पर्खालमाथि बसेर झ्यालतिर दिव्य नजर लगाउँदै छ खैरे। खैरे कुकुरको नाउँ हो। म उसको नजरमा खास देखिरहेछु। उ भोकाएको छ भन्ने कुरा उसको बेलाबेलाको कुइँकुइँले बुझाएको छ।
खैरे बसेको पर्खाल नजिकै छ हाम्रो किचन। सायद किचनबाट एक झोक्का बास्ना उसको घ्राणशक्तिलाई स्पर्श गरेर कतै टाढा जाँदो हो। मैले बुझेँ, उ हाम्रो भोजनालयमा जीवनको लय खोजिरहेको छ।
मान्छे भोकभोकै मरेको समाचार छ। पशुपंक्षीको हालत पनि उस्तै छ। खासगरी घरगल्लीमा बेघर भौतारिरहने कुकुरहरू। मान्छे होस् अथवा जनावर, भोक त सबैको प्रकृति प्रदत्त आदिम उपहार हो।
मैले खैरेका लागि केही खाना पर्खालसम्म पुर्याइदिएँ। खाना राखेर पुनः किचनको झ्यालबाट उसलाई हेर्न थालेँ। खुब रमाएर खाना खान थाल्यो। मानौँ वर्षौँदेखि हराइरहेको भोक आज एक्कासी जीवन बनेर उसको सामु उपस्थित भएको छ। तर उसको खुशी धेरै समय टिक्न पाएन।
खैरेको वर्गीय शत्रु बनेर अर्को कुकुर आइपुग्यो काले। काले देख्दैमा डरलाग्दो छ। मानौँ मेरो घरवरपरका कुकरहरूको खास नाइके हो। उसले खैरेको खुशी लुट्न थाल्यो। मैले भित्रैबाट कराएँ, ‘काले! उता जा!’
तर उ गएन। खैरे कालेसँग एकैछिन जुध्न खोज्यो तर सकेन। अथवा भनौँ उसको बुताले कालेको शक्तिलाई परास्त गर्न सकेन। शक्तिसामु उ वर्गीय पीडा लिएर पर गयो तर उसको भोक उस्तै थियो। आखिर भोकको शत्रु पनि भोक नै रहेछ। कोही अल्पकालीन भोक। कोही दीर्घकालीन। खैरेको भोक एकाएक नमिठोसँग निमोठियो।
लकडाउनकै समय।
आज पनि उही दृश्य छ। झ्याल नजिकै छ खैरे। तर खैरे आज भोकसँग होइन रोगसँग जुधिरहेको छ। रक्ताम्मे शरीर छ। जिब्रो बाहिर निकालेर सारा पीडा उकेलिरहेको छ। साथमा जोडजोडले कुइँकुइँको आवाज। मैले झ्यालबाटै कराएँ, ‘के भयो? कसले गरायो यो हाल?’
उसले बोल्ने सामर्थ्य निकालेन। तर म उसको भाषा बुझ्ने कोशिस गर्छु। धेरै समयको सामिप्यले हुनसक्छ, म उसको हृदय स्पर्श गर्न सक्छु। आज खैरे मौन बसेन। काले प्रवृत्तिका सामु उ घुँडा टेक्न चाहेन। भोकसँग भन्दा पनि शक्तिसँग उ लड्न चाह्यो।
प्रभुत्वदेखि आजित खैरे शरीरमा प्रभुत्व विरोधी प्रतिरोध चेतना उकेल्न चाह्यो। मौन बसेर मर्नुभन्दा लडेर मर्नुमा उसले खास देख्यो।
खैरे निरीह आँखाले मलाई हेरिरहेको छ। बेटाडिन र कटन बोकेर उ नजिक पुगेँ। मलाई फ्लोरेन्स नाइटिङ्गलको कथा स्मरण भयो। यद्यपि मेरो अध्ययन विषय नर्स होइन। समाजशास्त्रको विद्यार्थी हुनुको नाताले खैरेको समाजको अध्ययनसँग म बाँचेको समाजसँग तुलना गर्न मन लाग्यो।
खैरेको पनि भाषा छ। उ अनुकूल विचार छन्। तर पनि उ भाषिक विभेदमा बाचेको छ। उसको समाजमा स्थापित प्रभुत्वभित्र पनि मानौँ मानव समाजजस्तै एउटा राजनीतिक खिचातानी छ। तथापि त्यो खिचातानी भुस्याहा प्रवृत्तिको खिचातानी हो। एउटा वर्गीय खिचातानी हो। समाज भुगोलअनुसार पृथक हुन्छन् र तिनको प्रवृत्ति पनि तत्अनुरूप नै।
बेघर खैरेहरू आफ्नै वर्गबाट उत्पीडनमा छन्। शक्तिशाली काले, सेते आदि डन प्रवृत्तिहरू घरभित्रका शक्तिसँग जुध्न सक्दैनन्। महलमा बस्ने टाइगर, ज्याक्कि, टाइजन, सेफर्ड आदिसँग कहिल्यै कालेहरू लड्ने सामर्थ्य राख्दैनन्। कालेहरूलाई थाहा छ, हाम्रो अस्तित्व खैरेहरूका बीचमा मात्र स्थापित हुन सक्छ। र यो पनि थाहा छ कि, प्रभुत्व आफ्नै वर्गका कमजोरको ढाडमा टेकेर जमाउन सकिन्छ।
जसरी हामी जनतालाई टेकेर हाम्रा प्रभुत्वशालीहरू मस्ति लुटिरहेका छन्। तपाईँ जनतालाई खैरे र तिनका शासकलाई कालेसँग तुलना गर्न सक्नुहुन्छ। छिमेकी र पश्चिमा शक्ति ठान्नोस् महलका टाइगर, ज्याक्कि आदि हुन्।
आजको दृश्य फरक छ। म उभिएको स्थान फरक छ। बिहान सात चालीसको वरिपरि हुनपर्छ। म घरको छतमा लुगा सुकाउन पुगेकी छु। सडक छेउैको गल्लीमा केही भुस्याहा कुकुरको जमात छ। तिनीहरू जोडजोडले भुकिरहेका छन्। मानौँ तिनीहरूका वस्तीमा सरकार डोजर चलाइरहेको छ। अथवा कुनै विपत्तिले घेरिएका छन्।
त्यही भुस्याहा जमातभित्र बोराले लघेरिरहेको छ एउटा वृद्ध। झुत्रो कपडा, बेचैन अनुहार। सन्त्रास सहर र त्यही सहरको एउटा गल्लीभित्र कुकुरको धरपकडबाट घेरिएको वृद्ध। एकैछिन दृश्य हेरिरहेँ। तथापि खैरे त्यहाँ थिएन। कालेको नेतृत्वले वृद्धलाई लघेरिरहेको थियो।
किन यी कुकुरले पनि निमुखा वर्गकै निम्ति यत्रो तहल्का मच्चाइरहेछन्? जो होचो उसकै मुखमा घोचो भन्ने लोकोक्ति सम्झिएँ। कुकुरहरूको पनि एउटा झुण्ड छ, जो सधैँ सामूहिकतामा आफ्नो राज्य चलाउने चाह राख्छन्। तिनको पनि खास प्रवृत्ति छ। सामाजिक वर्ग भेदको एउटा शृङ्खला सायद यिनले पनि बाँचेका छन्। जसलाई हामी सैद्धान्तिक वहसका रूपमा हेर्न सक्छौँ।
यिनको आफ्नो छुट्टै टोले नेतृत्व छ। चोक-चोकका मासु पसल, चिया पसल, किराना पसल। जहाँ जाऔँ त्यहीँ एउटा कात्तिके लहर देख्न सकिन्छ। तथापि एउटा प्रश्न उब्जन्छ, आखिर यतिका लहर कसरी कुन तरिकाबाट जन्मछ?
यिनको पनि वर्ग छ। जात छ। महलदेखि सडकसम्मका छुट्टाछुट्दै जीवनशैली छ। जसरी सदन या सडकमा मान्छेको सामूहिकता मान्छेबाट चिनिन्छ। यिनको पनि एउटा साझा विशेषता छ, कुकुर। महलमा बसे पनि गल्लीमा पसे पनि, कुकुरको चिनारी बाघले गर्न सक्दैन।
धनि होस् या त गरिब, आखिर मान्छे पनि एउटै प्रकृति प्रदत्त छाला र हड्डीले बेरिएको छ। रित्तो हुँदा सबैको पोसाक एउटै देखिन्छ, छाला। तथापि वर्गीय भेदको अन्त्य कुनै सिद्धान्तमा भन्दा बाहिर हुन सकेको छैन।
लकडाउनको दिन गन्न छाडिसकेँ। यो त एउटा बहाना मात्र न हो। जीवन सधैँ लकडाउनमै छ। जब व्यक्ति स्वतन्त्र हुन सक्दैन अथवा कुनै शक्तिद्वारा उ घेरिन्छ लाग्छ त्यसपछि उसको जीवनमा लकडाउन सुरु हुन्छ। मात्र आज हामी घोषित लकडाउनमा बाँच्न अभ्यस्त छौँ। तथापि यो अभ्यस्तता मानवले आफ्नो राज्य, सम्पत्ति र परिवारको घोषणासँगै बोकेर ल्याएको छ।
शासक र शोषितको विभेदमा सोही समयबाट ग्रसित छौँ। प्रभुत्वशाली वर्गको चेपमा बाँच्नु खैरेको मात्र विवशता होइन, मानव जातिको अर्को डरलाग्यो चित्र हो। यही चित्रमा विचित्र जीवन बाँचेर भित्रभित्रै खोक्रिएर बसेका छौँ हामी।
पर्खालमाथिको खैरे। उ समयको चित्र हो। वर्तमानको प्रतिनिधि पात्र हो। मानवेतर भए पनि मानवीय गुण-संस्कारबाट तिरस्कृत पात्र हो। हिजो बलियो र कामयोग्य छदासम्म मालिकको घरमा रखबार भएर काम गर्यो। जब उ शक्तिहीन बन्यो तब उ अज्ञात गल्लीमा छाडियो। उजस्तै रातारात अज्ञात पारिएकाहरूको कथा फेहरिस्त लामो छ।
अधिकारकर्मी यसका बारेमा थप जाग्नुपर्ला। यो चासो र गुनासोको समय हो। खैरेको जीवन रक्षा र तिनको उचित व्यवस्थापनको बेला हो। वातावरणीय चक्र र यसको सन्तुलनका लागि खैरेहरूको अस्तित्व रक्षार्थ लाग्नु हाम्रो साझा कर्म हो।
तपाई प्रश्न गर्न सक्नुहुन्छ, जुन सडक या गल्ली–चोकमा मान्छे भोकसँग जुध्न नसकेर महाप्रस्थानमा निस्कन्छ, त्यस स्थानमा जाबो खैरेहरूको चिन्ता कसलाई? तर प्राणधारी हर प्राणीको जीवन रक्षा सचेत मानव समुदायको आम चासो र कर्तव्यको विषय हो। मलाई लाग्दैन यसबारे हामी सचेत तर्क गरौँ!
आज सधैँको जसो खैर पर्खालमा छैन। पर्खालमाथि खैरेको दृश्य खोजिरहेको मेरा दुवै नयन थाकिसक्यो। एक महिनासम्म पनि खैरे पर्खालमा नदेखेपछि साँझपख लकडाउनको मर्यादा पालन गर्दै म केही पर गल्ली, जहाँ उ प्राय हुन्थ्यो सम्म पुगेँ। अहँ, त्यहाँ पनि थिएन उ। उसो त कालेलाई पनि देखेको छैन।
लामो समयको बन्दाबन्दीले कहाँ पुग्यो होला खैरे? खैरेलाई शासन जमाउन नपाएपछि काले कुन गल्लीमा पुग्यो होला? के यसरी नै शासकले शाषित नभेटेपछि आफूलाई सत्ताको अखडाबाट लोप गराउलानु? के खैरेहरूको विद्रोहका कारण उनीहरू आँखाबाट विलिन भए? वा कसैले उसलाई विलिन बनायो? तमाम प्रश्न बन्दाबन्दीकै बीच आँखा अगाडि बत्तीको पुतली बनेर नाचिरहेको छ।