कविता
एकदिन कसैले यस्तो प्रश्न गर्यौ
के छ तिमीसँग?
तिमीसँग केही छैन,
तिमीसँग काम छैन,
दाम छैन, नाम छैन,
त्यसैले यहाँ घोटिन आएका छौ
तिमी मेरो गुलाम हौ, म तिम्रो मालिक
भन तिमी र तिम्रो देशमा के छ?
मलाई चिच्याएर भन्न मन लाग्छ
म को हुँ अनि मसँग के छ भनेर,
म एक बहादुर गोर्खाली हुँ,
त्यो बहादुरी मेरो नसामा सधैँ हुनेछ
जस्ले आफ्नो स्वाभिमान कहिले झुकाइन,
गिद्धे आँखा भएका शत्रुमाथि निशाना चुकाइन ,
हो, आज बाध्यतामा छु ,
फेरि पनि भीख हैन, परिश्रम गरेर खान्छु।
अरु सुन्न चाहन्छौ? के छ मसँग,
संसारकै अग्लो हिमाल छ
विशाल पहाड,
उर्वर तराई,
त्यही हिमाल पग्लिएर बग्ने स्वतन्त्र खोला नाला झर्ना,
जडिबुटीसँगै, धेरै थोक छ ।
त्यसको एक झिल्को मसँग जीवितै छ।
तिम्रा विकासे लहरको सुरुआती शास्त्र,
दर्शन सबै छ ।
हो! स्वीकार्छु, केही मनहरु मोडिएका छन्
फसेका छन् स्वार्थको दलदलमा,
वा कसैको इसारामा,
देश परिवर्तन गर्न काँधमा बन्दुक,
निधारमा कफन बाँधेर हिँडेका युवा,
शून्य परिणाम पश्चात् बिरक्तिएर,
आज चर्को घाम अनि हातमा गैँती र बेल्चा छ
निधारको पसिना सोस्ने टालो उस्तै लाग्छ
मलाई थाहा छ, परिणाम यो पनि शून्य नै रहने छ।
त्यसैले अब चिन्तन गर्नु पर्नेछ
यो स्वार्थी, अल्छीपना त्यागेर,
जगाउनुछ आफैलाइ भित्रैदेखि,
जोसंगालेर राख्न सकियोस्,
भावी सन्ततिका लागि उचित मार्ग,
एक झिल्को बहादुरीताको
एक टुक्रा एमान्दारिताको
एक थोपा राष्ट्रिय भावको
एक सुरुआत समृद्धिको।
काँधमा जिम्मेवारी बोकेर,
आफ्नै माटोमा पसिना बगाउन,
म फर्किनु पर्छ स्वदेश,
मस्तिष्कलाई चेताएर,
अब हातमा बन्दुक हैन सीप भरेर ।