानी नआएको कति वर्ष भयो भन्ने कुनै तिथिमिति यकिन छैन।' गाउँका अग्रज भनिएका सुब्बा बाजेले भने।
'हरेक वर्ष गाउँपालिकाबाट बजेट पनि छुट्टिएकै हुन्छ तर बच्चाको स्तर अनुरूपको डेक्सबेन्च पनि छैनन्।' चियाको कप टेबलमा राख्दै गौरी दिदी बोलिन्।
आडैको ‘ब्राइट फ्युचर बोर्डिङ’ मा भने वर्षेनी रङरोगन गरेर चटक्क पारिएको हुन्छ। विद्यार्थीलाई पढौँ–पढौँ लाग्ने वातावरण उस्तै राम्रो देखिन्छ। त्यहाँ त खेल्नलाई हरियाली चौर र मैदान पनि छ।
भौतिक पाटोमा निकै सुविधासम्पन्न बनाइएकाले पनि विद्यार्थीको मन लोभिनु स्वाभाविकै थियो। नवजीवन माविका स्थायी शिक्षक माधव सरले पनि त्यो निजी विद्यालयमा लगानी गर्नु भएको छ। उहाँ अलि-अलि नेतागिरी पनि गर्नुहुन्छ। तर, उहाँले ब्राइट फ्युचरमा लगानी गरेको कुरा सीमित मानिसलाई मात्र थाहा छ।
उहाँ त अझ सकेसम्म नवजीवन माविका विद्यार्थीलाई उतै धकेल्ने प्रपञ्चमा जागरुक हुनुहुन्छ। तर, उहाँको नेतागिरीप्रति नवजीवन माविमा अर्का शिक्षक राजेन्द्र सर र पुष्पा मिसको समर्थन छैन। विद्यालयमा पार्टीगत विचारको धारमा ‘हामीभित्रको हाम्रोको पनि हाम्रो’ भन्ने राजनीतिक सोच अन्तरकुन्तरमा देखा परिरहन्छ। त्यसको चेपुवामा साना मान्छेदेखि विद्यार्थी समेत पर्छन्।
स्थानीय सरकारले सामुदायिकमा विद्यार्थीको आँकडा घट्न थालेको निष्कर्ष निकाल्यो। नवजीवन माविमा पनि अङ्ग्रेजी शिक्षाको सुरुआत गरौँ भन्ने राय प्रकट गर्यो। गाउँपालिकाका अध्यक्ष शान्तिराम फुँयालले भने- 'अङ्ग्रेजी मोह बढेकाले हामीले पनि अब अङ्ग्रेजी माध्यममा पढाउनुपर्छ।' सबैले ताली ठोके।
'मेरी छोरी त अबदेखि विद्यालयमा नपढ्नी भन्छे। अङ्ग्रेजी अप्ठ्यारो भा’छ भन्छे।' मीठु रम्तेलले राय राखे। कसैले समर्थन जनाएनन्। न त कसैले मतलब राखे। आखिर अतिविपन्न वर्गका आवाज खोलाका गीत नै भइदिए। आखिर परिवर्तनको अर्थ लादिने पद्धति पनि त होइन। यसरी नै मौलिक अस्तित्वमा बञ्चरो बज्रिँदा विद्वत् वर्ग नै पगरी गुथ्न उद्यत भएपछि देशको भावी अस्तित्व स्वतः मक्काउँछ। यसमा शङ्कै रहँदैन।
उता स्थानीय जनप्रतिनिधिहरू भने ठूलो फाइँफुट्टि लाएर मिलन टोलको चौधरी चिया पसलमा गफ चुट्थे। शिक्षकहरू तिनका गफमा समर्थनबाजी गरेझैँ गर्दै ‘जी हजुर’ थप्थे। गाउँका बुढापाका एक कप चिया खाएर एक पाथी गफ सुन्न पाइने आशामा झुम्मिन्थे।
आफ्नो एक मात्र सन्तान सिद्धार्थको पढाइ बिग्रेको कुराले उसकी आमालाई पर्नसम्मको पीर परेको छ। ठूलो आँट गरेर उसलाई अब ‘ब्राइट फ्युचर बोर्डिङ’ मा सारिएको छ। हिजोआज गाउँमा छोराछोरीलाई बोर्डिङमा पढाउने र नपढाउनेको बीचमा निकै बहस हुन थालेको पनि छ। बोर्डिङमा हाल्नेको खुब इज्जत गर्ने संस्कार बसिसकेको छ।
सरकारले सरकारी कर्मचारीका छोराछोरीलाई सामुदायिकमा नै पढाउनु पर्ने नियम बनाएको कुरालाई सार्वजनिक गर्यो। त्यस दिनदेखि गाउँपालिकाका शिक्षा अधिकृत आइतरामलाई निद्रै परेको छैन। उहाँलाई सरकारी विद्यालयमा गरिबका छोराछोरी पढ्छन्, तिनले छाडा–छाडा बोल्छन्, संस्कार राम्रो हुँदैन भन्ने कुराले घोचिरहन्छ।
सबैजसो फोहोरी हुन्छन् अनि मुख्य कुरा त पढाइ नै राम्रो हुँदैन। शिक्षकले राजनीति गर्छन्। त्यहाँ अङ्ग्रेजी पढाउन पाइँदैन। तर, अहिलेसम्म यस्ता नियमलाई पेलपाल गरिएकै छ। अब त अझ उहाँकै नेतृत्वमा गुप्त समर्थन टोली समेत खडा भइसकेको छ।