हे नाम्लो,
सुन मेरो कथा तँलाई कहन्छु
मेरो मृत्युको साक्षी तँलाई बनाउँछु।।
धेरै समय तँ पुर्पुरोमा बसिस् मेरो भाग्य बनेर
धेरै समय तँ काँधमा चढिस् मेरो कर्म बनेर।
अब म मर्दैछु चाँडै सडकमा लावारिस बनेर
मरेपछि शरीरमा तँ बस्नू मेरो कात्रो बनेर।।
कसैलाई नभन्नू म भोकै थिएँ भनेर
मर्ने बेलामा तँलाई आँशुले भिजाएको थिएँ भनेर।
पटक-पटक निचोर्दै त्यही आँशु तप्प तप्प
चुहाएर मुखमा घुटुक्क निलेको थिएँ थोपा थोपा।।
भोकै छु पेटमा सल्किरहेछ ज्वाला दनदनी
प्यासै छु मुटुमा उम्लिरहेछ रगत भकभकी।
तर यहाँ भोकै बस्ने छुट छैन कसैलाई
न आँशु झार्ने छुट छ कसैलाई।।
यो सडक नापेँ मैले कतिपटक भारीले थिचिएर
यही सडकमा सुतेँ जाडोले कठ्याङग्रिएर।
तापेकै थिएँ भोकको आगो साथ तँलाई लिएर
तर अब तँ पनि नचल्ने भइस् बन्दाबन्दीले थुनिएर।।
तैंले बोक्न सघाइस् मलाई दाल, चामल, तरकारी
लत्ताकपडा बोराका बोरा अनि सिलिन्डर भारी।
तर आज सघाउन सकिनस् बोक्न मेरै भारी
अहो! यो एकमुठी सास पनि तँलाई भएछ कति भारी।।
कति खुशी थियौं तँ र म कोही साथ नहुँदा पनि
आज म एक्लै छाडेर जाँदैछु तँलाई पनि।
भारी बोकी सजाउँदै गर्नु धेरैको थाप्लो
तर त्यो पनि मर्नेछ एकदिन भएर एक्लो।।
तैंले प्रजातन्त्र गणतन्त्रको बोकिस् भारी
अब बोक्नु छ समाजवादको पनि भारी।
तर भारी मालिकको हुने रहेछ
हाम्रो भागमा त नाम्लो मात्र पर्ने रहेछ।।
जीवनमा हामीले बोक्यौं धेरैको भारी
तर कहिल्यै बोक्न पाएनौं आफ्नै भारी।
मेरो भारी त यही सास रहेछ
त्यही पनि जान कति गाह्रो परिरहेछ।।
हे नाम्लो,
सुनाइदिनू सबैलाई म मरेँ भनेर
इहलिला सडकमै समाप्त भयो भनेर।।