कविता
सपनासँगै लखेटिएर
कहिले यता कहिले उता
आश्रयको खोजीमा
भौँतारिएको हाम्रो जीवन
फर्किन्छ कि भनेर कुरिरहेको होला
त्यो गोलाइची फूल
अब आँउदैन भनेर झर्दो हो
फेरि आँउछ कि भनेर फुल्दो हो
समयले हाम्लाई
वायुपंखी उडानमा
उडायो र ल्यायो
यो सपनाको सहरमा
जहाँ फुल्छन् रंगी विरंगी फूल
उता लामीडाँडामा पनि
फुल्दो हो सिमल
अनि कपास बनेर उड्डो हो
भेटाउन मेरा पाइला
नभेटेपछि पाखो गुल्जार पार्ने
बा र बजै
फिर्दो हो आउने बाटो कुर्न उसै गरि
सजाउन त सजाउछिन् आमा
तुलसाको मोठ
चढाँउछिन् एक अम्खोरा जल
लिप्छिन् पिँढी र आँगन
आफ्नै मुटु निचोरेर रातै लिपे पनि
उफ्! कहिल्यै आफ्नो नहुने
यो अर्काको घर।
भर्खरै रातो माटो
सेतो कमेरोले लिपेको
तुलसाको मोठ
छेउको गाईगोठ
तीन पात छोड्न लागेका
मकैका बोट
चटक्क छाडेर
एक मुठी प्राण धान्न
घर विहीन भएका
भर विहीन भएका
बा र बजु जस्तै
आफ्नै घर फिर्न आतुर
तीन पुस्ते नातिको
पाकिरहेको सेतो केस
ढल्किरहेको जीवनसँगै
सपना साँची रहेछ मनभरी
बाँच्न त पाइएन
मर्न पाए पनि हुन्थ्यो
आफ्नै घरमा
जहाँ बाजेको सपना जन्मिन नपाउँदै
ढलेको थियो दिन
छाएको थियो अँध्यारो
ओथारो बस्न नपाउँदै
ढले जस्तै मझेरीको
गौंथलीको गुँड
ढलेको थियो घर गर्ल्याम्म
जति लिपे पनि जति घसे पनि
मुटु निचोरेर रातै
जति पोते पनि
उफ्! कहिल्यै आफ्नो नहुने
यो अर्काको घर।