‘माइली, ए... माइली!’
सपनामा कसैले बोलाएको जस्तो लाग्यो माइलीलाई। उसको दुबै आँखा खुले। गर्मी महिना भएकोले झ्याल खुल्लै थिए। जुनेली रातको मधुरो उज्यालो कोठाभरि फैलिएको थिए। माइलीले आँखा च्यातेर भित्ते घडीतिर हेरी। तीन बजेको थियो।
‘माइली, ए... माइली!’
फेरि उही आवाज माइलीको कानमा पर्यो। हे भगवान! केको सपना हुनु, मलाई त ऐठन पो परेछ। माइलीले विस्तारै खुट्टाको बुढी औँला चलाउदै जोडले कराई।
‘को हो?’
‘म हो, कस्तो नचिने जस्तो पो गर्छे। दुई वर्ष पनि नहुँदै आफ्नो बुढोलाई बिर्सिस् कि क्या हो! को हो पो भन्छे।’
‘सपना न ऐठन, साँचिक्कै नानीको बाबाले पो बोलाउनु भाको रैछ।’
माइलीले छिटो छिटो ढोका खालेर बूढालाई ढोग गर्न तगारो तर्फ दौडिई।
‘पर्दैन, पर्दैन। रोग फैलेको छ भन्छन्। चौध दिन नपुगी म तिमीहरुसँग मिसिदिनँ।’
‘पहिला पहिला दुई वर्ष नपुगी बिदा मिल्दैन भनेर जतिसुकै जरुरी काम परे पनि आउनु हुन्थेन। यसपाली कसरी छिटो आउनु भयो त, त्यो पनि खबरै नगरी यति राति।’
‘म आँउछु भनेर खबर गरेको भए, भारतबाट यहाँसम्म दश दिन पैदल हिँडेर सिमानाको नदी पौडेर तरेर आउनुहोस् भन्ने थिइस् र?’
‘पैदल हिडेर, नदी पौडेर! कस्तो नबुझिने कुरा गर्नु भएको हो। प्रष्ट भन्नुहोस् न। छेउ टुप्पो केही मेसो पाइनँ मैले।’
कोराना फैलिएपछि काम बन्द भयो। उद्योग नचलेपछि साहुले तिमीहरुलाई तलब दिन सक्दैनौँ भनेर कामबाट निकाल्यो। घरमा जाउँ सवारी साधन चल्दैन। उतै बसम् के खाएर बाँच्ने। हिँडेरै भए पनि जाम भनेर साथीहरू मिलेर सात दिन लगाएर चाउचाउ चिउराकै भरमा सिमानासम्म के आईपुगेका थियौँ, त्याहाँ त झन् सिमाना बन्द। अनि त राति राति नदी पौडेर सिमाना तर्र्यौँ।
सिमना तरपछि पनि घर आईपुग्न तीन दिन लाग्यो।
राम राम, दश दिन पैदल! राति राति नदी तर्दा केही भएको भए। धन्न हजुरका ग्रह बलिया रहेछन्।’
‘तेरा पनि त भाग्य बलिया रहेछन् नि।’
माइली मुसुक्क हाँसी। कयौँ दिनदेखि नमाझेका पहेँला दाँत बत्तीको पहेलो प्रकाशमा झन् पहेला देखिए।
‘कति दिन भो दाँत नमाझेको, वैशमै थोते बुढी बन्ने रहर छ कि क्या हो!’
‘कपाल नकोरेको त तीन दिन भैसक्यो। दाँत नमाझेको त कति हो यादनै भएन। बुढो घर नभापछि न त आफ्नो स्वास्थ्यको ख्याल न त श्रिंगारपटार केही जाँगर लाग्दो रहेनछ।’
माइली लजाउदै घर भित्र पसी। एक अम्खोरा पानी ल्याएर दुई मिटर वरै राखीदिई।
‘मसँगै आएको तल्ला गाउँको विरेले दाइ आज हाम्रोमा बसम्, भोलि बिहानै उकालो लाग्नु होला भनेको थियो। जुनेली रात छन् विस्तारै जान्छु रातिको दश/एघारसम्म त पुगिन्छ भनेर हिडेँ। एक त दश दिनसम्म पैदल हिडेर थाकेको ज्यान, त्यसमाथि उकालो बाटो। तीन बजे पो आइपुगियो।
अबको दुई घण्टामा त बुढी उठिहाल्छे। बुढीलाई अहिले उठाए पनि आखिरमा म घर भित्र जाने त होइन भनेर तलाई नउठाउकी जस्तो लागेको थियो तर घर आइपुगेपछि त दुई घण्टा धैर्य गर्न पनि गाह्रो भो। भारत हुँदा त दुई वर्ष पनि धर्य गरेकै त होनि। निन्द्रा कच्पचियो है तेरो।’
‘हैन केही छैन। बरु खाना के बनाम् भोक धेरै लाग्यो होला?’
‘अबको दुई घण्टामा त उज्यालो भैहाल्छ। अनि पकाउलिस् बरु मलाई नारेमा गुन्द्री लगाई दे, त्यही पल्टिनछु।’
‘भोको पेटमा त निन्द्रा पनि लाग्दैन। एकछिनमै पकाईहाल्छु नि।’
‘पर्दैन पर्दैन। साँझको रोटी बाँकी छ भने त्यही रोटी र दही खान्छु। हिजो ठेकीमा राखेको दूध जमेको होला।’
‘अँ उती टाढाबाट आएको मानिसलाई बासी रोटी... के गर्नु बूढा आँउदै छन् भन्ने थाहा पाएको भए त खिरनै पकाएर राख्थेँ नि।’
‘खिर त भरे भोलि खाम्ला। अहिलेलाई रोटी ठिकै छ।’
माइलीले थालमा रोटी र सिसिको पुरानो अचार अनि कचौरामा दही लगेर माइलाको अगाडि राखिदिई। आफूले एउटा हातमा आधा बाल्टिन पानी र एउटा हातमा कुचो लगेर नारेमा गई। ढाँड पन्छाई। माकुरोको जालो सफा गरी पानी छम्केर भुइ बढारी। हिउँदमा बुनेको नयाँ गुन्द्री ओच्छाई। घरबाट सिरक डसना ल्याएर सफासँग बिछौना लगाइदिएर माइली घरमा गई। माइलो नारेमा गएर सुत्यो।
बिहान आठ बजेतिर माइली चिया नास्ता लिएर नारेमा जाँदा माइलाको बगेको नाक र रसिला आँखा देखेर माइली आत्तिई।
‘राति खोकेको आवाज पनि सुनेको थिएँ। सास फेर्न त गार्हो भाको छैन नि। कतै कोराना त भएन!’
‘यो बुढी पनि उल्टो उल्टो सोच्छे। कोरोना सोरोना केही भाको छैन। राति राति नदीमा पौडदा चिसो लागेको हो। उसै त दश दिनको पैदलले गलेको ज्यान।’
‘होइन बूढा, जे भएपनि एकपटक अस्पताल गएर जचाम्।’
माइलीको करको अगाडि माइलाको केही लागेन। दुवै अस्पताल गए। भर्खरै भारतबाट आएको र रुघाखोकी दुवैको लक्षण देखिएकोले स्वास्थ्यकर्मीले चेकजाँच गर्न डराए कोराना होला भनेर।
‘डाक्टर साहेब चेक नगरी रिपोर्ट नआई कसरी कोरोना भन्न मिल्छ र कुन्नि कुन जिल्लामा हो पखालाको लागेको बिरामीलाई कोराना लागेको भनेर स्वास्थ्यकर्मीले बेवास्ता गर्दा उसको ज्यान गयो तर पछि उसको रिपोर्ट नेगेटिभ आयो रे। हजुरहरुले वेवास्ता गर्दा कतै मेरा बूढाको पनि…’
माइली रुन थाली।
न रो न बुढी, मलाई केही हुन्न के। राति राति पौडेर नदी तर्दा केही भएन। म सात वर्षको हुँदा दादुराले पल्ला छेउ पुराको थियो। सबैले आश मारेका थिए। बाँचेर याहाँसम्म आए। पोहर रेल दुर्घटनामा त्यतिका मान्छे मर्दा मलाई केही भएन। मेरा ग्रह बलिया छन्। पूरा सय वर्ष आयु हुन्छ भनेको छ ज्योतिसले। जाबो कोरोनाले के लैजान्थ्यो। बेसार पानीले सन्चो हुने रोग। प्रधानमन्त्रीले भनेको सुनिनस्!’
अस्पतालभरि हाँसो फैलियो, माइलीले पनि हास्दै आँसु पुछी। स्वास्थ्यकर्मीले माइलाको स्वाब संकलन गरेर रिपोर्ट नआउँदासम्म घरमै तर अलग्गै बस्ने भनेर घरमा पठाईदिए।
उनीहरु घरमा मात्र आईपुगेका थिए। माइलीले दुध लैजाने गरेको होटलको साहुजीले फोन गरे। ‘माइली तिम्रो बूढालाई कोरोना सन्चो नभएसम्म होटलमा दुध चाँहिदैन।’
‘कसले भन्यो मेरो बूढालाई करोना लाग्यो भनेर! स्वाब संकलन गरेको हो। रिपोर्ट नआईकन कोरोना लाग्यो भनेर भन्न मिल्दैन। तपाईलई दुध नचाहिए ठिकै छ, छोराछोरीलाई खिर पकाएर खुवाउछु।’
माइलीले होटलवालाको फोन रिसाउदै काटिदिई। उत्तिखेरै फेरि माइलीको फोन बज्यो।
‘ए माइली, चौध दिनसम्म हाम्रोमा गाईवस्तु चराउन नआउ है। माइलालाई कोरोना ठिक नभएसम्म।’
‘हे भगवान्! कसले फैलायो यस्तो नचाहिने हल्ला। पहिलो कुरा त बूढालाई कोराना लागेको हो होइन भन्ने प्रमाणीत भएको छैन, दोस्रो उहाँ आइसोलेसनमा बसीरहनु भएको छ। गाँउलेहरुले त हामीलाई अपराधीको परिवार जसरी पो हेर्छन्। कोरानानै लागेपनि हामी अपराधी त होइनौँ नि।’
माइलीलाई त्यो दिन धेरै मानिसहरुको फोन आयो। अन्तबाट रोग आएपनि उसकै परिवारलाई दोष आउला भनेर माइलीले छोराछोरीलाई पनि घरबाट निस्किन दिइन न त आफूनै निस्की। बारीमा मकै गोड्दा निस्केको घाँसले गाईवस्तु अघाउथे। चराउन जानै परेन।
छोराछोरीले कहिले आमालाई सघाउने कहिले टाढाबाट कराई कराई बाबासँग कुरा गर्ने, कहिले आँप र नास्पातीका रुखमा बाहिर जान नपाए पनि दिनहरु रमाईलोसँग काटे।
एकदिन बिहान उठ्दा बूढाले धमाधम मकै गोड्दै गरेको देखेर माइली छक्क परी।
‘ए बूढा... बिरामी मान्छे भएर पनि किन काम!’
‘मलाई सन्चो भैसक्यो। दिनरात तँ जस्तो हेरविचार गर्ने बुढी पाएपछि मलाई रोगले कlन गाल्थ्यो र! त्यो पनि सामान्य रुघाखोकी। मलाई कोरोना सोरोना केही भाको छैन, चौध दिनको विधी पुराम् भनेर मात्र।’
माइलाले तल्लो गह्रा, माइली र छोराछोरी माथिल्लो गह्रा गफ गर्दै मकै गोडे।
‘बुढी खुब दुख पाइस् है मसँग बिहे गरेर। दिनरात कामै काम। माइतकी कान्छी छोरी। लाडिएर हुर्केकी’
‘होइन, काम गर्न त मलाई पट्क्कै दुःख लाग्दैन। काम नहुनु पो दुःख हो। अझ बूढाबुढी सँगसँगै काम गर्न पाएपछि केको दुःख। बरु हजुर सधैभरि भारत यही कुराले मलाई दुःखी बनाउछ। हाम्रो बिहे गर्नभन्दा चार वर्ष अगाडिबाट हजुर भारत जानु भाको हो। बिहे भाको पनि दश वर्ष भयो। चौध वर्षमा त रामको बनाबासपनि सकिएको थियो। अब नेपालमानै बसेर केही गरे हुन्र र? सागर अटाएको ठाउँमा हजुर एक थोपा के बढी हुनुहुन्थ्यो र!’
‘मनकै कुरा गरिस् बुढी, यसपालि मलाई भारत फर्कन मनै छैन। साउको व्यवाहार सम्मझदाँ। साउलाई हाम्रोभन्दा पनि कामको मात्र मतलब हुन्छ। कोराना फैलन सुरु नहुँदै कारखाना बन्द गरेर हामीलाई तिमीहरु जाउ भनेर बिदा दिए। यतिका वर्षसम्म कम्पनिको सेवा गरेका। रित्तै हात बिदा गर्दा मजदूरहरु कहाँ जालान्, के खालन् विचार गरे तिनिहरुले! बेकार प्राइभेट जागिर गरेर। भारतको गुलामी गर्न अब त भारत जाँदै जान्न।’
स-परिवार गफ गर्दै मकै गोडिरहेका थिए। एक्कासी आकाशमा सलह देखिए।
‘हे भगवान! के अलच्छिना लागेको हो यो साल। दुःख गरेर गोडेका मकै एक छिनमा सत्यानाश पार्ने भए।’ माइलीले आकाश तर्फ हेर्दै सुस्केरा हाली।
‘मकैमा बस्न पाए पो... म नारेबाट त घरबाट हाम्रो कुराकानीलेनै सलह भागिहाल्छ नि।’ माइलाले हाँस्दै भन्यो।
आज होम आइसोलेसनमा बस्ने तेह्रौ दिन। भोलि त चौधौँ दिन हुन्छ बरु भारत बस्दा दुई वर्ष यति लामो लागेको थिएन जति यो चौध दिन लाग्यो। राति सुत्ने बेलामा माइली यी कुराहरु सोँचीरही थिइ। मोबाइलमा मेसेजको घन्टी बजेको देखेर तर्सिई। अस्पातालमा काम गर्ने बहिनीले पठाएकी रहिछन्। ‘दिदी भिनाजुको रिपोर्ट नेगटिभ आएको छ। भोलि अस्पतालमा रिपोर्ट लिन आउनु होला।’
माइली खुीले उफ्रिई। उसलाई दौडेर बूढा भएको ठाँउमा जाउँ जस्तो लाग्यो तर दिनभरि मकै गोडेर थाकेर सुतेको बूढालाई उठाउन चाहिन। भोलि बिहानसम्म धर्य गर्ने निर्णय गरी।
बूढालाई कोरोना नलागेको ढुक्क मन, दिनभरि मकै गोडेर थाकेको ज्यान, झम्-झम् परेको पानीले बनाएको शितलो रात, मकैको पातमा पानी पर्दा आएको मिठो संगित। माइली भुसुक्क निदाइ।
बाहिर मान्छेहरुको हल्लाखल्लाले माइली बिउझी। मोबाइल अन गरेर नेगेटिभ रिपोर्ट हेर्दै ढोका मात्र के खोलेकी थिइ, त्यही नेरी बेहोस भई मात्र एक वाक्य बोलेर ‘बूढा नारेमा हुनुहुन्छ।’
अस्तिदेखिको अबिरल पानीको कारण गए राति पहिरो जाँदा मकैबारी सहित नारेपनि पुरिएको थियो। मानिसहरुको रुवाबासीले सारा गाँउको वातावरणनै कोलाहालमय थियो। भीडबाट कसैले माइलीको मोबाइल हेर्यो। माल्दाजुको रिपोर्ट नेगेटिभ छ। जाँउ खोज्न।
गाँउलेहरुको अथक प्रयाशले पहिरोमा पुरिएको माइलाको शव निकाल्न सकियो। कसैले पानी छम्केर माइलीलाई उठायो। तल्लाघरे काकी हुनुहुँदो रहेछ।
'माइली तिमी त कती भाग्यमानी रहिछौँ। माइलाको शव भेटियो। कमसेकम विधिपूर्वक दाहासंस्कार गर्न त पाइने भयो। नेपालमा बाढी पहिरोले गर्दा कति मानिस बेपत्ता भएर आफ्ना आफन्तको साँस न लाशको अवस्था भोगेका छन् कयौँ परिवारले।'
शवमाथि घोप्टिएर रोईरहेका छोराछोरीलाई एकोहोरो हेरीरही माइलीले। वैँशालु उमेरमै लोग्नेको क्रिया गर्न पर्दा काकीले भनेजस्तो माइली भाग्यमानी हो कि अभागी। लाश भेटिदा दुःख मान्ने कि खुसी। आफ्नो अगाडि अकल्पनीय दृष्य देख्दा न त माइलीको आवाज आयो न त आँसु।
माइलीको दिमागमा विगत घुमिरयो। बलिया ग्रह, पूरा सय वर्ष आयु...