सबेरै उठ्नासाथ झुपुझुपु निदुलीमै 
हडबडी गर्दै चिया नास्ता बनाई
बढारकुँडार, पुछपाछ गर्दै गर्दा
छोराछोरी रोएको चित्कार सुनेपछि हुर्दुराउँदै 
चोटामा पुग्दा नै आधा शरीर क्लान्त बन्ने 
अनि भान्छामा पुगी खाना बनाउन लाग्दा त
के के न गरेजस्तो, पहाडै फोरेजस्तो गरी
फेरि आराम खोज्ने यो बेइमानी शरीर।
कसले दियो हक आराम खोज्नलाई, थाकेँ भन्नलाई
छोरी मान्छे भएर, बुहारी भएर अनि आमा भएर 
आराम खोज्न पाइन्छ र?
त्यो पनि जाबो चुलो-चम्कोको काम गर्दा 
भोको पेट भर्नका लागि भान्छामा छिर्दा 
हे प्यारो शरीर नभूल यो
नारीको पेटमा जब भ्रुण बनेर 
नारीकै रुपमा प्रवेश गर्यौ, 
हो त्यही दिन आराम खोज्ने अधिकार खोसिएको
नभूल आराम गर्नका लागि बनेको शरीर होइन यो 
दुई-चार ओटा लुगा र भाँडा धोएर 
के के न गरेजस्तो, पहाडै फोडे जस्तो गरी
फेरि आराम खोज्ने बेइमानी शरीर।
आराम गर्न त शब्दकोषले दिएको कामको अर्थ जस्तो 
मन वा बुद्धि खियाउने प्रक्रिया गर्नुपर्छ, 
नारीको शरीरमा भ्रुणका रूपमा 
प्रविष्ट गर्दा नै 'पुरुष' बन्नुपर्छ 
अनि जन्मने बित्तिकै 'ओहो छोरो' भनेर 
सबैको वाहवाही को पात्र हुनुपर्छ 
नजन्मदैँ मोहर लागेको भान्छे बन्ने
आफ्ना बालबच्चा हुर्काउने 
घर लिपपोत गरी घरधन्दा गर्ने काम गर्दा 
के के न गरेजस्तो, पहाडै फोरे जस्तो गरी
फेरि आराम खोज्ने बेइमानी शरीर।
आराम खोज्ने त के, थाकेँ भन्ने अधिकार पनि यो धर्तीमा
नआउँदै गुमाएको कुरा कहिल्यै नभूल 
तिम्रो शरीर आराम खोज्नका लागि होइन 
भान्छा तयार गर्नका लागि बनेको हो
चाहे परम्परागत चुलोमा ढुंग्रीले फु-फु गरी आगो बालेर होस् वा 
आधुनिक चुलोमा लाइटरले प्याट्ट पार्दै ग्याँस बालेर 
तिम्रो शरीर आराम गर्न पटक्कै बनेको होइन 
बालबच्चा हुर्काउनका लागि बनेको हो 
चाहे ती आफ्ना हुन् या अरूका
 त्यसैले के के न गरेजस्तो, पहाडै फोरे जस्तो गरी
आराम खोज्नुअघि थोरै लाज अनि धक मान 
किनकी लाज र धक नै त हो एक संस्कारी नारीको गहना 
यहाँ मतलब छैन कसैलाई आराम खोज्नु तिम्रो शरीरको बाध्यता होस् की चाहना।।