बेलुकालाई एक थोपो पनि भुटुन छैन। साँझ परिसक्यो। तेल किन्न कता जाम् ?
दिनभरि मकै गोडेबापतको ज्याला चोलोको पकेटमा राख्दै ल्वाङ्गेकान्छीले ममीसँग दुखेसो गरिन्।
भुटुनले मात्र छाक टर्ने होइन लौ तरकारी पनि लैजाऊ। ममीले एकछिन पछि आधामाने सिसीको एक सिसी तेल र दुई मुठा हरियो बोडी पनि राखिदिनु भयो। ल्वाङ्गेकान्छीले थापेको घलेकमा। जसरी होस,खेतला पल्काउने तरिका राम्रैसँगै थाहा छ ममीलाई।
साउने संक्रान्तिको दिन म बिहान मामाघर गएर साँझ घर फर्कंदा हाम्रो करेसाबारीको एक चौथाइ मकै गोडेर सानीकालीका आमा छोरी आफ्नो घर फर्कने सुरसार गर्दै रहेछन्।
‘सानीकाली तिमी भोलि पनि आऊ है। भोलि त म तिमीलाई दुई वटा चकलेट दिन्छु। आजलाई एउटामात्र भयो।’
अघि मामाघरबाट फर्कंदा बाटोमा किनेको दुइटा चकलेटमध्ये एउटा मेरो मुखमा अर्को हातैमा थियो। त्यही चकलेट सानीकालीको हातमा राखिदिँदै मैले भनें।
‘उसैत आमाकी पुच्छर अझ चकलेट खान पाइने आइहाल्छे नि’,ममीले भन्नुभयो।
उनीहरू मुस्कुराउँदै घरतिर लागे।
भोलिपल्ट बिहान नौ बजेतिर हामी खाना खाँदै थियौं। तल बारीमा सानीकालीका आमा छोरी बोलेको सुनें।
बिहानै पसलबाट किनेर ल्याएर झ्यालमा राखेको दुइटा चकलेट देब्रै हातले समाएर करेसाबारीतिर दौडिएँ।
‘ए नानी..... जुठैहात कता दौडेको खाँदाखाँदै छोडेर। दिनभरि यहीँ त हुन्छे सानीकाली’ ममीले कराएको सुनेको नसुनै गरेर म करेसाबारीमा पुगें।
म जुन खुसी हुँदै करेसाबारीमा गएको थिएँ, सानीकालीलाई देखेपछि त्यो खुसी खिन्नतामा परिणत भयो तै पनि हिजोको वाचा अनुसार दुइटा चकलेट उसको हातमा राखिदिएँ।
ऊ खुसी हुँदै आमासँग गई। म भान्सामा फर्किएँ। अघि खाना खान बस्दा थपेर खान पर्ला भनेर सोचेको थिएँ तर अहिले पस्केको खाना पनि धेरै भयो। बाँकी खाना फालिदिएँ।
‘खाना चिसो भएछ।’ ममीसँग बहाना पारें।
हिजो सानीकाली घर जाने बेलामा भन्नै बिर्सिएछु अनि किन लाउँछे त सानीकालीले सेतो फ्रक। आज त नबिर्सेर भन्छु।
साँझ फेरि बिर्सिएँ भने… अहिले भनिहाल्छु।
मुख चुठ्ने बित्तिकै चिसै हात करेसाबारीतिर दौडिएँ।
‘सानीकाली भोलि म तिमीलाई तीन वटा चकलेट दिन्छु। तिम्रो सेतो फ्रक छ नि..... एक महिना अगाडि तिम्रो आमाले ल्याइदिनु भाको,भोलि त्यो फ्रक लगाएर आऊ है।’
हिजो एउटा आज दुइटा भोलि तीन वटा चकलेट। सानीकालीका आँखा खुसीले चम्किए।
‘हुन्छ लगाएरै आउछु नि। मलाई पनि त्यो सेतो फ्रक मनपर्छ एक महिना अगाडि आमाले ल्याइदिनु भाको। मसँग जम्मा दुइटा फ्रक त छ नि। कहाँ हजुरहरूको जस्तो धेरै हुनु। एउटा त्यही सेतो अर्को यही कलेजी त हो नि।’सानीकालीले आफूले लगाइराखेको फ्रक देखाउँदै भनि।
साउन महिनाको छोटो रात पनि मलाई कति लामो लाग्यो। कति बेला उज्यालो होला जस्तो भयो। बिहान उज्यालो हुनेबित्तिकै पसलबाट चकलेट किनेर लिएर आएँ।
तगारोमा बसेर सानीकालीको आमा छोरीको बाटो हेरिरहें। नौ बजेतिर उनीहरू हाम्रो घरतिर आउँदै गरेको परैबाट देखें। मलाई झनक्क रिस उठ्यो। सानीकालीले आज पनि त्यो सेतो फ्रक लगाएकी थिइन त्यही हिजो अस्ति लगाएको कलेजी रंगको फ्रक।
मेरो नजिक आउने बित्तिकै म उसँग कराएँ।
‘सेतो फ्रक किन नलगाएको? तिमीले मलाई नपत्याएको ... तीन वटा चकलेट दिन सक्दैन भन्ठानेको?हेर यी बिहान पसलबाट किनेर ल्याएको दुई रुपैयाँको चार वटा चकलेट। तीन वटा तिमीलाई एउटा मलाई।’ मुठ्ठीमा कसेर राखेको चार वटा चकलेट देखाउँदै मैले सानीकालीलाई भनें।
‘हैन दिदी नरिसाउनुस् न। मैले सेतो फ्रक लगाउँछु भनेर आमासँग कति झगडा गरें तर आमा मान्नुनै भएन। यो फ्रक मैलिएपछि मात्र सेतोफ्रक लगाउने रे।’ सानीकालीले आफ्नो फ्रक देखाउँदै भनि।
‘तिम्रो फ्रक मैलो भएको त छ नि।हेर त....’उसको फ्रकको बाहुला फोल्ड गरेर देखाउदै मैले भनें।
‘भित्र पट्टिको मयललाई त मयल भन्नु हुन्न आमाले।बाहिर फोहोर देखिन पर्छ।’ उसले बाहुला मिलाउँदै भनि।
‘भोलि पक्का लगाएर आऊ है।त्यो सेतो फ्रक।’ मैले तीन वटा चकलेट उसको हातमा राखिदिएँ। एउटा मेरो मुखमा।
‘हुन्छ’उसले खुसी हुँदै टाउको हल्लाई।
म बर्षे बिदाको होमवर्क गर्न कोठाभित्र गएँ।
चार बजेतिर अलि शितल फिरे पछि म बाहिर आएँ।
‘दिदी लुकामारी खेलम् है।’ सानीकाली दौडिँदै आएर मलाई भनी।
‘लुकामारी त मननै पर्दैन। खेल्ने भए छोई खेलम्।तिमी भाग म छुन आँउछु।’
हामी खेल्न थाल्यौं।
खेल्दा खेल्दा थाकेर म आलीमा थ्याच् बसेँ। ऊ भने चेप्टो ढुंगा बिछाएर बसी। यति ध्यान दिन्छेर त यसको लुगा सितिमिति मैलिदैन। मैले आज लगाको लुगा दुई घण्टा खेल्दा मैलो भइसक्यो। उसको तीन दिनदेखि जस्ताको तस्तै। आज छोई खेल्दा उसलाई छुने निउँले चार पाँच पटक धुलोमा लडाएँ। उसको लुगा मैलो बनाउने उद्देश्यले,तर जरुक्क उठेर उसले धुलो टक्टकाउँछे अनि कसरी मैलन्छ त?
हे भगवान् भोलि पनि सेतो फ्रक लगाइन भने। पर्सि त यिनीहरू आउँदैनन्। भोलि नै मकै गोडेर सकिन्छ। थोरै त बाँकी छ अब गोड्न।
मैले आलीमा राखेको जर्किनको पानी सानीकालीले थाहा नपाउनेगरी उसको पछाडि पोखेर ऊ बसेको ढुंगा स्वाट् तानिदिएँ। सानीकाली हिलोमा थच्चारिई।
‘ला ..... तिम्रो फ्रकभरी हिलैहिलो लाग्यो। भोलि त सेतो फ्रक लगाउनै पर्ने भो।’
‘के को सेतो फ्रक भोलि त म आउँदै आउन्न’उ रिसाउँदै कराई।
‘तेसो नभनन।म बरु भोलि तिमीलाई चारवटा चकलेट दिन्छु।’
‘चार वटा त के ......जति वटा दिए पनि आउन्न। कहिले धुलोमा लडाउने।कहिले हिलोमा थेचार्ने।म त कहिल्यै पनि आउन्न’ उसको रिसको पारो बढेको बढै भयो।
‘भोलि आउन पिलिज सेतो फ्रक लगाएर। म तिमीलाई एउटा प्याकेट सिंगै चाउचाउ दिन्छु।’
‘खुबै दिनदिनै दिनुहुन्छ होला नि तपाईंको ममीले कहिले चाउचाउ कहिले चकलेट किन्ने पैसा।’
‘ममीले दिनै पर्दैन पैसा मैसँग छ नि।अस्ति साउने संक्रान्तिमा हजुरआमाले टिका लगाएर दिनु भाको। अस्ति एक, हिजो एक, आज दुई रुपैयाँको चकलेट किनें। छ रुपैयाँ अझै छ नि। पाँच रुपैयाँको चाउचाउ आइहाल्छ।’
‘हुन्छ आउँछु तर आजको जस्तो लडाउन धकेल्न पाइँदैन है।’
‘सत्य धकेल्दैन।’
म ढुक्क भएँ।
सानीकालीका आमा छोरी हाम्रोमा मकै गोड्न आउने आज अन्तिम दिन। मैले बिहानै चाउचाउ किनेर ल्याएर तगारोमा बसेर उनीहरूको बाटो कुरिरहें। उनीहरूलाई परैबाट देखें। सेतो फ्रकमा सानीकाली परी जस्तै देखिएकी थिई। दौडेर गएर सानीकालीलाई अंगालो हाल्ने बहानामा सेतोफ्रकलाई अंगला हालें। पछाडिको आधी चेन खुला थियो।
‘लौ चेन त बिग्रिए छ कि क्या हो?’
मैले पूरै चेन खोलेर फेरि लगाइदिएँ। ए ठीकै रहेछ।
‘लौ चाउचाउ’ मैले सानीकालीको हातमा चाउचाउ थमाई दिएँ।
चाउचाउ पाउने बित्तिकै तगारोमै बसेर खान थाली।
‘दिदी अलिकति तपाईं पनि खानुस् न।’ उसले अलिकति चाउचाउ सहितको हात मतर्फ लम्काई।
‘हैन हैन म खान्नँ। हिजो तिमीलाई सिंगै दिन्छु भनेको थिएँ। मैले खाएँ भने तिमीलाई थौरै हुन्छ।’
‘पख पख .....चाउचाउ खाँदाफ्रकमा झर्न सक्छ। यति राम्रो फ्रकमा दाग लाग्यो भने.....’उसको सेतो फ्रकको फेरलाई मेरो फ्रकको फेरले छोपिदिएँ।
उसले चाउचाउ निलिरही। मैलै थुक…।
एक प्याकेट सक्न पाँच मिनेट पनि लागेन। उसको हातभरि चाउचाउको मसला लागेको थियो।
‘ए....ए त्यो हात मेरो फ्रकमा पुछ।’
‘धत् कहाँ तपाईंको लुगामा पुछ्नु।’
‘छिटो पुछ नत्र सेतोफ्रकमा फोहोर लाग्न सक्छ।’
सानीकालीले मेरो शरीरभरी हात धसारी। कसो उसको आमाको आँखा छली नत्र त पक्का गाली पाउँथी सानीकालीले।
‘हेर त सानीकाली तिम्रो फ्रक मेरो पनि घुँडाघुँडा आउँदो रैछ’ उसँगै जोडिएर अङ्गालो हाल्दै भनें।
‘तै त मेरो पनि घुँडा घुँडा तपाईंको पनि घुँडा घुँडा।’
‘ए... आमा एता हेर त। दिदी र ममा को अग्लो छ?’ तगारोबाटै सानीकालीले बारीमा काम गर्दै गरेकी आमातर्फ फर्केर कराई।
‘कूचो काटेको जस्तो बराबर। अग्लाई पनि बराबर। ज्यान पनि बराबर। उमेर पनि त बराबर हो नि। एक महिनाले सानीकाली कान्छी छ’ कोदालो बिसाउँदै छोरीको जिज्ञासा मेटाइदिइन् ल्वाङ्गेकान्छीले।
‘दिदी हिजोजस्तै छोई डुम खेलम् है।’
‘नाइँ।खेल्ने भए लुकामारी खेलम्।’
‘लौ हिजो भर्खर मलाई त लुकामारी मनै पर्दैन। भनेको होइन?आज फेरि लुकामारी खेलम अरे’ अच्चमित हुँदै सानीकालीले मेरो आँखामा हेरी।
‘छोई डुम खेल्दा लडेर तिम्रो सेतो फ्रक फोहोर हुन्छ। च्यातिन सक्छ त्यसैले लुकामारी खेलम् भनेको।’
‘ल ल म लुक्न गएँ। तपाईं सय गनिसकेर खोज्न आउनु होस् है’ ऊ गोठतिर दौडिई।
‘हुन्न हुन्न।गोठतिर लुक्न जान पाइँदैन। सेतो फ्रकमा गोबरको दाग बस्यो भने बर्बाद। टौवातिर पनि जान पाइन्न।परालले फ्रकलाई कोतर्न सक्छ। बारीमा पनि नजाने तिम्रो सेतो फ्रकमा माटो लाग्छ। चउरतिर रूखको छेल परेर लुक्ने।’
मेरो सबै सर्त सानीकालीले मानेको स्वीकारयुक्तिले उसले टाउको हल्लाई अनि रूख भएतिर दौडिई।
मैले आखाँ चिम्म गरेर गन्न थालें।१२३४…
‘ए सानीकाली साँझ परिसक्यो घर जान ढिला भइसक्यो। आइज।’
उसको आमाको आवाजले हामी दुबै झस्कियौं।
म दंग परें। कति छिटो साँझ परेछ। हिजो दुई घण्टा खेल्दा थाकेको ज्यान किन आज दिनभर खेल्दा पनि थाकेन।
आज दिनभरी लुकामारी खेल्दा सानीकालीलाई ढ्याप्प लगाउने बहानामा धेरैपटक सेतो फ्रकलाई ढ्याप्प लगाएँ तर जति पटक ढ्याप्प लगाएँ त्यति पटक मेरो कपडामा हात पुछेरमात्र लगाएँ। कतै मेरो हातको फोहोर वा पसिना उसको सेतो फ्रकमा लाग्छ कि!
म सजग हुन्थें। दिनभरी ढ्यप्पा लगाउँदा पनि मेरो रहर पुगेको थिएन तर सानीकाली आमासँग घरतर्फ लागिसकेकी थिई।
उनीहरू ओझेल नपरुन्जेल सेतो फ्रकलाई हेरिरहें।
जसै उनीहरु ओझेल भए। म ममीतर्फ फर्केर कराएँ।
‘ममी एक महिना अगाडि लवाङ्गेकान्छी हाम्रोमा मकै रोप्न आउँदा हजुरले किन मेरो सेतो फ्रक तिम्री छोरीलाई लगिदेऊ है भन्दै उसलाई दिनुभयो। हजुरआमाले सबै भन्नुभएको थियो मसँग।’
‘फ्रक नयाँ नै छ। नातिनीको रहर मेटिएको छैन होला। अहिलै किन अरुलाई दिन हतार गर्नुपर्यो भनेर हजुरआमाले भन्दाभन्दै हजुरले किन त्यो फ्रक अरुलाई दिनुभयो?’
‘नानीले मनै पराइन। मन पराए त लगाउँदी हो। लगाउँदै लगाउँदिन। रातो, गुलाबी भए पो, यस्तो निख्खर सेतो पनि। यस्तो निख्खर सेतो त मलाई पनि मन पर्दैन। न चाडबाडमा लगाउँछे न त बाहिर कतै जाँदा। यसो कतै लगाइ भने पनि दुई मिनेटमा खोलेर बाकसमा थन्काइहाल्छे। अनि हिँड्ने बेलामा अर्कै लुगामा तयार। बाकसमा थन्किनुभन्दा त ल्वाङ्गेकान्छीकी छोरीले लगाउँछे भन्दै म स्कुल गएको बेलामा मेरो फ्रक किन दिनुभयो?’
‘मैले त्यो फ्रक नलगाउनुको अर्थ मैले मन नपराउनु हो भनेर कसरी सोच्नु भयो? ममी मलाई त्यो फ्रक साह्रै मन पर्थ्यो तर चाडबाडमा लगाऊँ भने टिका लाग्ने पीर, बाहिर जाँदा लगाऊँ पुरानो हुने, मैलिने डर त्यसैले कोठाभित्र मात्र लगाउँथें। सेतो फ्रक लगाएर ऐना अगाडि उभिँदा म आफूलाई परी अनुभव गर्थें। स्कुलबाट आएर स्कुल पोशाक फेर्ने बित्तिकै त्यो फ्रक लगाँउदा दिनभरीको थकाई भोक बिर्सन्थें। दिमाग चंगा हुन्थ्यो। साह्रै गाह्रो लाग्ने ९ को दुना पनि त्यही फ्रक लगाएर घोक्दा कण्ठ भाको थियो। हजुरले खाजा खान तीन पटकसम्म बोलाँउदा पनि म सेतो फ्रकसँग रमाइरहेकी हुन्थें। चौथो पटकमा बल्ल लुगा फेरेर जान्थें।
हजुरलाई निख्खर सेतो मन पर्दैन भन्दैमा मलाई पनि त्यही नै हुन पर्छ भन्ने छैन नि! हो म हजुरकै रगत हो तर मेरो पनि छुट्टै विचार, मुटु, मन, जिब्रो स्वाद हुन्छ भन्ने कुरा किन बुझ्नु हुन्न? हजुरको स्वादलाई मीठो मानिदिनु पर्ने। हजुरको रुची अनुसार लाइदिनु पर्ने। यहाँसम्म कि हजुरको भोक अनुसार जबरजस्ती धेरै खाइदिनु पर्ने। मानौं हामी बालबालिकाको कुनै अस्तित्व नै छैन।
हजुरको बर्को एक पटक ओढ्दा तीन पटक हजुरलाई सोध्नु पर्ने। हजुरले मेरो प्यारो सेतो फ्रक अरुलाई दिँदा मलाई एक पटक पनि सोध्न नपर्ने...?’
‘ए नानी के वाल्ल परेर मेरो मुखमा हेरिराखेकी।’
ममीको आवाजले म झस्किएँ।
लौ ममीसँग कराएँ भन्ठानेको त मेरो आँखा एकोहोरो खुला र ओठ बन्द पो रहेछ।