ए भोक आइदेन मेरो खाली पेटमा
मलाई तेरो नितान्त खाँचो छ
मेरा हातहरु कुँजि सकेका छन्
गोडाहरु लरबराउने भईसकेछन्
धर्तीलाई मलजल गर्न नपाएर
नङहरु चुच्चा भईसकेछन्
मलाई असाध्यै मन पर्ने ए भोक
म तेरै प्रतिक्षामा निरन्तर लागि रहेछु ।
भोक आईदिएको भए
नंग्रा खियाएर मलजल गरी दिन्थे
सगरमाथालाई पनि चुम्बन गरी दिन्थे
ठूला-ठूला पत्थरहरु पनि फोरी दिन्थे
भोक नभएकोले
मेरो दिमाग बोधो भएको छ
सबै कर्मेन्द्रीय सीथिल भईसके
ए भोक चाँडो आईदेन
मलाई तेरो असाध्यै खाँचो छ
असाध्यै खाँचो छ।
भोक नभएर भोक खोज्न
वाङ्दी हिमाल चढ्न थालेको छ
हर्कबहादुर हलो जोत्न हिँडेको छ
अनि मनसरी गिट्टी कुट्दै छे
बाटुली भारी बोक्दै छे
देउती सकि नसकि
उकाली ओराली गर्दैछे।
भोक खोज्नैको लागि
रामबहादुर मुग्लान् हानीएको छ
गोरे अनि धने खाडी धाईनै रहेछन्
बसन्त, अर्जुन र खगराजहरु
अमेरिका, बेलायत र जापानमानै
आफ्नो बुद्धि बेचिरहेछन्
केबल भोकको खोजीमा
केबल भोकको खोजीमा।
त्यसैले, ए भोक छिटो आईदेन
यहाँ त भोक नहुनेहरु अजिंगर जस्तै भईसके
उनीहरुले नखाएको कुनै चिजै छैन
सडक खाईसके
अस्पताल खाईसके
नदी माथिको पूल खाईसके
खोला नाला खाईसके
नदीहरु बेचीसके
मठ मन्दीर सबै खाईसके
खान नसकेको मेरो देश मात्र छ
त्यैपनि देशलाई क्षत बिक्षत बनाई सकेछन्
सबै अंग प्रत्यंग निश्किृय बनाई सके
त्यसैले, ए भोक तँ एक पटक मात्र भएपनि
मेरो देशमा आइदेन
मेरो कोटी-कोटी प्रणाम हुनेछ तलाई ।
जति खाए पनि कहिल्यै तृप्त नहुने
कस्ता अजिंगर जस्ता रहेछन् यिनीहरु
तेर्सो मोटाएर हलचल गर्न नसक्ने हुँदा पनि
कहिल्यै नअघाउने हेर्नै घिन लाग्ने थलथलेहरु
किर्ना मोटाए जस्ता फर्सिजस्ता डल्लेहरु
उडुस जस्तै गरी चुस्न पल्कनेहरुलाई
हाम्रा भोक खोज्ने पेटहरुले
यिनीहरुलाई छिटै लखेट्नु पर्नेछ
छिटै लखेट्नु पर्नेछ।
(लेखक पूर्व-उपसचिव हुन्।)